काठमाडौं,पुस २७ । निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् । दुईवटा कानुन बनेका छन् भने ११ कानुन बन्न बाँकी छन् । निर्वाचन आयोग अपूर्ण छ । संविधानअनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन् ।

आयोगले पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बताइन् । स्थानीय तहको निर्वाचन गराउन पाँचवटा ऐन बन्नुपर्ने हुन्छ । संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित गरेको छ ।

बाँकी तीन ऐनको विधेयक सरकारले २५ जेठमै संसद्मा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी, निर्वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक संसदमा दर्ता भएको हो । यी तीन विधेयक अहिले संसद्को राज्य व्यवस्था समितिमा छलफलमा छ ।

प्रदेश र संघको निर्वाचनसम्बन्धी ऐनका मस्यौदा गृहमा पुगेनन्

प्रदेश र संघको निर्वाचनसँग सम्बन्धित कानुनहरू अहिलेसम्म निर्वाचन आयोगबाट मस्यौदा भएर गृह मन्त्रालयमा पुगेका छैनन् ।

आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रतिनिधिसभा सदस्यसम्बन्धी र प्रदेश सभा सदस्यसम्बन्धी ऐनको मस्यौदा अन्तिम तयारीमा पुगेका छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएको छैन

संघ र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गर्न गठन गरिने आयोगको ऐन पनि अहिलेसम्म संसद्मा पुगेको छैन । सरकारले पनि आयोग गठन गर्नेबारे छलफल अगाडि बढाएको छैन । कानुन मन्त्रालयले ऐनको प्रारम्भिक मस्यौदा भने तयार गरिसकेको छ।

गोपीनाथ मैनाली, सचिव, निर्वाचन आयोग

निर्वाचन आयोग निर्वाचनको तयारीमा छ । मतदाता नामावली अद्यावधिक गर्ने, मतदाता परिचयपत्र तयार गर्ने, मतदान बाकसको तयारी र निर्वाचन आचारसंहिताका विषयमा आयोग गम्भीरतापूर्वक छलफल र तयारीमा जुटेको छ । विद्युतीय मतदान बाकसको प्रयोगबारे दलहरूसँग छलफल गरिरहेका छौँ । १७ माघभित्र राजनीतिक दललाई विवरण अद्यावधिक गर्न सूचना प्रकाशित गरिसकेका छौँ ।

निर्वाचन आयोगले मस्यौदा तयार गरेका ऐन

प्रदेश सभा सदस्यसम्बन्धी विधेयक

प्रतिनिधिसभा सदस्यसम्बन्धी विधेयक

राज्य व्यवस्था समितिमा रहेका ऐन

राजनीतिक दलसम्बन्धी व्यवस्था

मतदाता नामावलीसम्बन्धी

निर्वाचन अयोगसम्बन्धी

संसद्बाट पारित भएका ऐन

स्थानीय तहसम्बन्धी ऐन

निर्वाचन सजाय तथा कसुरसम्बन्धी ऐन

प्रदेश र संघको निर्वाचनका लागि आवश्यक ऐन

निर्वाचन क्षेत्र निर्धारण आयोग ऐन

प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐन

राष्टिय सभा सदस्य निर्वाचन ऐन

प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐन

प्रदेश प्रमुख र मुख्यमन्त्रीको पारिश्रमक सेवा र सुविधाका सर्तसम्बन्धी ऐन

प्रदेश सरकार गठनसम्बन्धी ऐन

तयारीका लागि के गर्दै छन् मुख्य दल ?

केन्द्रीय सदस्यको प्रतिवेदनपछि कांग्रेसले रणनीति बनाउने

केन्द्रीय सदस्यले निर्वाचनको वातावरण, पार्टीको अवस्था र गर्नुपर्ने कामबारे प्रतिवेदन दिएपछि केन्द्रमा समिति बनाएर चुनावी रणनीति तय गर्ने कांग्रेसको तयारी छ ।

२ सय ४० वटै निर्वाचन क्षेत्र, नगर, गाउँको समग्र विषय मूल्यांकन गरेर रणनीति बनाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

निर्वाचनकेन्द्रित चारमहिने जागरण अभियानमा एमाले

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनकेन्द्रित भएर चारमहिने राष्ट्रिय जागरण अभियान चलाएको छ ।

