एजेन्सी ।
क्यामरुनले अफ्रिका कप अफ नेशन्सको उपाधि जितेको छ ।

गएराती भएको फाइनल खेलमा इजिप्टलाई २-१ ले गोल अन्तरले हराउँदै क्यामरुन च्याम्पियन बनेको हो ।

इजिप्टले खेलको २२ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि जोगाउन सकेन । उसको लागि इल्नेनीले पहिलो र एकमात्र गोल गरे ।

एक गोलले पछि परेको क्यामरुन दोस्रो हाफमा लयमा फर्कंदै खेलमो ५९ औं मिनेटमा इन्कुलुको गोलबाट बराबरीमा उक्लियो ।

निर्धारित समयको खेल सकिन मात्र दुई मिनेट बाँकी छँदा अबुबाकरले गोल गर्दा क्यामरुन अफ्रिका कप अफ नेसनको उपाधि जित्न सफल भयो ।

काठमाडौं ।
आगामी दश वर्षमा नेपालमा रहेका खानी तथा खनिजमा आधारित उद्योगमा कम्तिमा १ खर्ब लगानी भित्र्याउने तयारी गरेको सरकारले जनाएको छ ।

सरकारले जारी गर्न लागेको राष्ट्रिय खनिज नीतिको मस्यौदामा अब प्राकृतिक खानीहरुमा ब्यापक स्वदेशी तथा विदेशी पुँजी परिचालनको नीति लिन लागिएको रविन्द्र घिमिरेले अनलाईनखवरमा समाचार लेखेका छन् ।

अहिले देशभर विभिन्न खानी तथा खनिजजन्य पदार्थ उत्खनन् नभएर प्रयोगबिहीन भएका छन् । त्यसलाई उपयोग गर्ने गरी उद्योग मन्त्रालयले नयाँ खानी नीति ल्याउन लागेको हो ।

यसैगरी प्रत्यक्ष रुपमा ५०० जना भन्दा बढी रोजगारी श्रृजना गर्ने वा कम्तिमा १० अर्व लगानी गर्ने खनिज उद्योगलाई पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिइने गरी मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ ।

आउँदो १० वर्षभित्र खनिजजन्य उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कम्तिमा ५० हजार जनालाई रोजगारीको अवसर प्रदान गरिने नीतिको मस्यौदामा उल्लेख छ ।

यसैगरी खनिज पर्दाथको प्रकृति एवम् महत्वका आधारमा खनिजलाई वर्गीकरण गरी खनिज तथा खानीजन्य उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरुको रुपमा बर्गीकरण गरिने भएको छ । सरकारले सून, फलाम, तामा, जस्तारशिसा धातु खनिजको विकासको लागि प्राथमिकतामा राख्ने बताएको छ ।

यसका गुण र परिमाणले महत्वपूर्ण देखिएका खनिजमा नेपाल सरकारले आवश्यक पूर्वाधार, पहुँच मार्ग तथा विद्युतको निर्माण गरी उद्योग प्रवर्द्धन गरिने नीति लिइँदैछ ।

अनुमति जारी भएका र सम्भाव्य खनिज क्षेत्रका लागि ६ महिना भित्र पूर्वाधार योजना पेश गर्ने र प्राथमिकताका आधारमा ७ बर्ष भित्र सबै क्षेत्रमा पुग्ने गरी पूर्वाधार तयार नेपाल सरकारबाट गरिने उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

खनिज पदार्थको गुणस्तर बमोजिम वा गुणस्तरमा अभिवृद्धि गरी सोही अनुसारको उच्चस्तरको खनिज तथा खनिजजन्य वस्तु उत्पादन गर्ने उद्योगलाई प्राथमिकतामा राखेर भन्सार छुट, पूर्वाधार निर्माणमा विशेष सहुलियत दिइने भएको छ । यो ब्यवस्था आगामी आर्थिक वर्षबाटै गरिने भएको छ ।

नीतिले निजी कार्यमा प्रयोग हुने यन्त्र तथा उपकरणहरुको आयातमा लाग्ने भन्सार महसुलमा विशेष छुट दिने ब्यवस्था पनि गरेको छ । खनिज सम्पदाको अन्वेषणका लागि आन्तरिक तथा बाह्य श्रोत जुटाएर खनिजजन्य उद्योगको प्रवर्द्धन गरिने भएको छ । देशका विभिन्न भागमा रहेका रणनीतिक तथा सामरिक महत्वका खनिज सम्पदाको डाटा बेस तयार गरी गुण र परिमाण यकिन गरिने भएको छ ।

