
त्रिशूली । पछिल्लो एक वर्षको अवधिमा ६ लाखभन्दा धेरैले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान नं. लिएको पाइएको हो । यो सँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ ।
पछिल्लो समय पारिश्रमिक भुक्तानी लगायतमा प्यान नं. अनिवार्य गरिएसँगै यो लिनेहरुको संख्या धेरै बढेको हो । आर्थिक वर्ष २०७९÷८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए ।
अर्थ मन्त्रालयका अनुसार व्यावसायिकतर्फ स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार पुगेको छ । गत वर्षसम्म यो संख्या १८ लाख ७६ हजार ३०५ रहेको थियो ।
करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ८० हजार ४३० रहेको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९८३ पुगेको छ । एक वर्षमा २६ हजार ५०६ जना नयाँले भ्याट दर्ता गराएका छन् । अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ ।