सरकार यि चार कुरामा संविधान संशोधन गर्न खोज्दै

२२ कार्तिक, काठमाडौं ।
सरकारले प्रादेशिक सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्व प्रणालीमा हेरफेर गर्ने गरी चारवटा विषयमा संविधान संशोधन गर्न गृहकार्यलाई तीव्रता दिएको छ । संविधानको अन्तरवस्तुमा असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले ती विषयमा संशोधन प्रक्रिया अघि बढाउन लागेको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

संशोधनका विषयमा सहमति जुटाउन मधेसी मोर्चा र प्रमुख विपक्षी एमालेसँग प्रधानमन्त्रीसहित सत्तापक्षका प्रमुख नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । प्रधानमन्त्री दाहालले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग छुट्टै कुराकानी गरी सहमतिमा आउन आग्रह गरेका थिए ।

‘राजनीतिक दलहरूबीच सहमति बनिसकेको छैन । जतिसक्दो छिटो सहमति जुटाउने गरी सरकारले सरोकारवाला दलहरूसँगको छलफललाई तीव्रता दिएको छ,’ कानुनमन्त्री अजयशंकर नायकले भने, ‘शीर्ष नेताहरूबीच सहमति जुट्नेबित्तिकै विधेयक संसद्मा पेस हुन्छ ।’

तीनबुँदे सहमति गरेर प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाललाई संसद्मा समर्थन गरेका मधेसी दलहरूले प्रतिबद्धताअनुसार काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेपछि सरकारले संविधान संशोधनको गृहकार्य थालेको हो । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कांग्रेस र माओवादीका केही नेतालाई संशोधनको प्रस्ताव तयार गरी मधेसी दलसँगको अनौपचारिक कुराकानी गर्ने जिम्मेवारी दिएका छन् ।

भारत भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा फर्केलगत्तै संशोधन प्रस्तावमाथि औपचारिक रूपमा सहमतिको प्रयास सुरु हुने कांग्रेसका एक नेताले बताए । दुवै पक्षबीच अनौपचारिक तहमा कुराकानी भने भइरहेको छ।

‘सीमांकन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्वलगायत विषयमा संशोधन प्रस्ताव तयार गर्नेबारे लामो समयदेखि छलफल भइरहेको छ, तर यसैगरी टुंग्याउने भन्ने स्थिति बनिसकेको छैन,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने । उनले संशोधनबारे कुनै व्यक्ति विशेषले केही कुराकानी गरेको हुन सक्ने भए पनि पार्टीमा आधिकारिक रूपमा धारणा तयार नभइसकेको जानकारी दिए ।

आइतबार सञ्चारमाध्यममा सरकारले तयारी गरिरहेको भनिएका चारवटा विषय समेटिएको संशोधन प्रस्तावसम्बन्धी विधेयकको मस्यौदा ‘ननपेपर’ का रूपमा सार्वजनिक भएको थियो । कानुनमन्त्री नायकले उक्त मस्यौदा सरकारले तयारी गरेको आधिकारिक दस्तावेज नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत त्यसमा सत्यता नरहेको भन्दै प्रतिक्रिया दिएका छन् ।

‘राजनीतिक सहमति भएपछि मात्र प्रस्ताव तयार गरिने हो, सञ्चारमाध्यममा आएजस्तो प्रस्ताव बनेको छैन,’ मन्त्री नायकले भने । असन्तुष्ट मधेसी मोर्चासहितको संघीय गठबन्धनले पनि सार्वजनिक भएको मस्यौदा आधिकारिक नभएको बताएको छ । ‘कुनै पनि मस्यौदा हामीसँग आएको छैन,’ संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘हामीले पनि कुनै मस्यौदामा सहमति जनाएका छैनौं।’

संविधान संशोधनमा प्रमुख विपक्षी दल एमालेको समेत सहमति आवश्यक पर्छ । संसद्मा दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन । एमालेले संविधान संशोधनभन्दा पनि अहिले भएकै प्रावधानहरूलाई समेटेर कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै आएको छ । ‘संविधान संशोधन होइन, कार्यान्वयन गर्नुपर्छ,’ एमाले उपाध्यक्ष भीम रावलले भने, ‘कसैको इसारामा होइन, हाम्रो आवश्यकताअनुसार के गर्नेरनगर्ने निर्धारण हुन्छ

