विदुर । जिल्ला अस्पताल त्रिशूलीमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिने भएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएपछि चिकित्सकको लापरबाहीको आरोप लगाउदै बिरोध चर्किएको थियो । उक्त घटनालाई लिएर आज जिल्ला प्रहरी कार्यालयमा बसेको सरोकारवाला सम्मिलित बैठकले पीडित परिवारलाई क्षतिपूर्ति र घटनाको सम्बन्धमा छानबिन गर्न समिति गठन गर्ने समझदारी भएको हो ।

उक्त सहमतिसगै बिहानदेखि अबरुद्ध गल्छी–त्रिशूली–स्याफ्रुबेसी सडक मार्गको महादेवफाँटमा पु¥याएको अबरोध अपरान्हदेखि खुलेको छ । तीन बुँदे सहमतिमा ज्यान गुमाएकी सुत्केरीको नवजात शिशुको पालन–पोषण तथा अध्ययनको लागी सहयोग स्वरुप तारकेश्वर गाउँपालिकाले रु एकलाख, अस्पतालका कर्मचारीबाट रु पचास हजार र थप रकम जिल्ला प्रशासन कार्यालयको पहलमा जुटाइने सहमति भएको हो ।
यसैगरी, सामान्य अबस्थामा सुत्केरी भएकी महिलाको अत्याधिक रक्तश्रावको कारण ज्यान गुमाएकाले उनको उपचारमा संलग्न चिकित्सकको कमजोर भए–नभएको यथार्थता पत्ता लगाउन अस्पताल विकास समितिले छानबिनको लागी एक समिति गठन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

सहमति पत्रमा प्रजिअ सहित अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, मेडिकल सुपरिटेन्डन डा.रेमकुमार राई, मृत्तक गोमाको श्रीमान गोविन्द वस्ती, तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती लगायतले हस्ताक्षर गरेका छन् ।

सुत्केरी व्यथाले च्यापेपछि बुधबार जिल्ला अस्पतालमा भर्ना भएकी गोमाले बिहीबार बिहान छोरा जन्माएकी थिइन् । बच्चा जन्माउदाँ खुला भएको पाठेघर बन्द नहुदाँ अत्याधिक रक्तश्रावको कारण यहाँ उपचार हुन नसकेपछि उनलाई हेलिकोप्टर मार्फत शिक्षण अस्पताल महाराजगञ्ज पु¥याएपनि त्याहाँ पुग्नु अगावै मृत्यु भएको चिकित्सकले बताएका थिए ।
उनले जन्माएको शिशुको काठमाडौ स्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

कञ्चनपुर । साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । पन्तको २०७५ साल साउन १० गते हत्या भएको थियो । हत्या भएको एक वर्षसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।

एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहित एक दर्जन टोलीले अनुसन्धान गरिसकेका छन् । अनुसन्धानकै क्रममा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण भयो । तर, त्यसबाट हत्यारासम्बन्धी कुनै पनि सुराक पत्ता लाग्न सकेन ।

एक वर्षको अवधीमा प्रहरीले कुनै उपलब्धि हासिल गर्न नसक्नुको पछाडि प्रहरीकै लाबरबाही भएको आरोप लाग्दै आएको छ । त्यसो त घटनास्थलको संरक्षणदेखि मुचुल्का, शिलबन्दी र अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको छ । सुरुमै गरेको त्रुटीले प्रहरीले अहिलेसम्म बलात्कार र हत्यारा सम्बन्धी कुनै पनि तथ्य फेला पार्न सकेको छैन ।

अनुसन्धानका लागि कुनै प्रमाण फेला नपारेपछि प्रहरीले डीएनएलाई अनुसन्धानको पहिलो कडी बनायो । भिडलाई शान्त बनाउन र आन्दोलनलाई कम गर्ने उद्देश्यले तथ्य र प्रमाणमा भन्दा पनि हल्ला र आशंकाको भरमा अनुसन्धान अगाडि बढ्यो ।

यही क्रममा कतिपय निर्दोषलाई पक्राउ गरेर अपराधीकै रुपमा प्रस्तुत गरियो । त्यति मात्रै होइन, पटक पटक मन्त्रीहरुले नै अपराधी पक्राउ परेको दाबी गरे । एक दुई दिनमै अपराधी सार्वजनिक हुन्छ भन्दै प्रतिबद्धता समेत जनाए । तर, पक्राउ परेका सबै निर्दोष सावित भए । र, अपराधी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका मन्त्रीहरु आफ्नै प्रतिबद्धतामा चुके ।

प्रहरीले अनुसन्धानका क्रममा प्रदिप रावल र विशाल चौधरीलाई काठमाण्डौसम्म पुर्यायो । उनीहरुमाथि प्रहरी प्रमुखले नै सोधपुछ गरे । प्रहरीकै दवाबमा अपराध स्वीकार्न लगाइए पनि अन्ततः डीएनए परीक्षणमा उनीहरु पनि निर्दाेष देखिए ।

घटनाको अनुसन्धानमा राज्यको जनशक्ति मात्रै होइन लगानी समेत खेर गइरहेको छ । घटनाको अनुसन्धानका लागि अहिले पनि सीआईबी सहितको टोलीले जिल्लामा बसेर काम गरिरहेको छ । अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको र पुराना प्रमाणहरुलाई रुजु गर्ने काम भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश कुमार आचार्य बताउनुहुन्छ ।

कहाँ–कहाँ चुक्यो प्रहरी ?

