अघिल्लो जनप्रतिनिधिले बाढेको चुनाव लक्षित योजनाले विदुरको बजेट खर्च निराशाजनक

साउन ११, २०७९ मा प्रकाशित | 899 views

त्रिशूली । हालै सम्पन्न भएको आर्थिक वर्ष २०७८/०७९ मा नुवाकोटको विदुर नगरपालिकाको खर्च सामथ्र्य जिल्लाभरकै पालिका मध्येमा सबैभन्दा कमजोर देखिएको छ । विदुर नगरपालिकाले बनाएको बजेटमा दुई तिहाई अर्थात ६५ प्रतिशत मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयको अनुसार बजेटको श्रोत सुनिश्चित नभएपनि आकार ठूलो बनाएको कारण बजेट अभावले नुवाकोट जिल्लामा नै विदुर नगरपालिकाको खर्च सामथ्र्य सबैभन्दा कमजोर देखिएको हो ।
अघिल्लो जनप्रतितिधिले निर्वाचनलाई लक्षितगर्दै बजेटको श्रोत नभएपनि योजना तथा कार्यक्रम देखाई आफ्नो क्षमता भन्दा बाहिरको योजना बनाएकाले आर्थिक वर्षमा खर्चको श्रोत कुल बजेटको ६५ प्रतिशत मात्रै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका सूचना अधिकारी युवराज डुम्रेले जानकारी दिनुभएको छ । उहाँको अनुसार विदुर नगरपालिकाले गएको आर्थिक वर्षको लागी एक अर्ब ४३ करोडको बजेट सिलिङ बनाएपनि खर्च भने ९३ करोड ९७ लाख रुपैयाँ मात्रै गरेको देखिएको हो ।
विदुर नगरपालिकाका अघिल्लो जनप्रतिनिधिले बजेटको श्रोत सुनिश्चित नभएपनि योजना तथा कार्यक्रम वितरण गरेकाले नगरपालिका ४९ करोड रुपैयाँ घाटामा रहेको भनेर अहिलेको निर्वाचित जनप्रतिनिधिले गत असार ८ गते श्वेतपत्र समेत जारी गरेका थिए ।

नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले जारी गरेको श्वेतपत्र गलत रहेको दाबी गर्दै अघिल्लो नगरप्रमुख सञ्जु पण्डितले त्यसको प्रतिवाद गर्दै बहुबर्षिय योजनालाई समेत एक आर्थिक वर्षको योजनामा समावेश गरेर घाटा देखाइएको भनेर खण्डन गर्नुभएको थियो । तर, कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले दिएको हालै सम्पन्न भएको आर्थिक वर्षको बजेट खर्चमा विदुर नगरपालिकाको खर्च सामाथ्र्य १ अर्ब ४३ करोड २३ लाख रुपैयाँमा ९३ करोड ५७ लाख ६९ हजार रुपैयाँ मात्रै देखिएको छ ।

No photo description available.

कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटको अनुसार जिल्लामा सबैभन्दा धेरै खर्च गर्नसक्ने स्थानीयतहमा तादी गाँउपालिका रहेको छ । तादी गाँउपालिकाले हालै सम्पन्न भएको आर्थिक वर्षको लागी ४४ करेड ८४ लाख ७१ हजार रुपैयाँको बजेट बनाएकोमा ३९ करोड ७१ लाख ५८ हजार रुपैयाँ अर्थात कुल बजेटको ८८ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक सुशासन, सेवा प्रवाहमा इमान्दारिता तथा पारदर्शिताको लागी पालिकाले बनाएको बजेटको जतिधेरै खर्च गर्न सक्यो त्यसलाई राम्रो मानिने हुदाँ जिल्लामा तादी गाँउपालिकाको बजेट निर्माण, योजना तथा कार्यक्रमको कार्यान्वयन अतिउत्तम र विदुर नगरपालिकाको सबैभन्दा कमजोर देखिएको हो ।

यस्तै, जिल्लाको बेलकोटगढी नगरपालिकाले हालै सम्पन्न भएको आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँको बजेट बनाएकोमा ९१ करोड ५१ लाख रुपैयाँ अर्थात ७२ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै, ककनी गाँउपालिकाले सम्पन्न आर्थिक वर्षमा ६५ करोड ५५ लाख बजेट बनाएकोमा ५३ करोड २६ लाख रुपैयाँ अर्थात कुल बजेटको ८१ प्रतिशत, किस्पाङले ४६ करोड ९७ लाख रुपैयाँको बजेट बनाएकोमा ३४ करोड २७ लाख रुपैयाँ अर्थात ७२ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै, तारकेश्वरले ४० करोड ३४ लाख रुपैयाँको बजेट बनाएकोमा ३२ करोड २४ लाख रुपैया अर्थात ७९ प्रतिशत खर्च गरेको छ भने दुप्चेश्वरले ६१ करोड ८५ लाख रुपैयाँको बजेट बनाएकोमा ४४ करोड ५१ लाख रुपैयाँ अर्थात ७१ प्रतिशत बजेट खर्च गरेको पाइएको छ ।
यस्तै, पञ्चकन्याले ५१ करोड ७० लाख रुपैयाँको बजेट बनाएकोमा हालै सम्पन्न भएको आर्थिक वर्षमा ४२ करोड २० लाख रुपैयाँ अर्थात ८२ प्रतिशत, म्यागङले ४७ करोड ४० लाख रुपैयाँको बजेट बनाएकोमा ३९ करोड २८ लाख रुपैयाँ अर्थात ८३ प्रतिशत, लिखुले ४८ करोड ५३ लाख रुपैयाँको बजेट बनाएकोमा त्यसको ४० करोड ४२ लाख रुपैया अर्थात ८३ प्रतिशत खर्च गरेको पाइएको छ ।

यस्तै, जिल्लाको शिवपुरी गाँउपालिकाले गएको आर्थिक वर्षमा ५७ करोड ७६ लाख रुपैयाँको बजेट बनाएकोमा ४७ करोड ९२ लाख रुपैयाँ अर्थात ८३ प्रतिशत बजेट खर्च गरेको छ भने सूर्यगढी गाँउपालिकाले गएको आर्थिक वर्षमा ३९ करोड ४३ लाख रुपैयाँ हाराहारीको बजेट बनाएकोमा ३२ करोड १० लाख रुपैयाँ अर्थात ८१ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ ।

हालै सम्पन्न भएको आर्थिक वर्ष २०७८/०७९ मा नुवाकोटका १२ स्थानीयतहले कुल सात अर्ब ७३ करोड रुपैयाँ हाराहारीको बजेट बनाएकोमा त्यसको पाच अर्ब ९१ करोड रुपैयाँ अर्थात समग्रमा ७६ प्रतिशत बजेट मात्र्र खर्च गर्न सकेको देखिएको छ ।

स्थानीयतहले संघ र प्रदेस सरकारबाट प्राप्त हुने सर्शत, समपुरक, विशेष र अनुदानको बजेट सहित प्रदेस र संघको राजश्व बाडफाँट, प्राकृतिक श्रोतको बाडफाँट र विभिन्न स्वरुपका रोयल्टीलाई आधार मानेर अनुमानित बजेट तयार गरेर सोही अनुसारको खर्च गर्न योजना तथा कार्यक्रम बनाउने गरेका छन् । त्यसक्रममा गएको आर्थिक वर्षमा नुवाकोटका बाह्रवटा स्थानीयतह मध्ये सबैभन्दा कमजोर स्थानीयतह विदुर नगरपालिका देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web