पूर्वगृहमन्त्रीको शव खोजि जारी, अझैसम्म पत्तो लागेन

२२ कार्तिक, काठमाडौं ।

डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार तथा खोजीका लागि २५ जनाको गोताखोर परिचालन गरिए पनि नभेटिएपछि पानी बाहिरको सतहमा खोज्न थालिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीका अनुसार, पानीभित्रको सतहमा खोज्न सकिनेसम्मका भागमा खोजी कार्य गरिए पनि कुनै परिणाम हात नलागेपछि विशेषज्ञ टोलीको सुझावका आधारमा बाहिर सतहमा मात्रै खोज्न थालिएको हो ।

मुक्तिनाथ दर्शन गरेर फर्कदै गरेका घिमिरे परिवार सवार जीप ९ असोजमा त्रिशुलीमा दुर्घटनामा परेको हो । दुर्घटना भएकै दिन आमा, एक जना आफन्त र अंगरक्षकको शव फेला परेको थियो । दुर्घटनापछि परिचालित टोलीले केही दिनपछि एक जना भाइको शव फेला पारेको थियो । तर, पूर्वगृहमन्त्री घिमिरे र उनका अर्का भाइ भने अहिलेसम्म पनि बेपत्ता छन् ।

‘सरकारले उपलब्ध स्रोत साधन सबै परिचालन गरेको थियो, विशेषज्ञ गोताखोर परिचालन गरेको थियो, साथै सशस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको थियो तर भेटिएन,’ गृह प्रवक्ता पन्थीले भने, ‘विशेषज्ञहरुले पानीभित्र यो भन्दा बढी खोज्न सकिने ठाउँ छैन भनेपछि पानी बाहिरको सतहमा खोजी गरिरहेका छौं ।’

सशस्त्र प्रहरीको जवानदेखि निरीक्षकसम्मले बंगलादेशबाट गोताखोरसम्बन्धी तालिम लिएका छन् । उनीहरुले नै घिमिरे दुर्घटनामा परेपछि खोजी कार्य गरेका थिए । सशस्त्रले २०६६ सालदेखि गोताखोर तालिमप्राप्त जनशक्ति तयार पारेको हो । उनीहरूकै लागि त्रिशूलीको कुनिटारमा विपत् व्यवस्थापन तालिम केन्द्र सञ्चालनमा छ । सोही केन्द्रले त्रिशुली नदी तथा राजमार्गमा हुँदै आएका दुर्घटनाको खोज तथा उद्धार गर्दै आएको छ ।

पूर्वमुख्यसचिवसमेत रहेका पूर्वगृहमन्त्री घिमिरे सवार बा९च १५३१ नम्बरको स्कोरपियो जीप त्रिशुली नदीमा खस्दा उनीलगायत भाइ हरि घिमिरे बेपत्ता छन् । मोहन घिमिरेको भने केही दिनपछि शव फेला परेको थियो । पूर्वगृहमन्त्री घिमिरेको शव फेला नपरेपछि आफन्तहरुले आमा चैतन्यकुमारी घिमिरेको शवसँगै कुशको शव बनाएर दाहसंस्कार गरेका थिए ।

लोकमानसिंह महाभियोग र मुद्दा टार्ने दाउमा

२२ कार्तिक, काठमाडौं ।
संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव तुहाउने र अदालतमा विचाराधीन आफूविरुद्धको मुद्दालाई अल्मल्याउने योजना बनाएका छन् । कार्कीका नातेदार र शुभचिन्तकको पहलमा बानेश्वरमा भएको भेलाले त्यही योजनाअनुरुप सोमवार सर्वोच्च अदालतमा २ वटा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

कार्कीका तीन रणनीति
महाभियोग प्रस्तावविरुद्ध रिट हाल्ने
म्याद तामेली प्रक्रियाविरुद्ध सर्वोच्चमा जाने
सकेसम्म धेरै वकालतनामा गराएर मुद्दा लम्ब्याउने

अख्तियार र व्यवसायी स्रोतका अनुसार अदालतमा विचाराधीन मुद्दा र संसदमा दर्ता भएको महाभियोग प्रस्ता तुहाउने विषयमा कार्कीको उपस्थितिमा शुक्रबारदेखि छलफल भएको थियो । कार्कीमाथिको महाभियोग प्रस्ताव दर्तालगत्तै अख्तियारबाट अवकाश पाएका वरिष्ठ अधिवक्ता कोमल घिमिरेको संयोजनमा भएको भेलामा करिब एक दर्जन कानून व्यवसायी उपस्थित थिए ।

