सरकारी निकायबाटै स्वास्थ्य मापदण्ड उल्लङ्घन

भदौ १२, २०७८ मा प्रकाशित | 360 views

काठमाडौँ । जिम्मेवार दल र सरकारी निकायले नै स्वास्थ्य मापदण्डको उल्लङ्घन गरेर भेला र जमघट गरेको भन्दै गुनासो बढेको छ । कांग्रेस, एमाले, एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले दिनहुँजसो बैठक र भेला गर्दै आएका छन् । तर यस्तो बैठक र भेला गर्दा स्वास्थ्य मापदण्ड पालना गरेको नेताहरुको दाबी छ ।

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले आफूहरुले स्वास्थ्य मापदण्ड पालना गरेरै सभा र भेला गर्ने गरेको दाबी गर्नुभयो । संविधान र पार्टी विधानअनुसार पनि समयमै महाधिवेशन गर्नुपर्ने भएकाले बाध्य भएर भेला र जमघट गर्नुपरेको र यस्तो बेला मापदण्ड पालना गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिएको उहाँको भनाइ छ ।

यस्तै अरुलाई नियम पालना गराउने निकाय गृह मन्त्रालयले केही दिनअघि गरेको गोष्ठीमा २५ जनाभन्दा बढीको जमघट भएको र यो स्वास्थ्य मापदण्ड विपरीत भएको भन्दै आलोचना भएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मापदण्ड पालना नभएको भन्ने आरोप सत्य नभएको र आफूहरुले नियम पालना गरेरै गोष्ठी गरेको दाबी गर्नुभयो।

२५ जनासम्म भेला भएर स्वास्थ्य मापदण्ड पालनासहित गोष्ठी र जमघट गर्न मिल्ने उहाँले बताउनुभयो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पछिल्लो मापदण्डअनुसार २५ जनासम्म भेला भएर भौतिक दूरी कायम गरी भेला र गोष्ठी गर्न मिल्ने बताउनुभयो ।

नियम पालना भए, नभएको अनुगमन गर्ने काम भइरहेको उहाँको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्नु सबैको दायित्व भएको भन्दै स्वास्थ्य मापदण्ड पालनामा जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web