सडक निर्माण रोक्न काँग्रेस मन्त्री नविन्द्रराज जोसीको धम्की

११ कार्तिक, काठमाडौं ।
त्रिपुरेश्वर-कलंकी-नागढुंगा खण्डको निर्माणमा स्थानीय मात्र होइन, कार्यकारी पदमा आसीन मन्त्रीसमेत बाधक बनेका छन् ।

८ असोजमा कालिमाटी क्षेत्रमा सडक मिचेर घर भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई काँग्रेसका उद्योगमन्त्री नवीन्द्रराज जोशीले धम्काएर फिर्ता गराए ।

डोजर लिएर संरचना भत्काउन टोली खटिएपछि मन्त्री जोशीले महानगरीय प्रहरी प्रभाग कालिमाटीका प्रमुख डिएसपी नवराज अधिकारीलाई मोबाइल फने गरेर तत्काल र्फकन निर्देशन दिएका थिए ।

मन्त्रीकै दबाब आएपछि डोजर लिएर घर भत्काउन पुगेको टोली खुरुक्क फर्किएको समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

उपसचिव नवराज सापकोटाले भने, ‘कालिमाटीमा मिचिएका संरचना भत्काउन टोली पुग्यो । तर, उद्योगमन्त्रीले टेलिफने गरेर भत्काउने कार्य तुरुन्त रोक्ने आदेश दिए । मन्त्रीलेनै आदेश दिएपछि हाम्रो केही चलेन ।’

काठमाडौं सडक विस्तारमा ढिलाइमा आर्थिक चलखेल !

११ कार्तिक, काठमाडौं ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर 'किमि' सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । कान्तिपुर दैनिकमा समाचार छ।

समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका प्रतिनिधिमाझ अधिकारीले यसो भनेका थिए ।

अधिकारीको नेतृत्वमा एक वर्षयता पटक–पटक बसेको समितिको बैठकले सरकारी निकायलाई छिटो सडक निर्माण गर्न निर्देशन दिँदै आइरहेको छ । तर विस्तारको गति भने निकै सुस्त छ । सवारी साधनहरू उपत्यकाबाट बाहिरिने र भित्रिने नाकामध्ये सबभन्दा व्यस्त नाका हो– नागढुंगा ।

‘यो सडक खण्डसँगै काठमाडौं उपत्यकाका अन्य बेहाल सडकबारे दैनिक गुनासो आउने गर्छन्,’ हेलो सरकारका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले भने, ‘हामीले गुनासालाई सम्बन्धित निकायमा पठाउँदै आएका छौं ।’

स्थानीय र आम जनता मात्र होइन, यातायात व्यवसायीले समेत दसैंअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै गएर उक्त सडक खण्ड सुधार गर्नुपर्ने माग राखेका थिए । ‘यो सडकमा गाडी गुड्न सक्ने स्थिति नै छैन । त्यसैले हामीले अरू केही गर्न नसके पनि ठूला खाल्डोमा ग्राबेलसम्म हाल्न आग्रह गरेका थियौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किमि त्रिभुवन राजपथअन्तर्गतको सडक खण्ड हो । राजमार्ग ऐन, २०३३ अनुसार सडकको शून्य विन्दुबाट दुवैतिर २५/२५ मिटर दूरी हुनुपर्ने हुन्छ । त्यहीअनुसार यो खण्डको सडक विस्तार गरिएको हो । सडक विस्तार गर्न उपत्यका विकास प्राधिकरणले राजमार्गको जग्गा मिचेर बनाइएका भवन भत्काउँदै आएको छ ।

सशस्त्रको पोषाकमा कलर डक्स हटाउने योजनाको तल्लो तहकाबाट असन्तुष्टि

११ कार्तिक, काठमाडौं ।

सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि एसपी तहसम्मका सशस्त्र प्रहरी अधिकारीको पोसाकमा रहेको कलर डक्स हटाउने तयारी गरेपछि संगठनमा असन्तुष्टि बढेको छ । कान्तिपुर दैनिकमा समाचार छ।

