
नुवाकोट । लामो समयदेखि व्यावस्थापन समिति गठन हुन नसकेर अन्योलमा रहेको तारकेश्वर गाउँपालिका–५ कल्लेरीडाँडास्थित शंखादेवी माविमा गाउँपालिकाले अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।
विद्यालयमा जारी रहेको विभिन्न समस्याको समाधानको प्रयासको अन्तिम विकल्पको रुपमा गाउँपालिका मार्फत अस्थायी समिति गठन बाध्यात्मक परिस्थितीको रुपमा निर्णय लिइएको अध्यक्ष शिव अधिकारी (अबिरल)ले जानकारी दिनुभयो ।
उहाँको अनुसार गाउँपालिकाको शिक्षा शाखाले लामो समयदेखि पटकपटक अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति चयन गर्न आग्रह गर्दा पनि व्यावस्थापन समिति गठन हुन नसकेको र विद्यालयमा प्रशासनिक, शैक्षिक, आर्थिक र भौतिक रूपमै पनि अस्तव्यस्तताको स्थिति विद्यमान रहेकाले स्थानीय शिक्षा ऐनको व्यवस्था अनुरूप वडा कार्यालयको सिफारिसमा विद्यालयका अभिभावकमध्यबाटै सर्वजित तामाङको अध्यक्षतामा ६ सदस्यीय अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । सर्वजित तामाङको अध्यक्षमा गठन भएको अस्यायी व्यवस्थापन समितिको सदस्यहरुमा वीरबहादुर तामाङ, मञ्जु तामाङ, सोमती तामाङ, बाबुराम शर्मा अधिकारी र शिवप्रसाद घिमिरे रहनुभएको छ ।

दुई साताअघि गाउँपालिका अध्यक्ष अधिकारीले विज्ञप्ति जारी गर्दै गाउँपालिकाकै अग्रणी विद्यालयलाई केही राजनीतिकर्मी समेतको संलग्नतामा कुण्ठा र पूर्वाग्रह प्रेरित स्वार्थ समूहले जुँगाको लडाइँको अखाडा बनाउन खोजेको भन्दै सबै अभिभावक मिलेर षड्यन्त्रको जालोलाई चिर्दै विद्यालयको हितमा लाग्न आह्वान गर्नुभएको थियो । उहाँले जारी गरेको विज्ञप्तीमा ‘यथाशीघ्र छिटो’ व्यवस्थापन समिति गठन गरेर विद्यालयलाई स्थिरतामा लैजान उहाँले आग्रह गर्नुभएको थियो ।

‘गाउँपालिकाले पटक पटक व्यवस्थापन समिति गठन गर्न गरेको आग्रहको बाबजुत विद्यालय व्यवस्थापन समिति गठन हुन नदिने विभिन्न बखेडा झिकेर विद्यालयजस्तो पवित्र स्थानमा हुल हुज्जत गर्ने, पटक–पटक तालाबन्दी गर्ने कार्यबाट आजित भएर स्वयं विद्यार्थीहरू नै प्रतिकारमा उत्रिनु पर्नेसम्मको अवस्था निम्तिनु खेदजनक मात्र नभई “गाउँको उन्नतिका लागि राजनीति गर्दै छु” भन्नेहरूका लागि आफैँमा लज्जास्पद हुदै आएकाले अभिभावकीय निकाय र कानूनी जिम्मेवारीको कारण अस्थायी व्यवस्थापन गठन गरेर समस्या समाधानको लागी पहल गरिएको अध्यक्ष अधिकारीको भनाई छ ।
‘आफ्ना बालबालिकाको भविष्यप्रति भइरहेको खेलवाड एंव कुण्ठित स्वार्थ समूहको षड्यन्त्रलाई चिर्दै विद्यालयको उन्नयनका लागि एकजुट भएर लाग्नको लागी पनि अध्यक्षले आग्रह गर्नुभएको छ । उहाँले यसअघि विज्ञप्ती जारी गर्दै यथाशक्य छिटो सम्भव भएसम्म सर्वसम्मतिमा र नभए लोकतान्त्रिक अभ्यास मार्फत बहुमतबाट विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालय प्रशासन र अभिभावक सहित सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको थियो । तर, अध्यक्ष अधिकारीको अनुरोधलाई समेत वेवास्था गर्दै शान्ति क्षेत्र विद्यालयमा भइरहेको अस्वभनीय गतिविधिको कारण विद्यार्थीमा देखिएको त्रासलाई अन्त्य गर्दै गुणस्तरीय शिक्षा पाउने उनीहरुको हक सुनिश्चित गराई उत्पन्न समस्या समाधानको लागी अस्थायी व्यवस्थापन समिति गठन गर्नु परेको उहाँले स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष अधिकारीले बाध्यात्मक परिस्थितिमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको र अभिभावक मार्फत नयाँ व्यवस्थापन समिति चयन नहुदाँसम्मको लागी अहिले गठन गरएको व्यवस्थापन समितिलाई तोकिएको एंव प्राप्त जिम्मेवारीलाई पूर्वाग्रही नभई पूरा गर्नको लागी अनुरोध गर्नुभएको छ । निःस्वार्थ र निष्पक्ष भावले जनगुनासो नआउने गरेर काम गर्न र विद्यालयको वातावरण शान्तिपूर्ण बनाई नयाँ व्यवस्थापन समितिको चुनाव गराउन अध्यक्ष अधिकारीले नया गठन भएको अस्थायी व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ ।
16.73¡ÆC