
त्रिशूली, नुवाकोट । अर्थमन्त्री डा.प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकास मार्फत शैक्षिक रुपान्तरण गर्दै रोजगारको सिजर्ना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको आज आयोजित ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले गाँउगाँउमा विकास र शैक्षिक गुणस्तर मार्फत युवा वर्गलाई रोजगारमा केन्द्रित गराउने योजना र बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताउनुभएको हो ।
“गाँउगाँउमा विकासको गतिविधि बढाएर गाँउका उत्पादनलाई शहरमा पु-याउनुपर्छ ।” उहाँले भन्नुभयो “पूर्वाधारको विकास र प्राविधिक–आधुनिक शिक्षा मार्फत नयाँ फड्को मार्ने प्रयासमा सरकार केन्द्रित रहेको छ ।”
युवालाई आफ्नै गाँउमा टिकाउन रोजगारको सिर्जनाको लागी पूर्वाधार विकास र गुणस्तरीय शिक्षा नै पहिलो आधार भएकाले सोही अनुसार सरकारले नयाँ–नयाँ योजना कार्यान्वयनमा ल्याएको अर्थमन्त्री डा.महतले जानकारी दिनुभयो ।
“अहिले विकासको रफ्तार सुरु भएको छ । गाँउगाँउमा सडक सहितको पूर्वाधारको विकास र कृषिको आधुनिकीकरण र यन्त्रिकरणबाट उब्जनीलाई बढावा दिदै ती सामाग्रि शहरमा पु-याउनु पर्छ ।” उहाँले भन्नुभयो ।
सडक सहित सिचाई, खानेपानी लगायतका ग्रामिण पूर्वाधार विकासमा चालु आर्थिक वर्षदेखि सरकारले प्राथमिकता दिएकाले मुलुकमा विकासले नयाँ फड्को मार्ने चरणमा प्रवेश गरेको उहाँको भनाई छ ।
“लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र सुधार हुदै गाँउमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रशस्त छन् ।” अर्थमन्त्री डा.महतले भन्नुभयो “सुधारिएको अर्थतन्त्रले रोजगार र उद्यमी बढ्ने क्रममा छन् । पूर्वाधारको निर्माण सहित गुणस्तरीय शिक्षा दिएर सरकारले गाँउ केन्द्रित थप रोजगारको सिर्जना हुने नयाँ कार्यक्रम सञ्चालनमा जोड दिइएको छ ।”
उच्च शिक्षा अध्ययनको बाहनामा धेरै युवा शक्ति ठूलो रकम खर्चेर विदेश पालयनको जोखिम रोक्न सरकारले गाँउगाँउमा सडक, प्रविधि र शिक्षा पु-याएर रोजगारी सिर्जना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
“कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन ।” उहाँले भन्नुभयो “परिवार पाल्न र सन्ततीको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु ।”
गुणस्तरीय शिक्षाले रोजगारको बाटो खुल्ने भन्दै उहाँले शिक्षकले पाठ्यपुस्तक र नोटकापीको भरमा अध्यापन गराउने बानी हटाई प्रविधिमा आधारित शिक्षाबाट आफूले पनि पढेर विद्यार्थीलाई पढाउने बानीको विकास गर्न अर्थमन्त्री महतले सुझाब दिनुभयो ।
व्यावसायिक कृषि उब्जनी र समाज परिवर्तनको लागी शिक्षित जनशक्ति आवश्यक पर्ने भएकाले त्यसको लागी सरकारको लगानी अनुसार गुणस्तरीय शिक्षामा जोड दिन उहाँले शिक्षा क्षेत्रका सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।
आवश्यकताको आधारमा श्रोत र साधनले भ्याएसम्म राज्यले लगानी गर्दै आएकाले त्यो लगानीको सही सदुपयोग र उचित लाभ लिने गरेर शिक्षा प्रणालीको विकासमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
25.12¡ÆC