
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका क्षेत्रभित्र पर्ने पासाङल्यामु सडकको जीर्ण खण्ड स्तरोन्नतिका लागि थप ७६ करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । बहुवर्षीय योजनामा समावेश गर्दै बजेटको स्रोत सुनिश्चित भएपछि अब बेलकोटगढीको भूगोलमा समेत सडक निर्माणको काम अघि बढ्ने भएको हो ।
यसअघि चालु आर्थिक वर्षमा विनियोजन गरिएको १९ करोड रुपैयाँबाट ककनी–पैतिसकिलो र पिपलटार–तादीपुल खण्डमा मात्र काम हुने गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो । उक्त बजेटबाट बेलकोटगढी नगरपालिकाको भूगोलमा काम नै नपर्ने अवस्था देखिएपछि नगरप्रमुख जगतबहादुर गुरुङ ले तत्कालीन उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ लाई पटक–पटक भेट गर्दै ध्यानाकर्षण, दबाब तथा पहल गर्नुभएको थियो ।
नगरप्रमुख गुरुङले दुई महिनाको अवधिमा चार पटकसम्म मन्त्री घिसिङसँग भेट गरी बेलकोटगढी क्षेत्रलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले १९ करोडको बजेटले केवल विदुर र ककनी क्षेत्रमा मात्र काम हुने गरी ठेक्का लगाइएको भन्दै बेलकोटगढीबासी अन्यायमा परेको धारणा राख्नुभएको थियो ।
उक्त पहलपछि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट सडकलाई बहुवर्षीय योजनामा समावेश गरी स्रोत सुनिश्चित गरिएको जनाइएको छ । साथै सडक स्तरोन्नतिका लागि बजेटको आकार पनि झण्डै चार गुणाले बढाइएको छ ।

अब प्राप्त बजेटमार्फत पासाङल्यामु सडकअन्तर्गत चौतिसकिलो–पैतिसकिलो–बाराही–तिगाउँ–धमले हुँदै तादीपुलसम्मको खण्डमा स्तरोन्नतिको काम अघि बढाइने भएको छ ।
23.32¡ÆC