रसुवा । रसुवामा एक वर्षमा रेन्बो ट्राउट माछाका ४० हजार भुरा बिक्री भएका छन् । रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले अण्डा तथा भुरा उत्पादन गरेर विभिन्न जिल्लामा पठाउने गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारका लागि रेन्बो ट्राउट माछाको अण्डा ७४ हजार र ४० हजार वटा भुरा बिक्री गरेको हो । केन्द्रले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ र चितवनमा बिक्रि गरेको हो । कोरोना महामारीका कारण किसानहरू केन्द्रमा आउन नसकेका र केन्द्रबाट किसानको फर्ममा जान कठिन हुँदा लक्ष्यको तुलनामा केही कम बिक्री भएको केन्द्रका प्रमुख महेन्द्र भण्डारीले बताउनुभयो ।
केन्द्रमा अहिले जापानिज रेन्बो ट्राउट माउ माछा २ सय ३६ वटा, जापानिज रेन्बो ट्राउट हुर्कौला माछा ८ सय १० वटा, जापानिज रेन्बो ट्राउट भुरा माछा १ हजार ७ सय ४० वटा, चिनियाँ रेन्बो ट्राउट (दानासेन) माउ माछा ४६ वटा, चिनिया रेन्बो ट्राउट (सुइकी–१०) भुरा माछा ४ हजार ४ सय वटा र न्यानो पानीमा पालन गरिने कमन कार्प माछाको ५ हजार भुरा रहेका छन् ।
रेन्बो ट्राउट माछा पालनलाई उपयुक्त मानिएको नेपालका पहाडी, हिमाली र मध्यपहाडी गरि ५८ वटा जिल्लामध्ये ३८ वटा जिल्लामा विस्तार भइसकेको पनि उहाँले बताउनुभयो ।
15.51¡ÆC