रणनीतिक तथा सामरिक महत्वका खनिजको अन्वेषण, उत्खनन, विकास तथा प्रशोधनका लागी अन्तर्राष्ट्रिय संघ संस्था समेतको सहभागितामा गरिने उद्योग मन्त्रालयले जनाएको छ ।

सामरिक महत्वका खनिजको खनिज कार्य नेपाल सरकार वा नेपाल सरकारले तोकेको निकायले मात्र गर्न पाउने व्यवस्था गरिने नीतिको मस्यौदामा उल्लेख छ ।

खनिज कार्यबाट प्राप्त भएको राजश्वको निश्चित अंश प्रभावित क्षेत्रको विकासमा खर्च गर्ने व्यवस्था गरिने भएको छ । खानी क्षेत्रमा काम गर्ने कामदारहरुलाई जोखिमको आधारमा सेवा, सुविधा तथा सहुलियत उपलव्ध गराइने मन्त्रालयले जानकारी दिएको छ ।

नीतिमार्फत खनिजको प्रवर्द्धन, गुणात्मक पहिचान र मान्यताका लागि प्रत्येक खनिज सम्पदाको प्रोफाइल तयार पारिने घोषणा समेत गरिँदैछ । खनिज सम्पदाको गुणस्तर अभिवृद्धि गर्न प्रयोगशाला परीक्षणको आवश्यक प्रविधिको विकास र विस्तार गरिने भएको छ ।

खनिज कार्यमा आवश्यक पर्ने व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न स्वदेशी तथा स्थानीय उद्यमीहरुलाई तालिमको व्यवस्था गरिनेछ । स्वदेशी उद्यमीले प्रर्वद्धन गरेका वा गर्ने खनिज उद्योगलाई संरक्षण र सम्वर्द्धन गर्ने नीति लिइने भएको छ ।

काठमाडौं, माघ २३ । के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । अमेरिकाका नयाँ राट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न भइरहेको छ । ट्रम्पको अहिलेको पहिला अमेरिकी नागरिकलाई प्राथमिकता भन्ने मूल नाराकै कारण अन्य देशका मानिस अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ ।

अमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जाकारी गरएअनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ । उनका अनुसार गएपछि भिसा भएपनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो ।

अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपालीलगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाउ भनेर धम्क्याउने क्रम बढ्न थालेको छ ।

कतिपयले त कोठाको ढोकामा नै तिम्रो देश जाउ भनेर टाँसिएको समेत पाइएको ती नेपाली विद्यार्थीले बताए । यस्तो अवस्थाले गर्दा अमेरिकामा रहेका नेपाली अहिले आतंकित भइरहेका छन् । र उनीहरु अमेरिका छाडेर युरोप जाने मुडमा पुगेका छन् आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

काठमाडौं,माघ २३ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् ।

प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन मिति घोषणा गर्न नसक्ने भए राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रहसमेत गर्न थालेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत साता कोरिया भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले चुनाव गर्न नै नचाहेको आरोप लगाएका थिए । सरकारले निर्वाचन मिति नतोकेकोप्रति उनको असन्तुष्टि छ । पौडेल पक्षीय नेताले सरकारबाट फिर्ता हुनुपर्ने मागसमेत गर्न थालेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत दबाब दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने काम मात्रै भएको बताए । ‘निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने कुरा मात्र हो,’ नेता कोइरालाले भने, ‘आयोग बाह्रै महिना निर्वाचनका लागि तयार छ तर मुख्य कुरा त निकायको गर्ने कि तहको भन्ने तोक्नुपर्ने हो त्यो तोकेको छैन ।’

नेता कोइरालाले सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकिने समेत जनाए । ‘सरकारले जे गर्नुपथ्र्यो त्यो गरेन, सरकारको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने ।

काठमाडौं,माघ २३ । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा परी मृत्यु भएका ३२ जनाको सनाखत हुन अझै बाँकी छ । ३२ शव त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा गाडिएको छ ।

सबै शव व्यवस्थित रूपमा गाडिएको फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा। हरिहर वस्तीले बताए । कुनै पनि समयमा आफन्तहरू शव खोज्न आए दिन मिल्ने गरी गाडिएको उनको भनाइ छ ।