‘संसदमा दर्ता भएको महाभियोग प्रस्ताव प्रक्रियासम्मत छैन भनेर अघि बढ्ने योजना बनेको छ,’ भेलामा सहभागी एक कानून व्यवसायीले कान्तिपुरसित भने, ‘कार्की विरुद्धको मुद्दाको म्याद तामेली प्रक्रियामा समेत प्रश्न उठाई सर्वोच्च अदालतमा जाने निर्णय भएको छ ।’

भेलामा कानून व्यवसायीहरु महादेव यादव, कृष्णप्रसाद सापकोटा, युवराज संग्रौला, भीमार्जुन आचार्य, माधव बस्नेत, ललित बस्नेत, बाबुराम कुँवर, बालकृष्ण न्यौपानेलगायत सहभागी थिए । छलफलपछि माधव बस्नेतले मुद्दाको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको स्रोतले बतायो ।

संसदमा दर्ता भएको महाभियोग र सर्वोच्च अदालतमा विचाराधीन योग्यताको प्रश्नसम्बन्धी मुद्दाको एकसाथ प्रतिरक्षाको रणनीति बनाउन कार्कीले यसबीचमा अन्य शुभचिन्तकसँग पनि छलफल र भेटघाट गरेको स्रोत बताउँछ । कानून व्यवसायीसँगको छलफलले महाभियोगको प्रस्ताव र म्याद तामेलीको प्रक्रियामा प्रश्न उठाउने रणनीति तय गरेको थियो ।

‘महाभियोग सिफारिस समितिबाट संसदमा प्रवेश गर्नुपर्ने विषय सोझै संसदमा प्रवेश गरेको, बहालवाला मन्त्री नै प्रस्तावक भएको र उनीहरुले महाभियोगको पक्षमा दिएको प्रस्ताव प्रक्रियासम्मत नभएको भनी सर्वोच्च अदालतमा प्रश्न उठाउने तयारी छ,’ ती कानुन व्यवसायीले भने, ‘महाभियोगको प्रक्रिया अघि बढाउन रोक लगाउन आदेशको माग हुनेछ ।’ सम्भवतस् सोमबार नै दुई निवेदन दर्ता गर्ने तयारीमा उनको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको समूह छ ।

संविधानको धारा १ सय ३ मा संसदको विशेषाधिकारको व्यवस्था छ । त्यसको उपधारा २ मा संसदिय अधिकारवारे अदालतमा समेत प्रश्न नउठ्ने व्यवस्था छ । ‘संसदको प्रत्येक सदनलाई आफ्नो काम कारवाही र निर्णय गर्ने पूर्ण अधिकार रहने र सदनको काम कारावही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्रै हुनेछ,’ उपधारा–२ मा भनिएको छ, ‘यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’

गत साउन २४ गते व्यवस्थापिका संसदमा दर्ता भएको अख्तियार पदाधिकारीविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव बदरको माग राखी पेश भएको निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको थियो । सांसद गगन थापाले कार्की र आयुक्त राजनारायण पाठकमाथि महाभियोग लगाउनुपर्ने विषय समेटिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएका थिए । संसदको विशेषाधिकारअन्तर्गत सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको र त्यसविरुद्ध परेको रिट निवेदन दर्ता हुन नसक्ने भनी रजिष्ट्रार श्रीकान्त पौडेलले निवेदन दरपीठ गरेका थिए ।

कार्कीको योग्यतासम्बन्धी पुनरावलोकन मुद्दाको म्याद तामेली प्रक्रियामा समेत प्रश्न उठाई कार्की पक्षले अदालतमा निवेदन दिने तयारी गरेको स्रोत बताउछ । रितपूर्वक म्याद तामेली नभएको भन्दै उनीहरुले त्यसलाई खारेज गर्न माग गर्ने तयारी छ ।

खेलकर्मीहरु गम्भीर अपराधमा संलग्न

२०७० वैशाख ३० मा रविराज सिंह रंगशालामा पक्राउ पर्दा उनको पदीय हैसियत थियो नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष। अनि पक्राउ पर्नुको कारण थियो जाली भारतीय रुपैयाँको कारोबार।

