हावाहुरी प्रभावित क्षेत्रमा स्थिति नाजुक: खाद्य सामग्रीको अभाव,बालबालिकालाई बिहान बिहान च्यूरा !

बारा । बारामा हावाहुरीले ल्याएको विपत्पछि प्रभावित क्षेत्रमा खाद्य सामग्रीको अभाव भएको छ । प्रभावित क्षेत्रमा रुख ढलेर बाटो अवरुद्ध भइरहेको छ । स्थिति नाजुक बनेको छ । भूमरीसहित आएको हावाहुरीले विद्युतका पोलसमेत ढाल्दा बिजुली ठप्प छ ।

अन्य क्षेत्रबाट खाद्यपदार्थ लैजान सक्ने अवस्था नरहेको अवस्था नरहेकाले स्थानीयहरुले नै राहतको काम गरिरहेका छन् ।  खाद्यसामग्री पुरिएकाले जसको घरमा सुरक्षित छ उनीहरुले नै सहयोग गरिरहेका छन् ।
बिहान खानेकुरा केही नभएपछि बालबालिकालाई च्यूरा खुवाउने काम भएको स्थानीयले बताएका छन् ।
हावाहुरीले घरका छानाहरु अधिकांश उडेका छन् ।

भीषण हावाहुरी:किन भएन मौसमविद्हरुको पूर्वानुमान, लापरवाही कि सिस्टमै फेल ?

काठमाडौं । आइतवार साँझ चलेको हावाहुरीले बारा र पर्सामा वितण्डा मच्यायो । विनासकारी हावा र हुरीका कारण ३१ जनाले ज्यान गुमाएका छन् भने ५०० भन्दा बढि घाइते भएका छन् । दर्जनौ बिजुलीका पोलहरु ढलेका छन् भने मानवीय र भौतिक दुवै ठुलो क्षति भएको छ । हावाहुरीले यति ठुलो वितण्डा मच्चाउन सक्ने पूर्वानुमान किन हुन सकेन ? मौसमविदहरु किन चुके र यति ठुलो जनधनको क्षति भयो ?

मौसमविद् मिनकुमार अर्यालले भने “यहाँ हामी र हाम्रो सिस्टम चुकेको छ । सामान्य मनसुनको  संकेत हाम्रो सिस्टमले गरेको थियो । तर, एक्कासी यस्तो भयो की हाम्रो सिस्टमले पूर्वानुमान नै गर्न सकेन ।” मौसदबिद्हरुले पूर्वानुमान गर्न सकेको भए जनधनको क्षति कम गर्न सकिन्थ्यो भन्ने प्रश्न उठ्न थालेका छन् ।

भारतको मध्यप्रदेशबाट आएको वायु र स्थानीय स्तरकै वायुको निम्न चापीय क्षेत्रमा यस्तो वितण्डा मच्चिएको आंकलन मौसमबिद्हले गरेका छन् तरपनि एक्कासी यस्तो हावाहुरी कसरी चल्यो भने बिषयमा रिसर्च गर्न आवश्य रहेको उनीहरु बताउँछन् ।  “न्यूनचापीय वायु र आकाशबाट खसेको बायु मिसिँदा यस्तो अवस्था आएको हुन सक्छ किनकी हावाहुरीका साथै मेघ गर्जन तथा चट्याङ समेत परेको पाइयो’’ मौसमबिद् अर्यालले भने ।

हावाहुरीको वितण्डा: घरबार गुमेकाहरुको बासस्थान,मृतकका परिवारलाई तत्काल तीन लाख दिने सरकारको निर्णय

काठमाडौं । बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने भएको छ। आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। सोमबार बिहान प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ। सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्। प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय गरेको छ।

नेपालमा आँधीको वितण्डा: ३१ को मृत्यु, ४०० भन्दा बढी घाइते, अस्पतालमा घाइतेको चाप

काठमाडौं । आइतबार साझ बारा र पर्सामा आएको हावाहुरीका कारण ३१ जनाको ज्यान गएको छ भने ४ सय जना घाइते भएका । हावाहुरीका कारण बारामा २७ जना र पर्सामा ५ जनागरी जम्मा ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आइतबार बेलुका ७: ३० बजेतिर अकश्मात ठूलो हावाहुरी चल्दा ठूलो मानवीय क्षति भएको हो । घाइतेको उद्दार गरी उनीहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भैरहेको  छ।

