स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि ४१० उम्मेदवार

मंसिर ३, २०८१ 2024-11-18 मा प्रकाशित
Published at 2024-11-18

99 views

काठमाडौ । मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिएको हो ।

निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘उनीहरूमध्ये ३५ महिला, ४८ पुरुष र १ अन्य छन्,’ आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले भनिन्, ‘रिक्त ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।’

आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवार धनुषाधाम नगरपालिका–१ को अध्यक्ष पदमा २१ जना छन् । सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को अध्यक्ष र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा ३/३ जना उम्मेदवार छन् ।

उपनिर्वाचन हुने दुई जिल्ला समन्वय समितिमध्ये ओखलढुंगा जिससको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । यहाँ उनको मात्र उम्मेदवारी परेको हो । जिसस कैलालीको प्रमुखमा भने दुई जनाले उम्मेदवारी दिएका छन । यहाँ एमाले र कांग्रेसबीच गठबन्धन भएको छ । सत्ता गठबन्धनबाट कांग्रेसकी टीका चौधरी उम्मेदवार बनेकी छन् । टीका कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्य निर्वाचित भएकी थिइन् । जिसस प्रमुखमा नागरिक उन्मुक्ति पार्टीकी रुक्मती डगौरा थारूले मनोनयन दर्ता गराएकी छन् । डगौरा टीकापुर नगरपालिकाकी कार्यपालिका सदस्य हुन् ।

यो उपनिर्वाचनमा सबैभन्दा बढी चासो कीर्तिपुरको प्रमुखमा छ । कीर्तिपुरमा प्रमुख तथा १ र ४ नम्बर वडाको अध्यक्षका लागि चुनाव हुनेछ । कांग्रेसबाट प्रमुखमा विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । प्रमुखमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् ।

कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । जसपा नेपालबाट दीपक महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट ध्रुव महर्जन, एकीकृत समाजवादीबाट भानु रिजाल उम्मेदवार छन् भने जनमतका केशव श्रेष्ठ र नेमकिपाका श्रीकृष्ण महर्जन र नेसपाका दिलकुमार महर्जनले मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेमा नवरथकुमार बानियाँ, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जन छन् ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ, जसमध्ये एक स्वतन्त्र उम्मेदवार छन् । यहाँ एमालेका तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार थारू, माओवादीका नमोनारायण माझी, रास्वपाका नवीनकुमार विश्वास खवास, राप्रपाका दिनेशकुमार थन्दार, जसपाका धर्मेन्द्रकुमार चौधरी, एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मालगायत उम्मेदवार छन् ।

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेसका झलकबहादुर भण्डारी, एमालेका जंगबहादुर शाही, माओवादीका जंगबहादुर बराल मगर, एकीकृत समाजवादीका जगतबहादुर हमाल, रास्वपाका प्रकाशकुमार बुढा, राप्रपाका सुर्जे रावल र नेमकिपाका दुर्गबहादुर मगर उम्मेदवार छन् । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसकी इन्द्रा चन्द (सिंह), एमालेकी सुनिता बोहरा, माओवादीकी देवका लामिछाने, रास्वपाकी पार्वती पुन, राप्रपा नेपालकी सुनिता पुन रावल र नेसपाकी पवित्रा जैसीको उम्मेदवारी परेको हो ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसकी पासदिकी तामाङ, एमालेकी उमा लुंगेली मगर शेर्पा, माओवादीकी निमलेकी शेर्पा, रास्वपाकी गोमा श्रेष्ठ, राप्रपाकी मनकुमारी श्रेष्ठ, एकीकृत समाजवादीकी रविना खड्कालगायत उम्मेदवार छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा कांग्रेसकी केशकुमारी तुलाचन, माओवादीकी नरपुरा बुढा, एकीकृत समाजवादीकी सुनिता बुढामगर छन् भने ४ स्वतन्त्र उम्मेदवार छन् । तुलाचन एमालेकी नेतृ हुन्, उनी कांग्रेसको चुनाव चिह्नमा उम्मेदवार बनेकी हुन् ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेसकी सविता बुढा, एमालेका ऐनबहादुर शाही, माओवादीकी देवकी तिमल्सिना, रास्वपाकी बाचा बुढा, राप्रपाकी संगीता शाही उम्मेदवार छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यहाँ उम्मेदवारी दिनेमा कांग्रेसकी पुल्तीसरा शाही, एमालेकी सुलोचनाकुमारी भण्डारी, माओवादीकी राजुकुमारी विक, राप्रपाकी सुनादेवी थापा भोटे (धामी) र एकीकृत समाजवादीका जवा शाही छन् ।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को अध्यक्षका लागि १४, कीर्तिपुर–४ को अध्यक्षका लागि १३ र कीर्तिपुर–१ को अध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ को अध्यक्षमा ११, सुनसरीको गढी गाउँपालिका–६ को अध्यक्षमा १४, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा २० जना उम्मेदवार छन् ।

रौतहटका ईशनाथ नगरपालिका–७ को अध्यक्षका लागि १५, राजपुर नगरपालिका–६ को अध्यक्षका लागि १४ उम्मेदवार छन् । रौतहटकै गढिमाई नगरपालिका–८ को अध्यक्षका लागि १६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्षका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गुल्मीको मुसीकोट–१ को वडाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा १० जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आइतबारदेखि कार्यतालिका लागू गरेको छ । जसअनुसार मंसिर २ मा मनोनयनपत्र दर्ता, मंसिर ३ मा १० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंसिर ४ मा अपराह्न ५ बजेसम्म उजुरीमाथि जाँचबुझ तथा निर्णय गरी ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, मंसिर ५ मा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ मा मतदान हुनेछ ।

स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । संघीय सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, स्थानीय तह, तीनवटै तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र सम्बद्ध कार्यकर्ता, उम्मेदवारलगायतका लागि निर्वाचन आचारसंहिता लागू गरिएको हो । आयोगले उपनिर्वाचन हुने स्थानीय तहबाहेकमा आचारसंहिताले निषेध गरेका कार्य गर्नु/गराउनुपरेमा आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आचारसंहितामा उल्लेख छ ।

‘कहींकतैबाट निर्वाचन आचारसंहिता विपरीतको कार्य भए/गरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा उजुरी दिई वा जानकारी गराई आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न’ आयोगले आह्वान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.