सर्टको कलरमा रहने उक्त चिहन एसएसपी तहदेखि माथिल्ला अधिकारीले मात्रै लगाउन पाउने नियम बनाउने तयारी गरेपछि सशस्त्रका तल्लो तहका अधिकृत असन्तुष्ट भएका हुन् ।

नेपाली सेना र नेपाल प्रहरीमा मध्यम तहका अधिकृतले समेत पोसाकमा कलर डक्स लगाउने प्रचलन रहे पनि सशस्त्रमा मात्र विभेद गर्ने प्रयास गरिएको भन्दै केही अधिकारीले सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईलाई भेटेर असन्तुष्टि जनाएको स्रोतले जानकारी दियो ।

अमेरिकामा नेपाली आप्रवासीलाई टिपीएस सुविधा नवीकरण

११ कार्तिक, न्युयोर्क ।
अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धि अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, 'टिपीएस' को सुविधालाई थप डेढ वर्षका लागि नवीकरण गरेको छ ।  कान्तिपुर दैनिकमा समाचार छ।

‘अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ को सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार आगामी वर्षको जुन २४ सम्म यो सुबिधा बढाइएको हो ।

गत वर्षको महाभूकम्पलाई मध्यनजर गर्दै अमेरिकी सरकारले यहाँ रहेका आप्रवासीहरुलाई गत वर्षको जुन २४ मा पहिलोपटक टिपीएसको सुविधा प्रदान गरेको थियो ।

सुविधाको अवधि आगामी डिसेम्बरमा समाप्त हुने गइरहेको पृष्ठभूमिमा मंगलबार अवधि नविकरण गरिएको हो ।

प्रधानमन्त्री भन्छन्-‘महाअभियोग प्रक्रिया टुंगोमा पुग्छ’

११ कार्तिक, काठमाडौं ।
मैले आजै कांग्रेस र एमालेसँग छलफल गरेँ, लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रकरणले अख्तियारमा केही नराम्रो हुँदैन भन्ने विश्वास दिलाएँ । वास्तवमा म लोकमानलाई पहिल्यै हटाउनुपर्छ भन्ने पक्षमा थिएँ । केपी ओली प्रधानमन्त्री हुँदा पनि पटक–पटक प्रस्ताव पनि राखेको हुँ ।

ओलीजी प्रधानमन्त्री भएका वेला अख्तियारबाट राजनीतिक नेतृत्वसहित २१ जनाको नाममा पत्र काटियो । अख्तियारले यता पनि उता पनि, जता पनि हानेको देखेपछि मैले प्रधानमन्त्रीलाई सोधेँ– तपाईं मुलुकको कार्यकारी हो कि अरू केही हो रु केही गर्नुपर्‍यो भनेर उहाँ पनि सिरियस त हुनुहुन्थ्यो, तर ‘मुभ’ हुने अवस्था भएन ।

हुँदा–हुँदा देशको प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गरेर विदेश गएका वेला प्रेस सम्मेलन हुन थाल्यो । हिजो शेरबहादुरजीले बैठक ९कांग्रेस केन्द्रीय समिति०मै भन्नुभएको छ ‘प्रधानमन्त्री त देशको हो नि’ भनेर । यी सबै कुराहरूका कारण यो ‘मुभ’ गर्नुपर्ने अवस्था आएको हो ।

त्यो दिन ९३ कात्तिक० दिउसो केपी ओलीजी त ‘महाअभियोग दर्ता गरिहालौँ’ भन्ने पक्षमा हुनुहुन्थ्यो । शेरबहादुरजीले ‘पार्टीमा सल्लाह नगरी केही भन्न नसक्ने’ बताउनुभयो । मैले ‘साझा धारणा बनाएर अघि बढौँ’ भनेँ । हामी फेरि भोलि बस्ने सल्लाह भएको थियो । तर, झ्यापझुप सरप्राइज दिनेगरी प्रस्ताव दर्ता भयो । प्रक्रिया र टाइमिङका हिसाबले अलिअलि सरप्राइज पनि भयो मलाई । तर, अब जे भए पनि यो प्रक्रिया टुंगोमा पुग्छ ।

