रास्वपाको नुवाकोटमा अबको उम्मेदवार को हो ?

पुस ८, २०८२ मा प्रकाशित
Published at पुस ८, २०८२

416 views

नुवाकोट । जेन्जी बिद्रोहले प्रतिनिधिसभा विघठन भएसगैँ आगामी फागुन २१ को लागी पुनः निर्वाचन हुन लागिरहेको छ । चुनाव हुनेमा आशंका भएपनि दलहरु चुनावको तयारीमा भने जुटिरहेका छन् । चुनाव हुन सक्दैन भन्ने नेकपा एमाले मात्रै होइन चुनावको स्वागत गर्ने तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पाटी) पनि अहिले चुनावको तयारीलाई तिव्र बनाउदै अघि बढिरहेका छन् ।

विसं २०७९ मंसिरमा भएको चुनावमा फरक विचारलाई आत्मसाथ गर्दै बैकल्पिक शक्तिको रुपमा उदाएका राजनीतिक दललाई पछि बनाउदै मुख्य दलको रुपमा स्थापित भएका नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र क्रमश पहिलो, दोश्रो र तेश्रो दल बने । स्थापनाको ६ महिना पूरा नहुदै राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) चौथो शक्तिको रुपमा उदायो । रास्वपा चौथो शक्तिको रुपमा मात्र होइन पाटी सभापति रबी लामिछानेले फराकिलो मत अन्तरले चुनाव जिते । गृहमन्त्री बने । उनको नागरिकता सम्बन्धि विवादले मन्त्री पद र संसद् पद खारेज भयो । पुनः भएको उपनिर्वाचनमा लामिछाने नै फराकिलो मतले बिजयी भए । पुन गृहमन्त्री बने । उनी संलग्न सरकार धेरै समय टिकेन ।

बैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपाको लागी स्थापनादेखि नै स्वर्णिम अवसरहरु रहेका छन् । विभिन्न अबरोधहरु पार गर्दै सभापति लामिछानेले पाटीको गरिमा भने उच्च बनाउदै आइरहेका छन् । सभापति आफै विभिन्न मुद्धामा प्रहरी हिरासत हुदैँ कारागार चलान भए, प्रभावशाली नेताहरुले पाटी छाडे । तर, आम जनतामा रास्वपाप्रतिको विश्वास, भरोसा र क्रेज भने दैनिक बृद्धि हुदै गइरहेको छ । आगामी फागुन २१ मा चुनाव भएमा पहिलो शक्तिको रुपमा उभ्याउने सभापति लामिछानेको दाबी छ ।

यो अबस्थामा नुवाकोटमा फागुन २१ मा हुने चुनावमा उम्मेदवार को होला ? मतदाताको लागी मात्र होइन, पाटीकै नेता कार्यकर्ता पनि ठ्याक्कै यो हो भन्न नसक्ने अबस्थामा छन् । झट्ट भन्नुपर्दा विगतका चुनावमा उम्मेदवार भएकाको नाम आउने भएपनि उनीहरु एक पटक परीक्षण भइसकेको, त्यस पश्चातको भूमिका सोही अनुसारको सक्रियता नभएको र अन्य नेता र कार्यकर्ताको क्रियाशिलताले अहिले नुवाकोटमा रास्वपाको उम्मेदवारको सूची केही थपिएको छ ।

नुवाकोट क्षेत्र न.१
नुवाकोट क्षेत्र नं १ मा २०७९ मा रास्वपाको उम्मेदवारले तेश्रो स्थान पाएको थियो । रास्वपाको उम्मेदवार डा.प्रद्युम्न महतले ६ हजार ११३ मत ल्याएका थिए । बिजयी भएका माओवादी केन्द्रका हितबहादुर तामाङको २६ हजार ५४८ र प्रत्यासी एमालेका बद्री मैनालीको २३ हजार ४६५ मत आएको थियो । रास्वपाको ‘ओपनिङ क्रेज’ निकै बढेको भएपनि विद्धान मानिएका र जान्नेलाई छान्ने अभियानमा डा.महत अटाएनन् ।

त्यसपछि उनको सक्रियता सन्तोषजनक छ । उत्कृष्ट भन्न मिल्दैन । तर, अहिले उनै महत भन्दा डा.विक्रम तिमिल्सिना पाटीको नेता, कार्यकर्ता र आम जनतामाझ बढी लोकप्रिय देखिन्छन् । रास्वपामा उम्मेदवार छनोट प्रक्रिया अन्य दलको भन्दा फरक छ । उम्मेदवारहरुले आकांक्षा देखाउने, पाटी भित्रै लोकतान्त्रिक अभ्यास मार्फत चुनिने गर्दछन् । यसरी चुनिनेमा आकांक्षीहरु धेरै भएपनि विगतका उम्मेदवार भएकाले डा.महतको नाम फ्याट्टै भन्न सकिएपनी पञ्चकन्या निवासी डा.तिमिल्सिना त्यो भन्दाबढी चर्चामा उदाएका छन् । उनी रास्वपाको केन्द्रीय अन्तराष्ट्रिय सम्बन्ध विभागको सदस्य पनि हुन् ।

