२० कार्तिक, काठमाडौं ।
कानुनविद्धहरुले सरकार र सर्वोच्च अदालतलाई समेत अटेर गर्दै जनताको अपमान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पक्रनुपर्ने बताएका छन् ।

कानुनविद्धहरुले लोकमानलाई पक्रेर बयान लिनुपर्ने भन्दै उनले सर्वोच्च अदालतलाई समेत बेवास्ता गरिरहेको बताएका छन् ।

अदालतको म्याद तामेलीमा अवरोध गर्नु ‘क्रिमिनल एक्सन’ भएकाले त्यस्तो कार्य गर्नेलाई पक्राऊ गरी हिरासतमा राखेर कारवाही अघि बढाइनुपर्ने कानूनविद ओमप्रकाश अर्यालले बताएका छन् ।

दवाव र धम्कीका बावजुद कार्की बिरुद्ध मुद्दा लड्दै आएका अर्यालले यस्तो आपराधिक कार्यमा लोकमानले अह्राएका मानिसलाई मात्रै होइन, अह्राउने लोकमानसिंहलाई पनि हिरासतमा लिइनुपर्ने बताएका छन् ।

‘सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई हिरासतमा राख्ने आदेश दिन सक्छ र हिरासतमा राखेर उनको वयान लिन सक्छ, अर्यालले भने ‘फौजदारी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइनुपर्छ, उसलाई दिइएको सरकारी आवास, सुरक्षा गार्ड लगायतका सुविधाहरु कटौती गरिनुपर्छ ।’

अनलाईनखवरसँगको कुराकानीमा अधिवक्ता अर्यालले भनेका छन् ‘म्याद तामेली नगरेको भन्दै साना कर्मचारीमाथि चाँहि मुद्दा चलिसक्यो, तर म्याद तामेलीमा अवरोध गर्ने सरकारी कर्मचारी एवं प्रहरीमाथि कुनै कारवाही भएको छैन, तिनीहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्नु पर्ने हो ।’

अर्यालले सर्वोच्च अदालतमा कार्कीविरुद्ध विभिन्न तीन वटा मुद्दा दर्ता गराएका छन् । पछिल्लो मुद्दामा उनले लोकमानसिंह कार्कीले म्याद तामेलीमा फौजदारी अपराध गरेको भन्दै उनलाई कानूनवमोजिम जेल सजायँ हुनुपर्ने माग दाबी गरेका छन् ।

निलम्बित कार्कीले अख्तियारको आवासमा बसेर गैरकानूनी क्रियाकलाप गर्न सक्ने भएकाले उनीमाथि प्रशासनले निगरानी राख्नुपर्ने उनको भनाइ छ ।

कानूनविदहरुका अनुसार म्याद तामेलीमा हुलहुज्जत गरेर लोकमानसिंह कार्कीले गरेको अदालतको अवहेलना सामान्य प्रकारको नभएर ‘फौजदारी अवहेलना’ हो । यस्तो फौजदारी अवहेलना गर्ने व्यक्तिलाई अदालतले गिरफ्तार गरेर वयान लिन सक्छ ।

विगतमा ०३५ सालमा दैलेखका तत्कालीन सांसद गणेश पोखरेललाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गिरफ्तार गरेर वयान लिएको थियो । र, यही नजिरका आधारमा लोकमानलाई पनि अदालतले शारीरिक अवहेलना अन्तरगत गिरफ्तार गरेर वयान लिने बाटो खुलेको कानूनविद बताउँछन् ।

अधिवक्ता अर्यालका अनुसार लोकमानविरुद्ध दायर गरेको पछिल्लो मुद्दाको सुनुवाइ छठपछि अदालत खुल्नासाथ हुने भएको छ ।
पुरानो मुद्दाको चाँहि कात्तिक १६ गते म्याद गुज्रिएको थप १५ दिनपछिबाट कारवाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

२० कार्तिक, काठमाडौं ।
सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पुर्याएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

