काँग्रेस समर्थक संस्था जनसम्पर्क समिति जापानको भेला यही २१ तारिखमा

टोकियो ।
समानान्तर दुई समितिबाट सहमती र भागवण्डामा एकभएपछि नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानको पहिलो भेला यही जनवरी २१ तारिखमा हुने भएको छ ।

हालसम्मपनि पूर्णता नभइसकेको काँग्रेस प्रवासी संगठन जापानको आगामी भेलाले समितिलाई पूर्णता सहित गति दिने तयारी गरेको छ ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको जापान यात्राका क्रममा मिलाइएको समिति डीपी कँडेलको नेतृत्वमा रहेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको सहभागीतामा २१ तारिखमा समितिलाई औपचारिकता सहित पूर्णता दिइने भएको छ ।

एक बर्ष कँडेललाई नेतृत्व दिएर अर्कोबर्ष फेर्नेगरि बाँडफाँड गरिएको भनिएको नेतृत्वबारे अझैपनि जापानमा रहेका काँग्रेस समर्थकहरुबिच बिवाद देखिन्छ ।

यद्यपी नेता पौडेलको उपस्थितिमा भएको सहमती अनुसार नयाँ कार्य समितिको पदाधिकारीहरुलाई २१ तारिखको भेलाले पूर्णता दिने कँडेलको भनाई छ ।

साँझ ५ बजेबाट नेजुबुन्का सेन्टर हलमा हुने कार्यक्रममा जापानमा रहेका नेपाली काँग्रेस समर्थक र समितिका सदस्य सबैलाई उपस्थितिको लागि समेत सभापती कँडेलले आग्रह गरेका छन् ।

काठमाडौमा वायु प्रदुषण ५ गुणा बढ्यो : प्रदुषणबाट नेपालमा वर्सेनि २२ हजारको मृत्यु

काठमाडौं,पुस २८ । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । वायु प्रदुषणको मात्रा ५ गुणाले बढेपछि जनजीवन निकै कष्टकर बन्दै गएको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य सगंठनले गत वर्ष (सन् २०१६) मा गरेको वायु प्रदुषण सम्बन्धि एक अध्ययनमा उपत्यकामा अघिल्ला वर्षका तुलनामा ५ गुणाले वायु प्रदुषण बढेको देखाएको छ । उपत्यकामा बढ्दो प्रदुषणका कारण बिभिन्न रोगका बिरामीहरू समेत बढ्दै गएको खबर आजको कारोबारमा छ ।

उपत्यकामा सडक विस्तार, खानेपानी तथा ढलको पाइप बिछ्याउने क्रम तथा बढ्दो सवारी चाप लगायतले धुलो, धुवाँ बढेर वायु प्रदुषण बढेको हो । यसतर्फ सम्बन्धित सरोकारवालाले समयमै ध्यान नपु¥याए यसले भविश्यमा ठूलो धनजनको क्षति पुर्‍याउनसक्ने विज्ञहरूले औंल्याएका छन् ।

सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड ०६९ ले पीएम् २.५ को मापदण्ड ४९ माइक्रोन प्रतिघनमिटर कायम गरेको छ । पीएम् २.५ भनेको सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यस्ता धुलोका कण मानव स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा हानिकारक मानिन्छन् ।

यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्नसक्छ ।  फोक्सोबाट रक्तसञ्चार प्रणालीको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर मुटु फोक्सो, तथा अन्य स्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै अन्य संक्रमण पनि गराउने बिज्ञहरू बताउँछन् ।

विश्व स्वास्थ्य सगंठनले १०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदुषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक बर्ष करिव १० हजार मानिसले ज्यान गुमाउने गरेका छन्  । यस्तै, विश्व बैंक र रिसर्च इन्स्टिच्युट (आइएचएमई) ले सन् २०१६ मा गरेको अध्ययनअनुसार वायु प्रदुषणकै कारण नेपालमा वर्सेनि २२ हजारभन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा नेपालमा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदुषणकै कारण हुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. खेम कार्की बताउछन् । डा. कार्कीका अनुसार, प्रदुषणका कारण मुटु रोगबाहेक १४ प्रतिशत दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको हो ।