आँधीका कारण घरमा माथि रुख ढलेको र घर भत्किँदा पुरिएएर ठूलो संख्यामा मानविय क्षति भएको छ । अहिलेसम्म भौतिक क्षतिका आंकलन नै गरिएको छैन। यसैबीच हावाहुरीका कारण मृत्युहुनेप्रति प्रधानमन्त्री केपी ओलीले दुःख व्यक्त गरेका छन । उनले उद्दारमा गम्भीर हुन र घाइतेको उपचारका कुनै पनि कमी आउन नदिन स्थानीय प्रशासनलाई निर्देशितगरेका छन । साथै उनले मृतकप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन ।

प्रश्नप्रत्र आउट प्रकरण: प्रदेश २ को एसईईका बाँकी परीक्षा स्थगित

काठमाडौं । संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । अन्यत्र भने परीक्षा जारी रहनेछ ।

बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ । प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ जना परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएको थियो ।

भएन मौसमको भर, तीन दिन बदली र वर्षाको अनुमान

काठमाडौ ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो । पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा गराएको महाशाखाका मौमसविद् सुवास रिमालले बताउनुभयो ।

उहाँका अनुसार आज रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचाँपीय प्रणालीले बदली र वर्षा गराउनेछ । उक्त प्रणालीले खासगरी शनिबार र आइतबार बढी असर गर्ने देखिएको छ । ठूलो खालको प्रणाली विकसित नभए पनि बदली र मेघ गर्जनसहित क्षणिक वर्षा गराउनेछ ।

आज दिउँसो पूर्वी भेगलगायत मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मध्याह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातको समयमा पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमका थोरै स्थान र मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहितको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी पहाडी भेगका थोरै स्थान र मध्य तथा पश्चिमका पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पूर्वी र मध्य पहाडी क्षेत्रमा सामान्य बदली हुनुका साथै क्षणिक वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी यही चैत १७ गते आइतबार पूर्वी र मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानको मौसम आंशिक बदली रहनेछ । पूर्वी र मध्यपहाडी स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ । आज काठमाडौँको न्यूनतम १४ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

–नवदीप श्रेष्ठ-रामहरि न्यौपाने,
नुवाकोट । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ ।

आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । बाँधस्थलका तीन वटा ढोकाबाट पानी थुनेर डि–सेन्टर (पानी जमाउने पोखरी)मा पठाउने कार्य सफल भएको हो ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण सबैभन्दा बढी क्षति पुगेको उक्त आयोजनाको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसगैँ तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक ई सत्यराम ज्याख्वाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भूकम्पले क्षति पु¥याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण चुनौती थियो, तीन वटा ढोकामार्फत थुनिएको पानीले सहजै डि–सेन्टरमा प्र्रवेश गरेको छ, यो सुखद पक्ष हो ।” बाँधस्थलको परीक्षणअन्तर्गत थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले जनाएको छ ।

आयोजनाको सिभिल (भौतिक) संरचना निर्माणपश्चात् करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डि–सेन्टर हुँदै सुरुङ मार्गको परीक्षण गर्ने योजना छ । असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाका साथ तीव्र गतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशतभन्दा बढी पूरा भएको छ ।

आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रशारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको छ । उक्त आयोजनाबाट ३० मेगावाट बिजुली आगामी वैशाख १७ मा पहिलो युनिटबाट उत्पादन शुरु गर्ने लक्ष्य छ । तीस मेगावाट क्षमताको दोस्रो युनिट आगामी असार १५ गते सञ्चालनमा ल्याउने गरी हाल इलेक्ट्रोमेकानिकलको कामलाई तीव्र बनाइएको छ ।

सन् २०११ जुनदेखि सिजिजिसी कम्पनीले उक्त आयोजनाको निर्माणको काम थालेको थियो । निर्माणका लागि उक्त कम्पनीसँग इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको थियो । इपिसी मोडेलमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको यो पहिलो जलविद्युत् आयोजना हो । क्षमता वृद्धि, विभिन्न मागमा स्थानीयवासीको अवरोध र विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले तोकिएभन्दा चार वर्ष ढिलाइ गरी आयोजना निर्माण अन्तिम चरणमा पु¥याइएको छ ।

यसबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनसम्म जडानका लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रशारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’मार्फत भइरहेको छ । उक्त कार्य हाल ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । आयोजनामा सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक र चीनले वित्तीय व्यवस्थापन गरेको छ ।
आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर प्रक्षेपण गरिएको छ ।

