नेकपा माओवादी केन्द्र नुवाकोटद्वारा दुई दिने प्रशिक्षक प्रशिक्षण

साउन २३, २०८२ मा प्रकाशित
Published at साउन २३, २०८२

1899 views

नुवाकोट । नेकपा माओवादी केन्द्र, नुवाकोटको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी संगठन सुदृढीकरण तथा आगामी निर्वाचन तयारीका सन्दर्भमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम विदुरमा हिजो सुरु भएर आज सकिएको हो ।

कार्यक्रममा जिल्लाभरका प्रत्येक पालिकाबाट १०–१० जना प्रतिनिधिहरू सहभागी भएको थिए । प्रशिक्षणमा पहिलो दिन हितमान शाक्य, युवराज चौलागाई र पुष्प लामिछानेलगायत नेताहरूले प्रशिक्षण दिएका थिए ।

पार्टीका जिल्ला नेताहरू हिरानाथ खतिवडा, राधिका तामाङ, रामप्रसाद ढुङ्गानालगायतको उपस्थिति रहेको कार्यक्रममा संगठन मजबुद बनाउने, पार्टीले गरेका राम्रा कामहरूको प्रचारप्रसार गर्ने तथा विपक्षी दलका कमजोरी जनसमक्ष ल्याउने विषयमा प्रशिक्षण दिइएको हो।

प्रशिक्षणपछिका प्रशिक्षकहरूले स्थानीय तहमा गएर प्रशिक्षण दिने योजना रहेको र यो कार्यक्रम ‘मिशन २०८४’ अन्तर्गत पार्टीलाई बहुमत दिलाउने रणनीतिक तयारीको हिस्सा रहेको नेकपा माओवादी केन्द्र नुवाकोटका सचिव मिना वाइवाले जानकारी दिनुभयो।

उहाँका अनुसार पार्टी हाल संघ र प्रदेश दुवै तहमा प्रतिपक्षमा रहेकाले संगठनलाई बलियो बनाउँदै जनतामाझ प्रभावशाली उपस्थिति जनाउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । प्रशिक्षणमा भुगोलबाट प्रतिनिधित्व गर्नेहरुलाई मात्र समावेश गरिएको हुदाँ बाँकीको हकमा आगामी दिनमा समावेश गर्ने पाटीले योजना बनाएको उहाँको भनाई छ ।

प्रशिक्षणमा पहिलो दिन कम्युनिष्ट आन्दोलन र इतिहास, दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, बैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, पर्यावरणका सम्बन्धमा प्रशिक्षित गराइएको थियो ।

यस्तै, दोश्रो दिन शुक्रबार कम्युनिष्ठ संगठन र संगठनात्मक अभ्यास, संगठन पद्धती, प्रशिक्षण कला, संघीयता र समावेशी, सूचना प्रविधि सामाजिक सञ्जाल, निर्वाचन प्रणालीको विषयमा प्रशिक्षण दिदै अन्तिममा परीक्षा समेत लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web