लघुवित्त कारोबार भयरहित बनाइदिन माग

साउन १८, २०७९ मा प्रकाशित | 594 views

भरतपुर । चितवनमा संचालित लघुवित्त सस्थाहरुले लघुवित्त कारोवारलाई भयरहित बनाइदिन माग गरेका छन् । लघुवित्त विरुद्धको संघर्ष समितिको कारण प्रवाह भएका कर्जा असुली प्रभावित भएको र निक्षेप कर्ता सर्वसाधरणको निक्षेप फिर्ता दिन समस्या भएको ठहर गर्दै लघुवित्तका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय भरतपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

सम्बन्धित लघुवित्त संस्थाको कार्यालयमा कार्यरत कर्मचारी समेत असुरक्षित भएको भन्दै उनीहरुले कर्मचारीको जिउ धनको सुरक्षाको समेत माग गरेका छन् ।

गैरकानुनी रुपमा अमुक संस्थाको नाममा लघुवित्त वित्तीय संस्था विरुद्ध भई रहेको गतिविधि तथा गतिविधि संचालकलाई कानुनी दायरामा ल्याई गरिवी न्युनिकरणको रुपमा रहेको लघुवित्त कारोवारलाई भयरहित तरिकाले संचालन गर्ने वातावरणका लागी पहल गरिदिन माग गरिएको छ ।
लघुवित्त संस्थाबाट भएको कारोवारको सवालमा उठेको सरोकारका विषयहरुमा त्यस निकायबाट आवश्यक छानविन गर्न पनि माग गरिएको जाल्पा सामुदायिक लघुवित्तका किशोर श्रेष्ठले बताए ।

देशमा हाल देखिएको तरलता अभावको कारणले समग्र बैंकिङ क्षेत्र नै प्रभावित भैरहेको अवस्थामा गैरकानुनी रुपमा लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको नाममा लघुवित्तका वित्तीय सेवा कार्यक्रमहरु पुर्ण रूपमा प्रभावित हुनेगरी लघुवित्त वित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, लिएको कर्जा मिनाहा हुनुपर्ने जस्ता माग राखेर सामूहिक रूपमा प्रतिवाद गर्ने, भौतिक कार्यवाहि गर्ने जस्ता धम्कीपूर्ण कार्यहरु गराइ रहेको अवस्थामा सर्वसाधारण नागरिकको निक्षेपको सुरक्षा, पुँजी लगानी कर्ताको लगानी तथा कर्मचारीको जीउ धनको सुरक्षमा गम्भिर चुनौती देखा परेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालभरका लघुवित्तमा ५७ लाख ७४ हजार १ सय ५५ जना आवद्ध छन् । २३ हजार ३ सय ५२ जना दक्ष जनशक्ति परिचालित छन् । १ खर्व ५२ अर्ब ६२ करोड ३२ लाख ४० हजार ५ सय ३२ रुपैया बचत लघुवित्तहरुमा निक्षेपका रूपमा जम्मा रहेको विज्ञप्तीमा उल्लेख छ । संसारभर गरिवी निवारणको प्रयायवाचीको रुपमा संचालित लघुवित्त कार्यक्रम नेपालमा २०५० को दशकबाट शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web