‘भूकम्प आएपछि महिनौँसम्म विभागभित्र छिरिसक्नु थिएन । जताततै शव थिए । विभागवरिपरि दुर्गन्धित थियो,’ डा। वस्तीले भने, ‘सनाखत हुन नसकेका शव व्यवस्थापन गर्न कठिनाइ भएका कारण भुकम्प गएको लगभग ११ महिनापछि अर्थात चैत ५ गते व्यवस्थित रूपले गाडिएको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विभाग अगाडिको खाली आठ आना जग्गाको एक छेउमा अंग्रेजी अक्षरको एल आकारमा ३२ शव गाडिएको डा। वस्तीले जानकारी दिए । उनले भने, ‘आठ आना जग्गाको उत्तर पट्टीको छेउमा हालसम्म शवहरू नगाडेको स्थान थियो । दश जना मजदुरलाई तीन दिन सम्म खाडल खन्न लगाएर शव गाडिएको छ । शव गाड्दा एकले अर्को शव छोइएको छैन ।’

यसरी गाडिएका छन् शव

अंग्रेजी अक्षरको एल आकार बनाएर प्रत्येक खाडल पाँच फिट गहिरो खनिएको छ । गाड्दा एक शवले अर्को शवलाई छोएको छैन । १६ शव ठाडो लाइनमा र १६ शव तेर्सो लाइनमा राखेर गाडिएको छ । हरेक शवसँगै फलामको नम्बर प्लेट राखिएको छ । सहजै पहिचान गर्न जमिनमाथि पनि नम्बर प्लेट राखिएको छ ।

टोकियो ।
जापानी भाषा विद्यालयहरुले आफुले सिफारिस गरेका विद्यार्थीहरुलाई मात्र हप्तामा बढी काम गर्ने अनुमति दिन आग्रह सहितको सुझाव सरकारलाई दिएका छन् ।

विद्यार्थीहरुलाई दिइदै आएको हप्ताको २८ घण्टे काम समयबारे ओकिनावा र क्युस्यु क्षेत्रका भाषा विद्यालयहरुले यस्तो सुझाव दिएका हुन् ।

जापानी सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार २८ घण्टा मात्र काम गर्ने समयलाई बढाउनुपर्ने पक्षमा देखिएपनि सबैजसो विद्यालयहरुले त्यसको लागि दायरा नियम बनाइनुपर्ने सुझाव सहितको माग राखेका छन् ।

ओकिनावा टाइम्सले त्यहाँका जापानी भाषा बिद्यालयहरु बिचमा गरेको एक सर्बेक्षणमा अधिकांश भाषा बिद्यालयहरुले बिद्यार्थीहरुको काम गर्ने समय हप्ताको ३५ घण्टा बनाउनु पर्ने सुझाब दिएको उल्लेख गरेको छ ।

सर्बेक्षणमा .८ वटा बिद्यालय सहभागी भएकामा ४ वटाले यस बिषयमा पुनर्बिचार गर्नुपर्ने धारणा राख्दै ३५ घण्टा गरिनुपर्ने बताएपनि ३ वटाले भने हालको नियममै कडाइ गर्नुपर्ने सुझाव दिएका थिए । बिद्यार्थीले बढि काम गर्दा पढाईमा ध्यान नदिने उनिहरुको धारणा थियो ।

भाषा विद्यालयका सहभागीहरुले पछिल्लो समयमा अध्ययनका लागि भन्दापनि पैसा कमाउने उदेश्यले विदेशी विद्यार्थीहरु आउनेगरेको धारणा राखेका थिए ।

ओकिनावाका भाषा बिद्यालयहरुमा ८० प्रतिशत नेपाली विद्यार्थीहरुरहेको बताइन्छ ।

ओकिनामा क्षेत्रमा २०१५ मा भाषा बिद्यालय पूरा गरेका ५ सय ३८ जना नेपाली बिद्यार्थीले थप अध्ययन गरेको, ७ जना रोजगारीमा लागेको, १ जना नेपाल फर्केको र ४ जना बेखवर बनेको जानकारी दिएका थिए । जुन तथ्यांक ९८ प्रतिशत हो ।

बिद्यार्थीहरुको काम गर्ने समयको बारेमा ओकिनावा सहित क्युस्यु क्षेत्रका प्रान्तिय सरकार तथा ब्यवसायिक संस्थाहरुमा छलफल सुरु भएको र उनीहरुले नियम परिवर्तनका लागि केन्द्रिय सरकारलाई अनुरोध गर्ने योजना बनाएको पनि समाचारमा उल्लेख छ ।
विद्यार्थीहरुलाई हप्तामा २८ घण्टा मात्र काम गर्ने समय तोकिएपनि विद्यार्थीहरुले बढी समय काम गर्ने गरेको र जापानमा कामदारको माग उच्च भएपछि यसबारेमा छलफल र बहस हुन थालेको हो ।

