बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज बनाउन प्रधानमन्त्रिको निर्देशन

साउन २७, २०७८ मा प्रकाशित | 489 views

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार उहाँले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

यस्ता पुलहरु सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोड्युलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा बाढीपहिरो र प्राकृतिक विपद्बाट ठूलो क्षति भएको परिस्थितिको समीक्षा गरिनाका साथै मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको छ ।

मेलम्ची क्षेत्रमा गेगरानसहितको ठूलो पहिराले भएको क्षति सम्बन्धमा विश्वमा भएका सबै ज्ञान र सीपको प्रयोग गरेर निराकरणको उपाय पहिल्याउने बारेमा समेत छलफल भएको सदस्यसचिव पोखरेलले बताउनुभयो । प्रधानमन्त्री देउवाले प्राधिकरणलाई सशक्त बनाउन संस्थागत सुदृढीकरणका लागि ओ एन्ड एम सर्भे गर्न तथा गृह मन्त्रालयले हाल परिचालन गरिरहेको विपद् कोषलाई नियमावली बनाएर विपद् जोखिममा तत्काल गर्नुपर्ने कामका लागि प्राधिकरणलाई हस्तान्तरण गर्नसमेत निर्देशन दिनुभएको उहाँले टपनेपाल न्यूजडटकमलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सम्पन्न परिषद्को बैठकमा सबै मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चारै सुरक्षा निकायका प्रमुख उपस्थित हुनुहुन्थ्यो भने सातै प्रदेशका मुख्यमन्त्री कार्यालय जुममार्फत जोडिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web