
डा∙ बबलु ठाकुर, पशु चिकित्सक
दृष्टान्त−१:
नुवाकोट जिल्लाका एक कृषकले व्यावसायिक रुपमा बाख्रापालन गर्नुभएको छ। बाख्राको पेटमा हुने एक किसिमको परजीवी (Hemonchus−रगत चुस्ने एक प्रकारको गोलो जुका) नियन्त्रण गर्न नसक्दा वर्षेनी सयौ पाठापाठी तथा वयस्क बाख्राहरु गुमाउनु परेको छ। यसरी बाख्राहरु मर्दा ठूलो नोक्सानी हुने भएकोले वाख्रापालन व्यवसाय प्रति निराशा बढदै गएको बताउँछन्।
यसो बुझ्दा वहाँले नियमित रुपमा जुका नाम्ले बिरुद्धको औषधी बाख्राहरुलाई खुवाईराख्नु भएको छ। खुवाईएको औषधी गुणस्तरीय नभएको हो कि भनेर प्रयोगशालामा परीक्षण गर्दा त्यो औषधीमा तोकिएको मात्रामा Fenbendazole/ Albendazole रहेको भेटिन्छ।कृषकको बुझाईमा परजीवी नियन्त्रण गर्न प्रयोग गरिएको औषधी प्रभावकारी नभएको अवश्था हो। यस्तो किन भएको होला ?
ती परजीवीले तिनिहरु बिरुद्ध वारम्वार प्रयोग गरिएका औषधी प्रति प्रतिरोधात्मक क्षमता (Anti Parasitic Resistance) विकास गरेको हुनसक्छ।
दृष्टान्त−२:
दशैको विदामा घर गएको वेला एक जना काकाले− लौ न डाक्टर बाबु मेरो एउटा गाईले साह्रै दुख दियो, जति गर्दा पनि थुनेलो निको भएन,हरेक वेतमा त्यो एउटा थुनको दूध बिग्रन्छ। यसलाई जसरी नि ठिक पार्नु पर्यो। नुवाकोटमा थुनेलो लगाउने ब्याकटेरिया विरुद्ध जेन्टामाईसिन नाम गरेको एन्टिवायोटिक प्रभावकारी भएकोले अन्य आवश्यक औषधी संग संगै जेन्टामाईसिन पाँच दिन सम्म लगाउदा पनि सन्तोषजनक सुधार देखिएन। नुवाकोटमा काम गर्ने एउटा एन्टिवायोटिक तराईमा किन काम नगरेको होला ?
निको नभएकोले प्रयोगशालामा परीक्षणका लागि दुध पठाउदा मैले प्रयोग गरेको र नुवाकोटमा काम गरिरहेको त्यो एन्टीवायोटिक विरुद्ध ती ब्याक्टेरियाहरुले प्रतिरोध क्षमता (Antibacterial Resistance) विकास गर्दै गएको भेटियो। अर्थात एन्टिवायोटिकहरु जहाँ सजिलै उपलब्ध छ र अधिकत्तम प्रयोग भएको छ त्यहाँ प्रतिरोधि क्षमता बढदै गएको अवस्था हो। फलस्वरुप नयाँ−नयाँ एन्टिवायोटिक हरुको अविष्कार नहुदाँ सम्म वर्षेनी उत्पादन घाटा, औषधि खर्च, प्राविधिक खर्च का कारण कृषकहरुलाई ठुलो आर्थिक सङ्कट बेहोर्नु पर्ने देखिन्छ।
दृष्टान्त−३:
हालसालै हिमाल खवरपत्रिकामा प्रकाशित समाचार अनुसार एक जना मान्छे अस्पतालमा आसियुमा भर्ना हुदाँ कुनै पनि एन्टिमाईक्रोवियलले ईन्फेक्सन नियन्त्रण गर्न नसकेपछि एन्टिमाईक्रोवियल प्रतिरोध (Antimicrobial Resistance) का कारण अकालमै ज्यान गुमाउनु पर्यो।
