काठमाडौ । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

बेत्रावती । नौकुण्ड गाउँपालिका–१, थाङदोरमा निर्माण भइरहेको फलाखुखोला जलविद्युत् आयोजनाको कामले तिहारपछि निरन्तरता पाउने भएको छ ।

वर्षाको कारण असार अन्तिमदेखि आयोजनाको निर्माण कार्य रोकिएको थियो । वर्षाको समयमा काम गर्न नसकिने भन्दै चिनियाँ कामदार फर्किएपछि आयोजनाको काम रोकिएको हो ।

१४.७ मेगावटको आयोजनाको ३० प्रतिशत काम सकिएको छ । डेड वर्षभित्र निर्माण कार्य सकाउने आयोजनाले जनाएको छ । यो आयोजना चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्वाइन वक्र्स कम्पनी लिमिटेड (सीडब्लूटीडब्लू) ले निर्माण गरिरहेको छ ।

आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरेसँगै संरचना निर्माणको काम अघि बढाएको बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ ।

यार्सामा हेडवक्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ । आयोजनाको लागत दुई अर्ब ४० करोड रुपैयाँ रहेको छ । दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहने आयोजनाले जनाएको छ । जसमा तीन सय मिटर टनेल निर्माण भइसकेको छ ।

आयोजनाको सुरक्षाको लागि नेपाली सेनाको कालीजंग गणको क्याम्प राखिएको छ ।

भोजपुर, रौतहट, सप्तरी,बारा र नवलपरासी (पूर्व)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
भोजपुर, हतुवागढि गाउँपालिका-५ होम्ताङस्थित सडकमा को.२ ह ७६८६ नम्बरको टेम्पु अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका टेम्पुमा सवार हतुवागढि गाउँपालिका-४ खैराङ बस्ने मिलन राईकी छोरी ८ वर्षीया गुराँस राईको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान अस्पताल लगिएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा ग.१ ख ६१०७ नम्बरको बस र बिआर ०५ एबि ८०५५ नम्बरको कार एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा कारमा सवार भारत पूर्वी चम्पारण रक्सौल बस्ने २५ वर्षीय सागर कुमारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको चपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिनुका साथै फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, खड्क नगरपालिका-८ बिसनपुर चौकस्थित सडकमा बा.६८ प ६८८७ नम्बर र ज.६ प ६८५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा बा.६८ प ६८८७ नम्बरमा सवार सुरुङगा नगरपालिका-१ पिपरा बस्ने २७ वर्षीय अरबिन्द चौधरी र ज.६ प ६८५३ नम्बरको मोटरसाइकलमा सवार खड्क नगरपालिका-६ बिरपुर बस्ने २८ वर्षीय अनबारुल अनसारीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।

बारा, बारागढी गाउँपालिका-५ स्थित सडकमा ना.३९ प २४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरुषको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-१६ स्थित सडकमा ना.७ ख ५८१५ नम्बरको बस र लु.२ च ६०७० नम्बरको बोलेरो गाडी एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका हाल नाम थर, वतन नखुलेका बोलेरो गाडीका चालकको मध्यबिन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो गाडीमा सवार हाल नाम थर, वतन, नखुलेका व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिन्धुली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज वर्तमान राई पक्राउ परेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बख्खरमा घरबाटै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरेर बिजुली प्रवाहलाई उच्च प्राथमिकता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बेला फूलचोकीमा रहेको कम्युनिकेशन टावर र भट्टेडाँडामा रहेको राडार स्टेशनमा निरन्तर विद्युत प्रवाह जरुरी रहेकाले उच्च प्राथमिकता दिएर विद्युत आपूर्ति गर्न विमानस्थलले प्राधिकरणलाई आग्रह गरेको हो ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म बिजुली पुग्ने नयाँ बानेश्वर र चावहिल फिडरको डेडिकेटेड लाइनलाई उच्च प्राथमिकतामा राख्न पनि विमानस्थलले अनुरोध गरेको छ ।

२५ गते शनिबार चिनियाँ राष्ट्रपति नेपाल आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका बेला कुनै कमजोरी नहोस् भनेर सरकारले सबैजसो क्षेत्रको सेवा चुस्त बनाउने कोसिस भैरहेको जनाएको छ ।

टिमुरे । रसुवागढी नाकाबाट निर्यात गर्न सकिने २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस गरिएको छ ।

नाका सञ्चालनमा आएको पाँच वर्ष बितिसक्दा पनि सामग्री निर्यात हुन नसकेपछि प्रक्रिया अघि बढाइएको हो । रसुवागढी नाकाबाट अहिले वनजन्य सामग्री मात्रै निर्यात हुँदै आएको छ ।

चीनले आफ्नो देशमा लैजान सकिने नेपालमा उत्पादन हुने कृषि सामग्रीको विवरण मागेपछि प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले विवरण तयार पारेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाएको छ ।

कार्यालयले यो दोस्रो पटक सिफारिस गरेको हो । यसअघि कार्यालयले ५२ प्रकारका सामग्री निर्यात गर्न सकिने भन्दै विवरण पठाएको थियो । त्यसमा चिनियाँ पक्षले घटाउन आग्रह गरेपछि २५ मा झारिएको हो ।

कार्यालयले सिफारिस गरेको कृषि सामग्रीहरूमा आँप, अकबरे खुर्सानी, अनार, अलैंची, बन्दा, बेसार, भन्टा, भिन्डी, भुइँकटर, चुकन्दर, धनिया, गाँजर, गोलभेंडा, हरियो मकै, करेला, केरा, खर्बुजा/तर्बुजा, सुकेको खुर्सानी, लप्सी, लिची, मेवा, रुखकटर, स्कुस, सुपारी र टिमुर रहेको छ ।