अहिले १५ दिन संसद् किन रोकेको होला भन्ने प्रश्न उठेको छ । केही साथीहरूले ‘भारतीय राष्ट्रपतिको भ्रमण पनि छ, यही बीचमा चाडबाड पनि छ’ भन्नुभयो । त्यो पनि ठीकै कुरा हो । तर, मेरो चाहना छिटोभन्दा छिटो होस् भन्ने नै छ । यसमा कहीँ–कसैले प्रभाव पार्ने भयो भन्ने प्रश्नै उठ्दैन, नेपाली नै मुख्य हो ।

नयाँ अख्तियार प्रमुख को बन्ने भन्ने विवादले यसो भएको हो कि भन्ने जनमानसमा चासो होला, तर यस विषयमा पनि हामी तीन नेताको स्पिरिट मिलेको छ । यति भनेपछि यो विषयमा अरू भन्न नपर्ला । नयाँपत्रिका दैनिकबाट ।

प्रजिअ बन्न गृहमा सरुवा सकस

११ कार्तिक, काठमाडौं ।
आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलगअलग नेताका अभिभावकत्व बोकेको प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले एक महिनाअघि सरुवा भएर आएका सहसचिव र उपसचिवको पदस्थापना गर्न सकेको छैन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

दैनिक काम कारबाहीका हिसावले महत्वपूर्णठानिएका विमानस्थलस्थित अध्यागमन कार्यालय, कारागार व्यवस्थापन विभाग र प्रहरी कितावखाना पनि नेतृत्व विहिन छन् ।

सचिवहरुको सरुवा र पदस्थापन नहुदाँ सिन्धुपाल्चोक, मकवानपुर र काभ्रे सिडिओ विहिन छन्।

म्यानचेष्टर युनाइटेड सिटीलाई हराउँदै क्वार्टरफाइनलमा

११ कार्तिक, एजेन्सी ।
म्यानचेष्टर डर्बीमा गएराती भएको खेलमा म्यान्चेस्टेर युनाइटेड सिटीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ईएफएल कपको क्वार्टरफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडको लागि हुवान माटाले गोल गरेका हुन् ।

खेलमा म्यानचेष्टर युनाइटेडले सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडका लागि माटाले ५४ औं मिनेटमा एकमात्र निर्णायक गोल गरेका थिए ।

विदेशी शिक्षा पढाउनले धरौटी राख्नुपर्ने, पढ्नेले राजश्व तिर्नुपर्ने

११ कार्तिक, काठमाडौं ।
विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्य रुपमा धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ ।

यो नियम यसअघि अर्थमन्त्रालयको अनुमति लिइसकेका विद्यालयलाई भने लागू  नहुने मन्त्रालयले स्पष्ट पारेको आजको अन्नपूर्णमा समाचार छ ।

विदेशी पाठ्यक्रमअनुसार पढाइ हुने शैक्षिक संस्थामा पढ्न चाहने हरेक विद्यार्थीले राजस्वलगायत दुई हजार तिर्नुपर्ने नयाँ व्यवस्था नियमावलीले गरेको छ ।

यसअघि उच्चशिक्षा अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीबाट मात्र यो नो अव्जेक्सन लेटरबापत दुई हजार रुपैयाँ राजश्व लिने गरिएको थियो ।

असिम र फुलमायालाई स्वर्ण

काठमाडौं, कात्तिक १० ।  राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा सप्तरीका असिम यादव र नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले बुधबार स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफलको पुरुषमा असिम र महिलामा फुलमाया पहिलो भएका हुन् ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १७५ अंक जोड्दै शीर्ष स्थान हात पारे । १७४ अंकमा सुनसरीका टीकाराम श्रेष्ठ दोश्रो र १५५ अंकमा नेपाल प्रहरीका हरिबहादुर थापा तेश्रो भए ।