माथि प्रस्तुत गरिएको तीन वटै दृष्टान्तमा जनधनको क्षतीको मूख्य कारण एन्टिमाईक्रोवियल प्रतिरोध (Antimicrobial Resistance) हो।O’Neill नामक बेलायती अर्थशास्त्रीले सन् २०१४ मा गरेको प्रक्षेपण अनुसार विश्वभरमा वार्षिक अनुमानित सात लाख भन्दा बढी मानिसहरूको एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) कारण मृत्यु भइरहेको छ। यो एउटा विश्वव्यापी सार्वजनिक स्वास्थ्य चिन्ताको विषय हो।सन् २०५० सम्म वार्षिक अनुमानित एक करोड भन्दा बढी मानिसहरूको एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) कारणमृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। त्यसै कारण एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) लाई आँगनमा आइसकेको महामारी भनिएको हो।
हामीले अहिलेको अवस्थालाई एन्टिवायोटिकको अविष्कार हुनु पूर्वको अवस्थासँग तुलना गर्दा स्थिती सरल रुपमा वुझ्न सकिन्छ। एन्टिवायोटिक्सको आविष्कार नहुदाँसम्म एउटा सानो घाउ निको हुन नसकेर मानिस तथा पशुपन्छीको मृत्यू हुन्थयो। ईन्फेक्सन नियन्त्रण गर्न शरिरको सम्बन्धित अङ्ग नै काटेर फाल्नु पर्ने तथा प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्ने अवस्थामा पेट चिरेर वच्चा निकाल्दा ईन्फेक्सन नियन्त्रण नहुदाँ लाखौको संख्यामा आमाहरुले अकालमै ज्यान गुमाउनु पर्र्थ्यो। सन् १९२८ मा सर अलेक्जेण्डर फ्लेमिङ्ले पेनिसिलिन नामक एन्टिवायोटिक पत्ता लगाए र यसको सन् १९४० वाट व्यावसायिक रुपमा उत्पादन तथा प्रयोग भएको पाईन्छ।दोस्रो विश्व युद्धमा घाईते भएका लाखौ सिपाहीको जीवन पेनिसिलिनले वचायो। त्यसैले होला एन्टिवायोटिकलाई त्यो वेला Magic Bullet भनियो। नेपालमा सन १९६० तिर भुगर्भशास्त्री टोनी हेगनले चोट लागेर इन्फेक्सन हुँदा सिकिस्त विरामी भएको भरियाको उपचारमा पेनिसिलिनको प्रयोग गरेको र उक्त भरिया केही समयमा नै सन्चो भई भारी वोकेर हिंडेको उनको यात्रा संस्मरण सम्बन्धी डकुमेन्ट्रिमा देख्न सकिन्छ।
एन्टिमाईक्रोवियल प्रतिरोधि जिवाणुको विकास हुनुका कारण:
सन १९४५ को नोवेल पुरस्कार प्रदान गर्ने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएका एन्टिवायोटिकका अविष्कारक सर एलेक्जेन्डर फ्लेमिङ्गले व्यक्त गर्नु भएको नोवल स्पिचमा भन्नु भएको थियो ×जव एन्टिवायोटिक वजारमा सजिलै उपलब्ध हुन्छन,मानिसले जव एन्टिवायोटिक डोज अनुसार चलाउदैन्न, केहि ब्याक्टेरिया मर्दैन र त्यस एन्टिवायोटिक विरुद्ध प्रतिरोध क्षमता विकास गर्छ।ती बलिया व्याकटेरियाहरुलाई फेरि पनि त्यहि एन्टिवायोटिकले परास्त गर्न सक्दैन। विरामि निको हुदैन र पुन: एन्टिवायोटिकको अविष्कार नहुदाँको समयको जस्तो भयावह अवस्था आउन सक्छ।” आज हामी विस्तारै यस्तै अवस्थामा पुग्दैछौं।
हामि कसरी एन्टिवायोटिकको अविवेकि प्रयोग गरिरहेका छौ?
