५ हजारभन्दा बढी नेपाली कामदार लैजान जापान तयार

साउन १९, २०७९ मा प्रकाशित
Published at साउन १९, २०७९

1316 views

काठमाडौ । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ ।

बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने समझदारी भएको छ ।

कार्यसमितिको काठमाडौंमा बसेको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउन ढिलाइ नगर्ने समझदारी भएको हो । बैठकमा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा त्यसका लागि तयारी गर्ने सहमति भएको छ ।

जापानको (एसएसडब्लू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेुपर्ने कार्यविधि बनाउने समझदारी पनि भएको छ ।

यसअघि नेपालले कार्यविधि बनाएर मन्त्रिपरिषद् लगेर पास नै गरिसकेको थियो । यो समझदारीले सरकारले बनाएको कार्यविधिलाई जापान सरकारले अस्वीकार गरेको देखिएको छ ।

जापान सरकार त्यहाँको औपचारिक माध्यम (एसएसडब्लू) प्रणाली अन्तरगत नेपालबाट कामदारहरु उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरुलाई गराउन पनि सहमत भएको छ । त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटो छरितो बनाउनु पर्ने विषयमा पनि छलफल भएको छ । नेपालमा कानुनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनुपर्ने सहमति भएको छ ।

बैठकमा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सहभागी थिए । जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधि मण्डलको सहभागी थियो ।

बैठक पछि जापानी टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँग पनि भेटवार्ता गरेको छ । मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरु जापान जानका लागि तयारी अवस्थामा रहेका जानकारी गराए ।

उनले उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गरेका छन् । उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत् सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

भेटमा उपमन्त्री चोतुमोले बैठक नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको बताए । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू ) मार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाइ भएकाले यो सम्झौता चाँडो होस् भन्ने आफूले चाहेको बताए । चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web