एजेन्सी,चैत १७ । न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार बेलुकी भारतको दिल्लीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।
१ सय ५४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले खेल सकिनु १७ बल अघि नै लक्ष्य भेट्टायो । इंग्ल्याण्डलाई जिताउँदै फाइनलमा पुर्याउन ओपनर जेसन रोयले उत्कृष्ट प्रदर्शन गरे । ईश सोढीको बलमा बोल्ड हुनुअघि रोयले ४४ बल खेल्दै ७८ रन बनाएका थिए । यस्तै नट आउट रहेका जोस बट्लरले ३२ र जोय रुटले २७ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङगरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । उसका लागि कोलन मुनरोले ३२ बलमा ४६ रन बनाएका थिए ।
कोरे एन्डर्सनले २८ र केन विलियम्सले ३२ रन बनाए । १२ दशमलव २ ओभरमा १ सय रन बनाए पनि पुछारका ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा न्युजिल्याण्डले मात्र १ सय ५४ रनको लक्ष्य दिन सकेको थियो । न्युजिल्याण्ड अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुग्न सकेको छैन । सन् २०१० को विजेता इंग्ल्याण्ड फाइनलमा पुगेको यो दोश्रो पल्ट हो । अब उसले उपाधिका लागि भारत र वेष्ट इण्डिजबीचको विजेतासँग खेल्नेछ । (