निर्वाचन घोषणा भएमा माथिदेखि तलसम्मको पार्टीपंक्तिलाई तत्काल परिचालन गर्ने गरी एमालेले अभियान चलाएको हो । अभियान सुरु भएको दुई महिनामै एमालेले बैठक, भेला, प्रशिक्षण र आमसभासम्मका एकसरो कार्यक्रम गरेको छ ।

परिमार्जनसहित संशोधन भए मधेसी दल चुनावमा

संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएमा निर्वाचनमा सहभागी हुने मधेसकेन्द्रित दलहरूको साझा धारणा छ ।

सोहीअनुसार मधेसी दलले जिल्लामा कार्यक्रम गर्दै आएका छन् । आफूहरूको चाहनाअनुसार संविधान संशोधन भएमा सबै तहको निर्वाचनमा मधेसी मोर्चा गठबन्धनकै रूपमा सहभागी हुने आन्तरिक सहमति भएको मधेसका सबैजसो दलका मुख्य नेताहरूले बताएका छन् ।

तमलोपा महामन्त्री जितेन्द्र सोनल भन्छन्, ‘मागअनुसार संविधान संशोधन भए तमलोपा पनि निर्वाचनमा सहभागी हुन्छ । शीर्ष नेताहरूको जिल्ला भ्रमण यसकै आन्तरिक तयारी हो ।

पार्टीको संगठन विस्तार, जागरण अभियानका काम पनि भइरहेका छन् ।’ त्यस्तै, सद्भावना महासचिव मनीष सुमन सरकारले संशोधन प्रक्रिया अगाडि बढाएकाले आपूmहरू पनि आन्तरिक रूपमा निर्वाचन तयारीमा जुटेको बताउँछन् ।

गाउँकेन्द्रित अभियान थाल्न माओवादी केन्द्रको सर्कुलर

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि निर्वाचन तयारी सुरु गरेको छ । माओवादी केन्द्रले निर्वाचनलाई लक्षित गर्दै चुनावी नारा तय गरिसकेको छ । माओवादीले ‘गाउँ, नगर, घर–घर जाऊँ– माओवादी केन्द्रलाई विजयी गराऔँ’ भन्ने चुनावी नारा तय गरेको छ ।

त्यस्तै, माओवादीले निर्वाचन मिति घोषणा हुनुबित्तिकै गाउँस्तरबाट घरदैलो अभियान चलाउने, प्रचारप्रसार व्यवस्थित गर्ने योजना बनाउन जिल्ला कमिटीलाई आग्रह गरिसकेको छ ।

चुनावी तालमेलको सम्भाव्यता अध्ययनसमेत गर्न स्थानीय कमिटीहरूलाई निर्देशनसमेत दिइएको नेताहरूले बताएका छन् ।

चुनावकै तयारीस्वरूप दुई राप्रपाको एकीकरण

दुई पार्टी एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनमा केन्द्रित भएको छ । ६–९ फागुनमा महाधिवेशन भएपछि पार्टी निर्वाचनको तयारीमा जुट्ने राप्रपा नेता दिलनाथ गिरीले बताए ।

‘राप्रपाले ०७४ माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय चुनाव हुनुपर्ने अडान राख्दै आएको छ । चुनावकै लागि हामीले पार्टी एकीकरण गरेका हौँ,’ गिरीले भने, ‘महाधिवेशन सकिएपछि हामी चुनावको तयारीमा लाग्छौँ, वैकल्पिक प्रजातान्त्रिक पार्टीका रूपमा हामी माहोल बनाउँछौँ ।’

राप्रपाले एक महिनायता पोखरा, झापा, नेपालगन्ज, महेन्द्रनगर, भक्तपुर, गोर्खा, सिन्धुपाल्चोकमा ठूला सभा गरेको छ । (नयाँ पत्रिका दैनिक)

काठमाडौं,पुस २७ । ०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । त्यसअघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस दिवसको अघिल्लो दिन सार्वजनिक बिदा दिएको सरकार पृथ्वीजयन्तीमा बिदा दिन दबाबमा परेको थियो । त्यस वर्ष जनआन्दोलनको उत्कर्षमा सिंहदरबार मूलगेटसामुन्ने रहेको पृथ्वीनारायण शाहको सालिक तोडफोड भएको थियो ।

