काठमाडौं,भदौं ४ । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस्पर्धीका रूपमा अगाडि बढे । महाकाली सन्धिको विवादमा आएर दुई नेता पहिलोचोटि स्पष्ट रूपमा विभाजित भए । त्यसअघि २०५१ सालमा पहिलोपटक एमालेको नौ महिने सरकार बनेपछि केपी र वामदेवको दूरी बढ्न थालिसकेको थियो । माधव नेपाल उपप्रधानमन्त्री, परराष्ट्र तथा रक्षामन्त्री तथा केपी शक्तिशाली गृहमन्त्री भए । गौतमलाई विधानमै नभएको उपमहासचिव पद खडा गरेर पार्टी कामको जिम्मा लगाइयो । खासमा त्यसवेला उनलाई पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको थियो ।

पार्टी केन्द्रमा आएदेखि महाकाली सन्धि संसद्बाट अनुमोदन हुनुअघिसम्म ओली–गौतमको राजनीतिक धुरी एकै थियो । तर, पार्टी सरकारबाट बाहिरिएपछि गौतम ‘माइनस’मा पर्न थाले । तत्कालीन महासचिव नेपाल र ओली दुवैले उपमहासचिवबाट राजीनामा दिन दबाब दिएपछि गौतमले आफ्नो भूमिकाको अवमूल्यन भएको ठान्दै झोक्किएर उपमहासचिव र केन्द्रीय कमिटी सदस्य दुवै पदबाट राजीनामा दिए । तर, केन्द्रीय कमिटीबाट दिएको राजीनामा अस्वीकृत, उपमहासचिवको राजीनामा मात्रै स्वीकृत भयो । उपमहासचिव पद खारेजीपछि गौतम पार्टी संस्थापनसित असन्तुष्ट बन्न थालेको जानकारहरू बताउँछन् ।

मदनसँगै बसेर मदिरा पिउँथे केपी–वामदेव

पार्टी विभाजन पहिले दुई नेताबीच हार्दिकतापूर्ण र अनौपचारिक प्रकृतिका सम्बन्ध पनि थिए । दुवै नेता डेरामा बाक्लै आवतजावत गर्थे । ओलीले गौतमलाई आफ्नै डेरामा पनि बोलाउाथे । चौथो र पाचौ महाधिवेशनको बीचमा उनीहरूबीच असाध्यै राम्रो दोस्ती थियो । तिनताका मदन भण्डारीसहित केपी र वामदेव सागै बसेर रमाइलोका लागि बेलुकी हल्का मदिरापान गर्दै मजाक पनि गर्थे । कहिले मदनकोमा त कहिले कसकोमा उनीहरू छलफल र रमाइलोका लागि बस्ने गर्थे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं,भदौं ४ । नेविसंघ चुनावपछि कांग्रेस शीर्ष नेताको ध्यान तरुण दलतिर गएको छ । आगामी २४, २५ र २६ गते भदौमा तरुण दलको चौथो महाधिवेशन पोखरा र काठमाडौंमध्ये एक ठाउँमा हुने भएको छ । नेविसंघमा झैं तरुण दल पनि नेतृत्व कब्जा गर्ने होडमा संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । चूनावमा पनि कृष्ण सिटौला पक्षले आफ्नो भूमिका बढाउने तयारी गरेको छ ।