काठमाडौमा वायु प्रदुषण बढ्नुमा बढ्दो सवारी चाप पनि प्रमुख समस्याको रूपमा रहेको वातावरणविद् डा. भुषण तुलाधर बताउँछन् ।  उनका अनुसार, काठमाडांैमा जनसंख्याको चाप चार प्रतिशतले वृद्धि भैरहेकोमा त्यसको अनुपातमा  सवारीसाधनको वृद्धि ४० प्रतिशतले बढेको छ ।

“सरकारले उपत्यकाको  ट्राफिक जाम बढ्यो भनेर सडक विस्तार गर्नतिर लागेको पाइन्छ, त्यसो गर्नु भनेको वायु प्रदुषणको क्षेत्रमा आगोमा घ्यू थप्नुसरह हो,” तुलाधर भन्छन्,  “सहरमा २० प्रतिशत सवारीसाधनले ५० प्रतिशत प्रदुषण गराउँछ, यदि २० प्रतिशत सवारीसाधन घटाउने मात्र हो भने पनि ५० प्रतिशत वायु प्रदुषण आफंै घट्नेछ ।”

इन्टरनेटको पहुँच बढ्दो, गाउँमा थ्रीजी, सहरमा फोरजी

काठमाडौं,पुस २८ । मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ।

यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन्। तीन वर्ष अघिसम्म सहरमा पनि राम्रोसँग नचल्ने थ्रीजी (थर्ड जेनेरेसन) सेवा अब गाउँसम्मै पुगिसकेको छ भने नयाँ वर्षसँगै सहरी क्षेत्रका उपभोक्ताले फोरजी चलाउन थालिसकेका छन्।

नेपाल टेलिकमले हाल राजधानी काठमाडौं र पोरखामा फोरजी सेवा संचालनमा ल्याएको छ। सहरमा फोरजी सेवा सञ्चालन भइरहँदा सेवा प्रदायक कम्पनीहरू गाउँँमा भने थ्रीजी सेवा विस्तारमा आक्रामक रूपमा प्रस्तुत भएका छन्। यसले गाउँदेखी सहरसम्म डेटा सेवाको पहुँच उल्लेख्य बढेको देखिन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म कुल जनसंख्याको ५३।२९ प्रतिशतले डेटा सेवा प्रयोग गरेका छन्। १ करोड ४१ लाख २० हजार डेटा प्रयोगकर्तामध्ये अधिकांश प्रयोगकर्ता मोबाइलमा आधारित छन्। प्राधिकरणका प्रवक्ता मीनसाद अर्याल मोबाइल सेवाको पहुँच बढेसँगै डेटा प्रयोग बढेको बताउँछन्। “सहरमा फोरजी संचालन हुँदा अहिले जिल्लामा थ्रीजी सेवाको व्यापक विस्तार भएको छ,” उनले भने, “सूचना प्रविधिको विकास सहरदेखी गाउँसम्मै भएको छ।”

अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै राजधानीमा लङटर्म इभोलुसन (एलटीई) फोरजी सेवाको सुरुवात भएको छ भने यसलाई प्रविधिका क्षेत्रमा एउटा फड्को भन्ने गरिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले राजधानीलगायत देशका प्रमुख सहरमा फोरजी सेवा विस्तारलाई पहिलो चरणमा विस्तार गर्ने कार्ययोजना अगाडी सारेको छ।

अहिले कम्पनीले प्रस्तावित गाउँपालिकामा थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ। कम्पनीले सहरमा फोरजी र गाउँमा थ्रीजी हुँदै समग्र देशमा ब्रोडव्याड इन्टरनेट पु¥याउने जनाएको छ। राजधानी लगायतका देशका १५ सहरमा पहिलो चरणमा फोरजी सेवा संचालन गर्ने कम्पनीको लक्ष्य छ।

टेलिकमले संचालनमा ल्याएको फोरजी सेवामा ३२।४ एमवीपीएस पिक डेटारेट डाउनलोड गति छ। आईपी टेलिफोनी, गेमिङ सर्भिस, भिडियो कन्फरेन्सिङ, हाई डेफिनेसन मोवाइल टिभी तथा क्याउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आर्कषण हुन। थ्रीजी सेवामा भने टेलिकम र एनसेलको तिब्र प्रतिस्पर्धा छ। एनसेलले टूजीमा आधारित भ्वाईस र डेटा सेवा देशैभरी पु¥याइसकेको छ। डेटा सेवा दुर्गम स्थानहरूमा पु¥याउन र आफ्नो थ्रीजी सेवा ७५ जिल्लामै पु¥याउन कम्पनीले डेटामा फोकस हुँदै काम गरिरहेको छ। अहिले कम्पनीले थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ आजको कारोबारमा समाचार छ ।

