गोकर्ण अधिकारी टोकियो, जापान ।

विमान सेवा प्रदायक कम्पनी एयर एशिया ग्रुपले जापानमा आफ्नो सेवा बन्दको घोषणा गरेको छ ।

कोरोना भाइरस महामारीको मारमा परेर जापानमा बन्द हुने एयरएशिया कम्पनी पहिलो बनेको छ । जापानी बजारमा सस्तो हवाईसेवाको लागि परिचित मलेशियाली एयरएशिया कम्पनी औपचारिक रुपमा जापानबाट बाहिरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण हवाई यात्राको माग ठप्प रहिरहने देखिएपछि कम्पनीले यस्तो कदम चालेको सोमबार समूहको जापानी एकाईले बताएको हो ।

एयरएशिया जापानले आइची, साप्पोरो, सेन्डाई र फुकुओकाबीचको घरेलु रुट बन्द गर्ने भएको छ र ताइपेईतर्फको अन्तरराष्ट्रिय रुटमा पनि हवाई सेवा बन्द गरिएको छ । कोरोना भाइरसको महामारी कै कारण व्यवसाय बन्द गर्ने यो जापानमा व्यवसाय गरिरहेको पहिलो विमान सेवा प्रदायक हो ।

व्यवसाय मुनाफामा जान नसकेपछि एयर एशिया जापानले जुनमा कर्मचारी कटौती गर्न चाँडै सेवा निवृत्ती दिने योजना ल्याएको थियो । यस योजनामा कम्पनीमा कार्यरत ३ सयमध्ये ७० जनाले आवेदन दिएका थिए । अन्य कर्मचारीहरुलाई भने नोभेम्बरमा कामबाट निकालिने भएको छ ।

हवाई यात्रीको संख्यामा आएको कमीको प्रभाव कम्पनी माथि निकै धेरै परेको छ । महामारी फैलिन नदिन यात्रुको सीमामा कठोर नियन्त्रण लागू गरेपछि जापानमा बिदेशी यात्रीको आगमन ९९ प्रतिशत भन्दा धेरैले घटेको छ । विश्वको हवाई यात्रा पनि सन् २०२४ अघि महामारी पूर्वको स्तरमा नफर्कने अन्तराष्ट्रिय नागरिक उड्डयन नियमन निकाय आयटाले अनुमान गरेको छ ।

यो एयर एशियाको दोस्रो जापान बहिर्गमन हो । यस अघि सन् २०१३ मा पनि कम्पनीले अल निप्पोन एयरवेजसँगको ज्वाइन्ट भेञ्चर खारेज गरेको थियो । कम्पनीले व्यवसाय सञ्चालनको लाइन्सेन्स भने लिइ नै राख्ने योजना बनाएको छ ।

कम्पनी फेरि जापानी बजारमा प्रवेश गर्छ कि गर्दैन भन्ने चाँहि भविष्यले नै बताउने एयर एशिया जापानका प्रमुख सञ्चालन अधिकृत जुन आइदाले बताए ।

17.36¡ÆC