गौरेश्वर आविको अत्याधुनिक विद्यालय भवन बनाउन दातासँग सिधैँ सम्झौता, पुरानो सम्झौता रद्द

साउन ६, २०८२ मा प्रकाशित | 296 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाले याहाँको वडा नं ४ स्थित दर्शनटारमा रहेको गौरेश्वर आधारभूत विद्यालयमा अत्याधुनिक भवन बनाउन इन्टरनेशनल स्काउट भोलन्टर्स ग्रुप नेपालसँग यसअघिको सम्झौता रद्द गर्दै सिधै दातासंग सम्झौता गरेको छ ।

अन्तर्राष्ट्रिय दाता ‘चाइना सांघाई हाइसाङ कल्चर एन्ड मिडिया कम्पनी’सँग आज गाँउपालिका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले नयाँ सम्झौता गर्नुभएको हो ।

यसअघि यही कम्पनीको अर्थिक सहयोगमा इन्टरनेशनल स्काउट भोलन्टर्स ग्रुप नेपालले भवन निर्माण गर्ने गरी सम्झौता गरेपनि उक्त ग्रुपले आवश्यक प्रक्रिया, समन्वय तथा सहजिकरणमा प्रभावकारी भूमिका खेल्न नसकेपछि थप काम अघि बढ्न रोकिएको थियो ।

सोही कारण भवन निर्माणको काम प्रभावित हुन नदिनको लागी गाँउपालिका अध्यक्ष अधिकारीले यसअघि भएको सम्झौता रद्द गर्दै स्थानीय सरकारको रेखदेखमा कार्यक्रम सञ्चालन हुने गरेर सिधै दाता कम्पनीसंग नयाँ सम्झौता गरिएको छ ।

गाउँपालिकाको कार्यालयमा अध्यक्ष अधिकारी र कम्पनीका प्रतिनिधि हुवाङ वेङ्गीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतापछि अध्यक्ष अधिकारीले तत्कालै निर्माण कार्यको थालनी गर्न निर्देशन दिनुभएको छ ।

२०७२ को विनासकारी भूकम्पपछि विस्थापित भएको यो विद्यालयको अधिकारी अध्यक्ष निर्वाचित हुनुअघि उहाँकै पहलमा साधारण भवन निर्माण भई विद्यालय पुनःसञ्चालन भएको थियो । अहिले अध्यक्ष अधिकारीकै पहलमा अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको हो ।

गौरेश्वर आविको नयाँ बन्ने भवनमा ५ वटा कक्षाकोठा, ३ वटा प्रशासनिक कोठा, एउटा क्यान्टिन, ट्वाइलेट, बाथरुमसँगै १५ जना विद्यार्थी बस्न मिल्ने छात्रावास पनि रहने छ । छात्रावासको सुविधासहित निर्माण हुने यो विद्यालय पालिकाभरिकै नमुनाका रुपमा विकास हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web