महिलामा फुलमायाले सर्वाधिक १९२ अंक जोडिन् । महिलाको फाइनल पनि २०० पूर्णाङ्कको थियो । १८५ अंकसाथ अस्मिता राई दोश्रो र १६५ अंकसाथ दुर्गा सिन्जाली तेश्रो स्थानमा रहे । शीर्ष दुई स्थान हात पार्ने खेलाडी पनि प्रहरीकै हुन् ।

एयर राइफलकै पुरुष टिम इभेन्टमा प्रहरी पहिलो, दाङ दोश्रो तथा नेपाल आर्मी तेश्रो बने । सोही स्पर्धाको महिलामा प्रहरी पहिलो, आर्मी दोश्रो र दाङ तेश्रो भए ।

विजेतालाई आयोजक नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा समान २८–२८ पुरुष÷महिला गरी ५६ खेलाडीले एयर राइफलतर्फ विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

राखेप पूर्व कर्मचारी सम्मानित,को-को भए सम्मानित ? (नामावली सहित)

काठमाडौं, कात्तिक १० । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई बुधबार सम्मान गरेको छ । २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविविधिक र प्रशासन तर्फका विभिन्न तहका जम्मा ५० कर्मचारीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, धनबहादुर बस्नेत, भीम थापा, केशव गौतम, कपिलकिशोर श्रेष्ठ, शिवभक्त जोशी, दीपराज गुरुङ, अशोकराज पाण्डे, शान्ती सिंह, वृजेन्द्रबहादुर हमाल, नारायणबहादुर प्रधान, सुरेन्द्र सुवाल, कृष्ण थापा, मोहन गुरुङ घले, ध्रुवविक्रम शाह, ध्रुवबहादुर केसी, श्रीराम रन्जितकार, महेन्द्रलाल श्रेष्ठ, सुरेश सिंह आले, सोहन सिन्हा, सुरेन्द्र खाती, सत्येन्द्र बस्नेत, रुद्रप्रसाद ढकाल, बुद्धिसागर चापागाईं, लक्ष्मीनारायण वैद्य, रामनारायण राय, भगिरथ आले, लोकप्रसाद ओली, सन्तोषकुमार बानियाँ, जितेन्द्र चौधरी, शम्भु केसी, पूर्णमान वज्राचार्य, रामशरण अधिकारी, विजयमान राजभण्डारी, डा. प्रदीप जोशी, हरिबहादुर श्रेष्ठ, वैजुनाथ कपाली, नन्दलाल यादव, विकुलाल चौधरी, श्यामकुमार मण्डल, कैलाश श्रेष्ठ, कृष्णबहादुर लामा, लक्ष्मण महत तथा राजकुमार गौतम रहेका छन् ।

उनीहरुलाई राखेपको ओलम्पियन सेमी कभर्डहलमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधीले कदर पत्र प्रदान गरी सम्मान गरे ।

सेपाकताक्रोमा नेपाललाई दुई कांस्य

काठमाडौं, कात्तिक १० । थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप विश्व च्याम्पियनसिपमा नेपाली सेपाकताक्रो टोलीले दुई पदक जितेको छ । नेपाल सेपाकताक्रो संघले आफनो विभिन्न कार्यक्रम सार्वजनिक गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नेत्रप्रसाद लिम्बूले नेपालले दुई कांस्य पदक जितेको जानकारी गराए ।

अक्टोबर १७ देखि २३ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीले रेगु इभेन्ट र डबल इभेन्टमा कांस्य पदक जितेको हो । नेपाली टोलीबाट अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलन गुरुङ, राजु तामाङ, शैलेश दाहाल, रोशन तामाङ, सुजन डंगोल, मुकुन्द गौतम र रुपेश सुनारले प्रतिस्पर्धा गरेका थिए । टिम प्रशिक्षकमा गंगा गुरुङ रहेका छन् ।

