काठमाडौं, नेपाल । जापान सरकारबाट अनुदान प्राप्त कोरोना भाइरस बिरुद्धको खोप नेपाल आईपुगेको छ । नेपाल सरकारलाई जापानले उपलब्ध गराउने १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० मात्रा अष्ट्राजेनेका खोप शनिवार नेपाल आइपुगेको हो । कतार एयरवेजको विशेष बिमान मार्फत खोप बिहान १० बजेर ३० मिनेटमा नेपाल आइपुगेको हो ।
खोप हिजो जापानबाट ढुवानी भएर नेपालको लागि उडेको थियो । जापानका तर्फबाट नेपालका लागि राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नु भएको हो । खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल लगायत युनिसेफका प्रतिनिधिको सहभागिता रहेको थियो । जापानले कोभ्याक्स सुविधाको माध्यमबाट नेपालको लागी खोप उपलब्ध गराएको हो ।
जापानको विदेश मामिला मन्त्री मोतेगी तोशिमित्चुले गत जुलाई १३ मा गरेको घोषणा र प्रतिज्ञा अनुसार जापानले नेपाललाई १६ लाख मात्रा कोरोना भाइरस बिरुद्धको खोप उपलब्ध गराउनेछ । खोपको बाँकी मात्रा चाँडै नै काठमाण्डौ आइपुग्ने राजदूत युताकाले बताएका छन । खोप हस्तान्तरण समारोहमा राजदूत किकुताले भनेका छन् 'यो सहयोग नेपालसंगको जापानको मैत्री सम्बन्धको लागी जापानी जनताबाट आएको सहयोग हो । हामी आशा गर्दछौं कि यो खोप, अन्तर्राष्ट्रिय समुदायको अन्य उदार योगदानको साथमा, कोभिड-१९ को कारण विभिन्न कठिनाइहरुलाई कम गर्न नेपाल लाई मद्दत गर्नेछ ।'