
काठमाडौ । नेपाल सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ ।
सञ्चार मन्त्रालयमा आज बसेको बैठकले नेपालमा दर्ता नभएका फेसबुक सहितको सामाजिक सञ्जालहरुलाई नेपालभर भित्र चल्न नदिने गरेर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय भएको छ ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार मन्त्रालयमा सूचीकृत भएका बाहेकका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने भएको छ । ती सञ्जाल सञ्जालक कम्पनीलाई मन्त्रालयले पत्र पनि लेख्दैछ । आजै रातिदेखि लागू हुने गरी मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिएको उल्लेख छ ।

नेपाल सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, यो समाचार तयार पार्दासम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
अहिलेसम्म नेपालमा मेटा (फेसबुक), अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने सरकारले यसअघि नै पटक पटक चेतावनी दिएको थियो ।
19.12¡ÆC