भूकम्पले बाँधस्थल, पहुँच मार्गलगायतमा धेरै क्षति पु¥याएको उक्त आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायी पक्षलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पु-याएको क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीनरुपमा पहिरो रोकथामसम्बन्धी कार्यका लागि भने मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ । पहिरो रोकथामको कार्य सेनाले अन्तिम चरणमा पु-याएको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरुपमा सञ्चालन आएपश्चात् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी गर्नेछ । त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ ।

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । ‘क्यू सेभेन्टी’ मोडलमा निर्माण गरिएकाले आयोजनामा गरिएको लगानीको तुलनामा आम्दानी राम्रो लिन सकिने देखिएको छ । “कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रुपमा हेरिएको छ”, आयोजनाका उपप्रबन्धक ज्याख्वाले भन्नुभयो ।

उहाँका अनुसार यो आयोजना सम्पन्नपश्चात् सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्नेगरी गत फागुनदेखि निर्माण थालिएको छ ।

रसुवामा पत्रकारिता तालीम सम्पन्न

धुञ्चे । मोफसलका पत्रकारलाई सशक्त बनाउन प्रशिक्षण दिइएको छ । बिहिबारसम्पन्न दुईदिने प्रशिक्षणमा सुशासन र विकास विषयमा केन्द्रित रही पत्रकारले स्थलगत समाचार सङ्कलन र लेखनका साथै आम नागरिकलाई जानकारी गराउन त्यसमा समेट्नुपर्ने विषयवस्तुलगायत विषयमा जानकारी दिइएको नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो ।
अस्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा काठमाडौँस्थित राष्ट्रिय सञ्चार विकास केन्द्रद्वारा आयोजित सो प्रशिक्षणमा रसुवाका नौ, नुवाकोटका चार, धादिङका चार र भक्तपुरका एकसमेत गरी १८ पत्रकार सहभागी थिए ।

उक्त केन्द्रका कार्यकारी निर्देशक विष्णु शर्मा पराजुली, उपाध्यक्ष श्रीरामसिंह बस्नेत र सञ्चारविद् रामकृष्ण रेग्मीले सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।स्थानीय तहको निर्वाचन पश्चात् पहिलो पटक आयोजित उक्त प्रशिक्षणले सङ्घीयताको भावना र मर्मअनुसार काम गर्न सहज भएको सहभागी प्रशिक्षार्थीले बताए ।

मधेसमा अझैपनि परीक्षाको त्रास: एसईईको सामाजिक विषयको प्रश्नपत्र आउट, परीक्षा स्थगित

काठमाडौं । एसईई परीक्षा अन्तर्गत शुक्रबार हुँदै गरेको अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।

शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो  । एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहेको छ ।  देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएपछि यसअघिको एसएलसीमा जस्तै बढी त्रास बोकेरै प्रदेश २ ले बढी नै अनियमितता गर्ने अवसर पाएको हो ।  यसअघि आधादर्जन निरीक्षक र दर्जनबढी परीक्षार्थीहरुलाई कार्वाही भइसकेको छ ।

लगानी सम्मेलनः निजी क्षेत्रको २७ आयोजनामा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म

काठमाडौं ।  मुलुकमा बाह्य लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबारदेखि सुरु हुँदै छ । काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा सुरु हुने सो सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्ताहरू काठमाडौं आइपुगेका छन् । यस सम्मेलनमा विभिन्न ४० देशका करिब साढे ६ सय बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनका लागि निजी क्षेत्रले २७ वटा आयोजनाको प्रस्ताव तयार पारेको छ । निजी क्षेत्रले अध्ययन गरी तयार पारेका परियोजनाको सूचीमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म छन् । जसमा विशाल सिमेन्ट, गरुड सिमेन्ट, आईएमई सिमेन्ट जस्ता उत्पादनमूलक उद्योग परियोजना छन् । यसैगरी, जलविद्युत् क्षेत्रमा त्रिशूली–गल्छी हाइड्रोपावर, इङवा हाइड्रोपावर, कालीगण्डकी गर्ज, तल्लो वरुणखोला, मध्ये कालीगण्डकी, म्यादीखोला हाइड्रोपावर, नाम्लान खोला हाइड्रोपावर, माथिल्लो चमेलिया जलविद्युत् परियोजना, माथिल्लो बलेफी जलविद्युत् परियोजना, माथिल्लो बलेफी ए जलविद्युत् परियोजना र तारप खोला जलविद्युत् परियोजनालगायत छन् । त्यसैगरी, पूर्वाधार क्षेत्रतर्फ जालपादेवी केबुलकार तथा पर्यटन परियोजना, अन्नपूर्ण सिक्लेस केबुलकार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केबुलकार तथा पर्यटन परियोजना, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबुलकार रहेका छन् ।

नयाँ थप गरिएका सेवामूलक रिसोर्ट तथा होटलमा हिमालयन रिसोर्ट, हायात प्लेस काठमाडौं जस्ता परियोजना पनि निजी क्षेत्रको सूचीमा समावेश भएका छन् । अब यी परियोजनालाई ‘सोकेस’ का रूपमा प्रस्तुत गरिने लगानी बोर्डले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

लगानी सम्मेलन आजदेखि: ७७ आयोजना ‘शो केश’ मा,सुरक्षार्थ ६ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं । चैत्र १५ र १६ गते हुन गैरहेको लगानी सम्मेलनकोलागि सरकारले सुरक्षा चासोलाई महत्वपूर्ण रुपमा लिएको छ । सम्मलेलनको सम्पूर्ण तयारी पुरा भएसंगै गृह मन्त्रालयले सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ। आजदेखि सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ। सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो। यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए। राष्ट्रिय अनुसन्धान विभागले २ सयभन्दा बढी जनशक्ति तैनाथ गरेको छ।

सम्मेलनमा भाग लिन ३१ देशबाट ६ सय ९ पाहुना आउने भएका छन्। सम्मेलनलाई प्रभाव पार्ने गतिविधि हुन नदिन सरकारले प्रतिबन्धित नेकपाका कार्यकर्तामाथि निगरानी बढाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सम्मेलन अवधिभर पाहुनाको सुरक्षामा कुनै पनि कमी हुन नदिन उपत्यकास्थित सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार सम्मेलन सुरक्षाकै लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र सम्मेलनस्थल सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना गरिएको छ।

सम्मेलन स्थललगायत केही ठाउँमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। बाँकी स्थानमा आपसी समन्वयका आधारमा प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सम्मेलनमा आउने पाहुनाका लागि सोल्टीसहित कुपन्डोलको हिमालय, गौशालाको द्वारिकाज, बौद्धको हायात, दरबारमार्गस्थित अन्नपूर्णलगायतका होटलमा व्यवस्थापन गरेको छ। ‘पाहुना बस्ने होटल र सम्मेलन स्थलको सुरक्षामा कुनै पनि कमी नहुने गरी जनशक्ति तैनाथ गरेका छौं,’ प्रहरी प्रवक्ता सुवेदीले भने, ‘यसका लागि रिजर्भ फोर्ससहित गस्ती र सादा पोसाकका जनशक्ति आवश्यकताअनुसार खटिएका छन्।’

धार्मिकस्थलमा बादरको आतकं : सम्पदा जोगाउनै मुस्किल, नुवाकोटमा अन्नबाली जोगाउनै सकस

काठमाडौ । प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ ।

उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो ।

मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन् । हाल पशुपतिमा ४५०, स्वयम्भूमा ४५०, साँखु बज्रयोगिनीमा १०० र नीलबाराहीमा ७० को सङ्ख्यामा बाँदर रहेको बाँदरसम्बन्धी अध्ययनमा लाग्नुभएका डा मुकेश चालिसेले जानकारी दिनुभयो ।

ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदामा बाँदरले क्षति पु¥याए पनि सरोकार भएका निकायले यसको संरक्षणमा खासै ध्यान दिएका छैनन् ।
गोकर्णेश्वर महादेव मन्दिरको झिँगटी र काठ बाँदरले खसालेर पानी चुहिने बनाएको छ । पानी परेका बेला मन्दिरभित्र बसेर पूजा गर्न नसकिने पुजारी जगदीश भट्ट बताउनुहुन्छ । झिँगटीको छाना बाँदरले फालेर ऐतिहासिक मन्दिरमा क्षति पुग्न थालेपछि यसै वर्ष महायज्ञ गरी पित्तलमा सुनको लेप लगाउने अभियान शुरु गरिएको छ ।