निर्मलाको घटनामा घटनास्थलको संरक्षणमा मात्रै होइन, हतारमा अभियुक्त खडा गर्नेदेखि माथिल्लो निकायमा सूचना दिने कुरामा समेत प्रहरी चुकेको देखिन्छ ।

बम दिदीबहिनीको अनुसन्धान :

प्रहरीले पहिलो अनुसन्धान निर्मला हराएको घरबाट सुरु गर्नुपर्ने थियो । तर, त्यो भएन । बरु बम दिदीबहिनीकै संरक्षणमा देखियो प्रहरी । निर्मलाको साइकल नजिकै भेटिएको अम्बाको रुख काटिँदा समेत त्यसबारे कुनै अनुसन्धान भएन ।

पीडित परिवार र जनआक्रोशले बम दिदीबहिनीबाटै अनुसन्धान गर्न दवाब दिँदासमेत घटनाको एक महिनापछि मात्रै उनीहरुलाई नियन्त्रणमा लिइयो । यद्यपी अनुसन्धानका क्रममा कुनै संलग्नता नदेखिएपछि उनीहरु रिहा भए । तर, उनीहरुमाथि लागेको आरोपको कारण प्रहरी बनेको छ । घटनाकै दिन प्रहरीले घरभित्र हेरिदिएको भए आफूहरुमाथि आक्षेप नलाग्ने उनीहरुको भनाइ छ ।

निर्मला हराएकै दिन पीडित परिवारले बमको घरमा खोजतलासका लागि आग्रह गर्दा प्रहरीले आनाकानी गर्नु, शव भेटिएपछि बम दिदीबाहिनीलाई सोधपुछ तथा अनुसन्धानको दायरामा नल्याउनु प्रहरीको गल्ती देखिन्छ ।

नक्कली अभियुक्त खडा :

घटनाको गहिरो अनुसन्धान गरेर वास्तविक अपराधीलाई बाहिर ल्याउनुको साटो प्रहरीले नक्कली अपराधी खडा गर्यो । जसले गर्दा परिस्थितिले अर्कै रुप लियो । यसले प्रहरीलाई अनुसन्धानमा बाधा मात्रै पुगेन, जनविश्वास समेत गुमाउनु पर्यो ।

हुन त मानसिक रुपमा अस्वस्थ दिलिपसिंह विष्टलाई अभियुक्त करार गर्ने प्रहरी अधिकृतमध्ये दुई जना बर्खास्त भएका छन् । तर, उनीहरुले किन यसो गरे ? भन्ने आमप्रश्नमा न प्रहरीले जवाफ दिन सकेको छ, न त सरकारले नै ।

हल्लाको भर :

निर्मलाको घटनामा पटक पटक गल्ती गर्दै गएको प्रहरीले हल्लाको पछाडि लागेर फेरि अर्को गल्ती गर्यो । दिलिपसिंहलाई सार्वजनिक गरेसँगै बढेको जनआक्रोश र भिडको पछाडि लाग्दा प्रहरीले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकेन । भिडले जे भन्यो, प्रहरीले त्यही गर्दै गयो । जनआक्रोशले डीएनएलाई ठोस प्रमाण मान्दै तत्कालीन एसपीसहितकोे डीएनए जाँच गर्न भनेपछि अहिले प्रहरीले पनि त्यसैलाई अनुसन्धानको प्रमुख आधार बनाएको छ ।

अनुसन्धानको पाटो:

प्रमाण मेटेको आरोप लागेका प्रहरीमाथि कारबाही गर्न सकेको भए त्यसबाट घटना सम्बन्धी केही आधार फेला पर्ने धेरैको विश्वास थियो । तर त्यो पनि हुन सकेन । प्रमाण मेटेको आरोपमा ८ जना प्रहरी विरुद्ध उजुरी दिएकी निर्मलाकी आमा दुर्गादेवीले तीन महिनापछि उजुरी फिर्ता लिएपछि घटनाले नयाँ रुप लियो ।
त्यसो त पछिल्लो समय कारबाहीमा परेका प्रहरीसँग दुर्गादेवीको हिमचिम बढेको छिमेकी बताउँछन् ।