दैनिकरूपमा सयौँका संख्यामा मालबाहक गाडीहरू सामग्री लिनका लागि सीमा क्षेत्रमा खाली नै जाने गरेकोले यसको सदुपयोग गर्न सकिने वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताउनुभयो ।

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दसैं तिहार तथा छठ पर्वको बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुल्ला रहने भएको छ ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुल्ला राख्ने व्यवस्था मिलाएको आयोगका सचिव वेद भट्टराईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले पर्वका अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

सल्यान । बालविवाह गराइएको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुलाह दुलहीसहित उनीहरुका आमाबुवा र पण्डित रहेका छन् । बालविवाह हुँदै गरेको गोप्य सुचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्ध कुमाख गाउँपालिका ४ चाँदेकरञ्जीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसार १९ वर्षीय वेहुला र १९ बेहुलीसहित बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, बेहुलीका बुवा रत्न बहादुर रावत र कलौटी रावत छन् । यसैगरी जाजरकोट कुसे गाउँपालिका ९ का पण्डित २५ वर्षीय नविन आचार्य पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको स्थानबाट पक्राय गरी शुक्रबार सार्वजनीक गरेको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खटिवडाले भने 'हामीले उनीहरुलाई दुलाहाको घरमा विवाह समारोह भइरहेको समयमा पक्राउ गरेका हौं ।' बालविवाह गर्ने र गराउने गैरकानुनी त छ नै तर यसले पार्ने सामाजिक, आर्थिक र स्वास्थ्यको प्रभावका बारेमा सबै सचेत हुन आवश्यक भएको उनले बताए ।

बालविवाह रोक्न सचेतनामा विशेष जोड दिएको बताउँदै डिएसपि खतिवडाले सचेतिकरणको लागि पनि उनीहरु माथि कारवाही अघि बढाएको बताए ।

तस्वीर साभार नयाँ पत्रिका दैनिक ।

काठमाडौ । नेपाल टेलिकमले नेपालीहरुको चाड दशैँकाे उपलक्ष्यमा कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरु छन् । यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ गतेदेखि नै लागू भएका छन् ।

फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । टेलिकमले अर्को सूचना जारी नगरेसम्म यो अफर रहिरहनेछ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् ।

पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट पनि कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ ।

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

त्यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइएको छ । यो पनि अर्काे सूचना जारी नभएसम्म रहने छ ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

रिचार्जमा बोनस : जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस पनि पाइनेछ । विजयादशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस (MPoS) बाट रिचार्ज गर्दा बोनस पाइनेछ । याे योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

तर ५०, १०० र २०० रुपैयाँकाे को बोनस ३ दिनभित्र र ५०० र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट १० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा माथिकाे रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।

महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।

गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिए । सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।

संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनानमा दिएका थिए ।

महराल बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गएको महराका सञ्चारविज्ञ मल्लले जानकारी दिए । डेरा पाएपछि सरकारी निवास पनि छाडिनले उनले बताए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । बा.२ ख ५९३६ नं को मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका २८ वर्षका तामाङलाई जिल्ला अस्पताल त्रिशूली लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का उत्तम तामाङ तथा उतरगया गाउँपालिका–१ का देव तामाङ र चन्दा तामाङलाई उपचारको लागी ट्रमा सेन्टर काठमाडौ पठाइएको छ ।

प्रहरीको अनुसार उनीहरु चढेको बा.६३ प ४३४ नंम्बर र ग.७ प ८१३८ नम्बरको मोटरसाइकललाई मिनीट्रकले गल्छी–देवीघाट सडक खण्डको सिमखेत स्थित घुम्तीमा ठक्कर दिएको हो ।

रातमाटे । नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माणाधीन ४०० केभीको विद्युत् प्रसारण लाइन निर्माणका लागि सरकारले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आयोजनाका लागि आवश्यक पर्ने साविक रातमाटे गाविसको वडा नं. ६ र ९ का जग्गाधनीहरूको जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको हो ।

आयोजना निर्माणका लागि जग्गा आवश्यक परेकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ बमोजिम बेलकोटगढी नगरपालिका–७ (साविक रातमाटे गाविस वडा नं. ६ र ९) को जग्गा अधिग्रहण प्रक्रिया थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ मा आयोजना निर्माणका लागि व्यक्तिको जग्गा आवश्यक परेमा त्यस्ता जग्गाहरू अधिग्रहण गर्नुपर्ने प्रावधान छ ।

नियमानुसार १९३ जग्गाधनीको नाम सार्वजनिक गरेको प्रशासनले ३५ दिनभित्र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा मुआब्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नियमानुसार मुआब्जाका लागि दाबी नगरेमा कानूनअनुसार हुने पनि कार्यालयले प्रष्ट पारेको छ ।

बेलकोटगढी नगरपालिका–७ मा निर्माणाधीन अवस्थामा रहेको आयोजना ४०० केभी क्षमताको हुनेछ ।
यो पनि पढ्नुहोस आयो अमेरिकाको ५१ अर्ब लगानी, सडकसँगै ४ सय केभीको ट्रान्समिसनलाइन बन्ने

विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै प्रसारण लाइन निर्माण गरिरहेको छ । यही योजनाअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले नुवाकोटमा प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

विद्युत प्रसारण लाइन र सडक योजनाका लागि अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्जसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । यो परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।

यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ । साथै विभिन्न स्थानमा सब–स्टेशन पनि बनाइने छ । यो प्रसारण लाइन नेपाललाई यहाँ उत्पादित जलविद्युत् भारतलगायतका देशमा निर्यातको मार्ग दिनेछ । आयातमा पनि यसले बाटो खोल्नेछ ।