कुनै समय जमिम साहको सहयोगीका रूपमा स्पेसटाइम नेपालमा काम गरेका नुरु उल्लाह र पाकिस्तानी नागरिक सेख मोहम्मद १ करोड जाली भारुसहित पक्राउ परेपछि उनको नाम पोलिएको थियो । विमानस्थलमा सेखलाई लिन जाने क्रममा पक्राउ परेका नुरु उल्लाहले विशेष ब्युरोसँगको बयानमा रविराज सिंह, अनुराज प्रधान र सुनील रायमाझीको नाम लिएका थिए।

त्यो बेला जाली भारुसम्बन्धी अनुसन्धानका पोख्त एसएसपी सुबोध घिमिरे थिए । अपराधमा जोडिइरहने रविराज २ जना थिए । तस्बिर देखाउँदा नुरु उल्लाहले पहिचान गरेका व्यक्ति यिनै रविराज थिए ।

तत्काल पुर्पक्षका लागि थुनामा पुगेका उनी २ वर्षपछि निर्दोष देखिएको भन्दै अदालतको फैसलापछि २०७२ मा कारागारमुक्त भए । कारागारबाहिर आएलगत्तै उनको अपराधको यात्रा भने रोकिएन । कात्तिक १८ मा उनै सिंह श्रीलंकन नागरिकसँग मिलेर ल्यान्डलाइनको प्रयोग गरी अवैध रूपमा कलबाइपासमा संलग्न रहेको अभियोगमा पक्राउ परी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सिंहबारे अनुसन्धान गरिरहेका ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालका अनुसार उनले परिचितको नाममा सिंगापुरमा खाता खोलेको र सो खातामा दैनिक ५ देखि ७ लाख रुपैयाँसम्म जम्मा हुने गरेको अनुसन्धानमा देखिएको छ ।

गम्भीर अपराधमा तानिने खेलकर्मीमा सिंह पहिला व्यक्ति होइनन् । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको नक्कली कार्ड र प्रमाणपत्र बनाएर मानवतस्करी गरेको अभियोगमा महासंघका उपाध्यक्ष तथा रब्बी संघका महासचिव चेतनराज गिरी पक्राउ परेका थिए । उनीमाथि ठगी अभियोग लागेपछि अहिले धरौटीमा कारागारबाहिर छन् ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन राष्ट्रिय कप्तान सागर थापालगायत ५ खेलाडी विशेष अदालत धाइरहेका छन् । नेपाल कराते महासंघ महासचिव केदारबाबु सिवाकोटी राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।

ब्युरोका प्रमुख सिलवाल खेलकुदमा निश्चित आयस्रोत नहुने तर सहजै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रभावशाली व्यक्तिसँगको सम्पर्कमा पुग्ने हुँदा आर्थिक उपार्जनका लागि खेल क्षेत्रका व्यक्ति गम्भीर अपराधमा लाग्ने गरेको बताउँछन् । ‘संगठित अपराधको उद्देश्य नै आर्थिक उपार्जनका लागि हो,’ उनले भने, ‘आर्थिक स्रोत निश्चित नहुँदा उनीहरू पद र प्रभावको दुरुपयोग गर्दै अपराधमा लागेका देखिन्छन्।’

गम्भीर अपराधमा उन्मुक्ति

अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने नाममा गैरखेलाडीलाई खेलाडी बनाएर मानव तस्करी गरेको भन्दै खेलसँग सम्बन्धित विभिन्न संघका पदाधिकारी विवादमा तानिने गरेका थिए । अधिकांश मार्सल आर्टसँग सम्बन्धित संघहरू विवादमा तानिए पनि प्रहरीको अनुसन्धानको दायरामा नआउँदा आरोप अभियोगमा बदलिएन । प्रहरीले अनुसन्धान गरेका केही विषयका अभियुक्त अदालतसम्म पुगे, प्रहरी प्रवेश नगरेका गम्भीर प्रकृतिका घटनाको वास्तविकता बाहिर आएन ।

क्रिकेटको नक्कली खेलाडी बनाएर ९ जनालाई जापान लगेर उतै छाडेर मानव तस्करी गरिएको घटना सार्वजनिक भएको ३ महिना टेकिसकेको छ । खेलको आवरणमा मानव तस्करी भएको घटना सार्वजनिक भए पनि घटनाको अझै अनुसन्धान भएको छैन । राष्ट्रिय खेलकुद परिषद्ले अनुसन्धान गर्ने भने पनि के भइरहेको छ खुलेको छैन ।

