पाँच लाख ५९ हजार डोज खोप आइपुग्यो

भदौ ७, २०७८ 2021-08-23 मा प्रकाशित
Published at 2021-08-23

779 views

काठमाडौँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा (डाेज) खोप आज साेमवार नेपाल आइपुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार सात सय ४० मात्रा खोप आइसकेको छ ।

यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार सात सय मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप प्रदेश नं. १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उहाँले जानकारी दिनुभयो । गएकाे फागुनमा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा. पौडेलले चीनबाट अनुदानमा थप १६ लाख मात्रा भेरोसेल खोप समेत चाँडै नै आउने बताउनुभयो । उहाँले नियमित आउने खोप ५० वर्षमुनिका र प्राथमिकतामा परेकालाई लगाइने जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म झन्डै एक करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ लाख दुई सय ५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार सात सय ३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.