बलात्कारको घटनामा नयाँ नजिरः महिलाबाट महिला बलात्कार भएको सर्वोच्चको ठहर

काठमाडौं,पुस २८ । सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ । अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ ९घ० ले महिलाले महिलालाई बलात्कार गर्नसक्ने व्याख्या गरेको हो ।

नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ ।  अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले सुनाएको छ ।  संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो ।

संयुक्त इजलासको फैसलामा भनिएको छ, “हाम्रो सन्दर्भमा हेर्दा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ बाट थप भई मुलुकी ऐन जबर्जस्ती करणीको महलको १ (घ) मा गुदद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था भएको देखिन्छ ।

यसबाट जबर्जस्ती करणी कायम हुनको लागि प्राकृतिक लिङ्ग मात्र नभई अन्य वस्तुको पनि प्रयोग हुनसक्छ भन्ने अवधारणालाई हाम्रो कानुनले पनि स्वीकार गरेको देखिन्छ । ”

यस्तो थियो घटनाक्रम
फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए । प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए ।  दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए ।  लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो । सोही योजना अनुसार लाक्पा प्रेमिका भेट्न सेदुवा पुगेका थिए ।

सेदुवामा प्रेमिका भेट गरी लाक्पा उक्त दिन प्रेमिकाकै मामाघरमा बसे । मामाघरमा खाना खाएर सुत्ने क्रममा लाक्पाले प्रेमिकालाई आफैँसँग बोलाई सँगै बस्न आग्रह गरे । प्रेमीको आग्रह अनुसार यमुना उनीसँगै बसिन् । वादी प्रतिवादीले अदालतमा दिएको बयान अनुसार दुवैको सहमतिमा यौन कार्य भयो ।  तर, घटनाको भोलिपल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो ।

सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो । शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो । लाक्पाले प्रेमको प्रपञ्च गरी बालिका यमुनालाई कृत्रिम लिङ्ग प्रयोग गरी बलात्कार गरेको आरोप लागेको थियो ।  आरोप अनुसार सङ्खुवासभा जिल्ला अदालतले लाक्पालाई छ वर्ष कैद सजाय सुनाएको थियो तर तत्कालीन पुनरावेदन अदालत धनकुटाले जिल्लाको फैसला केही उल्टी गरी सात वर्षको सजाय सुनाएको हो ।  पुनरावेदन सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरावेदनको फैसला सदर गरी फौजदारी विधिशास्त्रमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिरसमेत प्रतिपादन गरेको हो । (गोरखापत्र दैनिक)

सरकार विस्तारको तयारीः थापा र गच्छदार उपप्रधानमन्त्री बन्ने

काठमाडौं,पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ।  सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित गराउन पनि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको रणनीतिमा लागेका हुन्। प्रचण्डले युएईको चारदिने भ्रमणअघि नै थापा र गच्छदारलाई मन्त्री बनाउन लागेका छन्। प्रचण्ड १ माघमा हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा भाग लिन युएईको आबुधाबीतर्फ जाँदै छन्।

प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष थापासँग २६ पुसमा र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग २५ पुसमा छलफल गरेका थिए। प्रचण्ड राप्रपाका थप मन्त्री बनाएर र फोरम लोकतान्त्रिकलाई पनि समेटेर सरकार बलियो बनाउने योजनामा छन्।

कांग्रेसले मन्त्रिपरिषद् विस्तार गर्न सकिने बताए पनि अहिले आफ्नो भागमा परेका मन्त्रालय छाड्न चाहेको छैन। राप्रपा अध्यक्ष कमल थापालाई नभएर नेता दिलनाथ गिरीको नेतृत्व गराएमा सहज हुने कांग्रेसको भनाइ छ। यसो गर्दा अहिले प्रधानमन्त्रीसँग रहेका मन्त्रालयमा राप्रपालाई मनाउन सकिन्छ भन्नेमा कांग्रेस छ।