सर्वोच्च र कार्कीको निवास आधाघन्टाको दुरीमा छ तर कार्की तरेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन्। कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो। त्यसको १५ दिनभित्र उनी वा उनको वारेस अदालतमा हाजिर हुनुपर्थ्यो।

त्यसअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा उपस्थित हुनुपर्थ्यो। उक्त मितिमा सार्वजनिक विदा भएकाले कार्याय खुलेको दिन अर्थात कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्थ्यो। तर कार्की त्यसको वेवास्था गर्दै अख्तियारको सरकारी निवासमा बस्दै आएका छन्।

२० कार्तिक, काठमाडौं ।
भूकम्पबाट ढलेको धरहरा निर्माण गर्न सरकारले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएको करिब नौ महिना बितिसकेको छ । तर, निर्माणको काम सुरु नै भएको छैन । अहिलेसम्म नक्सासमेत बनेको छैन । आजको नयाँ पत्रिकामा टेकराज थामी अगाडि लेख्छन्…

नक्सा बन्न एक महिना लाग्ने

पुरातत्व विभागका सिडिई सम्पद घिमिरेले धरहराको नक्सा बन्न अझै एक महिना लाग्ने बताए । ‘नक्सा बनाउन विभागले कन्सल्टेन्टलाई जिम्मा लगाएको छ । नक्साको काम सक्न अझै महिना दिन लाग्ने देखिन्छ’, घिमिरेले भने । विभागले धरहराको सम्भाव्यता अध्ययन चार महिनाअघि नै सकेको थियो । अध्ययनपछि सम्भावित नक्सा पनि सार्वजनिक गरेको थियो ।

‘सम्भाव्यता अध्ययन हुँदा र अहिले धरहराको नक्सा परिवर्तन हुनेछ,’ घिमिरेले भने, ‘पहिला धरहरा ६ रोपनी जग्गामा मात्रै बन्ने भनिएको थियो । तर, अब २९ रोपनी जग्गामा धरहरा निर्माण गरिनेछ । त्यसैले वास्तविक नक्सा बन्न ढिला भएको हो ।’

२९ रोपनी जग्गामा बन्नेछ नयाँ धरहरा

पुरातत्व विभागका अनुसार नयाँ धरहरा गोश्वारा हुलाकको साढे ११ रोपनी, टक्सारको थप साढे ११ रोपनी र पुरानो धरहराले चर्चेको ६ रोपनी गरि २९ रोपनीमा बन्नेछ । धरहराको डिपिआर कन्सल्टेन्ट केज÷एमआरपी जेभीले गर्दै छ । यसका लागि १५ लाख खर्च भइसकेको छ ।

थप ५० लाख डिपिआरमा लाग्ने कम्पनीले जनाएको छ । नयाँ धरहराको उचाइ दुई सय ४५ फिट तथा ११ तलाको बन्नेछ । विभागका अनुसार नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट बन्नेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । अत्याधुनिक पार्किङको सुविधा पनि हुनेछ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालय पनि निर्माण गर्ने योजना छ ।

अभियानबाट दुई करोड जम्मा

‘मेरो धरहरा मै बनाउँछु’ अभियान गत वर्ष ५ फागुनमा सुरु गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोकतत्वमा ‘मेरो धरहरा मै बनाउँछु’ कोष खडा गरिएको थियो । अभियानअन्तर्गत अहिलेसम्म दुई करोड जम्मा भएको छ । प्राधिकरणका अनुसार कोषमा एक करोड ९५ लाख ४६ हजार ९१ रुपैयाँ जम्मा भएको छ ।

कोषमा सबैभन्दा धेरै पुनर्बिमा समितिले एक करोड रुपैयाँ सहयोग गरेको छ । बाँकी ९५ लाख ४६ हजार ९१ रुपैयाँ भने व्यक्ति, सरकारी तथा निजी संघसंस्थाले सहयोग गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले कोषमा ६१ हजार आठ सय बीस रुपैयाँ सहयोग गरेका छन् । राष्ट्रपति कार्यालयबाट ३२ हजार पाँच सय नौ, उपराष्ट्रपति नन्दबहादुर पुनले ४४ हजार नौ सय ७० रुपैयाँ सहयोग गरेका छन् ।

