डेङ्गीको सङ्क्रमण देशभर फैलियो

भदौ २७, २०७९ मा प्रकाशित | 454 views

काठमाडौँ । डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।

डेङ्गीको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको सूचना प्राप्त भए पनि पाँच जनाको मात्रै पुष्टि भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार डेङ्गी सङ्क्रमण भएर ज्यान गुमाएका पाँचमध्ये दुई जनामा अन्य कडा खालका रोगसमेत पाइएको छ । एक जनालाई कडा खालको दीर्घरोग र अर्का एक जनालाई डेङ्गीसँगै स्क्रब टाइफस पनि भएको पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टर दाहालको सुझाव छ । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न डाक्टरको आग्रह छ । यस्तै, उच्च ज्वरो आए, जिउ दुखे, टाउको दुखे जथाभाबी औषधि नखान र अस्पताल जान पनि डाक्टरको सुझाव छ ।

डेङ्गी फैलिएपछि अहिले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको छ । यो अभियान तीन महिनासम्म नै चलाउने तयारी रहेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कात्तिक मसान्तसम्म नै डेङ्गीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web