काठमाडौं,माघ २२ । मुलुककै अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमले आजदेखि जीएसएम प्रिपेड मोबाइलका ग्राहकलाई पनि फोर–जी सेवा प्रदान गरेको छ । उक्त सेवा चार दिनका लागि आफ्ना प्रिपेड ग्राहकलाई सित्तैमा दिने भएको छ । आफ्नो १३ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले चारदिनलाई सित्तैमा फोरजी लगायत अन्यसेवा दिने घोषणा गरेको हो । एक दिनमा एक सय एमबीका दरले चारदिनसम्म ४ सय एमबी डाटा प्रयोगकर्ताहरुलाई निशुल्क दिने घोषणा गरेको छ।

यसअघि पुष १७ गतेदेखि काठमाडौं र पोखराबाट पोष्टपेड सिमकार्डमा सेवा सुचार गरेको टेलिकमले सेवा सुचारु गरेको अवसरमा ४ जिबी डाटा दिएको थियो।

रिचार्जमा बोनस

वार्षिकोत्सवको अवसरमा जिएसएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीलाई लक्षित गर्दै रिचार्ज कार्डमा बोनस योजना ल्याएको छ। आइतबार अर्थात भोलिदेखि जिएसएम तथा सिडिएमए प्रिपेड प्रयोगकर्ताले रिचार्ज गर्दा बोनस पाउने छन्। ३ दिनसम्म अर्थात बुधबारसम्म रिचार्ज गर्नेले बोनस पाउने टेलिकमले जनाएको छ।

जसअनुसार ५०, १ सय र २ सयको रिचार्ज गर्नेले १० प्रतिशत बोनस पाउने छन् भने ५ सय र १ हजारको रिचार्ज गर्नेले १५ प्रतिशत बोनस रकम पाउने छन्। टेलिकमले आज वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो।

१५ दिनलाई सिआरबिटी सित्तैमा

टेलिकमले वार्षिक उत्सवकै अवसरमा पहिले बन्द भएको कल रिङब्याक टोन (सिआरबिटी) सेवा समेत सुरु गरेको छ । शनिबार सुरु गरिएको सेवा १५ दिनका लागि सित्तैमा पाइने भएको छ । ग्राहकले हरेक दिन एउटा गीतका दरले यो सेवा उपभोग गर्न पाउनेछन् ।

फेसबुक प्याक

टेलिकमले जिएसएम नेटवर्कका ग्राहकलाई २० रुपैयाँमा ५ दिनसम्म चल्ने १ सय एमबीको फेसबुक प्याक दिने भएको छ ।

नाइट प्याक

जिएसएम नेटवर्कमा टेलिकमले राती १० बजेदेखि बिहान ६ बजेसम्मका लागि ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा दिने भएको छ । ५ सय एमबी डाटा प्याक ७ दिन र १ हजार २ सय एमबी डाटा प्याक १५ दिनसम्म चलाउन सकिनेछ ।

डाटा अफर

जिएसएममा डाटा अफर अन्तर्गत १ सय ३० रुपैयाँको २ सय एमबी डाटा लिदा थप २ सय एमबी बोनस पाइनेछ । यसको अवधि ७ दिनको रहनेछ । यसैगरी १५ दिन चलाउन मिल्ने ३ सय रुपैयाँको ५ सय एमबी डाटामा ५ सय एमबी नै बोनस थपिनेछ ।

सिडिएमएमा भने ७ दिन अवधि भएको २ सय एमबीको डाटा प्याकलाई ७५ रुपैयाँ र १५ दिन अवधि भएको ५ सय एमबीको डाटा प्याकलाई १ सय ७५ रुपैयाँ पर्नेछ । दुवै प्याकमा लिइएको बाराबरकै डाटा बोनसकोरुपमा दिइने कम्पनीले जनाएको छ ।

काठमाडौं, माघ २२ । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक कम्तीमा ५७ हजार सवारी गुड्छन् ।

यी हुन् धेरै ट्राफिक जाम हुने क्षेत्र

कोटेश्वर : काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम कोटेश्वरमा हुने गरेको छ । सडक विभागको तथ्यांकअनुसार कोटेश्वर हुँदै मनोहरा पुलबाट मात्रै प्रत्येक दिन ५६ हजार ९८ सवारीसाधन आउजाउ गर्छन् । कोटेश्वर नाकामा मुलुककै दुई ठूला अरनिको र बिपी राजमार्ग जोडिएका छन् । अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ । बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ ।