पत्रकार सम्मेलनमा सेपाकताक्रो संघका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार सीताराम मास्के एसियाली सेपाकताक्रो महासंघको उपाध्यक्षमा निर्विचित भएको जानकारी गराइयो । मास्के अन्तर्राष्ट्रिय सेपाकताक्रो महासंघका सदस्य पनि हुन् ।

त्यस्तै दक्षिण एसियाली सेपाकताक्रो महासंघमा नेपालबाट पाँच जना निर्वाचित भएका छन् । अध्यक्षमा सीताराम मास्के, महासचिवमा ध्रुव गुरुङ, सचिवमा नेत्रप्रसाद गुरुङ तथा सदस्यमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र गंगा गुरुङ निर्वाचित भए ।

कार्यक्रममा जनवरी १३ देखि १५ तारिखसम्म श्रीलंकाको कोलम्बोमा हुने दोश्रो दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगितामा नेपालले सहभागिता जनाउने तथा तेश्रो दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगिता नेपालमै आयोजना गर्ने योजना रहेका समेत जानकारी दिइएको थियो ।

लोकमान बचाउमा लागेको काँग्रेसलाई मनाउन दुई हप्ता संसद स्थगित

१० कार्तिक, काठमाडौं ।
व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबारदेखि सुरु भए पनि त्यसलाई १५ दिनसम्म पर धकेलिएको छ ।  यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

छलफलमा बोल्न धेरै सांसदले नाम लेखाए पनि सभामुखले २५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेकी हुन् । तर, सभामुख ओनसरी घर्तीमगर एक्लैले यति लामोसमयसम्म बैठक सार्ने निर्णय भने लिएकी होइनन् । प्रमुख दलहरूकै सुझावमा सभामुखले वैठक पर सारेकी हुन् । नजिकिँदै गरेको तिहार, छठ पर्वलगायत कारण देखाउँदै संसद् बैठक १५ दिनपछि बोलाइएको हो ।

तर, सत्तारूढ दल कांग्रेससँग सहमति नभएका कारण संसद् बैठक लामो समयलाई स्थगित गरिएको हो । संसद्को सबैभन्दा ठूला दल कांग्रेसले महाअभियोगको विषयमा आफ्नो निर्णय गर्न समय लगाएपछि संसद्मा महाअभियोगको छलफल पनि सरेको नेताहरूले बताएका छन् । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले चाडबाड पनि परेको र दलहरूबीच सहमति जुटाउन पनि समय आवश्यक परेकाले बैठक पर सारेको जानकारी दिए ।

नेताहरूले दलीय सहमित जुटाउन बैठक लामो समयसम्म स्थगित गरेको बताए पनि स्रोतका अनुसार कांग्रेसले लोकमान नियुक्तिको विषयमा अदालतमा विचाराधीन रहेको र संसद्मा महाअभियोग निष्कर्षमा पुग्नुभन्दा पहिला नै सर्वोच्चको फैसला आओस् भन्ने चाहेको छ । त्यसैले, कांग्रेसले यो विषयलाई लम्ब्याउन खोजेको हो । तर, महाअभियोग र सर्वोच्चको मुद्दा अन्तरसम्बन्धित छैनन् । मुद्दा योग्यताको विषयमा छ भने महाअभियोग कार्कीले प्रमुख आयुक्त भएपछि कानुनी शासनलाई चुनौती दिँदै गरेका कामसँग सम्बन्धित छ । यसबीचमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेले महाअभियोग पारित गराउन कांग्रेसलाई मनाउने पहल गर्ने बताएका छन् ।

कांग्रेसले अझै निर्णय लिन नसके पनि महाअभियोगको पक्षमा उभिने तीव्र दबाब परेको छ । मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा पनि अधिकांश नेताले महाअभियोगकौ पक्षमा धारणा राखेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web