छिमेकी र अधिकारकर्मीको सहयोगमा उजुरी दिएकी दुर्गादेवीलाई धेरैले तिनै प्रहरीको परिवारसँग गाडीमा सँगै हिँडेको देखेका छन् । प्रहरी परिवारलाई देखेर दया लागेको बताउने उनले प्रलोभनमा परेर उजुरी फिर्ता लिएको धेरैको आशंका छ ।

घटनाको सुरुदेखि नै प्रहरीमाथि आशंका गर्दै आएकी दुर्गादेवीले एकाएक अदालतमा आफ्नो बयान फेर्नुको कारण मात्रै खोज्ने हो भने पनि अपराधी पत्ता लाग्ने आम बुझाइ छ ।

बोल्दैनन् छिमेकी :

निर्मला हराएका बेला दुर्गादेवीलाई सहयोग गर्ने छिमेकीसँग अहिले उनको सम्बन्ध चिसिएको छ । अदालतमा प्रहरीको पक्षमा उभिंदै उनले डीएनए रिपोर्टमा निर्दोष सावित भएका दिलिपसिंह विष्टमाथि नै शंकाको सुई घुमाएपछि अहिले छिमेकी सबै रुष्ट भएका स्थानी देवीदत्त भट्ट बताउनुहुन्छ । प्रहरीसँगको मिलेर दुर्गादेवीले फेरि दिलिपलाई फसाउन खोजेको धेरैको आरोप छ ।

परिवार सामान्य दैनिकीमा फर्कँदै :

एक वर्षसम्म हत्यारा पत्ता नलागेपछि पीडित परिवार अहिले आफ्नो दैनिकीमा फर्किएर घटनालाई भुल्ने प्रयास गरिरहेका छन् । अरु दुई छोरीको भविष्य हेर्दै दुर्गादेवीले राहत बुझ्नुभएको छ । यसअघि, भारतबाट सामान बोकेर गुजारा गर्दै आउनुभएकी उहाँ निर्मलाको घटनापछि भने घरमै बस्दै आउनुभएको छ ।

एक महिनादेखि उहाँ भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आउनुभएको छ । नगरपालिकाले दैनिक ४ सय रुपैयाँका दरले डोरहाजिरमा काम दिएपछि नियमित काममा फर्किएर घटनालाई भुल्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

हेटौडा । वित्तीय संघीयता कार्यान्वयनको पहिलो वर्ष चुनौतीपूर्ण रूपमा बितेको छ । राजस्व संकलन र बाँडफाँडको बिषयलाई लिएर प्रदेश र स्थानीय तहबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
बितेको आर्थिक वर्ष २०७५-७६ मा प्रदेश–३ का स्थानीय तहले राजस्व संकलन र वितरणमा मनोमानी गरेसँगै सफल आर्थिक प्रणाली विकास गर्न प्रदेश सरकारलाई चुनौती थपिएको छ । प्रदेश–३ का ११९ वटा स्थानीय तहमध्ये ४९ वटा स्थानीय तहले राजस्व बाँडफाँडको रकम नै पठाएनन् । ४९ वटा स्थानीय तहमध्ये केहीले आफ्नो तहमा कुनै पनि कर नउठेको भन्दै प्रदेश सरकारलाई जानकारी गराए पनि धेरैले अटेरी गरी विवरण नै पठाएनन् ।

ढुङ्गा गिट्टी बालुवाको कर, मनोरञ्जन कर र विज्ञापन कर संकलनको जिम्मा पाएको स्थानीय तहले प्रदेश आर्थिक ऐनमा व्यवस्था भएअनुरुप ६० प्रतिशत आफूले राखी ४० प्रतिशत मासिक रुपमा प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गरिदिनुपर्नेछ । मासिक कर संकलनको विवरण पनि मासिक रुपमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउनुपर्ने आर्थिक ऐनमा उल्लेख छ । तर बितेको आर्थिक वर्षमा प्रदेशका एक सय १९ वटा स्थानीय तहमध्ये अधिकांशले मासिक विवरण पठाएनन् । मासिक विवरण नपठाए पनि केही स्थानीय तहले आर्थिक वर्षको अन्तसम्ममा एकमुष्ट राजस्व बाँडफाँड गरेर भने पठाए । ४९ वटा स्थानीय तहले भने कुनै विवरण नै नपठाएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले रोयल्टीसहित बितेको आबमा ९ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सोही हाराहारीमा राजस्व भने संकलन भएको छ । केही स्थानीय तहले अझै राजस्वको विबरण पठाइरहेकाले राजस्व संकलन बढ्ने अनुमान गरिएको छ । असार ३२ गतेसम्मको तथ्यांकअनुसार आन्तरिक आम्दानीतर्फ प्रदेश सरकारले झण्डै साढे आठ अर्ब संकलन गरेको छ । बितेको आर्थिक वर्षको अन्तिम दिन असार ३२ गतेसम्ममा प्रदेशको खातामा संघीय सरकारले पठाएको मूल्य अभिवृद्धि कर, अन्तशुल्क, खानी रोयल्टीसहित आन्तरिक आम्दानीसमेत गरी कुल १६ अर्ब ७५ करोड ५४ लाख ९९ हजार रुपैयाँ जम्मा भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