नेविसंघ केन्द्रीय समितिमा एक महामन्त्रीसहित पदाधिकारीमा ९ सिटमा सिटौला पक्षको विजय भएको छ । परिणामपछि सिटौला पक्ष उत्साहित देखिएको छ । तरुण दल अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षबाट बर्दियाका जन्मजयन्त तिमिल्सिना र डडेलधुराका कर्ण मल्ल इच्छुक देखिएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं,भदौं ४ । गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीको बिर्ता देउराली-९ खहरेखोलामा भएको बा ३ ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बीएण्डबी अस्पताल पुगेको बताएका छन् । ‘दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले सोचेँ अब स्टार्ट बन्द हुँदैन’, चालक गौतमले भने,’मेरो सोचाइ गलत भयो, बसको अन्तिम स्टप मदनकुँडारी गाविसमा पुगेर स्टार्ट बन्द गर्ने मेरो योजना खहरेखोलाको उकालोमा तुहियो ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अलि तल तेर्सो थियो, गियर २ मा चलाएको थिएँ, उकालोमा तान्दैन भनेर १ नम्बर गियरमा राखेँ, उकालो सकिन ३० सेकेन्ड जति बाँकी थियो बसको स्टार्ट बन्द भयो,’ चालक गौतमले भने,’स्टार्ट बन्द हुनेबित्तिकै सह चालक कमल गौतमलाई ओट राख्न भने उनी ओर्लिएर ओट राख्न खोज्दै थिए बस चिप्लिरहृयो ।‘चिप्लिएको बसमा भएभरको बल लगाएर ब्रेक लगाएँ,’केही सिप लागेन, बसले बल्ड्याङ खायो,’ उनले भने,’ बेहोस भएछु, होसमा आउँदा बीभत्स दृश्य देखेँ, म बाबियोको बोटमा अल्झिएको रहेछु उठ्दा छेउमै ठूलीआमा पर्नेको पेट फुटेको देखेँ, उचालेर यता राखिदिए र सडकमा आएँ ।’

मान्छेहरू कराँदै थिए । मैले भाइ कमल गौतमलाई भेटेँ । मसँग मोबाइल पनि थिएन । उसैसँग मकैबारीमा गएर साथीलाई फोन गरेर मोटरसाइकल बोलाएँ । त्यो मोटरसाइकलमा त्यही बाटो हुँदै फलाँटे आएँ। हात भाच्चिएको थियो । फलाटेसम्म मोटरसाइकलमा आएर बोलेरो गाडी बोलाएँ, त्यसमै बिएण्डबी आइपुगेँ र भर्ना भएँ,’ उनले भने,’ श्रीमती र आफन्तलाई अस्पतालमा भेटेँ । हाम्रो गाडी हो भनेर मेरा आफन्तहरू पनि चढेका थिए । दाजुभाइ र आफन्तको पनि निधन भयो। केही घाइते भए अस्पतालमै बसेर नक्कली लाइसेन्सको बारेमा समाचार पढेँ ।’

‘२०६० साल पुस २९ गते लिएको ०६२१३४२९ नम्बरको लाइसेन्स दुईपटक नवीकरण गरें । पछिल्लो समयावधि २०७५ कात्तिक ५ गतेसम्म छ । दुर्घटनापश्चत थुप्रै कुराहरु आए, बाहिर आएका कुराहरुमा थोरै मात्र सत्यता छ, दुर्घटना चाहेर हुँदैन, त्यो बस मेरो आफ्नै हो, मलाई रहर होला र दुर्घटना गराउने ।’ ७ महिनाअघि रुटको साढे ९ लाखसहित २७ लाखमा बस किनेका चिन्तामणिका पार्टनर सहचालक कमल गौतम हुन् ।

काठमाडौं,भदौं ४ । नेपाल वायुसेवा निगमले चार वर्षपछि बिहीबारदेखि युएईको दुबईमा पुन: उडान सुरु गरेको छ । निगमको पहिलो उडान भरीभराउ उडेको खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्। निगमको संस्थागत विभागका अनुसार, बिहीबारदेखि सुरु पहिलो उडानमा १ सय ५८ सिट सबै भरिएका थिए भने दुबईबाट शुक्रबार विहान फर्किदा १ सय ३७ यात्रु थिए । निगमको दुबई आठौं उडान गन्तव्य हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीले सातामा तीन दिन आइतवार, मंगलबार र बिहीबार काठमाडौंबाट उडान भर्नेछ भने दुबईबाट त्यसको भोलीपल्ट सोमबार, बुधबार र शुक्रबार फर्किने उडान तालिका राखेको छ । काठमाडौंबाट राति साढे ११ बजे दुबईका लागि विमान उडने छ भने दुबईबाट उडेको उक्त विमान विहान साढे १० बजे काठमाडौं अवतरण गर्ने छ ।

