प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित

जेष्ठ २७, २०८१ मा प्रकाशित
Published at जेष्ठ २७, २०८१

178 views

काठमाडौँ । प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित भएको छ । दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेपछि आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल गर्ने तयारी थियो । बैठकअघि सभामुख देवराज घिमिरले बोलाउनुभएको बैठकमा दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेका हुन् । त्यसपछि आज र भोलिको प्रतिनिधि सभाको बैठक स्थगित गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक आउँदो मंगलवार बिहान ११ बजे बस्नेछ । सभामुखले बोलाउनुभएको बैठकमा सभामुखसहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.