
नुवाकोट । विदुर नगरपालिका भित्र सञ्चालनमा रहेका सँस्थागत (निजी) विद्यालयमा पहिलो पटक प्रतिस्पर्धा मार्फत छात्रबृत्ति उपलब्ध गराउन आवेदन खुला गरिएको छ ।
सँस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्याको आधारमा दश प्रतिशत विद्यार्थीलाई अनिवार्य उपलब्ध गराउनुपर्ने छात्रवृत्ति चालु शैक्षिक सत्रदेखि वास्तविक विद्यार्थीलाई उपलब्ध गराउन विदुर नगरपालिकाले सूचना प्रकाशन गरेको हो ।
नगरप्रमुख राजन श्रेष्ठ अध्यक्ष रहेको नगरस्तरीय छात्रबृत्ति व्यवस्थापन समिति मार्फत छात्रवृत्ति उपलब्ध गराउनको लागी नगरपालिकाले बुधबार १० दिनको म्याद दिएर आवेदन खुला गरेको छ ।
विगतका वर्षमा सँस्थागत विद्यालयले आफूखुसी उपलब्ध गराउदै आएको छात्रवृत्ति नगरप्रमुख राजन श्रेष्ठको सक्रियतामा चालु शैक्षिक सत्रदेखि भने निरन्तर हुने गरेर खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागिएको हो ।
विदुर नगरपालिकाले निकालेको सूचना हेर्नुहोस् :

त्यसका लागी सँस्थागत विद्यालय छात्रबृत्ति वितरण सम्बन्धि कार्यविधि २०८१ निर्माण गरेर कार्यान्वयनमा ल्याइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार नगरपालिकाले छात्रबृत्तिका लागी प्रत्येक सँस्थागत विद्यालयहश्र आवेदन फाराम संकलन गर्ने र कार्यविधिमा उल्लेख गरिएका मापदण्डको आधारमा छनोट गरेर विद्यालयलाई कार्यान्वयनको लागी सिफारिस गर्ने भएको छ ।
कार्यविधि अनुसार छात्रबृत्तिको लागी जेहेन्दार, विपन्न, जनजाती, दलित, अपाङ्गता भएका व्यक्ति, मुस्लिम र अन्य गरेर सातवटा क्षेत्र निर्धारण गरिएको छ ।
छात्रबृत्ति प्राप्तीको लागी दिने निवेदनको ढाँचा :

सँस्थागत विद्यालयहरुले विगतमा एकै घरमा ३ जना विद्यार्थी पढाएमा १ जनालाई निःशुल्क भन्ने, आफ्ना अनुकुलका व्यक्तिलाई प्रदान गर्ने, लगायतका प्रक्रियाबाट उपलब्ध गराउदै आएको छात्रबृत्ति पारदर्शी नभएको चौतर्फी गुनासो आएपछि नगरप्रमुख श्रेष्ठले कार्यविधि तयार गर्न लगाई कार्यान्वयनमा ल्याउनुभएको हो ।
यस कार्यविधि अनुसार अबदेखि बास्तविक विद्यार्थीले छात्रबृत्ति पाउनेछ भने कार्यान्वयन भए नभएको अनुगमन समेत हुने भएकाले पारदर्शी सहित निरन्तरता हुने नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज सापकोटाले जानकारी दिनुभयो ।
छात्रबृत्ति प्राप्त गरेका विद्यार्थीले विद्यालयमा भर्ना शुल्क र मासिक शुल्कमा पूरै छुट पाउनेछन् । यस्तै, यातायात, भोजन एंव खाना, होस्टेल तथा भवनन प्रयोग, ल्याब, खेलकुद, विद्युत, पानी लगायतका विभिन्न बाहनामा लिदै आएको शुल्क पनि छुट हुनुपर्ने छ । भर्ना र मासिक शुल्क बाहेकको सेवा पनि छुट हुने भएकाले अन्य सेवा तथा सुविधा उपलब्ध गराई शुल्क लिन विद्यार्थी र अभिभावकको सहमतिबाट मात्र पाइने उल्लेख गरिएको छ ।
18.16¡ÆC