अध्यक्षसहित २० सांसदको पदावधि सकियो, नयाँको शपथ आज

फाल्गुन २१, २०८० मा प्रकाशित | 253 views


काठमाडौँ । संघीय संसदअन्तर्गत माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ। उनीहरुले २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेका हुन्।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको हो।

त्यस्तै कांग्रेसका चार सांसद रमेशजंग रायमाझी, अनीता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा भए । माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि बिदा भए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाईं, सिंहबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमिलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि सकिएको छ ।

रिक्त हुने २० मध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन्। उनीहरुले आजै शपथ लिनेछन्। एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि २०७४ सालमा नयाँ संविधान जारी भएपछि ५६ सदस्य निर्वाचित भएका थिए भने तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।

यसैबीच राष्ट्रियसभाको नयाँ अध्यक्षमा कांग्रेस र माओवादीले दाबी गरेका छन्। कांग्रेसले कोशी प्रदेशबाट निर्वाचित कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरे पनि माओवादी केन्द्रले भने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएको छ ।

अब राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web