सत्ता गठबन्धनको सहमतिअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा राप्रपा अध्यक्ष कमल थापालाई समेट्ने, तर अहिले गिरीलाई नै सरकारमा सहभागी गराउन कांग्रेसले राप्रपासँग छलफल गरेको छ। परराष्ट्र मन्त्रालय छाड्नुपर्ने भएकाले कांग्रेसले थापालाई सरकारमा सहभागी गराउन नचाहेको हो।

आजको नयाँपत्रिका दैनिकमा समचार छ ।

१५ तारिख टोकियो रुने कोदारीमा संगितको बिगुल फुक्न विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड आइपुग्यो

टोकियो ।
आफ्नो पहिलो म्यूजिकल टुरको लागि विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड जापान आइपुगेको छ ।

बुधवार जापान आइपुगेको विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डको बिमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आयोजक गोरेटो प्रोडक्सन र फ्यानहरुले बिपुल र उनको व्याण्डका सदस्यहरुको स्वागत गरेका थिए ।

जापान आइपुगेपछि गायक बिपुलले १५ जनवरीमा हुन लागेको आफ्नो कन्सर्टको लागि भइरहेको तयारी र जापानमा रहेका नेपालीहरुमा देखिएको उत्साहले आफु खुसी भएको भन्दै उक्त दिन सबैलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरे ।

कार्यक्रम भव्य बनाउनको लागि भइरहेको प्रचार प्रसार र सहभागीहरुले लिएको टिकट देखेर विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डका सबै सदस्य थप हौसिएकाले सबैको त्यो आशा र भरोसालाई खेर जान नदिइ १५ तारिख, आइतबार साँझ ५ बजेबाट टोकियो रुने कोदारीया हलमा हुने कन्सर्टमा सबैलाई मनोरञ्जन दिलाउन आफुले कुनै कसर बाँकी नराख्ने बिपुलले बताएका छन् ।

यसअघि प्रकाशित समाचारहरु पढ्न तलको लिंक क्लिक गर्नुहोस्

विशेष बन्दै 'विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड' जापान कन्सर्ट, तयारी सकियो

विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डको स्वागतको भिडियो

कुक भिषामा आएका एकको जापानमा सडकबास, १२ लाख तिरेर आएका अरुको सहयोगमा नेपाल फर्कंदै

टोकियो ।
जापानमा वेवारिस भेटिएका भनिएका एक नेपालीलाई नेपाल फर्काइने भएको छ ।

प्रवासी नेपाली मञ्च जापानले उपलब्ध गराएको जानकारी अनुसार जापानको कानगावा केनको चुरुमीबाट बेवारिसे अवस्थामा प्रहरीले फेला पारेका उनको नाम रामचन्द्र सिलवाल हो ।

चितवन जिल्ला घर भइ ४ बर्षदेखी जापानमा रहँदै आएका उनी जापान आउन तिरेको १२ लाख रुपैयाँ तिर्न नसक्दा काम र तनावले सो अवस्थामा पुगेको पाइएको छ ।

प्रवासी नेपाली मंच ओएनएफका अध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष बाबुराम भण्डारी, उप-महासचिव राजेन्द्र श्रेष्ठ, योकहामा नेपाली ग्रूपका संयोजक हरि सापकोटा, फोनिज जापानका अध्यक्ष शान्त पहरी, पत्रकार रविन्द्र श्रेष्ठ लगायतको सक्रियतामा उनको उद्दार गरिएको प्राप्त जानकारीमा उल्लेख छ । उद्दार गरिएका सिलवाललाई हाल एक होटलमा राखिएको छ ।

आफ्नै फुपुको छोरी बहिनीको दर्शन नाम गरेको रेष्टुरेण्टमा आएका भनिएका सिलवाल १२ लाख रुपैयाँ तिरेर जापान आएका थिए ।

पछिल्लो पटक दशैंदेखी गान्जी नाम गरेको रेस्टुरेण्टमा काम गरेको बताएका उनी त्यसपछि तनावले यस्तो अवस्थामा पुगेको उनले बताएका छन् ।