केन्द्रीयस्तरका नेताहरुसंग पाटी योगदानका सारथी, अध्ययनमा दक्षता, क्षमता र सामाजिक क्षेत्रमा देखाएको लगनशीलताले रास्वपाको निर्वाचन क्षेत्र नं १ मा महत र तिमिल्सिना मध्ये एक हुने निश्चित देखिन्छ । विगतमा उम्मेदवारको रुपमा परीक्षण भइसकेका महत र केही गर्छु भन्ने धेरै योजना र सम्भावना सहित आएका डा.तिमिल्सिना कस्ले टिकट पाउछ अहिले चासो बढेको छ ।

नुवाकोट क्षेत्र नं २.
नुवाकोट क्षेत्र नं २ मा २०७९ को चुनावमा रास्वपाको उम्मेदवार एकाएक सुमन विक्रम पाण्डे देखा परे । पाटीको सदस्यता र उम्मेदवारको टिकट एक साथ लिएर जिल्ला पसेका पाण्डेले बाहालवाला सासद् नेकपा एमालेका नारायणप्रसाद खतिवडालाई हराउदै शानदार मत सहित दोश्रो स्थान बनाए । माओवादी सहितको भोटले जितेका काँग्रेसका अजुर्नननरसिंह केसीले २८ हजार १०७ मत ल्याएका थिए भने दोश्रो भएका पाण्डेले १६ हजार ४७७ मत ल्याएका थिए । एमालेका उम्मेदवार खतिवडाले १५ हजार ५६१ मतमा नै चित्त बुझाए ।

आफूलाई आर्थिक रुपमा सम्पन्न देखाई करीब एक दर्जन कम्पनी र उद्योगपतीको रुपमा प्रचार गरेका पाण्डेको चुनाव पछि भने त्यस्तो प्रचार देखिन्न । कार्यक्रमका लागी निर्वाचन क्षेत्रको दुर्गम स्थानसम्म धेरै गइरहने नेतामा अरुभन्दा उनी अग्र पक्तिमा छन् । तर, पर्यटकको रुपमा जिल्लामा आउने र काठमाडौ नै फर्कने बानी उहाँको लागी लोकप्रिय नेता बन्न जोखिम देखिन्छ । जिल्लामा पाटीपंक्तिलाई खासै रुचाउन नचाहने उहाँको उच्च ओहोदा बन्ने बानीले फागुन २१ को चुनावमा उम्मेदवारको प्रतिस्पर्धामा उहाँसगैँ अरु प्रत्यासीहरु उदाएका छन् । खोजी भइरहेको छ ।

नुवाकोटको क्षेत्र नं २ मा अबको उम्मेदवार को होला भनेर रास्वपाका नेता कार्याकर्तासंग प्रतिक्रिया लिदा पाटीको केन्द्रीय सँस्थापक सदस्य रामकृष्ण भट्टराई, पाटीको केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य डा.अच्युतम लामिछाने लगायतको नाम अग्रपक्तिमा आउछ । रामकृष्ण भट्टराई पाटीको गर्भदेखि नै जोडिएका व्यक्ति हुन् भने डा.अच्युतम लामिछाने पाटीको महत्वपूर्ण जिम्मेवारीको रुपमा रहेको केन्द्रीय उम्मेदवार छनोट समितिमा बसेर काम गरिरहेका अनुभवी र दक्ष नेता मानिन्छन् ।

दुवैको सामाजिक, राजनीतिक एंव योगदानको पृष्ठभूमि सन्तोषजनक छ । नकारात्मक पाइन्न । अघिल्ला उम्मेदवार पाण्डेको पुष्ठभूमि भने धेरै विषयमा प्रश्न उठ्दै आएको छ । नुवाकोटको साततले दरबार क्षेत्रमा सम्पदा गाउँ निर्माणको क्रममा भारतीय सहयोग सहित विभिन्न निकायबाट ल्याएको आर्थिक र प्राविधिक सहयोगको पारदर्शिता स्पष्ट नभएको खबर सोही समयमा नै बाहिरिएको थियो भने त्यसपछि उहाँलाई छाया सेन्टरले सधैँ छाया जस्तै पछ्याइरहेको छ ।

अघिल्लो चुनावमा सरोज बानियाँ लगायतका प्रमुख सहयोगीको रुपमा रहेका व्यक्तिहरु उनको साथमा नहुनु पनि उनको लागी चुनौती मानिन्छ । कम्पनी र उद्योगपतीका रुपमा विगतको चुनावमा आफूलाई प्रचार गरेपनि उनले जिल्लामा न कुनै कम्पनी र उद्योग भित्र्याए, न कहीँकतै जिल्लाका युवालाई रोजगारका लागी स्थान दिए । कृषि क्रान्तिको नाममा फलफूलको विरुवादेखि साबुनको झोल बाढेर परिवर्तनको विगुल फुक्ने उनको शैली पुरानै दलका पुरानै नेताको भन्दा फरक नभएकाले क्षेत्र न. २ मा जान्नेलाई छान्ने रास्वपाको नारालाई पूरा गर्न रामकृष्ण भट्टराई, डा.अच्युतम लामिछाने जस्ता नेताको नाम आगामी चुनावको उम्मेदवारका रुपमा आउने र तारतम्य मिलाउन सके जित हात पार्न सक्ने देखिन्छ ।

(यो सामाग्रि, नुवाकोट जिल्लास्थित रास्वपाको नेता, कार्यकर्ता एंव मतदाता, हाल भइरहेको राजनीतिक गतिविधिको आधार सहितमा केन्द्रित भएर तयार पारिएको हो । )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web