त्यतिवेलाको राजनीतिक माहोलका कारण पृथ्वीजयन्तीको बिदा कटौती भएको तत्कालीन गृहसचिव उमेश मैनालीले बताए । ‘गृह मन्त्रालयले प्रस्ताव पेस गर्ने, मन्त्रिपरिषद्ले निर्णय गर्ने हो । त्यो वर्ष पनि बिदासम्बन्धी निर्णय त्यसैगरी भएको हो,’ हाल लोकसेवा आयोगका अध्यक्ष रहेका मैनालीले भने, ‘मन्त्रिपरिषद्ले बिदा कटौती गर्ने निर्णय गरेको हो, पृथ्वीजयन्ती नमनाउने निर्णय गृह मन्त्रालयस्तरको होइन । मन्त्रालयले सार्वजनिक बिदा दिने वा हटाउने निर्णय गर्न सक्दैन ।

’ तर, त्यसवेला के–कति कारणले बिदा कटौती भएको हो भन्नेबारे सार्वजनिक टिप्पणी नगर्ने मैनालीले बताए । ‘अहिलेकै सरकार कति दबाबमा छ, त्यो वेलाको परिस्थिति अहिलेजत्तिको सहज थिएन । शान्तिवार्ता चलिरहेको थियो, राजनीति अर्कै थियो । त्यो वेलालाई अहिलेको सन्दर्भमा हेर्न मिल्दैन,’ मैनालीको तर्क छ । तर, गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्का एक सदस्यले भने बिदा कटौती गर्ने आफ्नो निर्णयबारे कोइराला पछिसम्म दोधारमा रहेको बताए ।

‘हामीले यो निर्णय उचित गरेनौँ कि भन्ने उहाँलाई पछिसम्म लागिरहेको थियो, तर उहाँले त्यसलाई उल्ट्याउने साहस गर्न सक्नुभएन । त्यो परिस्थिति भएन,’ त्यो वेलाका एक मन्त्रीले अनौपचारिक कुराकानीमा बताए । यस वर्ष राष्ट्रपति, प्रधानमन्त्री, अधिकांश दल पृथ्वीजयन्तीमा बिदा दिन एकमत थिए । तर, मंगलबार अबेरसम्म सार्वजनिक बिदा दिने सरकारी निर्णय भएन । ‘यो अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो,’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘राष्ट्रनिर्माताको सम्मान गर्न नसक्ने यो सरकार अदृश्य शक्तिको दबाब वा प्रभावमा छ भन्ने स्पष्ट भयो । राप्रपा अत्यन्त चिन्तित छ ।’ नयाँ पत्रिकाबाट दैनिकमा समाचार छ ।

काठमाडौं, पुस २६ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले गद्दी छाडेको एक दशक नबित्दै देश रहने हो कि होइन भन्ने चिन्ताजनक अवस्था आइपुगेको बताएका छन्। २९५ औंं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी राजदरबारबाट बाहिरिनु पर्ने कारणसहित गम्भीर आरोपहरु लगाएका छन्।

विज्ञप्तिमा ज्ञानेन्द्रले भनेका छन्, ‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं’, ‘तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।‘

साथै उनले नेपाल नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा मुलुक उभिएको बताएका छन् । उनले भनेका छन्, ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।’

काठमाडौं—करिव १ दशक अघि सम्म पौष २७ गतेका दिन देशव्यापी रुपमा सार्वजनिक बिदा सहित मनाईने पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस गणतन्त्र घोषणा पछिको सरकारले औपचारिक रुपमा राजतन्त्रकालीन तमाम निर्णयसँगै खारेज गरे पनि केही राजनीतिक दल र कतै नागरिक स्तरबाट देश विदेशमा हाल सम्म पनि मनाईरहेको परिवेशमा यस वर्षको २९५ औं अझ विशेष हुने परिस्थिति देखिएको छ।

आजका दिनमा झन्झन् राष्ट्रको सार्वभौमसत्ता कमजोर हुँदै जाँदा त्यस्तै राष्ट्रिय एकतामा विभिन्न राष्ट्रिय अन्तर्रास्ट्रिय तत्वबाट प्रहार भइ त्यसको जग मक्किँदा वर्तमान समयमा पृथ्वीनारायण नारायण शाहको नेपाल एकीकरण र राष्ट्रिय एकताको महत्व अझ बढेर गएको छ समयान्तरमा यसको सान्दर्भिकता सिद्ध हुँदै गईरहेको छ।

आज भन्दा २९५ वर्ष अघि गोरखामा जन्मिएर केवल २० वर्षको उमेरमा नै राजगद्दी सम्हालेका उनको त्यो वीरता र राजपाठ संचालनको चातुर्यता आजका पुस्ताका लागि कुनै दैव्यशक्तिको प्रभाव भन्दा कम छैन जसले तत्कालीन परिस्थितिमा बाईसे चौविसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरि आजको एकीकृत नेपालको स्वरुप दिए जून भूगोलमा हामी अहिले छौँ ।