आन्तरिक आम्दानीतर्फ प्रदेशले घरजग्गा रजिष्ट्रेशनतर्फ सबैभन्दा बढी ३ अर्ब ९३ करोड १३ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै सवारी करबापत ३ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ । ढुङ्गा गिट्टी बालुवाबाट ५२ करोड ४९ लाख रुपैयाँ प्रदेशले प्राप्त गरेको छ । विज्ञापनकरबापत पाँच करोड ९९ लाख रुपैयाँ प्रदेश सरकारलाई प्राप्त भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रदेश सरकारलाई संघीय सरकारमार्फत मूल्य अभिवृद्धि कर बाँडफाँडबाट ५ अर्ब २४ करोड ४० लाख रुपैयाँ प्राप्त भएको तथ्यांक छ । अन्तशुल्क बाँडफाँडबाट १ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ प्रदेश सरकारले प्राप्त गरेको छ ।
राजस्व विवरण र बाँडफाँडको रकम पठाउन अटेर गर्ने स्थानीय तहलाई पटक पटक फोन तथा पत्रमार्फत ताकेता गरिरहिएको आर्थिक मामिला तथा योजना मन्त्रालयको राजस्व शाखाका अधिकृत रमेश श्रेष्ठले जानकारी दिए । “असारको अन्तिमतिर हामीले सबै स्थानीय तहलाई फोनमार्फत सचेत गरायौं, त्यसपछि पत्र पनि पठाएका छौं, तै पनि अझैसम्म सबैले राजस्व बाँडफाँड गरी प्रदेश सञ्चित खातामा रकम जम्मा गरिदिएका छैनन्,” श्रेष्ठले भने । स्थानीय तहले उठाएको करको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बाँड्नुपर्ने आर्थिक ऐनमा व्यवस्था छ ।

घरजग्गा रजिष्ट्रेबशन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर सम्बन्धित स्थानीय तहले संकलन गर्ने उल्लेख भए पनि सम्बन्धित स्थानीय तहको साधन स्रोत, प्रविधि र जनशक्तिको व्यवस्था नभएसम्मको लागि केन्द्र सरकारले तोकेको सम्बन्धित मालपोत कार्यालयले नै राजस्व संकलन गरिरहेका छन् । घर जग्गा रजिष्ट्रेशनको शुल्क भने बाँडफाँड भएको छ । संकलित रकमको ६० प्रतिशत स्थानीय तहमा र ४० प्रतिशत स्थानीय तहमा हुने गरी मालपोत कार्यालयले नै बाँडफाँड गरी प्रदेश सरकारको खातामा जम्मा गरिसकेका छन् । प्रदेश ३ मा २३ वटा मालपोत कार्यालयले घरजग्गा रजिष्ट्रेशन शुल्क उठाइरहेका छन् ।

मनोरञ्जन कर उठाउने जिम्मा पनि पाएको स्थानीय सरकारले त्यसतर्फ भने झनै कम ध्यान दिएको पाइएको छ । चलचित्र घर, भिडियोे घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, नाटकघर, फनपार्क, बाल उद्यान, दोहारी साँझ, डान्सबार, क्यासिनो, फुटसल आदिबाट कर संकलन गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई दिइएकोमा गत आर्थिक वर्षमा १३ लाख ९९ हजार रुपैयाँ मात्र बाँडफाँडको रकम प्रदेशले पाएको छ ।

त्यस्तै सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्ड, साइनबोर्ड, ब्यानर जस्ता विभिन्न तरिकाले गरिने विज्ञापनबापतको कर उठाउने अधिकार पनि प्रदेश आर्थिक ऐनले स्थानीय तहलाई दिएकोमा त्यसतर्फ पनि स्थानीय तहले चासो दिएका छैनन् । विज्ञापन करबापत बितेको आबमा प्रदेशको भागमा करिब ६ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । १० वटा यातायात कार्यालयमार्फत सवारी कर भने प्रदेश ३ सरकार आफैंले उठाइरहेको छ । सवारी करबापतको रकम केन्द्र, प्रदेश र स्थानीय तहले ऐनमा तोकिएबमोजिम बाँडफाँड गरिरहेका छन् ।

खर्चमा कमजोर प्रदेश सरकार :
गत आर्थिक वर्ष २०७५-०७६ मा ३५ अर्ब ६१ करोड ५५ लाख रुपैया“को बजेट ल्याएको प्रदेश ३ ले ६० प्रतिशत मात्र खर्च गर्न सकेको छ । कुल बजेटमध्ये २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार रुपैया“ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले पु“जीगत खर्चका लागि २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैया“ विनियोजन गरेकोमा नौ अर्ब ५५ करोड २२ लाख रुपैया“ अर्थात ४७ प्रतिशत र चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार बिनियोजन भएकोमा ११ अर्ब १० करोड रुपैया“ अर्थात ८० प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार अनुसार प्रदेश सरकारको बजेटमध्ये सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट खर्च गर्न सकेको छ । मन्त्रालयले ८०.३५ प्रतिशत खर्च गरेको छ भने मुख्य न्यायधीवक्ताको कार्यालयले ६८.५३ प्रतिशत बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १८.९९ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ६२.२३ प्रतिशत, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयले ५८.१८ प्रतिशत बजेट खर्च गरेको उपाध्यायले जानकारी दिए ।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले ५७.२३ प्रतिशत, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३४ प्रतिशत बजेट खर्च गरेको जनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जम्मा २४.९३ प्रतिशत मात्र बजेट खर्च गरेकोमा प्रदेश व्यवस्थापिका सचिवालयलले ६०.५६ प्रतिशत खर्च गरेको तथ्यांकमा उल्लेख छ ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले अनुभवको कमी, दक्ष कर्मचारी तथा प्राविधिकको अभाव, आवश्यक कानुन तथा योजना कार्यान्वयन गर्ने इकाईं तल्लो तहसम्म स्थापना नभएको कारणले गत वर्षको बजेट खर्च कम भएको प्रतिक्रिया दिए । चालु आर्थिक वर्षमा बजेट खर्चको दर बढ्ने उनले दाबी गरे । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६-०७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याइसकेको खबर कारोबार दैनिकमा हेटौडाबाट केशव समर्पणले लेख्नुभएको छ ।

काठमाडौ । नागरिकको गोपनीयताको हक र सर्वोच्च अदालतको आदेशविपरीत सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने प्रावधानसहितको कानुनी मस्यौदा तयार पारेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को मस्यौदामा सरकारले नागरिकबारे हरेक सूचना अदालतको आदेशबिनै संकलन गर्न सक्ने प्रावधान छ।

मन्त्रालयमै छलफल चरणमा रहेको मस्यौदा मन्त्रिपरिषद् हुँदैसंसद्बाट जस्ताको तस्तै पारित भए दूरसञ्चार सेवा प्रदायकले सरकारलाई आवश्यक पर्दा दूरसञ्चार सेवा प्रयोग गरी जनताले उपभोग गरेको सूचना तत्काल उपलब्ध गराउनुपर्नेछ।

विधेयकको मस्यौदामा नागरिकको टेलिफोन विवरण उपलब्ध गराउन सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच हुने गरी संयन्त्र जडान गर्नुपर्ने प्रावधानसमेत छ। यो खबर आजको कान्तिपुरमा विजय तिमल्सिनाले लेखेका छन्।

प्रस्तावित विधेयकको दफा ७५ को १ मा भनिएको छ, ‘सरकारलाई आवश्यक परेको समयमा दूरसञ्चारको पूर्वाधार प्रयोग गरी नागरिकले उपयोग गरेको सूचना तत्काल उपलब्ध गराउनुपर्नेछ।’

सोही दफाको उपदफा २ मा भनिएको छ, ‘नागरिकको टेलिफोन विवरण उपलब्ध गराउन सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच पाउने गरी संयन्त्र जडान गर्न र सूचना पहुँच पाउने व्यवस्था तोकिएबमोजिम हुनेछ।’

विधेयकको मस्यौदामा उल्लेख भएका प्रावधान सर्वोच्च अदालतले केही वर्षअघि जारी गरेको परमादेशविपरीत पनि छ। सर्वोच्चले ०७३ माघ २१ गते गरेको परमादेशमा अदालतको अनुमतिबिना कुनै पनि व्यक्तिको कल डिटेल लिन नपाइने भनिएको छ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले अदालतको आदेशबिना कल डिटेल माग्ने र दिने दुवैलाई कारबाही गर्नुपर्ने आदेश दिएको थियो।

जिल्ला अस्पताल त्रिशूलीमा चिकित्सकको लापरबाहीको कारण सुत्केरी महिलाको मृत्यु भएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ५ स्थित गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण आज मृत्यु भएको हो । बुधबार (हिजो) अस्पताल भर्ना भएकी ३५ वर्षीया वस्तीले आज बिहान सामान्य अवस्थामा छोरा जन्माएकी परिवारले जनाएका छन् ।

