अर्घाखाँची । शीतगङ्गा नगरपालिका-६ दाङ्ग सिङ्गको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लास्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीका बहादुरको परिवारसँग न ओत लाग्ने घर छ, न खाने अन्न ।
श्रीमती गुमाएका टीका बहादुरका पाँच छोराछोरी छन् । उहाँ आफैँ अपाङ्ग हुनुहुन्छ । एक हात र एक खुट्टाका औँला गाँसिएका छन् । उहाँले कसैकोमा मेलापात गएर पनि काम गर्न सक्नुहुन्न ।
‘पहिले पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेकाे थिएँ । अहिले कोरोनाका कारण गाउँ डुल्न पाइएन । घरमा खाने अन्न छैन । वर्षाको समयमा पानी चुहिएर घरमा बस्न मिल्दैन, न सुत्न नै’ उहाँले भन्नुभयाे।
छानाे नै नभएकाे घरमा बस्नु परेकाे बताउँदै उहाँले घर बनाउने आश्वासन दिए पनि कसैले वास्ता नगरेकाे दुखेसाे गर्नुभयाे ।
काेभिड र गरिबीका नाममा थुप्रै राहतका प्याकेज र कार्यक्रमहरु आए पनि आफूले केही नपाएकाे उहाँले बताउनुभयाे।
शीतगङ्गा- ६ का वडाअध्यक्ष रिसी रेश्मीले जनता आवास कार्यक्रम अन्तरगत टीका बहादुरकाे घर निर्माणसम्मकाे प्रक्रिया पूरा गरे पनि काम भने सम्पन्न हुन नसकेकाे बताउनु भयाे।
‘उहाँकाे अवस्था निक्कै पीडादायक छ । हामी यसप्रति गम्भीर छाैँ । याे वर्ष जसरी पनि समयमै काम सम्पन्न गर्ने याेजनामा छाैँ’ उहाँले भन्नुभयाे ।
याेजना तथा कार्यक्रमकाे प्रक्रिया ढिलाे भएकाे कारण समयमा राहत उपलब्ध गराउन नसकिएकाे नगरपालिकाका प्रशासकीय प्रमुख प्रेमबहादुर केसीले बताउनु भयाे । उहाँले भन्नुहुन्छ ‘ असार मसान्तकाे अन्तिम दिनसम्म उहाँहरु बैंकमा खाता खाेल्ने काम गर्दैहुनुहुन्थ्याे । सर्भरले काम गरेन । जसकाे कारण समयमा काम हुन सकेन ।’
यस्तै, धेरै पटक पीडितकाे गुनासो र समस्याहरु राख्दा पनि वडा र नगरपालिकाले राहतकाे व्यवस्था नगरेकाे स्थानीय समाजसेवी विक्रम आचार्यले बताउनु भयाे ।
‘बादी समुदायका केही बस्तीको अवस्था हेर्दा निकै पीडादायी नै छ । सराेकारवाला निकायसँग कति पटक ताकेता गर्नु ? यहाँ आवाजविहीनहरुकाे आवाज कस्ले सुन्छ र ?’ आचार्यले भन्नुभयाे।
पटक पटक गुनासाे राख्दा पनि वडा र नगरपालिकाका जनप्रतिनिधि जिम्मेवार बन्न नसकेकाे उहाँले बताउनु भयाे ।
24.05¡ÆC