त्यसको जग बसाल्ने महान कार्य उनको दूरदर्शिताको प्रतिफल थियो यदि उनले त्यसो नगरेको भए त्यसपछी संसारभर चलेका औपनिवेशिकताको हुरीले नेपाललाई कि त भारतमा लगेर गाभिदिन्थ्यो कि त तिब्बत तिर रहन्थ्यो । यो तथ्यपरक इतिहासलाई आज हामीले जनताको स्तरबाट अवमूल्यन गरिरहेका छौं जून निकै दुर्भाग्यपूर्ण छ।

गणतन्त्रको उपलब्धि सँगै इतिहासलाई जसरी अनेकन कुतर्क र सिद्धान्तका आधारमा अपव्याख्या गर्दै बदनियत मात्र गरिएन भर्खरै जारी भएको संविधानमा समेत यहि अपमानलाइ लिपिबद्द गरियो । ताकी यसबाट आगामी दिनमा आउने सन्ततिलाई सत्यता बाट वन्चित गरियोस् र इतिहास प्रती उनीहरूको गौरव नभई घृणा होस् यसलाई सिमित व्यक्तिले नेपाल माथी लादे जसलाई जनताले अनुमोदन गर्यौं।

भनिन्छ कुनै पनि राष्ट्रलाई कमजोर बनाई त्यसको अस्तित्व मेट्ने कोसिस गरिन्छ भने सबैभन्दा पहिले त्यसको इतिहासलाई बदनियत गर्दै मेटाउने कोसिस गरिन्छ जसमा आफ्ना मौलिकता सबै मेटिन्छन जहाँ बिगतप्रती आफ्नो गौरव हुँदैन ठीक यस्तै प्रयोग नेपालमा पनि हो। यहाँ गणतन्त्रवादी हुनु राजतन्त्रको विरोध र इतिहासको अपमानलाई मात्र मापदण्ड तय गरियो अनि यसैको आधारमा देशका बौद्धिक व्यक्ती समेत आफूलाई राजतन्त्रवादीको ट्याग हटाई गणतन्त्रवादी मुकुट पहिरिन चुपचाप बसे ।

त्यसै अनुसार नै ठाउँ ठाउँका शालिक उनका नामबाट नामाकरण गरिएका राष्ट्रिय धरोहर अनि हरेक सरकारी कार्यालयबाट तस्वीर र नाम हटाउन उर्दी जारी गरियो यसैको प्रभाव आममानिसको घरघर सम्म पनि पर्यो त्यहाँ बाट समेत निकालियो सँगै आमनागरिकको मनबाट निकाल्न खोजेको प्रयास सफल हुन सकेन र त आज नागरिक यसरी आफ्नो स्तरमा यसको अस्तित्व जोगाउन लागिपरेका छन। तर तत्कालीन शैन्य नेतृत्वको अडान र आजको शैन्यबलका संस्थापक सेनापतीका रुपमा नेपाली सेनाले हटाउन मानेन र अझै जंगी अड्डामा त्यो देख्न सकिन्छ तर पछि एकाध स्थानमा शालिक समेत पुनर्निर्माण गरिए।

आजका तमाम गणतन्त्रवादीको तर्क छ कि उनी निरंकुश , तानाशाह , नरसंहारका नाईके , जातीय विभेदका नाईके जस्ता यी सबैलाई आधार बनाएर उनको योगदान हामीले बिर्सन सक्दैनौं र यिनका आधारमा न उनको योगदान नै कमजोर हुन्छ। आज भन्दा करिव २७५ वर्ष पहिलेको परिस्थितिमा आजका गणतन्त्र भन्ने कतै अस्तित्वमा थिएनन र साथै संसारले पनि राजा बिनाको राज्यको परिकल्पना गर्न सक्दैनथ्यो कुनै राज्यले तब मात्र राज्यको दर्जा पाउंथ्यो जहाँ राजा हुन्थे त्यही परिस्थितिमा उदाएका हुन पृथ्वीनारायण शाह ।