१∙ चाहिएको मात्रा भन्दा कम (Under dose) अथवा बढी प्रयोग (Over dose):उदाहरणका लागि ५ दिनसम्म विहान र वेलुका २ पटक चलाउन सुझाव गरिएको एन्टिवायोटिक विभिन्न कारणले २ दिन चलाएर वन्द गर्छौ भने कहिलेकाहि आफ्नै मनले रोगव्याधी नलाग्दैपनि पशुपन्छीहरुमा दिनको एक पटक नियमित राशन जस्तै एन्टिवायोटिक प्रयोग गरेको भेटिन्छ।
२∙ ज्ञान र चेतनाको कमि: हरेक रोगको उपचारमा एन्टिवायोटिक प्रभावकारी हुँदैन भनि बुझ्न नितान्त आवश्यक छ। परजीवि अथवा विषाणु (virus)को कारण पशुपन्छी विरामी हुदाँ पनि एन्टिवायोटिकको अविवेकि प्रयोग गरेको प्रस्ततै भेटिन्छ। पशुपन्छी वा आफै विरामी पर्दा रोगको निदान नगराई जथाभावि एन्टिवायोटिक प्रयोग गर्नु हुदैन।
एन्टिमाईक्रोवियल प्रतिरोधि जिवाणुको विकास नियन्त्रण गर्ने उपायहरु:
१∙संक्रामक रोगहरु लाग्ने नदिन सरसफाई तथा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्ने।
पशुपन्छीलाई रोग लाग्न नदिन खोरेत पिपिआर स्वाइन फिभर रानिखेत जस्ता संक्रामक रोग विरुद्ध प्राविधिकको सल्लाह अनुसार नियमित खोप लगाउने।
२∙ रोग लागे पछि प्रयोगशाला तथा निदानका अन्य विधिहरु प्रयोग गरी सहि रोग निदान तथा सोहि अनुसार दक्ष चिकित्सक∕प्राविधिकको सल्लाह वमोजिम उपचार गर्ने ∕गराउने।
३∙ आवश्यकता अनुसार एन्टिवायोटिकको जिम्मेवारपूर्ण प्रयोग तथा एन्टिवायोटिक्स प्रयोग गरे पश्चात औषधि दूध फूल मासुमा रहिरहने अवधि (रेसिडियुल अवधी) भर उपभोगका लागि प्रयोग गरिने पदार्थहरु (दुध,फुल,माछा,मासु) को बिक्रि वितरण नगर्ने∕नगराउने। सामान्यतया हामिकहाँ प्रयोग गरिने यस्ता औषधिको अवशेष ३ दिनदेखी ६ दिनसम्म रहेको हुन्छ। एन्टिवायोटिक प्रयोग भएका पशुपन्छीको सुली∕मल कम्पोष्ट गरेर मात्र खेत वारीमा छर्ने।
४∙ एक स्वास्थ्य अवधारणा अवलम्बन गर्ने।
हामि मानिस, पशुपन्छी संगसंगै एउटै वातावारणमा वाचिरहेका छौ। मानिसमा लाग्ने ७० प्रतिशत रोगहरुका जिवाणु तथा विषाणुहरु पशुपन्छीमा उत्पति भएको देखिन्छ। वातावरणमा फालिने मलमुत्र तथा सुलीमा समेत एन्टिमाईक्रोवियल अवशेषहरु रहन सक्छन।त्यसतो माटोमा फलेका तरकारि साग सव्जी उपभोग गर्दा समेत एन्टिमाईक्रोवियल प्रतिरोधी जिवाणु, विषाणु तथा परजीविहरु हाम्रा शरिरमा प्रवेश गर्न सक्छन र जव हामिलाई कुनै गम्भिर प्रकृतिका रोगहरु लाग्छन कुनै पनि एन्टिवायोटीकले काम नगर्न सक्छ।
एन्टिमाईक्रोवियल प्रतिरोधि जिवाणुको विकास नियन्त्रणमा कसको दायित्व के?
१∙ कृषकको दायित्व: जथाभावी एन्टसमाईक्रोवियल प्रयोग नगरौ।दक्ष प्राविधिक वा चिकित्सकको सल्लाह वमोजिम आवश्यक भए तोकिएको मात्रामा तोकिएको दिनसम्म नविराई नटुटाई एन्टिमाईक्रोवियलको कोर्स पुरा गरौ।
२∙ बिक्रेताको दायित्व: दक्ष प्राविधिक वा चिकित्सकको लिखित सल्लाह वेगर एन्टिमाईक्रोवियलको विक्रि वितरण नगरौ।
३∙ प्राविधिक∕चिकित्सकको दायित्व:प्रयोगशाला तथा निदानका अन्य विधिहरु प्रयोग गरी सहि रोग निदान,एन्टिमाईक्रोवियलको विवेकि छनौट,रोग निदान तथा उपचार सम्बन्धी विशेष अध्ययन तथा एन्टिमाईक्रोवियल प्रतिरोधि जिवाणु∕विषाणु∕परजीवि नियन्त्रण गर्ने हिसावले प्रेस्काईव गरौ।
अन्त्यमा, एन्टिमाईक्रोवियल प्रतिरोधी जिवाणु, विषाणु तथा परजीविहरु नियन्त्रण गर्नु हामि सवैको साझा दायित्व हो। मानव स्वास्थ्य, पशु स्वास्थ्य तथा वातावरणिय स्वास्थ्य तीनवटैको ख्याल राख्दै हामि सवै आ आफंनो दायित्व पुरा गरौ र जिम्मेवार वनौ।
धन्यवाद।

25.81¡ÆC