धरहरा निर्माण गर्न सरकारले ८० लाख रुपैयाँ निकासा गरेको छ । त्यसमध्ये ६५ लाख रुपैयाँ नक्सा डिजाइनमा लाग्नेछ । बाँकी रकम अन्य बन्दोबस्तीमा खर्च हुने भनिएको छ । धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

२० कार्तिक, काठमाडौं ।
स्थानीय तह पुनःसंरचना आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन दिन अन्तिम समयसीमा दिए पनि प्रदेश नं। २ अन्तर्गत तराईका आठ जिल्लामा भने पुनःसंरचनासम्बन्धी काम अझै अगाडि बढ्न सकेको छैन । यो खबर हामीले आजको गोरखापत्र दैनिकबाट लिएका हौ।

बारा, पर्सा, रौतहट, सर्लाही, सिराह, सप्तरी, धनुषा र महोत्तरीमा स्थानीय तह पुनःसंरचनासम्बन्धी काम अगाडि बढ्न नसकेको हो । अन्य जिल्लाबाट प्रतिवेदन आउने क्रम सुरु भइसक्दासम्म उक्त जिल्लामा भने पुनःसंरचानसम्बन्धी स्थानीय स्तरमा कुनै छलफल नै हुन नसकेको आयोगले जनाएको छ ।

उक्त जिल्लाबाट प्रतिवेदन आउन ढिलो हुँदा आयोगले सरकारलाई बुझाउने प्रतिवेदनको समयसमेत धकेलिनसक्ने सम्भावना छ । आयोगले कात्तिक १ गते ७५ जिल्लाका जिल्ला प्राविधिक सहयोग समितिलाई पत्र काटेरै कात्तिक २० गतेभित्र सरोकारवालासँग छलफल गरी प्रतिवेदन आयोगमा बुझाउन निर्देशन दिएको थियो । निर्देशन अनुसार हालसम्म इलाम, अछाम र खोटाङले मात्र आयोगमा प्रतिवेदन बुझाएका छन् ।

तराई केन्द्रित दलहरूले हाल कायम सात प्रदेशको सीमाको पुनरावलोकन नगरेसम्म स्थानीय तह पुनःसंरचनासम्बन्धी कुनै काम गर्न नदिने भन्दै जिल्लास्थित प्राविधिक सहयोग समितिलाई स्थानीय तह पुनःसंरचनासम्बन्धी कुनै कार्यक्रम र छलफल गर्न नदिएको आयोगका सदस्य डोरमणि पौडेलले जानकारी दिए।

उनका अनुसार अहिले आठ जिल्लामा स्थानीय तह पुनःसंरचनासम्बन्धी प्राविधिक सहयोग समितिको तर्फबाट खासै केही काम भएको छैन । केन्द्रबाट गएका जिल्ला विकास समिति महासङ्घ, गाउँ विकास समिति राष्ट्रिय महासङ्घ र नगरपालिका सङ्घले गरेको अन्तरक्रियामा भने ती जिल्लाका स्थानीय राजनीतिक दलका नेताहरू सहभागी भएका छन् ।

सङ्घ र महासङ्घले गरेको पुनःसंरचनासम्बन्धी अन्तरक्रिया कार्यक्रमले स्थानीय तह पुनःसंरचनामा ती जिल्लामा केही सहजीकरण भए पनि जिल्ला प्राविधिक सहयोग समितिबाट गरिने छलफलमा भने मधेस केन्द्रित दलहरूले अवरोध गर्ने गरेको उनले बताए।

आयोगको पछिल्लो रणनीतिअनुसार प्रतिवेदन आएका जिल्लाको प्रतिवेदनलाई अन्तिम रूप दिँदै जाने र अन्तिममा प्रतिवेदन आउन बाँकी जिल्लामा आयोगका पदाधिकारी आफैँ ती जिल्लामा गएर सरोकारवालासँग छलफल गरी प्रतिवेदन बनाउने योजना आयोगले बनाएको छ ।