चाबहिल : कोटेश्वरपछि धेरै जाम चाबहिलको पूर्वी सडकमा हुने गर्छ । यो सडकमा प्रतिदिन ४२ हजार दुई सय ५६ सवारी गुड्छन् । जोरपाटी, गोकर्ण, थलीलगायतका क्षेत्रमा बाक्लो बस्ती भएकाले यस सडकमा सवारीसाधनको चाप बढेको हो ।

सिनामंगल : यो क्षेत्रमा दैनिक ३८ हजार दुई सय ६१ सवारीसाधन गुड्ने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल जोडिएकाले यस सडकमा अत्यधिक सवारीसाधन गुड्ने र ट्राफिक जाम हुने गरेको छ ।

नारायणगोपाल चोक : चक्रपथको नारायणगोपाल चोकमा पनि धेरै जाम हुन्छ । विभागको तथ्यांकअनुसार यस चोकमा दैनिक ३४ हजार चार सय ७० सवारी साधन गुड्ने गर्छन् । बुढानिलकण्ठ, बाँसबारी, गोल्फुटार लगायतका क्षेत्रमा बस्ति बाक्लो भएकाले यस चोक भएर अत्याधिक सवारी साधन गुड्ने गर्छन् । जसले ट्राफिक जाम बढाएको छ ।

हनुमन्ते सडक : त्यसपछिको धेरै जाम हुने सडक भक्तपुस्थित हनुमन्ते सडक खण्ड हो । विभागको तथ्यांक अनुसार हनुमन्ते पुल भएर दैनिक ३३ हजार सात सय ४३ सवारी साधन गुड्ने गर्छन् । बालकोट आसपासका क्षेत्रमा घना बस्ति भएकाले यस सडकमा अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।

बल्खु : काठमाडौंस्थित बल्खु सडकमा त्यसपछि धेरै ट्राफिक जाम हुने गर्छ । यस सडक खण्डमा दैनिक ३३ हजार पाँच सय १२ सवारी साधन गुड्ने गर्छन् । हेटौंडा सडक खण्ड र कीर्तिपुर यही सडक भएर जाने भएकाले यहाँ अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।

बनस्थली : चक्रपथ सडक खण्डको बनस्थलीमा पनि अत्याधिक ट्राफिक जाम हुने गर्छ । यस सडक खण्डमा दैनिक ३३ हजार चार सय ६६ सवारी साधन गुड्ने गर्छ । चक्रपथ सडक खण्डको मनोहरा सडकमा पनि अत्याधिक ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक ३२ हजार सात सय ८८ सवारी साधन गुड्ने गर्छन् ।

सातदोबाटो : चक्रपथ सडक खण्डै सातदोवाटो जक्सनमा पनि धेरै ट्राफिक जाह हुन्छ । यस सडकमा दैनिक २८ हजार ८ सय ७९ सवारी साधन गुड्ने गर्छन् ।

बालाजु : बालाजू वाइपास सडकमा पनि धेरै ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक २१ हजार चार सय २४ सवारी साधन गुड्ने गर्छन् । त्यस बाहेक सातदोवाटो दक्षिण चपागाउँ तर्फ जाने सडकमा पनि ट्राफिक जाम हुने गर्छन् । यस सडकमा दैनिक १६ सय ८३ सवारी साधन गुड्ने गर्छन् ।

नागढुंगामा : मुलुकको मुख्य नाका नागढुंगामा पनि ट्राफिक जाम हुने गर्छ । यस सडकमा दैनिक २२ हजार ९६ सावरी साधन गुड्ने गर्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विभागले तोेके भन्दा बाहेकका क्षेत्रमा पनि अत्याधिक ट्राफिक जाम हुन्छन् । महाशाखाका अनुसार सवैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्र कलंकी चोक हो । त्यसपछि सवैभन्दा धेरै ट्राफिक जाम हुने जक्सन थापाथली चोक हो । ट्राफिक जाम हुने त्यसपछिको क्षेत्र सोह्र खुट्टे, नयाँ बानेश्र चोक, रत्नपार्क आसपासका क्षेत्र, त्रिपुरेश्वर चोक हुन् ।

महाशाखाका अनुसार यस क्षेत्रमा बिशेष गरी पिक आवरमा अत्याधिक ट्राफिक जाम हुने गर्छ । उपत्यकामा पिक आवर बिशेष गरि बिहानको नौ देखि ११ बजेको समय र साँझको ४ देखि ६ बजेसम्मको समय हो । महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले पिक आवरमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका बताए । उनले भने,‘उपत्यका भित्र बिशेष गरी कलंकी,थापाथली, त्रिपुरेश्वर, नयाँ बानेश्वर, रत्नपार्क, सोह्र खुट्टे लगायतका क्षेत्रमा ट्राफिक जाम हुने गरेका छन् । पिक अवारमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका छन् । यस क्षेत्रमा दैनिक दुई घण्टा सम्म पनि ट्राफिक जाम हुन्छन् ।’

