काठमाडौँ । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख डाेज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजाे शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डाेज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।
अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डाेज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डाेज खाेप खरिद गरेको छ । चीनबाट ४० लाख डाेज भेरोसेल र भारतबाट २० लाख डाेज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डाेज खोप अझैसम्म आपूर्ति भएको छैन ।
यसैगरी भारतबाट अनुदानमा ११ लाख डाेज कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख डाेज भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार डाेज कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार डाेज जे एन्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भिडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार चार सय ३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार नाै सय ८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार चार सय २२ पुर्याइएकाे छ । काठमाण्डाै उपत्यकामा ८३ खोप केन्द्र थप गरी एक सय ४९ पुर्याइएकाे छ ।