नेपालमा माध्यमिक विद्यालयमा गणित र विज्ञान विषयमा शिक्षक रहेका सिलवाल काम नजानेपनि कुक भिषामा राम्रो आम्दानी हुने ठानेर १२ लाख रुपैयाँ खर्चेर जापान आएका थिए ।

योकहामा ग्रुपका संयोजक हरि सापकोटाका अनुसार उनले नेपाल फर्कने इच्छा राखेपछि टिकटको व्यवस्था गरिएको छ ।

सिल्वाललाई एनआरएन जापान, ओएनएफ र चितवन समाज जापान लगायत संस्थाको सहयोगमा जापानमा रहने र नेपाल फर्कर्ने व्यवस्था मिलाइएको छ ।

पुनर्निर्माण प्राधिकरणको सिईओमा डा.गोविन्द पोख्रेल नियुक्त, सफल होला दोस्रो इनिङ ?

काठमाडौं,पुस २७ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा  डा.गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवालीलाई बर्खास्त गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।

कांग्रेसले प्रस्तावमा  प्युठान रस्पुरकोट निवासी डा। पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त भएका हुन् । सरकारले पुर्नर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई प्राधिकरणको काम चिक्त बुझ्दो नभएको भन्दै स्पष्टिकरण सोधेको थियो ।

पहिलो पटक सोधेको स्पष्टिकरणले चित्त नबुझेको भन्दै सरकारले ज्ञवालीलाई दोस्रो पटक पनि स्पष्टिकरण सोधेको थियो । दोस्रो पटक ज्ञवालीले बुझाएको स्पष्टिकरणका बारेमा आजको बैठकमा छलफल भएको थियो । पोखरेल यसअघि पनि सोही पदमा सुशील कोइरालाको सरकारले नियुक्त गरेको थियो। तर सरकारले विधेयक समयमा पास नगर्दा कामै गर्न नपाई उनको पद यत्तिकै गुमेको थियो।

ढोरपाटन डबल लिग महिला भलिबल:न्यु डायमन्डको एकल अग्रता

काठमाडौं,पुस २७  । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले एकल अग्रता बनाएको  छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा रामेछापको चन्डेश्वरी युवा क्लवलाई पराजित गर्दै न्यु डायमन्डले एकल अग्रता बनाएको हो ।

चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोड्न सफल भएको छ ।  बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन् । स्वयुम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले नैकापको न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो  भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।

त्यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्री भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ । प्रतियोगितामा अहिलेसम्म ४ खेल खेलेको  सशस्त्र प्रहरीको एपीएफ क्लव चारै खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थान ओगट्न सफल भएको छ । त्यस्तै तेस्रो स्थानमा नेपाल आर्मीले ४ खेलबाट १२ अंक जोडेको छ भने अर्को विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोड्न सफल भएको छ ।

त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ५ खेलबाट ८ अंक जोडेको छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ६ खेलबाट ७ अंक नै जोडेको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोड्न सफल भएको छ भने बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन् ।

जापानमा मृत्यु र आत्महत्या बढेपछि समस्या र समाधान बुझ्न डा. ज्ञवालीको नेतृत्वमा समिति गठन

टोकियो ।
जापानका नेपालीमाझ परिचित डा. बिजय ज्ञवालिको नेतृत्वमा जापानमा अध्ययन, रोजगारी तथा व्यवसाय गर्दै आएका नेपालीहरुको अस्वाभाविक मृत्यु र आत्महत्याको कारण बुझ्न एक समिति गठन भएको छ ।

मृत्युका घटना निरन्तर बढेपनि सरोकारवाला नियायहरुबाट कुनै कदम नचालेको गुनासोअरु आइरहँदा गैर आवासिय नेपालीसंघ जापानले कारण र समस्या समाधानको उपाय समेत दिन डा. ज्ञवालिको नेतृत्वमा समिति गठन गरेको जनाएको हो ।

करिव ६० हजार नेपाली रहेको ठानिएको जापानमा हरेक महिना तथा केही हप्तामा अस्वाभाविक मृत्यु र आत्महत्याका घटनाहरु हुने गरेको छ ।

