आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा. महत

माघ २८, २०८० मा प्रकाशित
Published at 2024-02-11

366 views

नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताउनुभयो ।

“विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन”, अर्थमन्त्री महतले भन्नुभयो, “अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ ।”

उहाँले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदाय अनुसारको संरक्षणमा आफैँ जुट्न उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्र बलियो बनाउन सके जनता र राज्य दुवै बलियो हुने भन्दै उहाँले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.