फिलिपिन्सले पर्यटन बढाउन विमानस्थलको सुधार गर्ने

माघ ५, २०७९ मा प्रकाशित
Published at 2023-01-19

532 views

काठमाडौँ । गतिशीलता र पर्यटनको सञ्चार बढाउन फिलिपिन्सले यस वर्ष देशभरका कम्तीमा आठ वटा विमानस्थलमा सुधार गर्ने बताएको छ ।

फिलिपिन्सका बजेट मन्त्री अमेनाह पाङगान्दमानले भन्नुभयो, ‘सन् २०२३ को बजेटमा आठ वटा विमानस्थल परियोजनाका लागि बजेट तथा व्यवस्थापन विभागले रकम छुट्याइसकेको छ ।’ बजेटलाई राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले स्वीकृत गरिसक्नुभएको उहाँले बताउनुभयो ।

मनिलामा रहेको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल (एनएआईए) को स्तरोन्नति गर्ने काम भइरहेको र उत्तरी फिलिपिन्समा दुई, मध्य फिलिपिन्समा दुई र दक्षिणी फिलिपिन्समा तीन वटा विमानस्थल मर्मतका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

‘यो बजेट विनियोजनले देशको विशेष गरी उड्डयन क्षेत्रमा यातायात पूर्वाधारको निर्माण, पुनर्स्थापना र सुधारमा सहयोग पुर्‍याउनेछ’, पाङगन्डमानले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

फिलिपिन्समा जनवरी १ मा कम्प्युटरमा गडबडी हुँदा देशको सबैभन्दा ठूलो विमानस्थल एनएआईएको हवाई ट्राफिक नियन्त्रण अवरुद्ध हुँदा दुई सय ८२ अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान र झन्डै ६० हजार यात्रु प्रभावित भएका थिए । उहाँले मार्कोस प्रशासनको आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न सरकारले पूर्वाधार विकासलाई निरन्तरता दिने बताउनुभयो ।

मार्कोसले भन्नुभयो, ‘यो वर्ष देशको सार्वजनिक यातायात प्रणालीमा राम्रो दिनहरूको उदय हुनेछ ।’

‘एक प्रभावकारी र कुशल यातायात प्रणाली हुनुले रोजगार, अर्थव्यवस्था र हाम्रो समाजमा गुणात्मक प्रभाव पार्नेछ । यसले सबैका लागि सान्त्वना, सुविधा र सहज जीवन पनि ल्याउनेछ’, मन्त्री पाङगान्दमानले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.