सदस्य पौडेलले भने “केही जिल्लाले प्रतिवेदन दिएनन् भनेर अब आयोग चुप लागेर बस्दैन, आफ्नो अधिकार प्रयोग गरी आयोगले काम अगाडि बढाउँदै जान्छ । ”

जिल्लाबाट प्रतिवेदन आइसकेपछि आयोगलाई अन्तिम प्रतिवेदन बनाउन बढीमा तीन हप्ता लाग्ने उनले बताए। कात्तिक तेस्रो हप्ताभित्र प्रतिवेदन आयोगमा आएमा मङ्सिरको दोस्रोदेखि तेस्रो हप्ताभित्र आयोगले स्थानीय तह पुनःसंरचनाका प्रतिवेदन सरकारलाई प्रदान गर्ने आयोगको तयारी छ ।

जिल्लाबाट प्रतिवेदन आइसकेपछि आयोगले मापदण्ड अनुसारको स्थानीय तह निर्माण भएको छ कि छैन, जिल्लाको जनसङ्ख्या, शिक्षा, स्वास्थ्य, उत्पादनका स्रोत, पर्यटकीय क्षेत्र, जिल्लामा सञ्चालित महत्वपूर्ण आयोजना, जिल्लामा रहेका स्थानीय निकायको कुल आम्दानी, रोजगारी र शैक्षिक अवस्थालाई समेत समेटेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्छ । यी सबै कुरा प्रतिवेदनमा नसमेटिए आयोगले पुनः प्रतिवेदन जिल्लालाई नै फर्काउनेछ ।

सरकारले गत चैत १ गते स्थानीय तह पुनःसंरचना आयोग गठन गरेको थियो । उक्त आयोगको समयसीमा एक वर्ष हुने संवैधानिक व्यवस्था छ ।

२० कार्तिक, काठमाडौं ।
नेपाल -चीनबीच हस्ताक्षर भएको पारवहन यातायात सम्झौताको प्रोटोकल टुंग्याउन अर्को साताका लागि तय भएको महत्वपूर्ण द्विपक्षीय बैठक ‘अचानक’ स्थगित भएको छ ।

चीनको स्वशासित क्षेत्र तिव्व्तमा आइतबारदेखि मंगलबारसम्म हुने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

चिनियाँ पक्षले दुई दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर बैठक प्रस्तावित मितिमा हुन नसक्ने जानकारी गराएको हो ।

बैठकमा सहभागी हनु वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा परराष्ट्र, वाणिज्य, भौतिय योजना, अर्थ र कानुन मन्त्रालय प्रतिनिधि ल्हासा जाने तयारीमा थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको गत चैतमा सम्पन्न चीन भ्रमणमा हस्ताक्षर भएको पारवहन सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो देशसँग जान र स्थलमार्गबाट व्यापार गर्ने सुविधा पाउनेछ ।

काठमाडौं ।

सरकारद्वारा गठित उच्चस्तरीय कार्यदलले संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहलाई प्रदत्त एकल र सहवर्ती अधिकार सूची बमोजिम प्रत्येक तहले सम्पादन गर्नुपर्ने कार्य जिम्मेवारीलाई क्रियाकलापमा पहिचान गरी अधिकारको पूर्ण सूची तयार गरेको छ ।

मुख्यसचिव सोमलाल सुबेदीको संयोजकत्वमा रहेको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समन्वय समिति र त्यसमातहत रहेको थिमेटिक ग्रुपले त्यस्तो सूची तयार गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

थिमेटिक ग्रुपका संयोजकसमेत रहेका प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले संघ, प्रदेश र स्थानीय तहले गर्ने कार्य र अधिकारीसहितको पूर्ण सूची समेटिएको पाँचवटा प्रतिवेदन तयार गरिएको जानकारी दिए ।

मुख्य सचिव सुवेदीले सो प्रतिवेदनलाई आफूले गहन अध्ययन गरि अन्तिम रुप दिइएको बताए ।

२० कार्तिक, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई-मधेसमा आफूविरुद्ध लगाइएको आरोपको प्रतिवाद गर्दै संविधान बुझाउँदै जनतामा जने अभियान सुरु गरेको छ ।