आशा र लक्ष्य बढी लिएर जापान आउने गरेका नेपालीहरु काम तथा जिम्मेवारीको बोझ, आर्थिक व्यवस्थापन, खानपानमा समस्या, विभिन्न खाले सम्वन्ध आदि कारणबाट अस्वाभाविक मृत्यु र आत्महत्या हुनेगरेका घटनाहरु देख्दै आएपनि अहिलेसम्म कसैलेपनि यसको विशेष अध्ययन गरेर बाहिर ल्याएको छैन ।

जापानमा रहेका नेपालीहरुको स्वास्थ्य समस्या समाधानको लागि विभिन्न कार्यक्रम तथा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आउनुभएका डा. ज्ञवालिको नेतृत्वमा समिति गठन भएपछि जापानमा रहेका ेनेपालीहरुले उनिहरुका समस्या पहिचान र समधानमा यो समितिले काम गर्ने अपेक्षा गरेको पाइएको छ ।

समितिमा नेपाली राजदूतावास जापान समेतको संलग्नता रहेकाले पनि यसमा सम्वन्धित निकायहरुबाट पहल हुने ठानिएको छ ।

डा. ज्ञवालि संयोजक रहेको समितीका सदस्यहरुमा गैर आवासिय नेपाली संघ जापानका उपाध्यक्ष टासि वाङदी लामा सहित बुद्धिराज घिमिरे, जनक बिक्रम शाही, डा. प्रकाश शाक्य, आनन्द कोइराला सदस्य रहेका छन् ।

समितिको सल्लाहकारहरुमा जापानका लागि कार्यवाहक राजदुत कृष्णचन्द्र अर्याल, एनआरएन केन्द्रीय उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा र एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापा रहेका छन् । सदस्य जिज्ञानकुमार थापाले जापानमा रहेका नेपालीहरुमाझ विशेषगरि विद्यार्थीहरुका समस्या र समाधानको क्षेत्रमा सक्रिय रहँदै सामाजिक सञ्जाल मार्फत उपयोगी र सचेतनामूलक जानकारीहरु दिदैं आउनुभएको छ ।

समितीले एक महिना भित्रमा अध्ययन तथा सुझाव प्रतिवेदन पेश गर्ने समयावधि पाएको छ ।

समितीको सुझावका आधारमा एनआरएन जापानले आकस्मिक मृत्यु तथा आत्महत्या न्युनिकरणका लागि कार्यक्रम बनाउने बताइएको छ ।

यसैबिच संयोजक ज्ञवालिले आफुलाई सुम्पिएको जिम्मेवारी इमान्दारिता पूर्वक निभाउने भन्दै आफुलाई नेपालीका समस्या पहिचान र समाधानको अध्ययनको लागि जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद सहित यसमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

दुखद खवर, टोकियोमा नेपाली विद्यार्थीद्धारा आत्महत्या

विमलेन्द्र निधिलाई ‘टक्कर’दिन आइपुगे यी वरिष्ठ नेता, घेराबन्दीमा देउवा

काठमाडौं,पुस २७ ।  नेपाली कांग्रेसको पदाधिकारी तथा सदस्य पदपूर्तिको विषय नयाँ चरणमा प्रवेश गरेको छ । गत वर्ष तेह्रौँँ महाधिवेशनको पूर्वसन्ध्यामा सभापति पदका तत्कालिक उम्मेदवार शेरबहादुर देउवा र नेता खुमबहादुर खड्काबीच छलफल भई दुई नेताहरू एउटा सहमतिमा पुगेका थिए ।

सहमतिअनुसार खड्काले सभापति बन्न देउवालाई सहयोग गर्ने र सभपातिमा निर्वाचित भइसकेपछि देउवाले खड्कालाई उपसभापति पदमा र खड्काको सिफारिसमा दशजनालाई केन्द्रीय समितिको सदस्यमा नियुक्त गर्नपर्ने थियो । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

त्यस्तो अवस्थामा विमलेन्द्र निधिलाई महामन्त्री बनाउने निश्चित थियो । तर, महाविधेशनमा देउवा विजयी बनेपछि परिस्थिति र नेताहरूको मनिस्थति एकाएक बदलिएको छ ।

नेता खुमबहादुर खड्कालाई उपसभपाति बनाउन नसकिने र उनको पसिफारिसमा दशजनालाई केन्द्रीय सदस्य बनाउन पनि नसक्ने जानकारी देउवाले दिइसकेको छन् ।

