त्रिशूली । नुवाकोटको विभिन्न तीनवटा पालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा करीब आठ हजार बिरामीले निःशुल्क परीक्षण सहित आवश्यक औषधिको लाभ लिएका छन् ।

जिल्लाको दुप्चेश्वर, तादी र सूर्यगढी गाउँपालिकाले आयोजना गरेको छुट्टाछुट्टै स्वास्थ्य शिविरमा सात हजार ९६६ जनाले सेवा लिएको शिविर सञ्चालनमा सहयोग पुराएको रुडेकन ग्रुप नुवाकोटले जनाएको छ ।

उक्त ग्रुपका अध्यक्ष रमेशकुमार महतका अनुसार सम्बन्धित पालिकाको आयोजना र काठमाडौ मेडिकल कलेज (केएमसी)का दक्ष चिकित्सक र उपकरण मार्फत बिरामीको परीक्षण, आवश्यक औषधि र स–साना प्रकृतिका रोगको शल्यक्रिया समेत गरिएको थियो ।

दुप्चेश्वरमा यही मंगलबार र बुधबारसम्म शिविर चलाइएको थियो भने ८ र ९ गते तादी र ५, ६ र ७ गते सूर्यगढीमा शिविर सम्पन्न भएको थियो ।

जिल्लाको दुर्गमवस्तीका नागरिकको लुकेका रोगको पहिचान र पहिचान भएर पनि स्वास्थ्य जाँचका लागी अस्पतालको पहुँचसम्म पुग्न नसकेका बिरामीको लागी शिविर निकै प्रभावकारी भएको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । दुप्चेश्वरमा सम्पन्न शिविरमा एक हजार ६१७ जनाले परीक्षण गराएका छन् भने यसअघि सूर्यगढीमा तीन हजार ४०२ र तादीमा दुई हजार ९४७ जनाले सेवाको लाभ लिएका थिए ।

शिविरमा सम्बन्धित पालिकाले निःशुल्क औषधि उपलब्ध गराएको थियो ।

जाँचका क्रममा पहिचान भएका जटिल प्रकारका बिरामीको लागी शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुको लागी आर्थिक सहयोग पु¥याउने सूर्यगढीका अध्यक्ष सन्तबहादुर घलेले प्रतिबद्धता जनाउनुभयो । शिविरमा २५७ जना बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखा परेसगैँ उनीहरुको जटिल शल्यक्रिया मार्फत रोगको निधान गर्नुपर्ने देखिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । उनीहरुको लागी उक्त अस्पतालको प्राविधिक सहयोगमा सहुलियत शुल्कमा उपचारको प्रबन्ध गाउँपालिका मार्फत मिलाइने तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेको भनाई छ ।

स्वास्थ्य शिविरमा दक्ष एंव विशेषज्ञ चिकित्सक मार्फत जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, मानसिक तथा नसा समन्धि समस्या, हाडजोर्नी, छाला तथा यौन समस्या, नाक–कान र घाटी, बालरोगका सबै किसिमका समस्या, आँखा तथा दन्त सेवा, न्युरो सर्जरी, किड्नी तथा ईसीजी सहित भिडियो एक्सरे सेवा उपलब्ध गराइएको दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।

15.75¡ÆC