जसले तत्कालीन समयमा सबै अस्त्र प्रयोग गरि राज्य एकीकरण गरे धेरै शैन्य युद्ध त थोरै सम्झौता समेतले आजको एकीकरणको जग बसाले तर नेपालको दुर्भाग्य नै भन्नु पर्छ उनी निकै कम समय मात्र जिवित रहे तर देशका राजा नै अग्रपंक्तिमा सेनापती झैँ खटिएर आफैले युद्ध गरे। त्यो समयमा राष्ट्र बन्ने परिपाटी त्यही थियो त्यसै गरि नै बनेका हुन आजका अस्तीत्वमा रहेका अधिकांश राज्य।

विश्वशान्ति र सार्वभौम राष्ट्रमाथी बिनाकारण तेस्रो राष्ट्रमाथी आक्रमण नगर्ने अवधारणा त दोश्रो बिश्वयुद्द पछि संयुक्तराष्ट्र संघको गठनसँग मात्रै शुरु भएको हो यद्यपि सत्याग्रहबाटै स्वतन्त्र राष्ट्रको अस्तित्व बनाउने भारतले आफ्नो स्वतन्त्रता आन्दोलन पश्चात् पनि हैदरावाद लगायतका केही राज्यलाई भारतमा बिलाउन शैन्ययुद्द गरेकै हो। उक्त समय हत्याहिंसा र शैन्यहस्तक्षेप नै शक्तिसन्तुलनको एकमात्र अस्त्र थियो यहि अस्त्र आजपनी छ त्यसैले यी सबै आधारमा आजका आरोपलाई सिधै नकार्न सकिन्छ उनी आजको आधुनिक नेपालका राष्ट्रनिर्माता नै हुन।

समय कालखण्ड अनुसार अन्तर्रास्ट्रिय राजनीतिमा समेत व्यवस्था परिवर्तन हुँदै गए क्रमशः राजतन्त्रको अस्तित्व संकटमा पर्दै जांदा नेपालमा समेत यसको प्रभाव पर्यो नेपालको जग बसालेर समृद्ध नेपालको कार्यभार आफ्ना सन्ततिमा सुम्पिएका पृथ्वीका सन्ततिले राज्यपाठ जनताका अपेक्षा अनुसार संचालन गर्न सकेनन् र जनताको निर्णय प्रक्रिया बाट औपचारिक रुपमा राजतन्त्र विदा भएको हो। स्मरण रहोस् राजतन्त्र ब्यवस्था बिदा भएको त्यसको समग्र इतिहास होइन जसले आजको जग बसालेर हामीलाई भूगोल , राष्ट्रियता र राष्ट्र दिए तिनलाई हामीले अलग व्यवस्थाका नाममा बिर्सनु भनेको आफ्नै राष्ट्रियता माथी र स्वयम् आफै माथीको अपमान हो।

त्यो समयमा उनले प्रतिपादन गरेका धेरै सिद्धान्त आज पनि हाम्रा लागि उत्तिकै सान्दर्भिक छन् उनका दिव्यउपदेश आज पनि हाम्रो नेपाललाई एकताको सुत्रमा सूत्रबद्ध गरि वैदेशिक नीति संचालन गर्न उपयोगी छन् अझ तिनै जगमा आज नेपालले आफ्नो वैदेशिक सम्बन्ध संचालन गरिरहेको छ भन्दा फरक पर्दैन तर छिमेकी संगको सम्बन्धमा हालका दिनमा लम्पसार परेकै हो । उनका दिव्यउपदेशका निति नमान्दाको परिणाम आज देशको एकता कमजोर र धार्मिकरुपमा समेत अन्यको हस्तक्षेपले सिंगो राज्य कमजोर हुंदैछ।

हरेक देशका आ–आफ्ना इतिहास छन् कुनै उपनिवेश बाट मुक्त भए भने केही तत्कालीन समयमा कायम रहेका कुनै देशबाट छुट्टिएर आफ्नो अस्तित्व कायम गरे त्यता व्यवस्था जुनसुकै होस् कसैले उपनिवेश बाट छुटकारा र कसैले कुनैबाट स्वतन्त्र बनाउनेलाई राष्ट्रपिताका दर्जा दिए। हाम्रो छिमेकमा भारतमा महात्मा गान्धी लाई त्यो दर्जा दिए जसले भारतलाई बेलायती उपनिवेश बाट मुक्त बनाए त्यस्तै बंगलादेशमा बंंगबन्धु शेख मुजीवुर रहमान जस्ले पाकिस्तान बाट स्वतन्त्र बंगलादेश बनाए ।