काठमाडौंदेखि दुबईसम्मको उडान अवधि ४ घण्टा ४० मिनेट रहेको छ । त्यसैगरी दुबईबाट काठमाडौं फर्किदा ४ घण्टा १५ मिनेटको उडान अवधि छ । यो रुटमा दुई सेट पाइलट राखिएका छन् । निगमको सगरमाथा नामको एयरबस उडाएर क्याप्टेनहरु आरपी ढकाल र श्रवण रिजाल विहीबार दुबई पुगेका थिए भने उताबाट सुवाष रिजाल र विजय लामाले विमान ल्याएका थिए ।

निगमले काठमाडौं–दुबई–काठमाडौं उडानबाट बैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेको छ । निगमले यस रुटबाट एक वर्षमा ४० हजार ५ सय २८ यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ । यसबाट मात्रै करिब १ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान छ ।

निगमले ०४१ माघदेखि सुरु गरेको दुवई उडान यात्रालाई विमान अभावले ०६९ भदौं १२ मा २८ वर्षपछि बन्द गरेको थियो ।

काठमाडौं,भदौं ४ । सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको छ । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेको थियो । धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँस गरिएको थियो भने खुलेको पम्पमा पनि पेट्रोल छैन भन्ने सूचना थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं,भदौं ३ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बि डिभिजन लिग यहि भदौ ५ गतेबाट सुरु गर्ने भएको छ । प्रतियोगितामा १४ टोलि सहभागी हुदै छन्। खेल सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा आइताबार उदघाटन हुनेछ । बाँसबारी क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब, खुमलटार युथ क्लब, मध्यपुर युथ एसोसिएसन, महाबिर क्लब, नयबस्ती युथ क्लब, न्यु रोड टिम (एन.आर.टि), पुल्चोक स्पोर्ट्स क्लब, रानीपोखरी कर्नर टिम (आर.सी.टि.), सामाजिक युथ क्लब, सातदोबाटो युथ क्लब, श्री कुमारी क्लब र टुसाल युथ क्लबले यस प्रतियोगिता खेल्दैछन्।

लिगमा पहिलो र दोश्रो हुने टोलि आगामी वर्ष ‘ए’ डिभिजनमा बढुवा हुने छ भने अन्तिमका दुइ टोलि ‘सी’ डिभिजनमा झर्नेछन। लिग तयारीको लागि एन्फाले प्रत्येक टोलीलाई चार लाख रुपैयाँ दिएको छ भने लिग विजेता टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ। दोश्रो, तेश्रो र चौथो टोलीले क्रमश २,५०,०००,१,५०,००० र ७५,००० पाउनेछन्। एकल विधामा उत्कृष्ट हुने पाँच जनाले जनही २५,००० पाउनेछन्। लिगको पहिलो खेल खुमलटार युथ क्लब र मध्यपुर युथ एसोसिएसनले आइतबार दिउसो १:३० बजे हल्चोकमा खेल्नेछन्।

काठमाडौं,भदौं ३ । आयोजक ग्रीनल्याण्ड स्कुल र एचएचसिएले एघारौं क्वीक्स् ग्रिनल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको जुनियरतर्फको फाइनल खेलमा आयोजक ग्रीनल्याण्डले भ्याली पब्लीक स्कुललाई ४६–२० को स्कोरले स्तब्ध पारेको हो । ग्रीनल्याण्डको जितमा आस्मित बम्जनले सर्बाधिक १० स्कोर गरे । उनीनै जुनियरतर्फ मस्ट भ्यालुएबल प्लेयर चूनिए । सिनियरतर्फ एचएचसीएले ग्रीनल्याण्डलाई ६३–५० स्कोरले हरादै उपाधि हात पा¥यो । एचएचसिएको जितमा बिशाल राईले महत्वपूूर्ण २७ स्कोरको योगदान दिए । बिशाल नै सिनियरतर्फ मस्ट भ्यालुएबल प्लेयर घोषित भए । धापासी स्थित आयोजकको कोर्टमा तेस्रो स्थानका लागि भएको खेलमा सामाखुसी बोर्डीङ स्कुुल(सेब) र स्काइलार्क सफलता हात पारे । जूनियरतर्फ सामाखुसी बोर्डीङ स्कुुल(सेब)ले नेरिक स्कुललाई ३०–२० को स्कोरमा हरायो । सेबको जितमा उत्कृष्ट खेल प्रदर्शन गरेका सशांक सत्यालले सर्बाधिक ११ स्कोर गरे । सिनियरतर्फ स्काइलार्कले भ्याली पब्लीकलाई ५९–२६ स्कोरले हरायो । स्काइलार्कको जितमा अकिंत बहादुर लोहरले सर्बाधिक १८ स्कोरको योगदान गरे ।