यसरी खड्कालाई उपसभाति मनोनयन गर्न नसकिने जानकारी गराएलगत्तै गत कात्तिक २५ गते सभापति देउवा र नेता खड्काबीच तत्काल तीनजना केन्द्रीय सदस्य मनोनीत गर्ने र पन्ध्र दिनभित्र अर्का नेता पूर्णबहादुर खड्कालाई महामन्त्री चयन गर्ने सहमति बनेको थियो ।

सभापति देउवा तथा नेताहरू खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, शंकर भण्डारी र पुष्पा भुसाललगायत छलफल गरेर बनाएको उक्त समहमति पनि कार्यान्वयन हुन सकेन ।

अब पाका नेता गोपालमान श्रेष्ठलाई उपसभापति, नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री र पुष्पा भुसालाई सहमहामन्त्री बनाउने नयाँ प्रयास आरम्भ भएको बुझिएको छ । यसबीचमा अर्जुन जोशीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

तर, गोपालमान श्रेष्ठलाई मनोनीत गर्न पनि मस्किल परिरहेको बताइन्छ । गोपालमानले मात्रै विमलेन्द्र निधिलाई कांग्रेसभित्र टक्कर दिन सक्ने छन् ।

देउवा गुटभित्र गोपालमान बलियो नेताका रुपमा चिनिन्छन् । उता मनोनीत हुनुपर्ने पदाधिकारहरूमध्ये एकमा रामचन्द्र पौडेलको पनि दाबी रहने सम्भावना छ ।

खुमबहादुर खड्का असन्तुष्ट रहेको र पौडेल पक्षसमेत असहमत भएको अवस्थामा सभपाति देउवाद्वारा गरिने नियुक्ति केन्द्रीय समितिबाट अनुमोदन हुन सक्ने सम्भावना ज्न्यादै कम देखिएको छ ।

‘धेरै पर्‍यौं सरकारको भर, कहिले बन्छ हाम्रो घर’ ?

काठमाडौं,पुस २७ ।  कोक्रोमा दुई वर्षको छोरा बोकेर आएकी सिन्धुपाल्चोक सेलाङ–६ की तेन्जीडोल्मा तामाङ सदरमुकाम चौतारामा भेटिइन्। उनको हातमा एउटा प्लेकार्ड थियो, कार्डमा लेखिएको थियो, ‘धेरै प-यौ सरकारको भर, कहिले बन्छ हाम्रो घर ?’

गत वर्षको १२ र २९ वैशाखको भूकम्पले सिंगै बस्ती तहसनहस पारेपछि तामाङसहित सेलाङवासी छिमेकी गाविस बासखर्क–१ मा बस्दै आएका छन्।  सरकारी जग्गामा बस्दै आएका उनीहरूको घर बनाउने ठाउँ नै छैन।

सेलाङ गाविस–८ कि लाकमाइ लोप्चन पनि तीन महिनाको दुधे छोरी पिठ्यूँमा बोकेर सदरमुकाम आएकी छन्। उनको पीडा पनि डोल्माको जस्तै छ। घर बनाउने जमिन नभएपछि उनी पनि सरकारले केही गरिदिन्छ कि भनेर सदरमुकाम आएकी हुन्। आजको राजधानी दैनिकमा समाचार छ ।

उनीहरूलाई भूमि अघिकार मञ्चले सदरमुकामसम्म आउन हौसला दिएको हो। जिल्ला भूमि अधिकार मञ्चले सदरमुकाम चौतारामा आयोजना गरेको जनमार्च कार्यक्रममा जिल्लाका पीडितहरू भेला भएर आफूहरूलाई पुनर्निर्माणमा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग माग गरे।

गुठी जग्गाबाट पीडित भएकाहरू, भूकम्प र बाढीले जग्गा जमिन सबै पुरेपछि सुकुम्बासी भएका, सडक मापदण्डका कारण विस्थापित भएका भूमिपीडित सदरमुकाममा जम्मा भएर जनमार्चमार्फत आफूहरूलाई घर बनाउने जमिन उपलब्ध गराइदिन सरकारसँग माग गरेका हुन्। सदरमुकाम आएकाहरू फरकफरक प्रकृतिका पीडितहरू छन्।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web