हाम्रो नेपालको जस्तै एकीकरण गरि नयाँ राज्य खडा गर्ने युएईका शेख जायद अल नाह्या पनि राजतन्त्रका राजा थिए त्यहाँ र हाम्रो अवस्था फरक होला तर आखिर राष्ट्रनिर्माता त हुन नै। के राजतन्त्रकालीन समयमा राजा भएकै कारण र नेपालमा गणतन्त्र स्थापना भएकैले उनले राष्ट्रनिर्माताको दर्जा नपाएर इतिहासलाई अपव्याख्या गरि अपमान सहनुपर्ने ? के उनले आजको नेपाल निर्माण गरेर हामीलाई दिएर अपराध गरे र त्यसैको सजाय हो हामीले अहिले उनलाई दिएको ? व्यवस्था जुनसुकै होस् देशमा इतिहास सधैंव गौरवान्वित हुन्छ त्यसैले राज्यलाई समेत दवाव दिई जनताको तहबाट उनलाई सम्झन बिर्सनु हुँदैन आजको यो पुस्ताले उनलाई सम्मान गरे मात्र इतिहास जोगिन्छ जून हाम्रो कर्तव्य पनि हो।

recentnepal.com

काठमाडौं,पुस २६ । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकाका सडक तथा गल्लीमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी दसैँसम्ममा मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ । उपत्यकामा हरेक घरमा खानेपानी पुर्याउनका लागि ६ सय ७० किमि पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ४ सय ७० किमी सडकमा पाइप बिच्छ्याइएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले जानकारी दिए ।

मेलम्चीबाट सुरुङ हुँदै आएको खानेपानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधित भएपछि ६१ किमी मुख्य लाइन निर्माण गर्नुपर्ने हुन्छ । उपत्यकाका ११ ट्यांकीसम्म पानी लैजानका लागि ६१ किमी आवश्यक पर्ने भए पनि हालसम्म ३५ किमी मात्र काम सम्पन्न भएको प्रबन्धक खनालले बताए ।

निर्देशनालयले पानी वितरणलाई सहज बनाउनका लागि उपत्यकाका ११ स्थानमा पानी ट्यांकी निर्माण गरेको छ । आरुबारी, महाङ्काल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, खुमलटार, कटुन्जे, कीर्तिपुर र ठिमीमा नयाँ ट्यांकी तथा अनामनगर र मीनभवनमा रहेको पुरानो ट्यांकीलाई पनि प्रयोग गरिने छ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले उपत्यकामा असोजभित्र खानेपानी ल्याउने गरी मन्त्रालय जुटिरहेको बताए । उनले भने, “लामो समयदेखिको उपत्यकावासीको चाहना पूरा गर्न हामी दिनरात खटिरहेका छौँ ।” रासस

एजेन्सी । बलिउड सुपर स्टार आमिर खानको चलचित्र ‘ दंगल’ ले नयाँ रेकर्ड बनाएको छ । २०१६ को अर्को सफल चलचित्र ‘ सुल्तान’ लाई व्यवसायीक रूपमा पनि पछि पर्दै नयाँ रेकर्ड बनाएको हो । रेकर्ड बनाउने क्रममा ‘दंगल’ ले ३४५.३ करोड रुपैयाँ कमाई गरेर छ ।

गत महिना डिसेम्बर २३ मा रिलिज भएको ‘दंगल’ ले ८ जनवरीसम्ममा सो कमाइ गर्न सफल भएको हो । उक्त कमाई गरेको दंगलले हिन्दी फिल्ममा धेरै कमाई गर्नेमा एक नयाँ रेकर्ड बनाएको एनडीटीभी अनलाइनले जनाएको छ ।

यसै गरि ‘दंगल’ ले आमिर खानको यसअघिको फिल्म ‘पीके’ को रेकर्डलाई पनि तोडेको छ । नितिश तिवारीले निर्देशन् गरेको सो फिल्म हरियाणाको एक परिवार महाविर सिंह फोगट तथा उनका दुई छोरीका बारेको वास्तविक कथामा आधारित छ ।

काठमाडौं,पुस २६ । तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ ? वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ ? यी सबै कार्यको लागि सरकारसँग सहयोग माग्न अब सेवाग्राहीले काठमाडौं धाइरहनु पर्नेछैन । इन्टरनेट सुविधा भए सेवाग्राहीले आफ्नै घरमा बसेर यो सेवा उपयोग गर्न सक्छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले छिटै कन्सुलर सेवालाइ अनलाइनमार्फत उपल्ब्ध गरोउने तयारी गरेको खबर आजको नागरिकमा छ ।

कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले भने ‘अहिले हामी अनलाइन सेवाको आन्तरिक रुपमा परीक्षण गरिरहेका छौं । परीक्षणका क्रममा देखिएका समस्या सच्चाउने काम भैरहेको छ । केही दिनभित्रै सेवाग्राहीका लागि यो सेवा अनलाइनमा उपलब्ध गराइनेछ ।’

काठमाडौं,पुस २६ । विपक्षीको बिरोधकै बिच संसदमा पेश भएको संसोधन बिधेयक जनताको लागि सार्वजनिक भएको छ । सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार नियमित प्रक्रियामा जाँदा पनि कम्तिमा १५ दिन अगाडी संसोधन प्रस्ताव पेश हुँदैछ् । संविधानको धारा २७४ को उपधारा ३ मा संंशोधन सदनमा पेश भएको ३० दिनभित्र जनताको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसैबीच ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।

एजेन्सी,पुस २६ । विश्व फुटबलको सर्वोच्च सस्था फिफाले सोमबार राती सन् २०१६ को उत्कृष्ट खेलाडी, प्रशिक्षक, उत्कृष्ट गोल, फिफा टिम र उत्कृष्ट फुटबल समर्थकलाई सम्मानित गर्यो । फिफाको मुख्यालय स्विजरल्याण्डको ज्युरिचमा सोमबार राति एक विशेष समारोहकाबीच फिफाले उक्त अवार्ड प्रदान गर्यो ।

फिफा प्रदान गर्दै आएको उत्कृष्ट खेलाडीमा रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले जिते । उनले बार्सिलोनाका लियोनल मेस्सी र एथलेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारे ।फिफा वर्ष खेलाडी अवार्डः नेपालको तर्फबाट फिफा अवार्डमा कसले कसलाई भोट गरे?

हेर्नुस् नेपालको मतदान तालिका –

पुरुष टोलीका प्रशिक्षक ग्योतोकु कोजी:

प्रशिक्षक – १. योर्गेन क्लप २. डिएगो सिमिओनी ३. जोसेप गुआर्डीओला

खेलाडी – १. लिओनेल मेस्सी २. ग्यारेथ बेल ३. पल पोग्बा

पुरुष टोलीका कप्तान अनिल गुरुङ:

प्रशिक्षक – १. फर्नान्डो सान्तोस २. क्लौदियो र्यानेरी ३. जिनेदिन जिदान

खेलाडी – १. क्रिस्टियानो रोनाल्डो २. नेयमार ३. लिओनेल मेस्सी

महिला टोलीका प्रशिक्षक कुमार थापा:

प्रशिक्षक – १. सिल्विया नेइड २. मार्टिना ३. वोर्ल थोमसखेलाडी – १. कुमगाई साकी २. सिन्क्लेअर क्रिस्टिन ३. सारा डाब्रिट्ज

महिला टोलीका कप्तान लक्ष्मी कुमारी पौडेल: [भोटिङको समयमा नेपाली टोलीको कप्तान नतोकिएको हुँदा पौडेलले सिनिएर प्लेयरको हैसिएतले मतदान गरेकी हुन्।]

प्रशिक्षक – १. जिल एलिस २. हर्डम्यान जोन ३. जेरार्ड प्रेसर

खेलाडी – १. अमानडाइन हेनरी २. मार्टा ३.कुमागाई साकी

नेपालको तर्फबाट मिडियाको भोट भने ‘द काठमाडौँ पोष्ट’का रितेश रिजालले हालेका थिए। उनको छनोट हेर्नुहोस:

महिला प्रशिक्षक – १. जिल एलिस २. भादावो ओस्वल्दो ३. जोन हर्डम्यान

महिला खेलाडी – १. मार्टा २. क्यर्ली लोइड ३.सारा डाब्रिट्ज

पुरुष खेलाडी – १. लिओनेल मेस्सी २. क्रिस्टियानो रोनाल्डो ३. ग्यारेथ बेल

पुरुष प्रशिक्षक – १. फर्नान्डो सान्तोस २. डिएगो सिमिओनी ३. जोसेप गुआर्डीओला

टोकियो ।
जापानमा नेपाली विद्यार्थीहरुबिच क्षमता देखाउने अवसरको रुपमा लोकप्रिय जापानी भाषा वक्तित्वकला यस बर्ष मार्च २० तारिखमा हुने भएको छ ।