जेठ २७ मा महानगरीय प्रहरी अपराध महाशाखाले गैरखेलाडीलाई नक्कली परिचयपत्र र प्रमाणपत्र बनाइदिएर विभिन्न देशमा पठाएको अभियोगमा नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरी पक्राउ गरेपछि खेल अधिकारीको आडमा चलिरहेको मानवतस्करीको जालो सार्वजनिक भएको थियो ।

म्याग्दीका टेकप्रसाद लामगादे र दीपक सुनारलाई कोरिया पठाइदिने भन्दै ३ लाख ६० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ परेका उनले राजेन्द्र दवाडीलाई नक्कली खेलाडी बनाएर बेलायत पठाउँदा बेलायती इमिग्रेसनले फिर्ता पठाएको खुल्यो । नेपाल रब्बी संघको महासचिव समेत रहेका उनी काठमाडौं जिल्ला अदालतले मागेको ८ लाख बुझाएर कारागारबाहिर छन् । उनी संलग्न संस्थाले निलम्बन गर्नुबाहेक उनको सम्बन्धमा परिषद् मौन बस्यो ।

राष्ट्रको प्रतिनिधित्व गर्दै खेलिएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पैसा लिएर ‘म्याच फिक्सिङ’ गरेको अभियोगमा तत्कालीन राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, थ्री स्टारका पूर्वखेलाडी विकाससिंह क्षत्री, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी विशेष अदालतबाट धरौटीमा छुटेर मुद्दा खेपिरहेका छन् ।

राष्ट्रको प्रतिनिधित्व गर्दै खेलिएका म्याच फिक्सिङमा राष्ट्रिय कप्तानसहित संलग्न रहेको घटना सार्वजनिक हुँदासमेत न अखिल नेपाल फुटबल संघका अधिकारी यो विषयमा प्रवेश गरे न परिषदका अधिकारी नै । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूमाथि राज्यविरुद्धको अपराधको अभियोग लगाएको थियो । परिषद् र एन्फाका अधिकारीहरू खेलाडी जोगाउने कसरतमा भने लागेका थिए । राखेप र एन्फाले केही कारबाही नगरे पनि एएफसीले भने निलम्बन गर्‍यो ।

गगन थापाद्धारा विशिष्ट व्यक्तिको उपचारमा १५ लाखमात्र दिने प्रस्ताव

२२ कार्तिक, काठमाडौं ।
अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ ।

मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी सिलिङ तोक्ने तयारी भएको हो ।

०६८ मा ल्याएको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि संशोधनका लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बढीमा १५ लाख तथा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई बढीमा पाँच लाख उपलब्ध गराउने गरी कार्यविधि परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको छ ।

अहिलेको कार्यविधिमा सरकारले चाहेमा जोसुकै व्यक्तिलाई जति पनि खर्च उपलब्ध गराउन सक्ने प्रवधान छ । यसका कारण राज्यको ढुकुटीबाट जथाभावी रकम वितरण भएको भन्दै स्वास्थ्य मन्त्रालयले कार्यविधि परिमार्जनको निर्णय गरेको छ ।

प्रस्तावित कार्यविधिअनुसार वर्तमान र पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, वर्तमान तथा पूर्वसभामुख, उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं वर्तमान तथा पूर्वपदाधिकारीहरले १५ लाख उपचार खर्च पाउँने आजको नयाँ पत्रिकामा समाचार छ ।

आफूखुसी विदेश गए पैसा नपाउने

अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूले स्वदेशी सरकारी तथा स्वदेशका अस्पतालको उपचारप्रति अविश्वास गरेर आफूखुसी विदेश गएर उपचार गरेमा सरकारले त्यस्तो खर्च नव्यहोर्ने गरी कार्यविधि परिमार्जनको प्रस्ताव गरिएको छ ।

कार्यविधिमा सकेसम्म नेपालकै सरकारी तथा सामुदायिक र निजी अस्पतालमा उपचार गराउनुपर्ने उल्लेख छ । नेपालमा सम्भव नभएमा मेडिकल बोर्डको सिफारिसमा विदेश गएर उपचार गर्दा तोकिएको पैसा उपलब्ध गराउने गरी कार्यविधि बनाइएको छ ।