आयोजनाका अनुसार उपत्यकामा अहिले दुई सय भन्दा धेरै रुट छन् । पुर्नसंरचना हुँदा यो रुट ६६ मा समिति हुन्छन् । त्यस मध्ये प्राइमरी तह अन्तर्गत ८ वटा रुट छुट्याइएको छ । सेकेण्डरी तहमा १६ रुट पर्छ । ट्रसरी तहमा भने ४२ रुट पर्छ ।

राजमार्ग र सहायक राजमार्ग अन्तर्गत पर्ने सडकलाई प्राइमरी तहको रुटमा राखिएका छन् । २२ मिटर भन्दा चौडा सडक यस अन्तर्गत पर्छ । चक्रपथ, नागढुंगा–कलंकी–भित्रुरेश्वर, चाबहिल–जोरपाटी–साँखु सडक खण्ड यस अन्तर्गत पर्छन् । १२ मिटर सम्मका बस यस रुटमा सञ्चालन हुनपाउँछन् । जसले एकै पटकमा ८० यात्रु बोक्न सक्छ । जनघनत्वका आधारमा उपत्यकाभित्र यस खालका बस चार सय ६७ भए पुग्छ । यसले प्रतिदिन ८७ हजार पाँस सय किमि यात्रा गर्न सक्छ । यसो हुँदा प्रतिदिन दुई लाख ९८ हजार दुई सय किमि यात्रा घट्छ । यसबापत सरकारलाई प्रतिदिन दुई लाख ११ हजार किमि यात्रा फाइदा हुन्छ ।

सहरका भित्र तर १८ मिटर चौडा सडक सेकेण्डरी तहको रुटमा राखिएका छन् । यस अन्तर्गत बुढानिलकण्ठ–नारायणगोपाल चोक, नयाँ बजार–कीर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर, नयाँ बसपार्क–गोंगवु–ठमेल–बागबजार लगायतका सडक यस रुटमा समावेश छन् । यस रुटमा १० मिटरका बस सञ्चालन हुन्छन् । यसमा ६० यात्रुले यात्रा गर्न सक्छन् । यसका लागि चार सय ३७ बस चले पुग्छ । यसले उपत्यकाका यात्रुलाई प्रतिदिन ६७ हजार पाँच सय किमि यात्रा गर्दा समेट्न सक्छ । यसो हुँदा १८ हजार चार सय किमि यात्रा घट्न पुग्छ र सरकारलाई प्रतिदिन एक लाख २१ हजार किमि यात्रा फाइदा हुनपुग्छ ।

उपत्यकाका विभिन्न क्षेत्रलाई राजमार्ग र सहायक राजमार्गसम्म जोड्ने सडक ट्रसरी रुटमा पर्छन् । यस अन्तर्गत रानीपौवा–तीनपिप्ले–बालाजू, धर्मस्थली–बालाजू–नयाँ बसपार्क, चुनीगाउँ–फुटुङ–बालाजू–नयाँ बसपार्क–म्हेपी–पुरानो बसपार्क लगायतका सडक पर्छन् । यस रुटमा ६ मिटरका बस चल्छन् । जसमा २५ जना यात्रुले यात्रा गर्न सक्छन् । ट्रसरी तहको रुटमा पनि थोरै बस चल्दा पुग्छ । समग्रमा उपत्यका भित्र तीन हजारको संख्यमा सार्वजनिक सावारी साधन चले पुग्छ । वर्तमान अवस्थाको तुलनामा यो संख्या झण्डै ६६ प्रतिशतले कम हो । तथ्यांक अनुसार उपत्यका भित्र अहिले ८ हजारको संख्यामा सार्वजनिक यातायातका साधन चल्छन् ।

दुवै तहमा हाल सञ्चालित यातायात साधनले प्रतिदिन पार गर्ने दूरी र पुनर्संरचनापछिका यातायात साधनले पार गर्ने दूरीबीचको अन्तर नै दैनिक तीन लाख ३२ हजार किमि हुन्छ । यो भनेको उपत्यका भित्रको सार्वजनिक यातायातका साधन ६६ प्रतिशतले घट्दा वार्षिक तीन अर्ब ३३ करोड २० लाख रुपैयाँको इन्धन बचत हुनु हो । सरकारी ढुकुटीबाट बचत हुने रकम यही हो।

