४ महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको बिजुली भारतमा निर्यात

मंसिर ५, २०८१ 2024-11-20 मा प्रकाशित
Published at 2024-11-20

53 views

काठमाडौँ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएकाे बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि बिजुली निर्यात शुरू भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले बिजुली बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुगी बिजुली उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो ।

‘सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्‍याउँदा बिजुली उत्पादन बन्द छ, त्यस्तै अन्य साना आयोजनाहरूमा पनि क्षति पुग्दा बिजुली उत्पादन हुन सकेको छैन, काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा यस लाइनमा जोडिएका विभिन्न आयोजनाहरूको झन्डै २ सय मेगावाट बिजुली उत्पादन बन्द भयो, जसका कारण असोज र कात्तिकको बिजुली निर्यात प्रभावित हुन पुग्यो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यसबाट चालू आवमा राखिएको झन्डै ३० अर्ब रुपैयाँकाे बिजुली निर्यात लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’

माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद शुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको बिजुली उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब बिजुली निर्यात क्रमशः घट्दै जाने छ । हिउँदका केही महिनामा बिजुली आयात गर्नुपर्ने हुन्छ ।

साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको बिजुली निर्यात गरिएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट बिजुली निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा थियो ।

भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको बिजुली निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट बिजुलीकाे औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो ।

असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँको बिजुली निर्यात गरिएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट बिजुली निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ८ रुपैयाँ ०८ पैसा रहेको छ ।

कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट बिजुली निर्यात गरिएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको बिजुली निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्राधिकरणले अहिलेसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको छ ।

गएकाे आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको बिजुली निर्यात गरिएको थियो । गएकाे आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको बिजुली निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.