त्रिशूली । नुवाकोटमा रहेका बाह्रवटै स्थानीयतह मध्ये किस्पाङ र म्यागङ गाँउपालिकाले जग्गा वर्गिकरण गरेसगैँ रोकिएको कित्ताकाट खुला भएको छ ।
तोकिएको समय अवधि भित्र विदुर नगरपालिकाले जग्गा बर्गिकरणको लागी प्रक्रिया अन्तिम चरणमा पुराएकाले अबको एक साताभित्रै कार्य सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । जग्गा वर्गिकरण नहुदाँ गएको जेठ अन्तिम सातादेखि रोकिएको कित्ताकाट मध्ये किस्पाङ र म्यागङ गाँउपालिकामा खुला भएको मालपोत कार्यालयका प्रमुख होमनाथ सेढाईले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार ती दुवै पालिकाले कृषि र गैह्र कृषि अन्तरगत पनि निर्धारित वर्गमा पर्ने जग्गाहरु सबै बर्गिकरण गरेर ‘स्थानीय भू–उपयोग परिषद्’ मार्फत सिफारिस गरेर पठाएकाले त्यसलाई अनुमोदन गरिएको हो । ‘स्थानीय भू–उपयोग परिषद्’को सिफारिस अनुमोदन भएसगैँ जग्गा बर्गिकरणको आधारमा कित्ताकाट खुला भएको जानकारी सहितको पत्र किस्पाङ र म्यागङलाई हिजो शुक्रबार मालपोत कार्यालय नुवाकोटले पठाएको हो ।
यसैगरी, नुवाकोटको विदुरन गरपालिकाले पनि जग्गाको बर्गिकरण गरेपनि केही प्राविधिक पक्ष नपुगेकाले सफ्टवेयरमा दर्ता गर्न नमिलेकाले पुनः सच्याएर पठाउन मालपोत कार्यालय नुवाकोटले विदुर नगरपालिकालाई पत्राचार गरेको छ ।
विदुर नगरपालिकाको केही वडाको वडाध्यक्षहरुले कृषि जग्गाको बर्गिकरण गरेको भएपनि गैह्रकृषि अन्तरगत पर्ने समूहको बर्गिकरण नगरेको कारण सफ्टवेयरमा लिन अस्वीकार गरेसगैँ गैह्रकृषि समूहमा पर्ने जग्गाहरुको स्पष्ट रुपमा बर्गिकरण गरेर पठाउन विदुर नगरपालिकालाई मालपोत कार्यालयले पत्राचार गरेको छ ।
मालपोत कार्यालय नुवाकोटको सुझाबको आधारमा विदुर नगरपपालिको अबको एकसाताभित्रै बर्गिकरण सम्पन्न गर्ने जनाएको छ । लगातार बिदा परेकाले केही दिन ढिलो हुने भएपनि अबको एकसाताभित्र नमिलेका प्राविधिक पक्षहरुलाई समेत स्पष्ट बनाई जग्गाको बर्गिकरण गरेपछि बन्द भएको जग्गाको कित्ताकाट खुला हुने जानकारीमा आएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।
नुवाकोटको बाँकी अन्य ९ वटा पालिकाले भने तोकिएको अवधि भित्र जग्गाको बर्गिकरण गर्न नसकेसगैँ गएको जेठ अन्तिम सातादेखि रोकिएको कित्ताकाट नखुल्ने भएको छ ।
स्थानीयतहले ‘स्थानीय भू–उपयोग परिषद्’ गठन गरेर त्यस परिषद्बाट गएको मंसिर २२ गतेभित्र आफ्नो क्षेत्रभित्रको जग्गाको सकेसम्म तोकिएको समूहमा पर्ने विभिन्न दश समूहमा वर्गिकरण गर्न र त्यो सम्भव नभए कृषि र गैह्रकृषि दुई समूहमा वर्गिकरण गर्न समय दिएको थियो । तर, यस अवधिमा नुवाकोटका तीन वटा बाहेक बाँकी स्थानीयतहले अटेर गरेका छन् ।
जिल्ला मालपोत कार्यालय नुवाकोटका प्रमुख होमनाथ सेढाईको अनुसार गएको जेठ २३ गते राजपत्रमा भूउपयोग नियमावली–२०७९ जारी पश्चात ६ महिना भित्र अर्थात २०७९ मंसिर २२ गतेसम्म जग्गाको वर्गिकरण गर्न दिएको समयको मितिमा विदुर सहित किस्पाङ र म्यागङले मात्रै भू–उपयोग परिषद्बाट जग्गा वर्गिकरण गरेको निर्णयको जानकारी मालपोत कार्यालयलाई बुझाएका छन् ।
मुलकको बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसाईसराई बढ्दो शहरीकरण लगायतको व्यवस्थापनको लागी जग्गाको वर्गिकरणलाई महत्वको रुपमा लिनुपर्नेमा नुवाकोटका स्थानीयतहले चासो कम दिएको तथा वेवस्था गरेसगैँ जग्गासंग सम्बन्धित स्वामित्व हस्तान्तरणको काम समेत प्रभावित भइरहेको छ ।
19.12¡ÆC