क्षयरोग दिवसको अवसर विदुरमा नाटक प्रस्तुत, कल्याणपुर स्वास्थ्य चौकी उत्कृष्ट

चैत्र ११, २०८१ मा प्रकाशित | 415 views


बट्टार । हरेक वर्ष मार्च २४ तारिखको दिन मनाइने विश्व क्षयरोग दिवसको अवसरमा नुवाकोटको विदुर नगरपालिकाले क्षयरोगको पहिचान र समयमै उपचार गर्न सकेमा निको हुने सन्देश दिन (सडक) नाटक प्रतियोगिता सम्पन्न गरेको छ ।

नगरपालिकाको विभिन्न स्थानमा रहेका स्वास्थ्य सँस्थाको अगुवाईमा सम्बन्धित वडामा रहका महिला स्वास्थ्य स्वयंम सेविकाहरुको सहभागितामा गरिएको (सडक) नाटकमा कल्याणपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।

विदुर नगरपालिका स्वास्थ्य शाखाले सोमबार बट्टारमा आयाजना गरेको प्रतियोगितामा शहरी स्वास्थ्य केन्द्र वडा नं ८ दोश्रो भएको छ भने शहरी स्वास्थ्य केन्द्र वडा नंं १० तेश्रो भएको विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार विभिन्न सातवटा वडामा रहेका स्वास्थ्य सँस्थाबाट सहभागि भएका समूह मध्ये व्यक्तिगत प्रस्तुतीतर्फ शहरी स्वास्थ्य केन्द्र वडा नं १० बाट सहभागी महिला स्वास्थ्य स्वयंम सेविका गिता गिरी उत्कृष्ट हुनुभयो । उत्कृष्ट भएको समूहलाई नगद रुपैयाँ सहित प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथी विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटीले प्रदान गर्नुभयो ।

नाटकमा वडामा रहेका स्वास्थ्य सँस्थाका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंम सेविका र क्षयरोग खोजपड्ताल समितिमा आबद्ध सदस्यहरुले जनचेतनामूलक प्रस्तुती मार्फत क्षयरोगको पहिचान, समयमा नै परीक्षण, नियमित औषधिको सवन मार्फत रोगको उपचार गर्न सकिने सन्देश दिएका थिए ।

नाटक प्रस्तुत पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले नुवाकोटमा विदुर नगरपालिकाले क्षयरोगको खोजपड्ताल कार्यक्रम सञ्चालन गरिरहेकाले नगरबाट क्षयरोगलाई मुक्त गर्न सकिने लक्ष्य लिइएको बताउनुभयो । त्यसको लागी स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंम सेविकाहरुको भूमिका नै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले क्षयरोग निवारणको लागी नगरपालिका मार्फत खोजपड्ताल सञ्चालन भइरहेको र दिवसको अवसरमा थप सहयोग पुग्ने कार्यक्रम मार्फत रोग नियन्त्रणमा नगरपालिकाले चनचेतनामूलक कार्यक्रम (नाटक) प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा १ नं. वडाध्यक्ष लेनिन रञ्जितले स्वास्थ्य शाखा मार्फत सञ्चालित कार्यक्रम तथा सेवालाई थप प्रभावकारी एंव लक्षित सेवाग्राही (नगरबासी) समक्ष पुराई स्वास्थ्य अबस्थाको सूचकलाई थप सुधारमा ल्याउन तर्फ लाग्न सुझाब दिनुभयो ।

क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने सन्देश प्रवाह गर्ने र विशेष गरेर नयाँ बिरामीको पहिचान, पहिचान भएका बिरामीको नियमित निगरानी सहितको रोग नियन्त्रणमा महिला स्वास्थ्य स्वयंम सेविकाको भूमिका प्रभावकारी हुने भएकाले उहाँहरु मार्फत नै नाटक प्रस्तुत गरिएको क्षयरोग कार्यक्रमका संयोजक गरिमा जोशीले जानकारी दिनुभयो ।

 

दिवसको अवसरमा यस वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको थियो । क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई थप सार्थक बनाउनको लागी विदुर नगरपालिका मार्फत विभिन्न अभियान, कार्यक्रम, शिविर सञ्चालन भइरहेको क्षयरोग कार्यक्रमका संयोजक गरिमा जोशीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web