
नुवाकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, नुवाकोटले लिखु गाँउपालिका वडा नं. १ र २ का किसानलाई मिनी टिलर र पावर टिलर अनुदानमा उपलब्ध गराएको छ ।
बिहीबार वडा नं. २ स्थित बगर बजारमा आयोजित एक कार्यक्रमको बीच लिखु –१ र २ का किसानहरुको लागी ५० प्रतिशत अनुदान सहयोगमा २५ वटा मिनी टिलर र वटा २ पावर टिलर वितरण गरिएको हो ।
कार्यक्रममा परियोजना कार्यान्वयन एकाई नुवाकोटका प्रमुख होमनाथ लम्सालले धान जोन अन्तरगत सूचिकृत भएका किसानलाई लक्षित गरेर निकालिएको सूचना अनुसार किसानको मागमा आधारित भएर उक्त सामाग्रि प्रदान गरिएको जानकारी दिनुभयो ।

परियोजनाले यो आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा किसानलाई यन्त्रउपकरण सहयोग पुराउने कार्यक्रम अन्तरगत प्रदान गरिएको २५ वटा मिनी टिलर र वटा २ पावर टिलरले किसानलाई खेतबारी खनजोत गर्नको लागी छिट्टो, सजिलो, सस्तो हुने भएकाले कम लागतमा कृषिकर्म गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जोन सञ्चालक समितिका अध्यक्ष बिनोद पाठकले जोनमा आबद्ध भएका किसानको लागी अनुदान र पूर्ण सहयोगमा यन्त्रउपकरण प्रदान गरेर कृषिको आधुनिकीकरणमा यान्त्रिकरणको प्रयोगलाई जोड दिने कार्यक्रम सञ्चालनमा ल्याइरहेको जानकारी दिनुभयो ।
लिखु १ का अध्यक्ष नरहरी पाण्डे, २ का अध्यक्ष प्रेमबहादुर थापामगर, जोन सञ्चालक समितिका सदस्य नारायण धमला, नयाँ वस्ती कृषक कृषि सहकारी सँस्थाका अध्यक्ष विवेक ढकालले किसानहरुको लागी जोन मार्फत उपलब्ध गराइएको सुविधाहरु निश्पक्ष, मागमा आधारित, दोहोरोपनको अन्त्य र कार्यक्रम कार्यान्वयन भएको क्षेत्रको लागी केन्द्रित भएकाले त्यसको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

वडाध्यक्षद्धयले पालिकाबाट पनि कृषिमा बजेट प्राथमिकीकरण भइरहेको हुदाँ जोनलाई पनि कृषि क्षेत्रको बजेटमा आधुनिक यन्त्रउपकरण र नयाँ नयाँ अविस्कार भएका प्रविधिको प्रयोगलाई जोड दिने कार्यक्रम ल्याउन सुझाब दिनुभयो ।

किसानले जोन सहित विभिन्न निकायबाट प्राप्त गरेका यन्त्रउपकरण तथा अन्य कृषि औजारहरुमा कहीँकतै दुरुपयोग हुने गरेको भन्ने गुनासो आएकाले त्यसो भएको पाइएमा त्यस्ता सदस्यहरुलाई कारबाही हुने भएकाले त्यस्ता गतिविधि नगर्नको लागी जोन सञ्चालक समितिका सदस्य नारायण धमलाले सचेत गराउनुभयो ।

परियोजना कार्यान्वयन एकाई नुवाकोटका कृषि अधिकृत शरण भुजेलले जोन कार्यक्रममा आबद्ध भएका सूचिकृत किसानहरुको लागी आलु जोनको फलोअप भइरहेको र धान जोनको कार्यक्रम सञ्चालनको लागी नयाँ यन्त्रउपकरण प्रयोगमा ल्याइरहेको जानकारी दिनुभयो ।
जोनको सहयोगमा गत वर्ष छहरेमा धान रोप्ने मेसिनको प्रयोग गरिएको उदाहरण दिदै आगामी दिनमा पनि नेपालमा आएका किसानको लागी सहयोगी नयाँ यन्त्रउपकरण र यान्त्रिकरणको प्रयोगलाई कार्यान्वयन गराउन कार्यालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, नुवाकोटले बिहीबार नै जिल्लाको तादी गाँउपालिका वडा नं २,३,४ र ५ का किसानहरुको लागी ४८ थान मिनीटिलर र वटा २ कम्बाइन मिल (कुटानी–पिसानी) ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

16.12¡ÆC