टोकियो, जापान । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाको विदेश स्थित विभागहरु गठन हुन थालेको छ । पार्टि निर्माणको ६ महिनामै २० सांसद सहित सरकारमा सहभागी रास्वपा समर्थकहरुले जापानमा सम्पर्क विभाग गठन गरेका छन् ।
डिसेम्बर ३० तारिख शुक्रबार जापानको राजधानी टोकियो कामता स्थित चौतारो रेष्टुरेण्टमा एक सय बढि शुभेच्छुकहरुको उपस्थितिमा रास्वपाको प्रवास सम्पर्क विभाग घोषणा गरिएको छ ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको रास्वपाको पहिलो भेलाले सर्वसम्मत रुपमा दिलेन्द्र प्रसाद जोशीलाई सभापतिमा चयन गरेको छ ।
यसैगरि रास्वपा जापान सम्पर्क विभागको उपसभापतिमा शमिरजंग खड्का तथा महामन्त्रीमा खेमराज पौडेल चयन हुनुभएको छ ।
सबै कार्यसमितिका सदस्यहरु सर्वसम्मत रुपमा चयन हुने क्रममा सह महामन्त्रीमा भोजाराज श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष घिमिरे, सह कोषाध्यक्षमा सुरेश केही चयन भएको सभापति दिलेन्द्र जोशीले जानकारी दिनुभयो । सदस्यहरुमा कमला काप्री, नारायण खड्का, ईश्वरी अर्याल, प्रकाश आचार्य र सरोज धमाल चयन हुनुभएको छ ।
यस बाहेक सल्लाहकारमा रास्वपाका केन्द्रिय सदस्य समेत रहेका केशव अधिकारी तथा जापानका व्यवसायी भुवन अधिकारी चयन हुनुभएको छ । यसैगरि मञ्जु गिरी, भुपेन्द्र सुवेदी र विकास बस्नेत पनि सल्लाहकारमा छनौट हुनुभएको छ । कार्यसमितिलाई पूर्णता दिन बाँकी रहेको बताउँदै सभापति जोशीले कार्यक्रम भव्यता पूर्वक सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमलाई नेपालबाटै अनलाइनको माध्यमबाट रास्वपाका सभापति रवी लामिछाने तथा उपसभापती डिपि अर्यालले सम्वोधन गर्नुभएको थियो ।
रास्वपा उपसभापति डिपि अर्यालले भेलालाई सम्वोधन गर्दै निर्वाचनमा पार्टिले पाएको सफलतामा प्रवासमा रहेका नेपालीहरुको साथ र समर्थनको उल्लेखनिय भूमिका रहेको बताउनुभयो । जापानमा पार्टि समर्थकहरुबाट सम्पर्क विभाग गठन हुन लागेकोमा खुशी व्यक्त गर्दै जापानवासी नेपालीहरुबाट पाएको साथ र सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो पार्टिले देश र जनताको हितको लागि काम गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भेलालाई सम्वोधन गर्ने क्रममा गत महिना सम्पन्न निर्वाचनमा जापान सहित प्रवासबाट नेपालीहरुले गरेको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मुलुकको हितको लागि संसारभर छरिएर रहेका नेपालीहरु सहभागी हुनसकुन् भन्ने उद्देश्य सहित काम थालेको जानकारी गराउँदै विश्वभरका नेपालीहरुलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । छोटो समयमा संसारभरका नेपालीहरुबाट पाएको विश्वासलाई जनताले महशुस गर्नसक्ने उपब्धि हासिल गर्नका लागि कटिबद्ध रहेको बताउँदै गृहमन्त्री लामिछानेले सुधारको लागि कामहरु थालिसकेको र आफुहरु अहोरात्र खटिएर काम गर्ने बचनबद्धता जनाउनुभयो ।