नुवाकोट । ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु र एक बालक घाइते भएको बिरोधमा काठमाडौ उपत्यकाको फोहर बिसर्जनमा नुवाकोट स्थित सिसडोलका स्थानीयवासीले पु-याएको अबरोध आज बिहानदेखि हटेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुमा बुधबार साँझ भएको सहमतिमा पीडित पक्षले राखेका सबै माग सम्बोधन भएसगैँ दुई दिनदेखि अबरुद्ध फोहर सञ्चालनमा आएको हो । स्थानीयवासीको अबरोध हटेसगै फोहर बोकेका एकसय भन्दाबढी कन्टेनर सहितका गाडी बिसर्जनको लागी काठमाडौबाट ओखरपौवा स्थित सिसडोलतर्फ लागेका छन् ।

काठमाडौबाट फोहर बोकेर आएको ट्रिपरको ठक्करबाट मंगलबार नुवाकोटको ककनी गाँउपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु र १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए । उक्त घटनामा ज्यान गुमाएका बालकको परिवारलाई राहत स्वरुप रु एक्काइस लाख उपलब्ध गराउने, घाइते बालकको उपचार खर्च ब्योहोर्ने र मृत्तक व्यक्तिको परिवारका एक सदस्य र घाइते बालकलाई कक्षा १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनको लागी लाग्ने खर्च उपलब्ध गराउने सहमति भएअनुसार फोहर बिसर्जनमा पु¥याएको अबरोध सुचारु भएको ककनी गाँउपालिका–२ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार पीडित पक्षको माग सम्बोधनको लागी ललितपुर महानगरपालिका, ठक्कर दिने गाडी धनी र फोहरमैला ब्यवस्थापन संघ (स्वमान)ले सहमति जनाएका छन् ।

नुवाकोट । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूख्य अभियानको साथ जेसिज नुवाकोटले गत साता बारा र पर्सामा हावाहुरीबाट पीडित बनाएका बासिन्दाको लागी यहाँ आर्थिक सहायता सङ्कलन गरेको छ ।

बिपत्तिमा परेका पिडितलाई सहयोग गर्ने उद्देश्यका साथ बुधबार नुवाकोटको बट्टार स्थित राममन्दिरदेखि दम्कीसम्म नुवाकोट जेसिजको आयोजनामा आर्थिक राहत सङ्कलन गरेर ५५ हजार रुपैयाँ सङ्कलन गरेको नुवाकोट जेसीज नुवाकोटका वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

सङ्कलन भएको उक्त रकम नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापामार्फत् प्रदेश नम्बर २ को हावाहुरि पिडितको लागि पठाइएको छ । संकलन भएको रकम प्रजिअ थापाको सुझाब अनुसार पीडितको सयोगार्थ खोलिएको आधिकारिक खाता प्रदेश लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गरिएको हो ।

नुवाकोट जेसिजको ध्यानाकर्षण :
यसैबीच, आर्थिक राहत सङ्कलन कार्यक्रमलाई दैनिकी अनलाईन, अनुपम मिडिया लगायतका केही सञ्चार माध्यमले समाचारलाई बंग्याएर आसन्न नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश श्रेष्ठले चुनावी प्रचारनै छाडेर सहयोग सङ्कलनको लागि हिडेको भनि प्रकाशन गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । नुवाकोट जेसिजको बुधबार विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

मानव सेवाका लागि संचालित अभियानलाई राजनीतिक रङ्ग दिने र अनावश्यक जस लिने जस्ता गलत प्रवृत्तिले मानव सेवाको क्षेत्रमा लागेकाहरुलाई बिचलित बनाउने दुष्प्रयास भएको छ तसर्थ यस सम्बन्धि समाचारहरु भ्रामक भएको र यस्ता समाचारहरुमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहेको विज्ञप्तीमा भनिएको छ ।

नुवाकोट । बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीका कारण मृत्यु भएका र घाइतेहरुको उपचारको लागि तारा वहादुर कार्की प्यानलको लोकतान्त्रिक पक्षधर व्यवसायीहरुको समुहको प्रतिनिधित्व गर्दै ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

हावाहुरीबाट प्रभावितहरुको लागि तारावहादुर कार्की प्यानलको लोकतान्त्रिक पक्षधर व्यवसायीहरुको सम्पूर्ण टिमले संकलन गरि ५० हजार रुपैयाँ दिने निर्णय गरेको कार्की प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उठ्नुभएका गिता अमात्यले बताउनुभयो । त्यस्तै प्रभावितहरुको लागि अझै आर्थिक सहयोग गर्न सबै व्यवसायीहरुलाई आग्रह समेत गरिएको अमात्यले बताउनुभयो । सहयोग रकम जिल्ला प्रशासन कार्यालयमार्फत सम्वन्धित जिल्लामा पठाइने बताइएको छ ।

