त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगतबहादुर गुरुङ र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित हुनुभयो । बैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३,२२२ मत ल्याएर बिजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनालले ६,७४९ मत ल्याउनुभयो ।
उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १०,७६६ मत ल्याएर बिजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रुपा सापकोटाले ७,२७४ मत ल्याउनुभयो ।
बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र काँग्रेसले उपप्रमुख लिएर पालिकातहमा दुई पाटीबीच तालमेल गरेको थियो । नेकपा (एमाले)को बलियो पकड रहेको उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुख सहित दशवटा वडामा नेकपा (एमाले)का उम्मेदवार बिजयी भएका थिए ।
दोश्रो स्थानीयतहको निर्वाचन, २०७९ मा पालिकातहमा गठबन्धन भएपनि वडातहमा भने दलहरुबीच मित्रवत प्रतिस्पर्धा भएको थियो । पालिकाको तेह्रवटा वडामध्ये वडाध्यक्ष पदमा सातवटा वडामा नेपाली काँग्रेसका उम्मेदवार, चारवटा वडामा नेकपा (एमाले)का उम्मेदवार र दुईवटा वडामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।
बेलेकाटगढीको अन्तिम नतिजा आएसगैँ नुवाकोटमा रहेका सबै बाह्रवटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नुवाकोटमा सातवटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेस, चार वटामा नेकपा (माओवादी केन्द्र) र एकवटामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै, उपप्रमुख तथा उपाध्यक्षतर्फ आठ पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार र चार वटा पालिकामा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् । बाह्र पालिका रहेको नुवाकोटमा प्रमुख तथा अध्यक्ष एवम् उपप्रमुख तथा उपाध्यक्ष चौबिस पदमध्ये समग्रमा बाह्र पदमा नेकपा माओवादी केन्द्र, एघार पदमा नेपाली काँग्रेस र एकपदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितिको नेतृत्वको दाबी माओवादी केन्द्रले गर्ने पाटीका जिल्ला सह–इञ्चार्ज हिरानाथ खतिवडाले बताउनुभयो ।
26.12¡ÆC