आयोजना प्रमुख श्रेष्ठले भने,‘रुट पुर्नसुंरचनापछि सवारी साधन घट्छ । त्यसो हुँदा इन्धन खतप कम हुन्छ । यो भनेका बर्षिक झण्डै साढे तीन अर्व रुपैयाँ बराबरको इन्धन हो । यसले उपत्यकाको ट्राफिक जाम पनि घटाउन सक्थ्यो । तर, यस तर्फ सरकारको ध्यान गएको देखिएको छैन ।

सवारीको अहिलेकै चाप रहे १० वर्षमा उपत्यका ठप्प

सडक विभागका अनुसार सडक विस्तार कम र अत्यधिक सवारीसाधन भएकाले उपत्यकामा ट्राफिक जाम बढेको हो । भएका सडक पनि वैज्ञानिक ढंगको नभएकाले पनि सडक ट्राफिक अस्तव्यस्त हुने गरेको विभागको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दीप बाराहीले बताए । उनले भने, ‘उपत्यकामा सवारीसाधनको चाप बाक्लो छ । तर, सडक विस्तार निकै कम भएका छन् । सवारीसाधनको वृद्धि यही रफ्तार हुने, तर सडक विस्तार नगरिने हो भने अबको १० वर्षमा उपत्यका ठप्प हुने निश्चित छ । यसबाहेक विस्तार गरिएका सडक पनि वैज्ञानिक छैनन् । माइतीघर–बानेश्वर–तिनकुने सडक यसको उदाहरण हो । यहाँ सडक त विस्तार भयो । तर, पुल विस्तार भएन । जसले सडकलाई बोतलनेक बनायो । उपत्यकाभित्र यही कारण ट्राफिक जाम बढेको छ ।’

ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार अहिले भइरहेको सडक विस्तार र मेलम्ची खानेपानीका कारण पनि ट्राफिक जाम बढेको छ । उनले भने, ‘कलंकी–काटेश्वर सडकमा ट्राफिक जाम छ । सडक विस्तारका कारण यहाँ ट्राफिक जाम भएको हो । चाबहिल–गौशाला सडकमा मेलम्ची खानेपानीका कारण ट्राफिक जाम भएको छ ।’

काठमाडौं दिगो सहरी आयोजनाले दिएको प्रतिवेदनअनुसार सरकारले रुट पुनर्संरचना गरेको भए ट्राफिक जाम दुई वर्षअघि कम भइसक्थ्यो ।एसियाली विकास बैंक र विश्व वातावरण कोषको सहयोगमा दुई वर्ष अध्ययन गरेपछि आयोजनाले उपत्यकाको रुट पुनर्संरचना गर्न दुई वर्षअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो । तर, मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनमा नै ल्याएन । मन्त्रालयमा पेस गरिएको प्रतिवेदनअनुसार रुट पुनर्संरचना भए ट्राफिक जाम कम हुने मात्रै होइन प्रतिवर्ष ३ अर्ब ३३ करोड २० लाख रुपैयाँको इन्धनसमेत बचत हुन्थ्यो ।

‘रिपोर्ट गहन अध्ययनपछि तयार भएको हो । दुई वर्षअघि नै हामीले उक्त रिपोर्ट सरकारलाई बुझाएका हौँ । तर, कार्यान्वयनमा आएन । किन यस्तो भयो, थाहा भएन । कार्यान्वयनमा आए प्रतिवर्ष तीन अर्ब ३३ करोड २० लाख रुपैयाँबराबरको इन्धन बचत हुन्थ्यो,’ आयोजना प्रमुख दीपक श्रेष्ठले भने आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं,माघ २२ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी छन् ।

कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गरेकी थिइन् । तर भारतस्थित नेपाली राजदूत र आयोजकसँग बुझ्दा उक्त कार्यक्रममा दलाइ लामा र उनका प्रतिनिधि उपस्थित हुने जानकारी पाएपछि सभामुख घर्तीमगरले सांसदहरूलाई पनि नपठाउने निर्णय गरेको संसद् सचिवालय स्रोतले बतायो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