नेपाल जापान रिसर्च सेन्टर, नेपाकेनको आयोजनामा हरेक वर्ष जापानमा हुँदै आएको प्रतियोगिता मार्च २० सोमबारका दिन हुने भएको हो ।

आयोजकहरुका अनुसार यस बर्षको वक्तित्वकला प्रतियोगितामा जापानको विश्व विद्यालयले पनि सहकार्य गएकोले प्रतियोगिता थप विशेष हुने भएको छ ।

कार्यक्रम संयोजक शंकर बराइलीले प्रतियोगिताले जापानमा रहेका नेपाली विद्यार्थीहरुको भाषाको स्तर र क्षमतामा बृद्धि गर्दै आएको छ ।

यद्यपी जापानमा नेपाली विद्यार्थीहरुले क्षमता देखाउने अवसर कम पाउने भएकाले पनि कार्यक्रमको महत्व थप बढ्दै गएको देखिन्छ ।

प्रतियोगितालाइ नेपाली राजदूतावास जापान, गैरआवासिय नेपाली संघ जापान तथा स्वयं सेवक संस्था जाइका लगायतले सहयोग गर्दै आएको छ ।

प्रतियोगितमा सहभागी हुने सबैले प्रमाण पत्र तथा एकमुष्ट ट्रेन फेयर स्वरुप २००० येन प्राप्त गर्ने छन भने प्रथम,द्वितिय र तृतिय हुनेले क्रमसस् ५०हजार, ३० हजार र २० हजार जापानी येन प्राप्त गर्ने छन् ।

दर्शकहरुको भोट बाट १ जनाले 'अडियन्स पुरस्कार', रिस्सयो बिश्व बिधालय र जाइका स्वयंम सेवक संस्था लगाएतका संस्थाहरु बाट पनि आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागि वन्न चाहने विद्यार्थीहरुले तलको लिंकमा क्लिक गरेर निवेदन दिन सक्ने भन्दै आयोजकले जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी बन्न आग्रह गरेको छ ।

यहाँ क्लिक गरेर जापानी भाषा वक्तित्वकला प्रतियोगितामा आवेदन दिन सकिन्छ ।

जापान राष्ट्रब्यापी वक्तृत्वकला उपाधि शरदलाई, तेस्रो बने विष्णु

काठमाडौं ।
वाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गरेका छन् ।

मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा ्द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन लगायत विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री थकालीले भेटमा जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा सहित द्विपक्षीय व्यापार र लगानी थप प्रवद्र्धनमा जापानको थप भूमिकाको अपेक्षा गरेको बताएको मन्त्तालयले बताएको छ ।

राजदूत ओगावाले नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने भन्दै द्विपक्षीय हितका लागि सरकार र निजी क्षेत्रको तहमा व्यापार र लगानी वृद्धि गर्न पहल गर्ने बताएको जनाइएको छ ।

जापान ।
जापानले अफगानिस्तानको शान्ति र विकासको लागि भन्दै १६ करोड २० लाख डलर घोषणा गरेको छ ।

जापानका विदेश उपमन्त्री केन्तारो सोनाउरा र अफगानिस्तानका राष्ट्रपति असरफ गानीबिच भएको भेटपछि सोनाउराले यस्तो घोषणा गरेका हुन् ।

अफगानिस्तानको सुरक्षामा सुधार ल्याउन तथा भ्रष्टाचार न्युनिकरण र विकासका क्षेत्रमा सहयोग गरिने रकम प्रयोग हुने बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा भएको भेटवार्तामा सोनाउराले अफगानिस्तानमा स्थिरता ल्याउनको लागि जापान सरकार सक्दो सहयोग गर्ने बताए ।

यस अघि २०१६ अक्टोम्बरमा बेल्जियममा भएको दाता राष्टहरुको भेलामा जापानले सन् २०२० सम्ममा अफ्गानिस्तानलाई १४ अर्ब डलर सहयोग गर्ने बताएको थियो ।

सोही अनुसार जापान सरकारले सहयोग गर्ने भएको बताइएको छ ।

सद्दाम हुसेन शासन पतन गराउन भन्दै अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा आक्रमण गरेपछि लाखौंको मृत्यु र लाखौं पलायन भएपनि अझै अलकायदा, आइइएस जस्ता चरमपन्थी मुस्लिम समुहको निरन्तरको आक्रमण खेपिरहेको अफगानि सरकारले देशभर आफ्नो नियन्त्रण समेत स्थापित गराउन सकिराखेको छैन ।