बिधागत उत्कृष्टमा सिनियरतर्फ स्काईलार्कका नम सुुनुवार हाई स्कोरर चुुनिए । जुनियरतर्फ भ्यालीका लक्ष्मण परियार हाइ स्कोरर भए । सिनियरतर्फ ग्रीनल्याण्डका दिलिप पुुन तथा जुनियरतर्फ ग्रीनल्याण्डकै सौगात सुनुवार बेस्ट थ्री पोइन्टर चुुनिए । एचएचसिएलाई नवौँ सस्करणदेखि लगातार उपाधि दिलाउन सफल प्रशिक्षक सागर श्रेष्ठ बेस्ट कोच चूनिए । सोही अवसरमा विद्यालयको बास्केटबल टिमका पुर्व कप्तान दिपेश काकी सम्मानीत भए । उनलाई राष्ट्रिय रेफ्री हुन सफल भएकोमा ग्रीनल्याण्डले सम्मान गरेको हो ।

प्रतियोगितामा विजेता खेलाडीलाई नेपाल बास्केटबल सघंका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा,काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष एवम् आयोजक विद्यालयका प्रिन्सिपल थकिन गुरुङ,गोल्डेनपीक स्कुलका प्रिन्सिपल छत्र मणि राई र एन्जलहर्ट स्कुुलका प्रिन्सिपल धन बहादुर पुन,न्युटन स्कुलका प्रिसिपल राम केसी,न्युु समिट स्कुलका डाइरेक्टर रमेश पन्ति लगायतले पुरस्कृत गरे । लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सिनियर व्वाइजमा १६ तथा जुनियर व्वाइजमा २४ गरी कुल ४० बिद्यालयको सहभागीता रहेको थियो । श्रावण २७ गते देखी शुरु भएको प्रतियोगितालाई चौधरी ग्रुपको क्वीक्स् चीज बलले मुख्य प्रायोजन भएको हो ।

४ भदौ, चितवन ।

चितवनमा फैलिएको स्क्रब टाइफर्स रोग १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ ।

चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको परीक्षणमा १ सय ४ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो ।

डा लम्सालका अनुसार बालबालिकामा बढी सङ्क्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । प्रकोप फैलिंदै गएकोले रोगीको परीक्षण हुनसकेको छैन ।

चितवन जिल्लामा २०७३ साल वैशाखपछि अहिलेसम्म रोगको अवस्था र सङ्क्रमणको बारेमा आज पहिलोपटक जनस्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको हो ।

स्क्रव टाइफसका कारण चितवनमा सङ्खुवासभा १ र भोजपुरका १ गरी तीन जनाको मृत्यु भैसकेको छ ।

मुख्यगरी मुसामा लाग्ने एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने यसको लक्षण हो ।

३ भदौ, काठमाडौं ।

नेपाल वायु सेवा निगमको काठमाडौँ–दुबई सीधा उडान सुरु भएको छ ।

विमान अभावका कारण बन्द भएको झन्डै चार वर्षपछि निगमले पुनः बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।

बिहीबार राति ११ः२० बजे १५८ यात्रु लिएर दुबई उडेको निगमको एयरबस शुक्रबार बिहान १०ः२५ बजे काठमाडौँ फिर्ता भएको निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले निगमको नियमित तालिकाअनुसार उडान हुने र आइतबारका लागि पनि १५८ अर्थात९पूरै सिट० बुकिङ भएको बताउनुभयो ।

निगमको कार्यतालिकाअनुसार निगमले सातामा तीनवटा उडान गर्नेछ । काठमाडाँैबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

काठमाडौँ–दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर दुईतर्फी रु ३२ हजार तोकेको निगमले जनाएको छ ।

निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैङ्लोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङ्कङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको उडान गन्तव्य आठ पुगेकोछ ।

३ भदौ, मंगोलिया ।
एएफसी कपको प्लेअफ छनोट खेलका लागि मंगोलिया आइपुगेको थ्रीस्टार क्लबले बिहीबारदेखि अभ्यास थालेको छ ।

आइतबारदेखि सुरु हुने प्लेअफ खेल्न थ्रीस्टार बुधबार मंगोलिया पुगेको हो । ललितपुरको रैथाने क्लब थ्रीस्टारले यो प्रतियोगिताको प्रारम्भिक छनौटमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्बल र कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

एर्चिम थ्रीस्टारका लागि नौलो प्रतिद्वन्द्वी होइन। यी दुई टिमको भेट प्रेसिडेन्ट कप फुटबलमा भइसकेको छ। एर्चिम मंगोलियन राष्ट्रिय लिग च्याम्पियन हो ।

नागावर्ल्ड भने नौलो प्रतिद्वन्द्वी हा े। कम्बोडियको लिग च्याम्पियन क्लब म्याच फिक्सिङमा परेपछि दोस्रो स्थानमा रहेको नागावर्ल्डले मौका पाएको हो । छनौट प्रतियोगितामा थ्रीस्टार क्लब समूह ’बी’मा परेको छ । थ्रीस्टारले ५ भदौमा आयोजक एर्चिमको सामना गर्नेछ ।

यसैगरी एक दिनको विश्रामपछि ७ भदौमा नागावर्ल्डसँग खेल्ने छ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।

भूकम्प र नाकाबन्दीका कारण गत साल राष्ट्रिय लिग भएको थिएन । थ्रीस्टार २०७१ सालको राष्ट्रिय लिगको विजेताको हैसियतमा सहभागी भएको हो ।

एशियाली फुटबल महासंघ एएफसीले प्रेसिडेन्ट कप हटाएपछि नेपाली क्लबले एएफसी कपमा सहभागी हुने मौका पाएको हो । विगतमा एएफसी प्रेसिडेन्ट्स कपको अन्तिम चरणमा दुई पटक प्रवेश गरिसकेको थ्रीस्टार क्लब नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्ने पहिलो टोली हो ।

३ भदौ, काठमाडौं ।
नेकपा 'एमाले' स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताउनुभएको छ ।

आइतबारदेखि जारी एमाले बैठकमा आज पनि आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतका विषयमा समीक्षात्मक धारणा राख्ने क्रम जारी
रह्यो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसेको बैठकमा एमालेले दीर्घकालसम्म गठबन्धन कायम राख्न चाहे पनि शक्ति केन्द्रको प्रलोभनका कारण नेकपा ९माओवादी केन्द्र० लाई नयाँ ठाउँमा पुरयाएकाले समीकरण बदलिएको पार्टीका सचिव योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

सामान्य कमि कमजोरीलाई पार्टीले आगामी दिनका लागि शिक्षाका रुपमा ग्रहण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने अभियानमा पार्टीलाई परिचालन गर्नुपर्ने बैठकले जोड दिएको छ ।

स्थायी समितिको बैठक यही अइतबार पुन बस्नेछ ।

३ भदौ, काठमाडौं ।
नेकपा 'माओवादी केन्द्र' केन्द्रीय कार्यालय बैठकले आगामी पौष २८ गतेदेखि गर्ने तय भएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारको कामलाई प्रभावकारी बनाउनु पर्ने र सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने भएकोले महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको बताउनु भयो ।

बैठकले आज ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरेको छ ।