त्रिशूली । नुवाकोट र रसुवाका १९१ जना मोतियाबिन्दु भएका बिरामीको सामुदायिक आँखा केन्द्र नुवाकोटले निःशुल्क शल्यक्रिया गरेर ज्योती फर्काएको छ ।
नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै नुवाकोट र रसुवामा पहिचान भएर कोरोना रोगको जोखिमको कारण उपचारको पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाको १९१ जना बिरामीको मोतियाबिन्दु हटाई दृष्टी फर्काइएको हो ।

सामुदायिक आँखा केन्द्र नुवाकोटका इञ्चार्ज ताराबहादुर वाइवाको अनुसार नुवाकोटको उर्लेनी, लच्याङ, बुङताङ, तारुका, बेलकोट र रानीपौवामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई केन्द्रको शल्यक्रिया कक्ष विदुरमा सोमबार र मंगलबार दुई दिन निःशुल्क शल्यक्रिया सेवा दिइएको हो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका नेत्र रोग विशेषज्ञ सहित छ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेर मोतियाबिन्दु भएका बिरामीको आँखामा पुनः दृष्टी फर्काउन सफल भएको हो ।
कोरोना रोगको सक्रमणको जोखिमको कारण जनस्तरमा स्वास्थ्य प्रतिको सजगता बृद्धि हुदै गएपनि संसार हेर्ने आँखाको हेरचाहमा भने चेतनाको स्तर अझै धेरै बढाउन आवश्यक देखिएको तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. मनिता अमात्यले बताउनुभयो । उहाँको अनुसार शिविरमा जाँच गर्न आएका मध्ये दश प्रतिशतमा रोगको सक्रमण देखिएको छ ।
“सक्रमण पहिचान भएका व्यक्तिमा जन्मजातदेखिको मोतियाबिन्दु पाइएको छ भने रोग बढेर अन्तिम अबस्थामा पुगेका बिरामी समेत भेट्टिएका छन् ।” डा.अमात्यले भन्नुभयो “सरुवा रोगबाट सुरक्षित रहन हात धुन र मास्क लगाउन पर्छ भन्ने चेतना पाइएपनि आँखाको सरसफाई सम्बन्धिको ज्ञान भने निकै कम पाइयो ।”

विभिन्न छ स्थानमा गरिएको शिविर तथा जाँच गराउन आएका बिरामी मध्ये दश प्रतिशतमा मोतियाबिन्दु पहिचान भएकाले यो आर्थिक वर्षमा थप २५ स्थानमा शिविर चलाउने तयारी गरिएको सामुदायिक आँखा केन्द्रका इञ्चार्ज ताराबहादुर वाइवाले बताउनुभयो । उहाँको अनुसार निःशुल्क शिविर सञ्चालन गरेर मोतियाबिन्दुका बिरामी खोज्न आवश्यक कार्ययोजना, बजेटको तर्जुमा, विशेषज्ञ चिकित्सक लगायतको प्रबन्ध मिलाएर नुवाकोट र रसुवाका एक हजार मोतियाबिन्दु भएका बिरामीलाई ज्योती फर्काउने लक्ष्य लिइएको छ ।




15.87¡ÆC