ऋण दिन बैंकसँग पैसा छैन

२२ कार्तिक, काठमाडौं ।
वैकिङ प्रणालीको अवस्था खुम्चँदै गएपछि बैंकहरुमा थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकरहरुका अनुसार अहिलो बैंकहरुसँग कर्जा प्रवाह गर्नका लागि पर्याप्त पैसा छैन ।

बैंकहहरुसँग अहिले सर्वसाधरणलाई दिनको लागि थप रकमसमेत नरहेको उनीहरुको भनाइ रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

नेपाल बैंकर्स संघका अनुसार कात्तिकको पहिलो सातासम्ममा १८ खर्ब २८ अर्ब विदेशी मुद्रासहित निक्षेप पुगेको छ भने सो अवधिमा कर्जा प्रवाह १४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

जसमा विदेशी मुद्रामा रहेको निक्षेप एक खर्ब १३ अर्ब रुपैयाँ थियो भने सो अवधिमा बैंकहरुको पूँजी एक खर्ब २३ अर्ब छ ।

जापानमा छक्का पञ्जाको हाउसफुल प्रदर्शन

२१ कार्तिक, टोकियो ।
नेपालमा व्यापार र चर्चा दुवै हिसाबले दशर्कबाट साथ पाएको चलचित्र छक्का पञ्जालाई जापानमा रहेका नेपालीहरुले पनि साथ दिएका छन् ।

जापान टोक्यो स्थित मेगुरो कुन्मिन सेन्टरमा आज प्रदर्शन भएको चलचित्र हाउसफुल प्रदर्शन भएको छ ।

चलचित्र छक्का पञ्जा हेर्न करिव ३ सय दर्शक अटाउने हलमा भरिभराउ दर्शक उपस्थित देखिन्थे ।

नेपालमा जस्तै चलचित्र हेर्न लाईन लागेर नेपाली दर्शकहरु सपरिवार उपस्थित भएको देखिन्थ्यो ।

हांस्य चलचित्र जस्तो देखिएपनि परदेशीएका नेपालीका कथा व्यथा र उनका परिवारहरुको अवस्थालाई समेटेको चलचित्र हेरेपछि कतिपय दर्शकहरुले आफ्नै कहानी समेटेको जस्तो अनुभुती गरेको समेत बताए ।

चलचित्र प्रदर्शन अवधिभर हाँसोले गुञ्जायमान भएको चलचित्र हेरेपछि दर्शकहरुले चलचित्र उत्कृष्ठ रहेको भन्दै भरपुर मनोरञ्जन लिएको प्रतिक्रिया दिएका छन् ।

चलचित्र छक्का पञ्जालाई लाखें ईन्टरटेनमेन्टले प्रदर्शन गरेको हो भने चलचित्रको बजार व्यवस्थापन स्वस्तिक नेपाल जापानले गरेको हो ।

छक्का पञ्जा नेपालका कतिपय हलहरुमा अझैपनि प्रदर्शन भइरहेको छ भने अमेरिका सहित विभिन्न युरोपका देशहरुमा भव्य प्रदर्शन भइरहेको खवरहरु आइरहेका छन् ।

दिपकराज गिरी र दीपाश्री निरौलाको टिमले नै बनाएपनि छक्का पन्जालाई पहिलो पटक निर्देशन दिपाश्री ले गरेकी हुन् ।

चलचित्रमा दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारको उत्कृष्ठ हांस्य अभिनय रहेको छ ।

चलचित्रमा मुख्य नायिकाको रुपमा लोकप्रिय नायिका प्रियंका कार्की सँगै नम्रता सापकोटा र बर्षा राउतको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।

चलचित्रमा हांस्य कलाकार कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको संयुक्त लगानी रहेको छ ।

जर्वजस्ती नाम फेर्न राष्ट्र बैंकको दवाब

काठमाडौं,कात्तिक २१ । नेपालको कम्पनी ऐनअनुसार उस्तै प्रकृतिको कारोवार गर्ने कम्पनीको नाम उस्तै प्रकारको हुनुहुन्न । सोही अनुसार कम्पनीको नाम दर्ता गर्दा नै जुध्न दिइन्न । तर, नेपालको बैंकिङ क्षेत्रमा एउटै प्रकृतिको नाम र काम भएको कम्पनी धेरै छन्, त्यो पनि वित्तीय क्षेत्रमा । पहिले राष्ट्र बैंककै हेलचक्राईंका कारण दर्ता भएका बैंक तथा वित्तीय संस्थाहरुलाई अहिले मर्जरको बेला नाम परिवर्तन गर्न राष्ट्र बैंकले दवाब दिन थालेको छ । नियमविपरीत राष्ट्र बैंकले दवाब दिँदा सिद्धार्थ डेभलपमेन्ट बैंकका शेयरधनीहरु आक्रोशित बनेका छन् ।