बारा र पर्सामा आइतबार राति आएको आँधी, हुरीमा परेर २८ जननाको मृत्यु भएको थियो भने ६ सय भन्दा धेरै घाइते भएका थिए । घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका थिए । गम्भीर घाइते ८ जनालाई भने नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

बुटवल । बुटवलमा गएकाे हप्ता भएको हत्यामा श्रीमतीको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

नाताले आफ्नै भिनाजुसँगको प्रेम झाँगिदै गएपछि ३२ वर्षीया साहिन खानले भारत बेतियाका ४२ वर्षीय भिनाजु साधिर हुसेनलाई प्रयोग गरी श्रीमानको हत्या गराएको रुपन्देही प्रहरीले बताएको हो । गएको बुधबार साँझ बुटवल १ गढिटोल नजिकै काठेपुलमा ४५ वर्षीय फिरोज खानको गोली हानी हत्या भएको थियो ।

खानको हत्यापछि अनुसन्धान केन्द्रित गरेको प्रहरीले अन्तत: फिरोजकै छोराहरु १० वर्षीय रेहान र ९ वर्षीय आरिषले दिएको बयानका आधारमा अभियुक्त पत्ता लगाउन सकेको हो ।

साहिनले हत्याको बेला आफू कोठाभित्रै रहेको प्रारम्भिक बयान दिएकी थिइन । तर छोराहरुले आफूहरुलाई थुनेर मम्मी बाहिर गएको बताएपछि सामान्य शंका मात्रै गरिरहेको प्रहरीले श्रीमतीमाथि अनुसन्धान केन्द्रित गरेको थियो । मोबाइलमा रहेको कल डिटेलबाट नै हत्याको थप रहस्य खुलेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताउनु भयो ।

प्रहरीका अनुसार फिरोज कामबाट फर्कने बेला साधिर र श्रीमती साहिनले बाटोमा कुरेर बसेका थिए । प्रहरी प्रमुख थापाका अनुसार फिरोज आएपछि साधिरले अंकमाल गरेजस्तै गरेर फिरोजमाथी गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका फिरोजलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

फिरोजको मृत्युपछि सबैभन्दा बढी उनकै श्रीमती चिन्तीत हुँदै रुवावासी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भारतमा पनि विभिन्न अपराधमा संलग्न हुदै आएका साधिर र साली साहिनका बीचमा केही वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । साधिरकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भइसकेको छ ।

गएकाे २० वर्षदेखि श्रीमतीसहित फिरोज खान बुटवलमा बस्दै आएका थिए । मैनाबगरमा रहेको अटो वर्कशपमा पेन्टिङ्गको काम गर्ने फिरोजलाई निक्कै इमान्दार र साेझो व्यवहार भएको व्यक्तिको रुपमा उनी निकटकाले चिन्ने गरेका छन् ।

श्रीमती साहिन अहिले प्रहरीको नियन्त्रणमा छिन् भने हत्यामा संलग्न साधिरलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीको सूचना अनुसार फिरोजलाई गोली हानेपछि साधिर नवलपरासीको त्रिवेणी हुँदै भारत प्रवेस गरिसकेका छन् । प्रहरीले साधिरलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ ।

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ।

घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।

यसलाई व्युरो र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन्। प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानविन गरेका थिए।

दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआइबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो। एक प्रहरी उच्च अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं लगिएका दुवै प्रहरीलाई हतकडी लगाइएको छ।

नुवाकोट । ट्रिपरको ठक्करबाट मंगलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको बिरोधमा काठमाडौ उपत्यकाको फोहर बिसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अबरोध पु-याएका छन् ।

काठमाडौबाट फोहर बोकेर आइरहेको ट्रिपरको ठक्करबाट मंगलबार नुवाकोटको ककनी गाँउपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु र १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए । उक्त घटनाको बिरोधमा मंगलबार अपरान्ह देखि स्थानीयले गरेको बिरोध आजपनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर आएका करीब एकसय भन्दाबढी कन्टेनर लगायतका सवारी बिरोधका कारण सडकमा नै रोकिएका छन् ।
फोहर बोकेर बिसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडौबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाँउपालिका– २ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार दुर्घटना पश्चात काठमाडौ महानगरपालिकासंग पीडित पक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृत्तक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारबाहीको माग राखिएको छ ।
“काठमाडौ महानगरपालिकाले ललितपुर महानगरपालिका मार्फत परिचालन भएको ट्रिपर भएकाले समाधानको लागी सोही निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएकाले समस्या समाधानतर्फ उन्मुख हुन सकेन ।” पौडेलले भन्नुभयो ।

घटनाको बिरोधमा फोहर बिसर्जन गर्न अबरोध पु-याएका स्थानीयवासीले अन्य सवारीका साधनहरु भने सञ्चालनमा रोक नलगाएकोे जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

बिरोधमा उत्रिएका पीडित पक्षले काठमाडौ स्थित ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते भएका अर्का बालक राजन नेपालीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

0 नारायण नेपाल,

यत्र तत्र छरीएका
काँचका टुक्राहरु झै
अलपत्र सपनाहरु लिएर
समरका ति भग्नावशेषहरु माथि
अर्को नया चिहान खन्ने अठोटसगै
सुदुर क्षितीजको उदाउदा
ताराहरु नियाल्दै छु
हराएको छैन म
बामे सर्दै छु ।

लालवस्तीले जन्मएका
गोमन सापहरु
डस्दैछन् आज
समरका सपनाहरु
हाम्रो भर्सेलीमा आगो ताप्दै
तर मार्न पल्केका
पल्लो घरका काला बिरालोहरु
गाउघरमा विगबिगी हुदा
हिजो गाउ छाडी भागेका व्बाँसाहरु
रगत चुस्न गाउ पसिरहेका वेला
यि गाउ बस्तीहरु छाडेर
कहा जाउ र म ?
तिम्रो कसम भिमसरा
तिम्रै अंगालोमा आउने छु
तिम्रै आशु रगत र पसिना पुछनलाई
साच्चै प्रिय भिमसरा
हराएको छैन म
हेरत बामे सर्दै छु ।

बर्लिनको पर्खालमा उभिएर
शितयुद्ध चलेको बेला
सगरमाथाको शिरमा उभिएर
महाभारत पर्वतहरु छिच्लदै
चुरेपहाडका बनकुञ्जहरु
नियाल्दै छु म
कतै सुन्यौ त
बिगुल बजेको तिमीले
ए लालबहादुर
प्रभाती रविको आलोकमा
सुर्वणीम युगका ,नया गोरेटाहरु
कतै देख्यौ त तिमीले
प्रिय भिमसरा
यो जनक्रान्तिको यात्रामा
उ हेरत हिमाली देशमा
क्रान्तिको राँको बल्दै छ ।
हराएको छैन म
हराउने तरखर गर्दै छु ।

त्यसैले आउ
ए मेरा प्रिय खसम
तिमीलाई मेरो कसम
आउदै छन मालचरीहरु
एक हुल बथान लिएर
नया अभियान लिएर
आउदैछन तिनिहरु
त्रिशुलीको छालहरु झै उलिएर
महासमरको हाम्रो सुनौला सपनि लिएर
हो ठिक त्यही बेला
म त्यही हुने छु
घाम छाया झै लुकामारी गर्दै
गाउ शहर र गल्लीहरुमा हुने छु
अहँ हराएको छैन म ।
हराउने तरखर गर्दै छु ।

अहँ हराएको छैन म
हो कहिल्यै हराउने छैन म
ब्वाँसाहरुका लुटतन्त्रमा
बाघ बनेर सताउने छु
यि लालबस्तीहरुमा
वर्गप्रित लगाउने छु
हो साच्चै हराएको छैन म
हेरत अघि बढर्दै छु ।

साच्चै हो प्रिय भिमसरा
तिमीलाई मेरो कसम
हराएको छैन म र मेरो सपनाहरु
हाम्रा सपनाहरु ।
यो युगको उत्सर्गका
स्वपनील यात्राहरु ।।

काठमाडौं । विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र पेप्सीकोलाले विश्व अटिजम सचेतना एवं अभिभावक दिवस विशेष कार्यक्रम गरि मनाएको छ । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथिमा मनाईएको कार्यक्रममा नेपाली सेनाका महासेनानी मनोज बैदार, वरिष्ठ पत्रकार सुमन खरेल, गायक प्रमोद खरेल लगायतको सहभागिता रहेको थियो । अटिजम भएका बालबालिकाको हेरचाह, उपचार र अध्ययनको लागि काम गरिरहेको संस्थाले आज परेको विश्व अटिजम दिवसमा विशेष कार्यक्रम गरेको हो । सन् २००८ पछि अप्रिल २ तारिखमा यो दिवस मनाउने गरिन्छ । बालबालिकामा जन्मजात हुने अटिजमबारे जनचेतना तथा सचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम गरेको संस्थाकी अध्यक्ष सविता उप्रेतीले जानकारी दिइन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्या मध्ये एक प्रतिशतमा अटिजम हुने गर्छ । त्यही आधारमा हेर्दा नेपालमा तीन लाखको हाराहारीमा अटिजम भएका व्यक्तिहरु रहेको अनुमान रहेको छ । करिब दश वर्षदेखि अटिजम केयर तथा सचेतनामा सक्रिय सविताका अनुसार अटिजम आफैमा रोग होइन । गर्भावस्थामा नै शिशुको विकासका क्रममा नशा र तन्तुको विकासका क्रममा सन्तुलन नहुँदा न्यूरोन छुट्न गइ यस्तो अवस्थाका बालबालिका जन्मिने गर्छन् ।

यो अवस्थाका बालबालिकालाई उपचार गरेर निको बनाउन सकिँदैन । तर उनीहरुमा सञ्चार सीप, सामाजिकीकरण तथा नियमित गर्नुपर्ने कामहरु दोहोर्याउने सीपको विकास भने गराउन सकिन्छ । त्यसको लागि अभिभावकले विशेष हेरविचार र यसबारे जानकारी राख्न जरुरी रहेको उनको भनाइ छ । सो अवसरमा संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मानको गरेको थियो ।

अटिजम दिवसको अवसरमा वरिष्ठ पत्रकार सुमन खरेल,महिला खबरका फिचर संयोजक प्रतिमा सिलवाल,, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्य, महिला न्यूज अनलाइनका सम्पादक लक्ष्मी बस्नेत, जनता टेलिभिजनका पत्रकार प्रतिमा चौधरी, पत्रकार विष्णुकुमार क्षेत्री, रिसेन्ट नेपाल डटकमका अर्जुन न्यौपाने तथा विभिन्न सञ्चार संस्थालाई सम्मान गरिएको थियो ।

साथै संस्थाका उत्कृष्ट बालबालिका आदेशराज काफ्ले, अलिसा न्यौपाने, जेष्ठ अभिभावक नर्वदा भण्डारी लगायतलाई सम्मान गरिएको थियो । साथै अटिजम भएका बालबालिकाले आफ्नो विशेष प्रस्तुती देखाएका थिए ।

बाजुरा । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महीनाकी गर्भवती सेतु ल्वारको विमाल चार्टर गरेर उद्धार गरिएको छ । जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा विमानको प्रबन्ध मिलाएर उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभयो । ल्वारलाई कोल्टी विमानस्थलबाट नेपालगञ्ज विमानस्थल हुँदै कोहलपुर मेडिकल कलेज पु¥याइएको हो ।

विशेषज्ञहरुसँगको परामर्शपछि सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले विमान चार्टर गरेर उद्धार गर्न अनुरोध गर्नुभएको हो । ल्वारको उच्च रक्तचाप, फोक्सोमा पानी जमेको र गर्भवती अवस्थामा हुने जटिल अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो । चार वटा छोरी जन्माइसकन्ुभएकी ४० वर्षीया ल्वार पाँचौँ सन्तानका लागि गर्भवती थिइन् । कमजोर आर्थिक अवस्थाकै कारण समयमै उपचार गर्न नसकेको सेतुका श्रीमान् तुले ल्वारले बताउनुभयो । कोल्टीमा यतिबेला विशेषज्ञ शिविर चलिरहेको छ ।

जिल्लामा उपचार सम्भव नहुने सुझावपछि प्रदेश निर्वाचन क्षेत्र क बाजुराका प्रदेशसभा सदस्य बल्देव रेग्मी, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको पहल र सामाजिक विकासमन्त्रीको निर्देशनमा उद्धार सम्भव भएको हो । सामाजिक विकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका गर्भवती एवं विपद्मा परेका जटिल प्रकृतिका बिरामीलाई हेलिकप्टर र विमानबाट उद्धारका लागि एक करोड बजेट नै विनियोजन गरेको छ ।

तत्काल उपचार नगरिए ज्यान नै जोखिममा पर्ने र तुरुन्तै सघन उपचार कक्ष (आइसियु) मा राख्नुपर्ने अवस्था आएको खबरपछि सामाजिकमन्त्री कृष्णप्रसाद सुवेदीले आकस्मिक रुपमा विमान चार्टरका लागि निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेश मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुँवरले जानकारी दिनुभयो । हेलिकप्टर तत्काल उपलब्ध नभएपछि विमान नै व्यवस्था गरिएको कँुवरको भनाइ थियो ।

विमान चार्टरका लागि दुई लाखभन्दा बढी रकम मन्त्रालयले खर्च गर्नेछ । यसअघि पनि दुई बाजुरा र एउटा बझाङबाट बिरामीको हेलिकप्टर र विमानमार्फत उद्धार गरिसकिएको बताएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै पहाडी दुर्गम जिल्लाबाट यसै वर्षमा मात्रै चार जनालाई उद्धार गरिसकेको जानकारी दिएको छ ।

आफन्तले बिरामीलाई आइतबार बिहान मात्र बोकेर बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । नियमित गर्भजाँच नगरेको, शरीरलाई आवश्यक खाना नखाएको र स्वास्थ्यमा ख्याल नगरेको स्वास्थ्यकर्मीले बताएका छन् । विमानबाट उद्धार गरिएपछि आफन्त निकै खुशी भएका छन् ।

पाल्पा । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको बताउनुभएको छ ।

“धर्म स्वतन्त्र हुनुपर्छ, काङ्ग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,” प्रेस युनियन पाल्पाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भन्नुभयो । हिन्दू राष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्ने उहाँको भनाइ थियो ।

हावाहुरीबाट बारा–पर्सामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महामन्त्री कोइरालाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयो । बहुमत प्राप्त सरकारले जनतालाई आशाभन्दा पनि निराशा पैदा गराएको महामन्त्री कोइरालाले आरोप लगाउनुभयो ।

काठमाडौ । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ ।

झापा, इलाम र उच्च अदालत विराटनगरको ३०९ मतगणना गर्दा श्रेष्ठले १९६ मत प्राप्त गरी अग्रता लिनुभएको छ । बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले १०९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । आजै साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको थियो ।

उहाँले तीन ठाउँको मतगणना सकिएपछि भोलि बिहान ९ बजेदेखि १० वटा स्थानमा मतगणना गर्ने जानकारी गराउनुभयो । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए । निर्वाचन अधिकृत खड्काले चार दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने बताउनुभयो ।

काठमाडौ । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइते भई अपाङ्गता तथा अशक्त हुने तथा मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्नेछ ।” उक्त घटनामा परेर हालसम्म २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएका छन् । ठूलोमात्रामा आर्थिक क्षति भएको छ । उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ ।

बैठकले प्रभावित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने तथा विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने बैठकले गरेको निर्णय छ ।

प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्बन्धित निकायले थप सतर्कता अपनाउन निर्देशन दिँदै बैठकले त्यसका लागि तत्काल आवश्यक कदम चाल्ने निर्णय समेत गरेको छ । बैठकले यस दुःखद् परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अङ्ग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था एवं गैर सरकारी संस्थालाई समन्वयात्मकरुपमा परिचालन गरी विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयको समन्वयमा उक्त क्षेत्रमा भएको क्षतिको विवरण यथाशीघ्र तयार गरी मूल्याङ्कन गर्ने र तथ्य विवरणसहितको परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनःनिर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा आवश्यक निर्णय गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैको समन्वयात्मक ढङ्गमा प्रभावित क्षेत्रमा काम गर्नुपर्छ, प्राकृतिक विपद् आइलागेर नागरिक पीडित हुनुहुन्छ । यस्तो बेलामा समन्वयात्मक ढङ्गले नै काम गर्नुपर्छ, स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वयात्मक काम गर्नेछन् ।”

घटनालगत्तै हेरविचार गर्ने, उद्धार गर्ने, अस्पताल तथा स्वास्थ्य संस्था पु-याउन सहयोग गर्ने, शल्यक्रियालगायत आवश्यक उपचारमा संलग्न हुने, सुरक्षा दिने, समाचार दिनेलगायतका कार्यमा स्वतःस्फूर्त तत्कालै परिचालित भई प्राकृतिक विपद्मा तदारुकताका साथ मानवीय उद्धारमा संलग्न भई सेवा पु¥याउने सबै तह र तप्काप्रति सरकारले हार्दिक धन्यवाद प्रकट गरेको छ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुले आजै प्रभावित क्षेत्र र घटनाको प्रत्यक्ष निरीक्षण र अवलोकन गरी आवश्यक निर्देशन दिइसक्नुभएको छ ।