ललितपुरमा रहेको पाटन दरबार क्षेत्रमा पनि बाँदरले झिँगटी झारी क्षति पु¥याएको छ । ललितपुर महानगरपालिका सम्पदा संरक्षण शाखा प्रमुख चन्द्रशोभा शाक्य एउटा झिँगटी बाँदरले खसालेपछि त्यही बाटोबाट चाङका चाङ खसेर समस्या हुने गरेको बताउनुहुन्छ । “बाँदरले सम्पदा भत्काउने बाटो बनाएपछि झिँगटी, काठ, माटोजस्ता संरचना खस्न थाल्छन् ।

पाटनको कृष्णमन्दिर अघि बाँदरले झिँगटी खसाल्न थालेपछि लामो समयदेखि पर्यटक जान छाडेको अध्ययनका क्रममा भेटिएको अनुसन्धाता चालिसेले बताउनुभयो । बढी पर्यटक आउने क्षेत्रमा बाँदर समस्या बनेपछि महानगरपालिकाले के गर्ने भन्ने विषयमा छलफल भइरहेको शाखा प्रमुख शाक्यले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा जङ्गल रहेकाले तुलनात्मक रुपमा यहाँका सम्पदामा बाँदरले धेरै असर गरेको छैन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल जैविक विविधताका लागि बाँदर आवश्यक रहेकाले अन्यत्र सार्ने पक्षमा आफू नरहेको बताउनुहुन्छ ।

“दाताको सहयोगमा पशुपति क्षेत्रमा बाँदरका लागि भोजनस्थल, जलस्थललगायत संरचनाको व्यवस्था गरिएको छ, प्राकृतिक रुपमै बाँदरलाई बस्न दिए यसले मानिस र सम्पदामा असर गर्दैन, हाल पशुपति क्षेत्रमा थेग्न नसक्ने सङ्ख्यामा बाँदर छैनन्, मेरो कार्यकालमा अन्त बाँदर पठाउँदिनँ”, उहाँले भन्नुभयो ।

एक दशकअघि पशुपतिका बाँदर राजधानीसँग सीमा जोडिएका जिल्लाका जङ्गलमा लगेर छाडिएको थियो । पशुपतिबाट लगी छोडिएका बाँदरले ती जिल्लामा दुःख दिइरहेका छन् ।

लुम्बिनी क्षेत्रमा नीलगाई र हाँसबाट सम्पदा जोगाउनुपर्ने समस्या आइपरेको छ । २० देखि ३० सङ्ख्यामा भए प्राकृतिक रुपमा राम्रो हुनुका साथै पर्यटकलाई आकर्षणसमेत गर्छ । धेरै सङ्ख्या भएर सम्पदामा क्षति गर्न थालेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।

सम्पदा क्षेत्रमा बढेका बाँदरलगायत जनावरको व्यवस्थापनका लागि वन विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले काम गर्नुपर्ने चालिसेको भनाइ छ । धेरै भएकालाई चिडियाखानामा राख्नुका साथै अनुसन्धानमा पनि प्रयोग गर्न सकिन्छ ।

सम्पदा संरक्षणको जिम्मेवारी लिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर बाँदरका कारण सम्पदामा क्षति पुगेकाले समाधानको उपाय खोजी गर्नुपर्ने बताउनुहुन्छ । झिँगटीको छाना भएका सम्पदामा बढी क्षति पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

मानिसमा रोग सार्दै बाँदर :

बाँदरले सम्पदामा क्षति गर्ने मात्र नभई मानिसमा रोगसमेत सार्ने गरेको छ । मानिसको भीडभाड हुने सम्पदा क्षेत्रमा बाँदरको भीडले संक्रामक रोग सर्ने गरेको छ । यसलाई चिकित्सकले पनि बाँदरबाटै सरेको हो भनी पत्ता नलगाउने भएकाले सङ्ख्या बढे पनि सरोकार भएका निकायले केही गरेका छैनन् ।

“सम्पदास्थलको क्षमताभन्दा बढी राखिएका बाँदरले मानिसमा धेरै रोग पनि सारेका छन्, झाडापखाला, क्षयरोग, लुतो, पेटसम्बन्धी धेरै रोग, यौन रोगलगायत बाँदरबाट मानिसमा सरेको पाइएको छ”, उहाँले भन्नुभयो ।

ठूला सम्पदा नजिकका जिल्लामा बाँदर आतङ्क
काठमाडौँका विभिन्न सम्पदास्थलमा बढी भएका बाँदर राजधानीसँग सीमा जोडिएका जिल्लामा लगेर छोड्दा त्यहाँ पनि समस्या बन्दै गएको छ । नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सीमावर्ती स्थानमा छोडिएका बाँदरले किसानको उठीबास गराउन थालेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web