एनभीए भलिबल च्याम्पियनशिपको महिलाफर्तको उपाधि न्यु डायमन्डलाई

पुस १९, २०८२ मा प्रकाशित
Published at पुस १९, २०८२

83 views

काठमाडौँ । नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको उपाधि न्यु डायमन्डले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमन्डले उपाधि जितेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५–१८, दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१८ ले जित्यो । उपाधिसँगै न्यु डायमन्डले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख ५० हजार रुपैयाँ जितेको छ ।

यस्तै अहिले पुरुषतर्फको उपाधिका लागि त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लबले खेलिरहेका छन् । आजै पुरुषतर्फ नेपाल पुलिस क्लबले रुकुम पश्चिमलाई ३–२ को सेटमा हराउँदै तेश्रो स्थान कायम गरेको छ । पुलिसले पुनारागमन गर्दै तेश्रो सेट २६–२४, चौथो सेट २५–२२ र पाँचौं सेट १५–१० ले जित्यो । रुकुमले पहिलो सेट २७–२५ र दोश्रो सेट २५–२३ ले जित्यो ।

यसैगरी महिलातर्फ सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेश्रो भएको छ । एपीएफले पहिलो सेट २५–१३, दोश्रो सेट २५–१७ र तेश्रो सेट २५–१० ले जित्यो । योसँगै तेश्रो स्थान प्राप्त गरेका पुरुषतर्फ पुलिस र महिलातर्फ एपीएफले समान १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको महिला र पुरुष विजेताले समान ५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले समान २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गएको पुस ११ गतेदेखि सञ्चालनमा रहेको नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web