तराई मधेसमा विशेष पर्वको रुपमा मनाइने छठको अवसर पारी एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेर तराई मधेसमा जनता जगाउने अभियान अघि बढाएका आजको राजधानी दैनिकमा समाचार छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध तराई मधेस केन्द्रीत दल र सत्तारुढ कांग्रेस माओवादीले एमालेलाई तराई मधेसविरोधी आरोप लगाउँदै आएपछि जनताकै बीचमा पुगेर संविधानले तराई मधेसका जनतालाई दिएको अधिकार र आफ्नो नेतृत्वको सरकारले तराई र मधेसमा अघि बढाएका विकास निर्माणको कामबारे प्रष्ट पार्न एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेका हुन् ।

छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई निकै महत्व दिएर एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, इश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट लगायत एक दर्जन नेता तराई गएका हुन् ।

२० कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार माओवादी केन्द्रका केही मन्त्री र सचिवालय पदाधिकारीसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पार्टीभित्रैबाट आफू, पार्टी र सरकारलाई असफल पार्न चलखेल र सक्रियता बढेको दाबी गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार ‘त्यो समूहका कारण उनले सरकार गठनदेखि अहिलेसम्म आमजनताबीच सकारात्मक ढंगले प्रस्तुत हुन नसकेको र सरकारविरुद्ध नकारात्मक सन्देश प्रवाह भइरहेको ‘ बताए ।

सहभागी एक मन्त्रीका अनुसार जसरी पनि नेपालबाट माओवादीलाई समाप्त पारेर एक्लो बृहस्पति बन्ने योजना एमाले र आफ्नै पार्टी भित्र एउटा समूह लागेको प्रचण्डले बताएका थिए ।

१९ कार्तिक, काठमाडौं ।
नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् ।

१२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको छ । विश्वभरबाट आउने भोटको आधारमा विजेता घोषणा गरिनेछ ।

भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् ।

मीरासँगै अन्य साहसी खेलमा सफलता पाएका खेलाडीहरु मनोनयमा राखिएका छन् । उनीहरुलाई नेशलन जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत भोट दिन सकिनेछ ।

भोटिङ नोभेम्बर ३ देखि सुरु भइसकेको छ भने आगामी डिसेम्बर १६ सम्म भोट गर्न सकिनेछ । बिजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ ।

सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् ।

दुई महिनाअघि इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छन् ।

१९ कार्तिक, काठमाडौं ।
जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न दुई करोड ४५ लाख रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले सहयोग उपलब्ध गराउन लागेको हो ।

काडमाडौंस्थित जापानी राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा जापानी गैरसरकारी संस्था सप्ला सिटिजन्स कमिटिका देशीय निर्देशक तोयाकी कोमातिसुले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

१९ कार्तिक, काठमाडौं ।

स्वास्थ्य मन्त्रि गगन थापाले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तत्कालका लागि सरकारी अस्पतालमा बिहान १० बजेदेखि साझ ५ बजेसम्म ओपिडी सेवा र आफ्नै फार्मेसी सञ्चालन गर्न लागेको बताउनु भयो ।

लुम्विनी अञ्चल अस्पताल बुटवलमा नवजात शिशु सघन उपचार कक्षको आज उदघाटन गर्दै उहाले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन तत्कालका लागि ओपिडी सेवा र फार्मेसीबाट कार्य अघि बढाएको बताउनु भयो ।

उहाँले सबै जनताको स्वास्थ्य बिमाका लागि मन्त्रालयले बिधेयक तयार गरीसकेको र हिउदे अधिवेशनबाट बिधेयक पारित हुने बताउनु भयो ।

१९ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंंहदरबारमा आज भएको भेटवार्तामा दुवै नेताबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन लगायत समसामयिक विषयमा सकारात्मक ढङ्गले छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने आग्रह गर्नुभयो ।

दुई नेताबीच संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दल एक ठाउँ उभिनुपर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।