कर्नाटक विधानसभाद्वारा आमन्त्रण गरिएको उक्त कार्यक्रममा सांसदहरूको सहभागिताका लागि कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालाका नाममा स्थापित ‘सुशील कोइराला फाउन्डेसन’ का सचिव अतुल कोइरालाले संसद् सचिवालय र सभामुख घर्तीमगरको निजी सचिवालयसँग संयोजन गरेका थिए । तर सम्मेलनमा दलाइ लामा उपस्थित हुनेबारे कोइरालाले केही पनि उल्लेख नगरेपछि सभामुख घर्तीमगरले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य दलका प्रमुख सचेतकसँग छलफल गरी त्यहाँ पठाउने १५ जना सांसदको नाम तय गर्न लगाएकी थिइन् ।

काठमाडौं,माघ २२ । महोत्तरीको बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे। केटाको बुबाले ५ लाख नगद दिए मात्र विवाह गर्ने शर्त राखे। ‘म गरिब छु। ५ लाख दिन सक्दिन’ अमृताका बाबु रामप्रकाशले हुनेवाला सम्धी (केटाका बाबु) सँग भने। रामप्रकाशले आफ्ना सबै दुःख पीडा केटाका बाबु दुःखी कापरसँग पोखे।

अनुनय विनय गर्दा बल्तल्ल केटा पक्ष १२५ सिसि होन्डासाइन मोटरसाइकल र नगद गरेर ३ लाख ५० हजारमा राजी भयो । माघ ९ गते विवाह गर्ने दिन तय गरियो। विवाह खर्च जुटाउन र केटा पक्षलाई तय गरिएको दाइजो रकम जोरजाम गर्न उनले ऋण खोज्न थाले । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रति कट्टा २ लाख ५० हजारमा बिक्री हुने जग्गा उनी बाध्य भएर प्रति कट्टा १ लाख ५० हजारको दरले ४ लाख ५० हजारमा बेचे। बर्दीबासमा केटा पक्षलाई बोलाएर माघ ७ मा ना ४१ प ९१९३ नम्बरको होन्डा साइन मोटरसाइकल १ लाख ९० हजारमा किनिदिए। सोही दिन १ लाख ६० हजार नगद पनि दिएर केटा पक्षले मागेको सबै दाइजो पुरा गरिदियो । रामप्रकाशले ऋण काढेर केटाको सबै परिवारलाई ५६ हजार खर्च गरी लुगाफाटो खरिद गरी जिम्मा लगाए ।

धुमधामसँग तोकिएको मितिमा विवाह भयो।

भोलिपल्ट खान खाने समयमा उनको ज्वाई रौदिको जवाफ दिए, ‘दाइजोमा लैंनो भैंसी दिए मात्र भात खाने। नभए नखाने।’ बेहुला बेहुली बिना जन्ती घर फर्कियो। माघ ११ गते घटना गाउँलले मिलाउने गरी प्रहरीले गाउँलेलाई जिम्मा लगाए ।

दाइजो फिर्ता गरी केटा पक्ष घर फर्कियो। बाबुले दाइजोमा लैंनो भैंसी दिन नसक्दा सिन्दुर हालेको दुई दिन नवित्दै अमृताको सिँउदोको सिन्दुर, गलाको पोते र हातको चुराले सजिएको उनको खुशी खोसियो ।

काठमाडौं,माघ २२ । दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।क्यान्सरसम्बन्धी छुट्टै अस्पताल, उपचारमा थपिएका प्रविधि, क्यान्सर रोगसम्बन्धी चिकित्सक दैनिक बढिरहे पनि क्यान्सर रोग लागेर अस्पताल आउने बिरामी भने घट्न सकेका छैनन्।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको जानकारी दिँदै वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेको बताए। नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेका छन्। त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर र स्तन क्यान्सर दोस्रो नम्बरमा आउने गरेको छ। अाजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेसनल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख र घाँटीको क्यान्सर अस्वाभाविक ढङ्गले बढ्दैगएको जानकारी दिँदै समयमै क्यान्सर रोगको उपचार हुनसके पूर्णरूपमा निको हुने बताए। विकसित देशको तुलनामा नेपालमा क्यान्सर रोगका बिरामी बढिरहेको भन्दै उहाँले अस्वस्थकर जीवनशैली, धूमपान र मद्यपान क्यान्सरको मुख्य कारकतत्व भएको बताए ।

CPN-UML Chairman and former Prime Minister KP Sharma Oli has accused the government of wasting time instead of making preparations to hold the elections on time.

Addressing the 2nd full meeting of cadres of UML Constituency-1 in Jhapa, Chairman OLi also blamed the government for engaging in a game with the intention not to hold the elections.

The UML chair said the elections should not be postponed at any cost, warning of any action against election deferral.

Chairman OLi also claimed that the country will plunge into a severe political crisis if the elections fail to take place within the stipulated time.