बच्चा जन्माउदा खुला भएको उनको पाठेघर बन्द नभई अत्याधिक रक्तश्रावले जोखिममा परेपछि उपचारको लागी हेलिकोप्टर मार्फत काठमाडौको शिक्षण अस्पताल पु-याउदाँ मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले जन्माएको छोराको स्वासप्रश्वास सन्तुलन नभएपछि त्यसलगत्तै चिकित्सकले बच्चालाई थप उपचारको लागी काठमाडौ पठाएको थियो समयमा उपचार नपाउँदा नुवाकोटमा सुत्केरीकाे ज्यान गयाे । बच्चा जन्माउदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पताल स्थित सुत्केरी कक्ष भित्रै अत्याधिक रक्तश्राव र अर्धचेत हुदाँ समेत चिकित्सकले ध्यान नदिदाँ उनको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।

सामान्य अबस्थामै बच्चा जन्माएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै वेवास्था गर्दा रक्तश्राव र अर्धचेत भएको एकघण्टा पछि मात्र थाहा पाएका थिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी सुत्केरीलाई जतिसक्दो चाडो काठमाडौ ल्याउनु पर्ने भएपनि नुवाकोट सुगम जिल्लामा पर्ने भन्दै सरकारीस्तरबाट हेलिकोप्टर उपलब्ध गराउन वेवास्था गर्दा निजीस्तरको हेलिकोप्टर मार्फत अस्पताल पु-याउन ढिलाई समेत भएको थियो ।

समयमै उपचार नपाएर सुत्केरी महिलाको मृत्यु भएपनि उनले जन्माएको शिशुको काठमाडौ स्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अबस्था सामान्य बन्दै आएको छ ।

टिमुरे । नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ । यस्तो परिचयपत्र लिनेमा जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक रहेको बताइएको छ ।

सीमाक्षेत्रका बासिन्दाले अध्यागमन कार्यालयबाट प्रदान गरेको परिचयपत्रका आधारमा रसुवागढी नाकाबाट निर्बाध रूपले परिचयपत्र देखाई केरूङसम्म आवतजावत गर्नाका साथै केरूङमा बसेर व्यापार व्यवसाय समेत गरिरहेको अध्यागमन कार्यालयले जनाएको छ । परिचयपत्रको समयावधि एक वर्षसम्म बहाल रहने र एकएक वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको बताइएको छ ।

करीब चार वर्षअघि अध्यागमन कार्यालय स्थापनापछि रसुवागढी नाकाबाट १० हजार १९१ पर्यटक चीन प्रस्थान गरेको र १३ हजार ७० जना चीनबाट आएको बताइएको छ । बीसभन्दा बढी राष्ट्रका नागरिक ओहोरदोहोर गरेको बुझिएको छ । गत आर्थिक वर्षमा अध्यागमन कार्यालयले प्रवेशाज्ञा शुल्कवापत रु ८६ लाख ५३ हजार राजश्व असुली गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

काठमाडौ । त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेका गोपीबहादुर पाण्डेको घर भूकम्पले बस्न नहुने गरी भत्कियो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

घर भत्किपछि निजी आवास निर्माणार्थ सरकारले दिने अनुदानका लागि घरैमा आएका सर्वेक्षण टोलीले उनको घरको विवरण लिई फाराम भरे ।

तीन पटकसम्म पनि फाराम भर्दा नाम नआएपछि उनले पुनःनिर्माण प्राधिकरणविरुद्ध उजुरी हाले ।

काठमाडौ । नेपालगञ्ज उपमहानगर–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्बलका अध्यक्ष गोविन्द विकले संस्थाकी सविच गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरु गाउँ छाडेर बसाइँ सरेका छन् । गोविन्द कक्षा १० र गीता उच्च माविमा अध्ययनरत थिए ।

जिल्लास्तरीय किशोरी क्लबकी अध्यक्ष बबिता खत्रीले पद सम्हालेको एक साता नबित्दै बिहे गरिन् । उनी १८ वर्षकी छिन् ।

गत वैशाखमा बैजनाथ गाउँपालिका–६ की १५ वर्षीय जानकी पुन र १६ वर्षी हीराबहादुर पुनले भागी विवाह गरे । कक्षा ९ मा अध्ययनरत जानकी किशोरी क्लबमा बसेर बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएकी थिएन् ।

तीन दिनपछि उनीहरुलाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइयो । गत असारमा बैजनाथ–३ की १५ वर्षीया बालिकाले आफूखुसी बिहे गरिन् । यो समाचार कान्तिपुर दैनिकमा रुपा गहतराजले लेखेका छन् ।

काठमाडौ । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमान अर्धशतकको सहयोगमा नेपालले बुधबार मलेसियालाई सात विकेटले हराएर आईसीसी टि२० विश्वकप छनौट (एसिया फाइनल्स)मा पहिलो जित हात पारेको छ ।