एउटै नाममा विगतमा दर्ता गरिएका भए र कुनै दिन नामको विषयमा विवाद भए जसले सबैभन्दा सुरुमा दर्ता गरेको छ, सो नाममाथि उसैको पहिलो अधिकार लाग्ने व्यवस्था ऐनमा छ । कम्पनी ऐनको यो प्रावधानविपरीत नेपाल राष्ट्र बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई नाम फेर्न भन्दै तीव्र दवाब दिइरहेको छ । उसले औपचारिक—पत्र लेखेर नै नाम फेर्न दवाब दिइएको बताइएको छ । साथै, विभिन्न सहमति र स्वीकृति दिँदा तथा मर्जर प्रक्रिया अघि बढाउँदा नाम पेर्न दवाब दिने गरेको छ । आजको सेयर बजार साप्ताहिकमा समाचार छ ।

पार्टीको मर्यादाक्रमप्रति कांग्रेस नेताहरूको असन्तुष्टि

काठमाडौं,कात्तिक २१ । कांग्रेसका पाँच नेताले मर्यादाक्रम नमिलेको भन्दै १३औँ महाधिवेशनपछि बसेका चारवटै केन्द्रीय कार्यसमितिको बैठकमा हस्ताक्षर गरेका छैनन् । आफूहरूको ‘सिनियारिटी’अनुसार मर्यादाक्रम नमिलेको भन्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले उपस्थितिपुस्तिकामा हस्ताक्षर नगरेका हुन् । लेखक पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् ।

मर्यादाक्रममा श्रेष्ठलाई सातौँ नम्बरमा राखिएको छ । आफूभन्दा अघि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई राखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् । आफ्नो माग सुनुवाइ नभएको भन्दै नेता श्रेष्ठ केन्द्रीय समिति बैठकमा पछाडि बस्दै आएको आजको नयाँ पत्रिकामा समाचार छ ।

साथै, केन्द्रीय समितिमा पदीय मर्यादा नमिलाएपछि संसद् बैठकमा पनि आफू अगाडि नबसी पछाडि बस्न थालेको उनले बताए । यसअघि पार्टीमा महाधिवेशन भएपछि पदीय मर्यादाक्रमबारे ठूलो झमेला र लफडा नभएको श्रेष्ठ बताउँछन् । पाँच नेताले असन्तुष्टि राखेपछि केही दिनअघि बसेको केन्द्रीय समिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले मर्यादाक्रम मिलाउने आश्वासन दिएका थिए ।

उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी

काठमाडौं,कात्तिक २१ । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको छ । देशकै राजधानी अनि प्रमुख सहर भएकाले उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

ऊर्जा मन्त्रालयले लोडसेडिङ कम गर्न मन्त्रालयस्तरमा विशेष कार्ययोजना निर्माण गरी नेपाल विद्युत् प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई सोहीअनुसार काम गर्न स्पष्ट निर्देशन दिएपछि प्राधिकरणले यस्तो तयारी गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार भने, ‘हामीले उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाउने तयारी गरिरहेका छौँ, त्यसका लागि प्राधिकरणले एउटा अध्ययन समिति निर्माण गरेको छ, समितिले विभिन्न विकल्पमा अध्ययन गरिरहेको छ, अध्ययन प्रतिवेदनमा दिएको उपयुक्त विकल्पको तत्काल कार्यान्वायन गरिनेछ ।

’ हाल उपत्यकामा रातिको पिक आवरमा ३०० मेगाबाट बिजुलीको माग छ भने आपूर्ति झन्डै २०० मेगावाट। साँझको दुई घन्टाको पिक आवरका लागि प्राधिकरणले १०० मेगावाटको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘राजधानी सहरमा उज्यालो बनाउन साँझको दुई घन्टाका लागि १०० मेगावाटको व्यवस्थापन गर्न प्राधिकरण सक्षम छ, यसका लागि सबै किसिमका कोसिस भइरहेका छन्।’

