
काठमाडौ । सिरहा बरियारपटी गाउँपालिका–२ श्रीपुरका सत्य नारायण साफीलाई एमबिबिएस अध्ययनको लागी नेशनल लघुवित्त बित्तीय सँस्था लि.ले तीन लाख रुपैयाँ सहयोग गरेको छ ।
घरको कमजोर आर्थिक अबस्थाको बाबजुत पनि मजदुरी गरेर एमबीबीएसमा नाम निकाल्न सफल भएपछि उहाँको अध्ययनलाई थप सहज बनाउन नेशनल लघुवित्त बित्तीय सँस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले आज (मंगलबार) एक कार्यक्रमको बीच सम्मान सहित तीन लाख रुपैयाँको चेक प्रदान गर्नुभएको हो ।
कमजोर आर्थिक अबस्था भएको परिवारमा जन्मनुभएका साफीले एमबीबीएस अध्ययनको लागी पूर्ण छात्रबृत्तिमा नाम निकाल्नु भएपनि शैक्षिक सामाग्रि खरिद लगायतमा आवश्यक खर्चको अभाव भएसगैँ उहाँको अध्ययनमा सहयोग पुर्याउन नगद तीन लाख प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत यादवले जानकारी दिनुभयो । नगद रुपैयाँको चेकसगैँ साफी र उहाँको बुबा मधुरी साफीलाई सँस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण दिनभरी ज्याला मजदुरी गर्ने र रातिको समयमा पढेर एमबीबीएसमा मधेशी दलित कोटाबाट पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल हुनुभएको साफीको अध्ययनमा आर्थिक अबस्था कमजोर भएको खबर बाहिर आएसगैँ सामाजिक उत्तरदायित्व बहन अन्तरगत नेशनल लघुवित्त बित्तीय सँस्था लि.ले उहाँको घरमा नै पुगेर नगद रुपैयाँ प्रदान सहित सम्मान गरेको हो ।
उहाँको बृद्ध उमेरका बुबा मधुरी साफी र आमा सुनिता साफीलाई लगनशील, दक्ष एंव क्षमतावान सन्तानको अभिभावक हुनुभएकोमा सँस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यादवले बधाई दिनुभयो ।
परिवारका जेठा छोरा साफीले घरमै बसेर दैनिक ज्याला मजदुरी गरेर कमाई गर्दै बुबाआमा सहित भाईबहिनीको लालनपालन सहित पढाईमा सहयोग गर्दै आउनुभएको छ । उहाँको बृद्ध उमेरका बुबाआमा सहित सानै उमेरका दुई बहिनी र एक भाइ छन् । दिदीको विवाह भइसकेकाले परिवारको मुख्य आर्थिक जिम्मेवारी अहिले पनि उहाँ अर्थात सत्य नारायणकै काँधमा छ।
13.41C