एक दिनअघि कतारसँग चार विकेटले स्तब्ध भएपछि टि२० विश्वकपमा चयन हुने अन्तिम खुड्किलो ग्लोबल छनोटमा पुग्न नेपाललाई जित अत्यावश्यक थियो । सो जित नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा टिमको नेतृत्व सम्हालेका ज्ञानेन्द्रको विस्फोटक पालिले सम्भव भयो ।

सिङगापुरको इन्डियन एसोसिएन ग्राउन्डमा भएको खेल प्रभावित पारेपछि प्रति पालि नौ ओभरको भिडन्त भएको थियो । टस जितेर पहिले नेपालले मलेसियालाई पहिले ब्याटिङ गर्न लगायो । मलेसियाले निर्धारीत नौ ओभरमा सात विकेट गुमाएर ८३ रनको चुनौतीपूर्ण लक्ष्य राखेको थियो ।

प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्रले मात्र २१ बलमा ५१ रन बनाएपछि नेपालले छ बल बाँकी छँदै तीन विकेटको क्षतिमा ८६ रन बनाएर लक्ष्य हात पार्यो । टि२० अन्तर्राष्ट्रिय खेलमा लगातार कमजोर ब्याटिङ पनि ज्ञानेन्द्र टिममा स्थान नै खतरामा परिसकेको थियो । तर सहि समयमा असाधारण ब्याटिङ गर्दै ज्ञानेन्द्रले आप्mना आलोचकलाई चुप पार्नुभयो । ज्ञानेन्द्रले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको आप्mनो पहिलो अर्धशतक नेपालको सबभन्दा तेज अर्धशतक भएको छ । उहाँले विनोद भण्डारीले यस महिना मलेसियाविरुद्ध २५ बलमा अर्धशतक बनाएर राखेको कीर्तिमान तोड्नुभएको हो । ज्ञानेन्द्र्रले २० बलमा अर्धशतक बनाउनुभएको हो । ज्ञानेन्द्रको पालिमा पाँच चौका र तीन छक्का सामेल थियो ।

ज्ञानेन्द्रको विस्फोटक पालिले नेपालले पहिलो विकेटमा ३२ बलमै ६६ रनको साझेदारी प्राप्त गरेको थियो । यो पनि नेपालका लागि टि२० अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि सर्वाधिक साझेदारी भएको छ । पछिल्लो खेलमा ज्ञानेन्द्र र पारस खड्काले पहिलो विकेटको लागि ४९ रन बनाएर राखेको कीर्तिमान आज भङ्ग भएको हो ।

मलेसियामा बलर मुहम्मद स्याहदातले ज्ञानेन्द्र, प्रदीप ऐरी (१४ बलमा १२ रन) र दिपेन्द्र सिंह ऐरी (४ बलमा २ रन)को विकेट लिएर नेपाललाई नतर्साएको होइन । स्याहदातले ज्ञानेन्द्र र प्रदीपलाई एकै ओभरमा आउट गर्नुभएको हो । तर विनोद भण्डार र शरद भेष्वाकरले थप विकेटको क्षति हुन दिनुभएन । विनोदले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाउनुभयो । विनोद आठ बलमा १३ र शरद दुई बलमा तीन रनमा अविजित रहनुभयो ।

यसअघि, मलेसियाका सइद अजिजले १५ बलमा ३० रन बनाएपछि मलेसियाको पालि गतिलो बनेको हो । अजिजको पालिमा पाँच चौका र एक छक्का सामेल थियो । वीरुनदिप सिंहले १७ बलमा एक चौका र एक छक्कासहित बनाएको २१ रन मलेसियको पालिमा अर्को उल्लेखलायक ब्याटिङ बन्यो ।

नेपालका तेज बलर सोमपाल कामीले पहिलो ओभरमा नै अनवर अरुदिन र सफिक सरिफलाई रनको खाता पनि खोल्न नदिएर आउट गरेपछि मलेसिया समस्यामा परेको थियो । सोमपालले अमिनुद्दिन राम्ली (५ रन)लाई पनि आउट गरेर सर्वाधिक तीन विकेट लिनुभयो । अन्य विकेटकर्तामा बसन्त रेग्मी (दुई विकेट) तथा सन्दीप लामिछाने र करण केसी (एक÷एक विकेट) हुनुहुन्थ्यो ।

आजको खेलमा ज्ञानेन्द्र मल्ल म्यान अफ दि म्याच बन्नुभयो । नेपालले शनिबार आप्mनो तेस्रो खेल कुवेतविरुद्ध खेल्नेछ ।

ओखरपौवा । आगामी असोज महिनादेखि काठमाडौं उपत्यकाको फोहर सिसडोल ल्याण्डफिल साइटमा नफालिने भएको छ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा फोहर फाल्नका लागि पूर्वाधार तयार हुने भएकाले असोजदेखि सिसडोल क्षेत्रमा फोहर फ्याक्नु नपर्ने स्पष्ट पारेको छ ।