उपत्यका अन्य स्थानमा लोडसेडिङको समय बढाएर उपत्यकामा घटाउन त थालिएको होइन भन्ने जिज्ञासामा कार्यकारी निर्देशक घिसिङले भने, ‘होइन, अन्य स्थानमा पनि लोडसेडिङको समय घटाउने प्रयास भइरहेको छ, घट्छ । उपत्यकालाई पूर्णरूपमा लोडसेडिङ मुक्त बनाउने योजना हो।’ उपत्यकाको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ त रु कार्यकारी निर्देशक घिसिङले भने,‘पिक आवरमा कुलेखानीलाई मात्र चलायौँ भने पनि उपत्यकाको समस्या सम्बोधन गर्न सकिन्छ र अन्य विकल्पको प्रयोग गर्न सकिन्छ, त्यही विषयमा अध्ययन भइरहेको छ।’ ऊर्जा मन्त्री जनार्दन शर्माले निर्माणाधीन अवस्थामा रहेका कुलेखानी तेस्रो र चमेलिया जलविद्युत आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न मन्त्रालयले निर्देशन दिइसकेको बताए। उनका अनुसार, त्रिशुली ३ ए को बाटो निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय भइसकेको छ ।

प्राधिकरणको पुनर्संरचनाका लागि प्रथम चरणको कार्य सुरु भएको छ । त्यसैगरी, प्रसारण लाइन निर्माणतर्फ पूर्व–पश्चिम ७६५ र ४०० के.भी., मध्य पहाडी राजमार्ग ४०० के.भी., क्रस बोर्डर, नदी कोरिडोर, ट्रान्समिसन निर्माणको काम अगाडि बढाउन बोर्डबाट निर्णय भइसकेको प्राधिकरणले जनाएको छ । उता उपत्यकाको विद्यमान वितरण प्रणालीमा सुधार आवश्यक भएको भन्दै मन्त्रालयले उपत्यकामा भूमिगत वितरण लाइनको विस्तारका लागि प्राविधिक तयारी गरिरहेको छ ।

विद्युत् चुहावटलाई नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रयास भइरहेका र ट्रान्सफर्मर मागअनुसार वितरण गर्ने कार्य भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए। उपत्यका बाहिर रहेका प्रमुख सहरको वितरण प्रणाली सुदृढीकरण गर्न दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले आफ्ना जनशक्ति परिचालन गरी अवरोध गर्ने र चुनौती देखिएका स्थानमा गृह मन्त्रालयसँग समन्वय र सहयोग मागेर भए पनि हुकिङमार्फत चोरी गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

उता ऊर्जा मन्त्रालयले ऊर्जा सङ्कट विधेयकलाई मस्यौदा सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको जनाएको छ । निजी क्षेत्रका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता छिटो छरितो होस् भन्ने उद्देश्यले एक सय मेगावाटसम्मका जलविद्युत् आयोजनाको खरिद सम्झौता गर्ने अधिकार प्राधिकरणका कार्यकारी निर्देशकलाई दिइएको मन्त्रालयले जनाएको छ । उत्पादन, इन्जिनियरिङ, विद्युत् व्यापार कम्पनी स्थापना गर्ने र काठमाडौँ उपत्यका वितरण कम्पनी, प्रदेशस्तरमा प्रादेशिकस्तर कार्यालय खोल्ने, उत्पादनका लागि सातवटा कम्पनी खोली प्राधिकरण, नागरिक र लगानीकर्ताको संयुक्त आयोजनाका रूपमा करिब २५०० मेगावाट विद्युत् उत्पादन गर्न कार्य अगाडि बढाउने निर्णय भएको समेत मन्त्रालयले जनाएको गोरखापत्र दैनिकमा समाचार छ ।

सूर्यको आराधना गरी छठ पर्व मनाइँदै,नदी तलाउमा विशेष झकिझकाऊ

काठमाडौं,कात्तिक २१ । छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

अब बागमती नदिबाटै विद्युत उत्पादन

२१ कार्तिक, काठमाडौं ।
काठमाडोंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।

माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या ९ मा विसं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्षका साथ काम गरिरहेको आजको अन्नपूर्णमा समाचार छ ।

बागमती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाइड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए ।

२०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web