हाल लुम्बिनी–कोशी–न्यौपाने जेभीले बञ्चरे डाँडामा पूर्वाधार निर्माणको ठेक्का पाएर धमाधम काम गरिरहेका छन् । ‘छिटोमा भदौ ढिलोमा असोज महिनादेखि बञ्चरे डाँडामा फोहर फाल्नका लागि पूर्वाधार तयार हुन्छ, त्यसपछि सिसडोलमा फोहर फाल्नु पर्दैन’, शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दुवाडीले जानकारी दिए ।

मन्त्रालयले ३८ करोडको ठेक्का लगाएर बञ्चरे डाँडामा पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको हो । त्यसको शिलान्यास शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गरेका थिए । सिसडोलमा ४३२ रोपनी जमिनमा फोहर फालिँदै आएको छ । ३ वर्षका लागि भन्दै सिसडोलमा फोहर फाल्न सुरु गरिएको थियो । तर एक दशक भन्दा बढी समय बितिसक्दा समेत हालसम्म अर्काे विकल्प खोज्न सकिएको थिएन् । सिसडोलबासीले पटक पटक आन्दोलन गरेर फोहरको उचित व्यवस्थापन तथा उचित क्षतिपुर्ति र पुनस्थापनाको माग गर्दै आएका थिए ।

३ वर्षका लागि भन्दै सिसडोलमा फोहर फाल्न सुरु गरिएको भएतापनी एक दशक भन्दा बढी समय बितिसक्दा समेत हालसम्म फोहोर फालिरहेको छ । फोहरको उचित व्यवस्थापन तथा उचित क्षतिपुर्ति र पुनस्थापनाको माग गर्दै सिसडोलबासीले पटक पटक आन्दोलन गर्दै आएतापनी सम्बन्धित निकायले चासो नदेखाउदा समस्या झान झान बिकराल हुँदै गएको स्थानियबासी गुनासो गर्दै आएका थिए। तर अब फोहोर नफालिने निर्णयले सबै स्थानिय बासी खुशी भएका छन ।

काठमाडौ । सरकारले ६२ हजार भूकम्पपीडितलाई अनुदान नदिने निर्णय गरेकाे छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत असार २१ सम्म सम्झौता गर्न नआउने र असार मशान्तसम्म पहिलो किस्ता नलिनेहरुको नाम लाभग्राहीको सूचीबाटै हटाएपछी उनिहरुले अनुदान नपाउने भएका हुन ।

प्राधिकरणका अनुसार लाभग्राहीको सूचीमा परे पनि ५७ हजार ३ सय ९ ले अनुदान सम्झौता गरेका थिएनन् । कूल लाभग्राही ८ लाख २६ हजार ९ सय ३३ भएकोमा ७ लाख ६९ हजार ६ सय २४ ले मात्र अनुदान सम्झौता गरेका थिए । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या भने ५ हजार ५ सय ४० रहेको छ । यी दुई थरी गरी ६२ हजार ८ सय ४० जनाको नाम लाभग्राहीको सूचीबाट हटाइएको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको जानकारी दिए ।

प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २१ असार २०७६ सम्मलाई तोकेको थियो । यस्तै, अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा ०७६ असार मसान्त तोकेको थियो ।

प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको अब अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कार्य स्थगित गर्न सबै निकायलाई निर्देशनसमेत दिएको छ ।

प्राधिकरणले यसरी अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिएको बताएको छ । जसअनुसार अनुदान सम्झौता गर्न छुटेका र पहिलो किस्ता लिन नआएकाहरुमध्ये कसैले पर्याप्त कारणसहित स्थानीय निकायमा निवेदन दिन सक्नेछन् र प्राप्त निवेदनको विश्लेषण गरी प्राधिकरणले आवश्यक निर्णय लिनेछ ।

विदुुर । नुवाकोटको शिवपुरी गाउँपालिका स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्रव राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए । सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला घरमा कोही नभएको समय पारी पीडक राईले बालिकालाई यौनदुव्र्यवहार र करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो ।

उहाँका अनुसार घटनाको भोलिपल्ट शनिबारका दिन पनि नौ वर्षीया बालिका आफ्नो घर नजिकै खेल्न जाने क्रममा बाटोबाट तानेर बारीमा लगी यौन दुव्यवहार गरेका थिए । पीडित दुवै बालिका दिदीबहिनी रहेका प्रहरीले जनाएको छ । पीडक राईले दुवै बालिकामाथि गरेको यौन दुव्र्यवहारका बारेमा राति ती बालिकाले सुत्ने क्रममा आमालाई घटनाका बारेमा भनेपछि पीडितपक्षले प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिनुभयो ।