शेरबहादुर देउवालाई टक्कर दिंदै प्रकाशमानले दिए कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी

काठमाडौं ।

पार्टी सभापती र संसदीय दलको नेता दुवै पद ओगट्न खोजेपछि शेरबहादुर देउवालाई टक्कर दिंदै पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार प्रस्तावक र मानबहादुर विक समर्थक छन्, भने सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम देखिएका छन् ।

कम्युनिष्टहरुको बाहुल्यता रहेको संसदमा प्रमुख विपक्षीको सशक्त भूमिका निर्वाह गर्न सशक्त उम्मेदवार आवश्यक परेकाले उम्मेदवार बनेको सिंहले बताए ।

कांग्रेस संसदीय दलका नेताका लागि भोली नेपाली काँग्रेसले चुनाव गर्दैछ ।

अर्बौ भ्रष्टाचार अभियुक्त चुडामणि शर्मालाई विशेष अदालतले मागेको ४५ लाख इन्भेस्टमेन्ट बैंकले तिर्यो

काठमाडौं ।

अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको कयौं काण्डमा प्रमाण बाहिर आइसकेका भ्रष्टाचारीका पर्याय बनेर चिनिएका चुडामणि शर्मालाई विशेष अदालत काठमाडौंले ४५ लाख धरौटीमा छाडेको छ ।

४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले मात्र ४५ लाख धरौटी मागेपछि उनि तत्काल धरौटि तिरेर छुटेका हुन् ।

भ्रष्ट शर्माको ४५ लाख तिरिदिने ग्यारेन्टी इन्भेस्टमेन्ट बैंकले गरेपछि उनले छुटकारा पाएका हुन् ।

४ करोड २९ लाख ५४ हजार १ सय २४ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियारले १५ माघमा शर्माविरुद्ध विशेष अदालतमा मुद्दा हालेपनि अदालतले भने दाबी भन्दा ज्यादै न्युन धरौटि मागेपछि उनि एकदिनपनि जेल नबसी घर फर्किएका छन् ।

शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ । यो मुद्दामा उनले अर्बौं रुपैयाँ व्यापारीबाट बुझेर राज्यलाई घाटा पारेको दर्जनौं प्रमाणहरु बाहिर आइसकेका छन् ।

विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ११६ रनले पराजित

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल ११६ रनले पराजित भएको छ ।

जिम्बाब्वेले दिएको लिएको ३८१ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा पूरै ओभर खेल्दै मात्र २६४ रन बनाउँदा पराजित हुन पुग्यो ।

टेस्ट र वान डेमा अनुभवी जिम्बाब्वेलाई नेपालले ६ विकेटको क्षतिमा ३८० रनमा रोकेपनि जित्न सकेन ।

बुलाबायोमा टस जितेको जिम्बावेले ६ विकेट गुमाई ३ सय ८० रन बनाएको थियो । नेपालले खर्चेको यो अहिलेसम्मकै सवैभन्दा बढी रन हो । जिम्बावेबाट ब्रेन्डन टेलर र सिकन्दर राजाले शतक बनाएका थिए । नेपालका बलरहरु खासै चल्न नसक्दा नेपालले ठूलो लक्ष्य पाएको थियो ।

जिम्बाब्वेका ब्याट्सम्यानका सामू बलरहरु निरीह हुँदा विश्वकप छनोटको पहिलो खेलमा नेपाल ११६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो ।

नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर दिलिप नाथ मात्र २ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

खड्का ४० रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ज्ञानेन्द्रसँग ३५ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत २३ रनमा आउट भए ।

नेपालले थप १२ रन जोड्दा ज्ञानेन्द्र पनि आउट भए । उनले व्यक्तिगत ३२ रन जोडे ।

पाँचौं विकेटका लागि शेरद भेषावकर र आरिफ शेखले पारी सम्हाल्ने प्रयास गरे । ७३ रनको साझेदारी गरेका शरद ५२ रन बनाएर आउट भए ।

रोहितकुमार पौडेलले आरिफसँग ५९ रनको साझेदारी गरे । रोहित ३० रनमा आउट भए । नेपालले थप चार रन जोड्दा आरिफ पनि अर्धशतक बनाएर पभेलियन फर्किए । बसन्त रेग्मीले २ रन जोडे । सोमपाल कामी १२ र सन्दिप लामिछाने ५ रनमा अविजित रहे ।

नेपालले टेष्ट राष्ट्रसुँग ५० ओभर पुरै खेल्नु र २६४ रन बनाउन सकारात्मक हो तर, ३८० रनको विशाल लक्ष्य पछ्याएको टोलीका लागि यो पर्याप्त रहेन ।

विश्वकप छनोट खेल्दै गर्दा नेपाली टोलीको मुख्य स्ट्रेन्थका रुपमा बलिङलाई मानिएको थियो । तर, जिम्बाब्वेका ब्याट्सम्यानहरुका सामू नेपाल बलर निरिह देखिए ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेन्डन डेलर र सिकन्दर राजाले नेपालविरुद्ध शतक हाने ।

जिम्बाबेले बनाएको ३८० रन यो २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको ठूलो स्कोर हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो ।

यसअघि विश्वकप छनोटका लागि हुने प्रतियोगिताको नाम आईसीसी ट्रफी भनिन्थ्यो ।

घरेलु टोलीको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि केफा झुवाओ र सोलेमान मियरले ७७ रनको साझेदारी गरे । झुवाओ व्यक्तिगत ४१ रनमा आउट भए ।

हृयामल्टन मास्काजाले १७ रनमा आउट भए । तेस्रो विकेटका रुपमा मियर आउट हुँदा जिम्बाब्वेको स्कोर ११३ रन थियो । तर, चौथो नम्बरमा आएका ब्रेन्डल टेलरले क्रेज एर्विनसँग मिलेर ७७ रनको साझेदारी गरे । एर्विन ३४ रनमा आउट हुँदा टिमको स्कोर २०० रन दियो र १९ ओभर खेल बाँकी थियो ।

तर, सिकन्दर राजाले टेलरसँग आक्रकम पारी खेले । दुबैले १७२ रनको साझेदारी गरे । ४९ औं ओभरमा सोमपालले दुबैको विकेट लिए, जतिबेला दुबैले शतक हानिसकेका थिए । सिकन्दर राजाले ८० बलमा १२३ रन बनाए भने टेलरले १०० रन बनाए ।

पेट्रोलको भाउ घट्यो

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ ।

निगम संचालक समितिको आइतबार बसेको बैठकले साँझ मुल्य घटाउने निर्णय गरेको हो । नयाँ दर अनुसार अव उपभोक्ताले एक लिटर पेट्रोलका लागि एक सय ३ रुपैयाँ प्रति लिटर तिर्नुपर्नेछ ।

‘पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घटाइएको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने । पेट्रोलमा मुल्य घटेपनि डिजल, खाना पकाउने ग्याँस, हवाइ इन्धन, मट्टितेलमा भने मुल्य समायोजन गरिएको छैन ।

निगमले मार्च एक तारिखमा भारतीय आयल निगम ९आइओसी० बाट प्राप्त मुल्य सूची अनुसार पेट्रोलको मुल्य घटाएको जनाएको छ। नयाँ मुल्य समायोजना पछि १५ दिनको नाफा निगमलाई १५ करोड रुपैयाँ नै हुनेछ।

‘नयाँ मुल्य सूची अनुसार अबको १५ दिनमा निगमको नाफा १५ करोड हुने देखिएको छ,’ गोइतले भने। भारतमा पेट्रोलीयम पदार्थको मुल्य केहि घटेकाले नेपालमा पनि घटाएको उनले बताए। नेपालले आइओसीबाट इन्धन आयात गरि बिक्री वितरण गरिरहेको छ। निगमले आइओसीको मुल्य सूची अनुसार २०७१ असोजदेखि मुल्य समायोजन गर्दै आएको छ ।

स्वचालित रुपमा मुल्य समायोजन हुने भनिएपनि भारतमा मुल्य घटेर आउँदा धेरै जसो समय निगमले यहाँ घटाउने गरेको छैन ।

अदालतको अवहेलना मुद्दामा कान्तिपुरका लगानिकर्ता र सम्पादकको बयान

काठमाडौँ ।

सर्वोच्च अदालतको अवहेलना मुद्दामा कान्तिपुर पब्लिकेसन्सका सञ्चालक तथा सम्पादकले अदालतमा बयान दिएका छन् ।

आइतबारबाट सुरु भएको अदालत बिरुद्धको अवहेलना मुद्दा मुद्दामा बयान सुरु भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा आज कान्तिपुरका निर्देशक स्वस्तिका सिरोहियाको मात्र बयान लिइएको छ।

कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान भने भोलि सोमबार हुने सर्वोच्च अदालतले जनाएको छ।

आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरू उठेपछि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अवहेलना मुद्दामा म्याद पाएको ७२ घण्टाभित्र अदालतमा स्वयं उपस्थित हुन कान्तिपुरलाई र आफूविरुद्धको समाचारमा रोक लगाउन प्रेस काउन्सिललाई आदेश गरेका थिए ।

त्यस अनुसार कान्तिपुर बयानका लागि शुक्रबार अदालत गएको थियो । तर समयअभाव भन्दै आइतबारलाई बोलाइएको थियो । आदेश जारी भएको ७ दिनपछि गत बुधबार कान्तिपुरविरुद्ध म्याद तामेल भएको थियो ।

प्रधानन्यायाधीशमा न्यायिक विचलन देखिएको भन्दै नागरिक अभियन्ता डा। गोविन्द केसीले २४ पुसमा उनको राजीनामाको माग राखी आमरण अनशन थालेपछि केसीविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै अदालतले नै प्रधानन्यायाधीशको नागरिकता र प्रमाणपत्र इजलासमा झिकाउन आदेश दिएको थियो ।

त्यसपछि पराजुलीको नागरिकताका सम्बन्धमा सोधखोज गर्दा उनका ५ थरी जन्ममिति फेला परेका समाचारहरू कान्तिपुरलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका थिए । कान्तिपुरमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै परेको मुद्दामा पराजुलीले गम्भीर किसिमको फौजदारी अभियोगमा झैं अदालतमा हाजिर हुने ७२ घण्टे पुर्जी जारी गरेका थिए ।

संघीय सांसदको शपथ आज,राष्ट्रियसभाका तीनजनाको सपथ अन्योल

काठमाडौं । संघीय संसदका सांसदको सपथ ग्रहण आइतबार हुँदैछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि बल्ल सांसदले सपथ लिन लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुनेछ ।

प्रतिनिधिसभाका सदस्यले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग शपथ लिनेछन् । त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो बैठक सोमबारका लागि आह्वान गरेपछि आइतबार सांसदको सपथ ग्रहण हुन लागेको हो । संघीय संसद सचिवालयले आइतबार हुने सपथ र भोली बस्ने पहिलो बैठकको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको चुनाव नभएसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वाेच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरूको शपथ अनिश्चित छ ।

सर्वोच्च अदालतले यो मुद्दामा आइतबार सुनुवाई राखेकाले सपथ ग्रहण सुरु हुनु अगावै सर्वोच्चले सरकारले गरेको राष्ट्रियसभाको मनोनयनलाई कानुनसम्मत ठहर्याए तीनजनाले पनि आइतबार नै सपथ ग्रहण गर्न पाउनेछन् । कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालका बारेमा कुनै निकायबाट लिखित जानकारी नआएकाले उहाँहरू आएमा शपथ लिन सक्ने संघीय संसद सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिनिधिसभामा २ सय ७५  जना सांसद रहेकोमा रेशम चौधरी पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । त्यस्तै, राष्ट्रियसभाका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका तीनजनाको सपथ हुने नहुने अनिश्चित रहेकाले कम्तिमा ३ सय ३५ जना सांसदको सपथ ग्रहण हुन लागेको हो ।
४४ जनाले मातृभाषामा शपथ लिने

प्रतिनिधिसभामा ३८ र राष्ट्रियसभामा ६ जनाले मातृभाषामा सपथ ग्रहण गर्ने सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन ४४ जना सांसदले लिखित जानकारी गराएको बताउनुभयो । सपथ ग्रहणका लागि दौरा सुरुवाल, सारी चोलो वा आफ्नो पहिचान झल्काउने जातीय भेषभुषा लगाउन सकिने उहाँले बताउनुभयो ।
कार्यसूचीका लागि १० बजे छलफल

संघीय संसदको कार्यसूचीका लागि बिहान १० बजे आगामी कार्यसूची तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग छलफल गर्ने भएको छ  । कार्य सञ्चालन नियमावली नबनुन्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार गरेको छ । मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि कार्यसूची बन्नेछ उज्यालो अनलाईनमा समाचार छ । एकै दिन एकै समयमा दुवै सदनको बैठक आह्वान भए पनि ती सदनको बैठक अलगअलग रूपमा सम्बन्धित सदनको कक्षमा बस्नेछ । जसमा सभामुख, राष्ट्रियसभाको अध्यक्ष चयनको प्रक्रियाका बारेमासमेत छलफल हुनेछ ।

संघीय संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

दुई दलको समर्थनमा प्रधानमन्त्रीको नियुक्ति भएकाले नियुक्तिको ३० दिनभित्र अर्थात आगामी चैत ३ गतेभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि सचिवालयले आवश्यक तयारी गरेको प्रवक्ता डा गौतमले बताउनुभयो ।

काठमाडौं भन्सार जाँचपासमा कडाइ, सिमापारी सामान ‘होल्ड’ गर्दै व्यापारी

काठमाडौं । न्यून बिजकीकरणमार्फत हुँदै आएको राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालयले भन्सार जाँचपासमा कडाइ गर्न थालेपछि व्यापारीले आयात गर्न ठिक्क पारेको सामान सीमापारि नै ‘होल्ड’ गर्न थालेका छन्।

अन्नपूर्ण पोस्ट दैनिककमा प्रकाशित समाचारका अनुसार अर्थ मन्त्रालयले बुधबार भन्सार विभागलाई पत्र लेखेर सन्दर्भ मूल्यभन्दा कममा भन्सार मूल्यांकन नगर्न निर्देशन दिएको थियो। मंगलबार अर्थमन्त्रीले मौखिक रूपमा दिएको निर्देशन बुधबारै भन्सार विभागले सबै भन्सार कार्यालयलाई जानकारी गराएको थियो। मन्त्रालयमा शुक्रबार बोलाइएको बैठकमा अर्थमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, काँकडभिट्टा, विराटनगर, ड्राइपोर्ट, वीरगन्जलगायत मुख्य भन्सार कार्यालयका प्रमुखलाई भन्सार छली नियन्त्रण गर्न निर्देशन दिएका थिए।

अर्थमन्त्रीको निर्देशनपछि सबैजसो भन्सार कार्यालयले जाँचपासमा कडाइ गरेका छन्। भन्सारमा भएको कडाइसँगै व्यवसायीले सीमापारि नै सामान रोक्न थालेका छन्। मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले भन्सारमा समस्या देखिएपछि आवश्यक सामान मात्र भन्सार छुटाउन थालेको बताए। उनले भने, ‘सरकारले विश्वास गरेन। राजस्व नपुगेपछि हाम्रो घाँटी निचोर्न थाल्यो। एक–दुई दिन अवस्था हेरेर के गर्ने भन्ने निर्णयमा पुग्छौं।’

वीरगन्ज भन्सारमा बिहीबार ४१ करोड राजस्व उठेकोमा शनिबार १५ करोड मात्रै संकलन भएको छ। भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादव नाकामा आयात गर्नेले सीमापार सामान ‘होल्ड’ गर्ने हल्ला सुनेको बताए। ‘वीरगन्जमा यस्तो केही छैन। शनिबार होलीका कारण लेबर नभएर काम गर्न सकिएन। आठ सयभन्दा बढी गाडी यार्डमा छन्’, उनले भने, ‘सोमबार बेलुका मात्र व्यापारीले के गरे भनेर थाहा पाउन सकिन्छ।’

छोरी जन्मिइन् ? खातामा २५ हजार जम्मा

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ ।
लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ ।

छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।

२५ हजारको मुद्दती खाता
गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ ।

सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ । मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ ।

बैँकहरूसँग प्रस्ताव माग
गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि बैँकहरूसँग ब्याजदरको प्रस्ताव पेस गर्न आब्हान गरिसकेको छ । २० वर्षे मुद्दती खाता धेरै ब्याज दिने बैँकमा खोल्ने तयारी छ ।

गत साउन यता जन्मेका बालबालिकाका लागि यो कार्यक्रम लागु हुनेछ । बैँकहरूबाट प्रस्तावहरू आएपछि अध्ययन गरी काम अगाडि बढाउने गाउँपालिकाले जनाएको छ । बैँकको टुंगो लागेपछि बालिकाको जन्मदर्ता, वडा कार्यालयको सिफारिसपछि गाउँपालिकाले खाता खोलिदिने नेपालले बताए ।

लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध
नेपालको कानुनले गर्भपतनलाई अपराध मानेको छ । वरिष्ठ अधिवक्ता विनोद गौतमले पहिचानका आधारमा गर्भपतन गर्नुलाई गम्भीर अपराधका रूपमा लिइने बताउँछन् ।

हाडनाता करणीबाट रहेको गर्भ ,महिलाको स्वस्थ्यमा असर पर्ने अवस्थालगायतमा मान्यताप्राप्त अस्पतालमा गर्भपतन गर्न सकिने अन्यथा ज्यानसम्बन्धी महलअनुसार सजाय हुने प्रावधान रहेको उनले बताए । भारतसँग सीमा जोडिएका बासिन्दाहरू लिंग पहिचानका लागि भिडियो एक्सरे गर्न भारतीय सहरहरूमा समेत जाने गरेका छन् ।

छोरी जन्मिँदा खुसी बढाउने चाहना छ  – हिरा केवट राहुल, अध्यक्ष
हाम्रो समाजमा छोरी जन्मेपछि संरक्षण गर्न, हुर्काउन र विवाह गर्न गाह्रो हुन्छ भन्ने मानसिकता छ । त्यसैले, पनि छोरीभन्दा छोरा जन्माउने चाहना बढी पाइन्छ ।

यही कारणले गर्भ जाँच गर्ने र लिंग पहिचान गरी छोरी भए तत्काल गर्भपतन गर्ने क्रम बढ्दो छ । अहिले समाजमा छोराको संख्या बढ्दो छ, यसको असर पछि देखिन्छ ।

छोरा–छोरीको सन्तुलन मिलाउन नसके समाजमा द्वन्द्व बढ्न सक्छ । छोरीप्रति राम्रो धारणा बनोस्, छोरी हुर्काउन अभिभावक खुसी बनून तथा पहिचानका आधारमा गर्भपतन नहोस् भनेर नै यस्तो निर्णय भएको हो ।

बालिका संरक्षण विमा कार्यक्रमका लागि यस वर्ष १ करोड २१ लाख बजेट छुट्याइएको छ । यस गाउँपालिकामा करिब ६ सय बालिका प्रत्येक वर्ष जन्मिने अनुमान गरेका छौँ । तर, ६ सय पुग्ने देखिएको छैन । अब बैंक छनौट भएपछि कार्यक्रम कार्यान्वयनमा जान्छ ।

२० वर्ष नपुग्दै बिहे गरे रकम नपाउने

बालिका २० वर्षकी भएपछि मात्रै मुद्दती खातामा जम्मा भएको रकम चलाउन पाउने व्यवस्था गरिँदै छ । त्यसअघि विवाह गरे सो रकम गाउँपालिकाको खातामा जाने व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । यसले बालविवाह रोक्ने अपेक्षा छ । नयाँपत्रिका दैनिकमा समाचार छ

प्रदेशमा विद्रोह भए केन्द्रीय फौज, यस्तो छ योजना

काठमाडौं । सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ।

केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल हुने गरी मुलुकको समग्र शान्ति(सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले तयार पारेको नयाँ आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन २०७४ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो।

गृह मन्त्रालयले तयार पारेको मस्यौदाअनुसार सातवटै प्रदेश वा मुलुकको जुनसुकै भूभागमा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी गतिविधि, आतंककारी गतिविधि वा विपद्का कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय सुरक्षा कमान्ड (सुरक्षा समिति) ले नै आवश्यक फौज परिचालन गरी नियन्त्रणमा लिन सक्ने व्यवस्था गरिएको छ।

केन्द्रीय कमान्डका सदस्यहरूमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयमा सचिव, सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रहने व्यवस्था गरिएको छ भने सदस्यसचिवमा केन्द्रीय गृह मन्त्रालयको सुुरक्षा समन्वय हेर्ने महाशाखाका सहसचिव रहनेछन्।

ऐनको मस्यौदामा सुरक्षासम्बन्धी जुनसुकै प्रतिकूल अवस्थामा त्यस्ता गतिविधिलाई निस्तेज पार्न केन्द्रीय कमान्डले प्रदेश तथा जिल्ला सुरक्षा समितिले चाल्नुपर्ने रणनीतिसहितको निर्देशन दिन सक्ने वा आवश्यकताअनुसार थप मद्दत उपलब्ध गराउन सक्ने उल्लेख छ।

मुलुक संघीय शासनमा प्रवेश गरी संघ, प्रदेश र स्थानीय तहका सरकारहरूद्वारा शासन व्यवस्था सञ्चालन भइरहेको अवस्थामा तीनै तहका सरकारलाई सहज पार्न केन्द्रीय सरकारले आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी नयाँ कानुनको गृहकार्य अन्तिम चरणमा पुर्‍याएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सरकारले आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको हो।

गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले संघीय शासन व्यवस्थाअनुसार मुलुकको शान्ति(सुरक्षालाई सुदृढ एवं सुव्यवस्थित राख्ने उद्देश्यले आन्तरिक सुरक्षा तथा व्यवस्था ऐनको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिए।

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसँग छलफल गरी छिट्टै निष्कर्षमा पुग्ने गरी गृहकार्य अघि बढाइएको उनले बताए। संसद् बैठक सुरु भएको केही समयभित्रै मन्त्रालयले तयार पारेको आन्तरिक सुरक्षा तथा व्यवस्था विधेयकलाई संसद्मा पेस गर्ने गरी तयारी अघि बढाइएको उनले जानकारी दिए।

गृह मन्त्रालयले तयार पारेको आन्तरिक सुरक्षा तथा व्यवस्था ऐनको मस्यौदामा केन्द्रीय सुरक्षा समिति, प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समिति गरी तीनवटै सुरक्षा समिति प्रस्ताव गरिएको छ। केन्द्रीय सुरक्षा समितिको अध्यक्षमा गृहमन्त्री रहनेछन् भने प्रदेश सुरक्षा समितिमा प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्री अध्यक्ष रहनेछन्।

प्रदेश सुरक्षा समितिको सदस्यमा आन्तरिक मामिला मन्त्रालयका सचिव र प्रदेश प्रहरी प्रमुख रहनेछन् भने सदस्यसचिवमा आन्तरिक मामिला मन्त्रालयका सहसचिव रहनेछन्। यसैगरी, जिल्ला सुरक्षा समितिको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरिएको छ।

केन्द्रीय सुरक्षा समितिको काम

– मुलुकको शान्ति–सुरक्षामा आइपर्ने खतरा, चुनौती र जोखिम सम्बन्धमा प्रदेश तथा जिल्ला सुरक्षा समितिसँग नियमित रूपमा सूचना आदानप्रदान गर्ने

– राष्ट्रिय सुरक्षा परिषद्ले दिएको निर्देशनबमोजिम काम गर्ने

– आन्तरिक सुरक्षासम्बन्धी मापदण्ड निर्धारण र नीति योजना तर्जुमा गर्ने

– अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा, सीमाक्षेत्र वा सीमापार अपराधसम्बन्धी काम, सुरक्षा निकायबीचको समन्वय, सबलीकरण र क्षमता अभिवृद्धि गर्ने

प्रदेश सुरक्षा समितिका काम –

– प्रदेशभित्रको शान्ति–सुरक्षा, सुव्यवस्था कायम राख्ने

– प्रदेशको आन्तरिक सुरक्षा व्यवस्था गर्न प्रहरी परिचालन गर्ने

– संघीय सुरक्षा निकाय परिचालन गर्न आवश्यक भए केन्द्रीय सुरक्षा समितिलाई अनुरोध गर्ने

– आफ्नो प्रदेशको शान्तिसुरक्षासम्बन्धी वस्तुस्थितिको यथार्थ जानकारी नियमित रूपमा केन्द्रीय सरकार र प्रदेश सरकारलाई उपलब्ध गराउने

–सुरक्षा चुनौती गम्भीर रूपमा बढ्न थालेमा केन्द्रीय सरकारसँग थप मद्दत माग्ने
अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ

सहमतिबाटै संसदीय दलको नेता बन्दै देउवा, यसरी पछि हट्ने भए सि‌ंह

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु गरिएको छ। दलको नेताका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत दाबी गरिरहेका बेला उनलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षका नेताहरु सहमतिबाटै सभापतिलाई नेता बनाउने तयारीमा लागेका हुन्।

शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेता देउवालाई सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पाैडेलको निवास बोहोराटार पुगेका थिए। पार्टीले संकटको सामना गरिरहेका बेला एकता जरुरी रहेको र एकताको सन्देश दिनका लागि समेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उनीहरुले नेता पौडेलसँग उपनेता सिंहलाई बनाउने गरी मनाउन आग्रह गरेका हुन्। छलफलमा सहभागी नेता श्रेष्ठले पार्टीले संकटको सामना गरिहेकाले सहमति गरेरै अघि बढ्न नेता पौडेलसँग प्रस्ताव गरेको बताए।  राजधानी दैनिकमा समाचार छ

मिर्गौला फेर्न यसरी जोडिन्छ ‘नक्कली’ नाता

भक्तपुर ।  मिर्गौला प्रत्यारोपण गर्न नक्कली नाता प्रमाणपत्र बनाउने प्रवृत्ति बढेको छ। मिर्गौलादाता बिरामीका आफन्त हुनुपर्ने प्रावधान लत्याउँदै नक्कली नाता प्रमाणपत्र बनाउनेको संख्या बढेको हो।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नेफ्रोलोजी विभाग प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले बिरामीले नक्कली नाता प्रमाणपत्र ल्याउने गरेको बताइन्। विदेशको तुलनामा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था भए पनि बिरामीले नक्कली नाता प्रमाणपत्र बनाउने गरेको उनले बताइन्। ‘नेपालमा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था छ’, उनले भनिन्, ‘तर पनि नक्कली नाता प्रमाणपत्रको कागजात ल्याउने गरेका छन्।’ मिर्गौला फेल भएका बिरामीलाई बचाउन सरकारले दान दिने बिरामीका आफन्तको दायरा फराकिलो बनाएको हो।

जसअनुसार मिर्गौला दान दिने व्यक्ति कानुनअनुसार बिरामीको नाता पर्नुपर्छ। कानुनले तोकेबाहेकका व्यक्तिले दिएको मिर्गौला दानभन्दा पनि किनबेच मानिन्छ, जुन गैरकानुनी हो। तर, कानुनी कारबाहीबाट बच्न नक्कली कागजात ल्याउने गरेको मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठ बताउँछिन्। उनका अनुसार नक्कली कागजात बनाएर ल्याएको फेला परे प्रहरीको जिम्मा लगाउने चेतावनी दिएपछि भने नाताबाहिरका व्यक्तिहरू मिर्गौला दान गर्न हच्केको उनको अनुभव छ। ‘नक्कली कागजात बनाएर मिर्गौला दान दिन आउने र मिर्गौला लिने बिरामीलाई प्रहरीको जिम्मा लगाउने भनेपछि केही व्यक्ति पछि हटेका छन्’, उनले भनिन्।

केन्द्रमा आएर जाँच गराइसकेका बिरामीले नै नक्कली नाता प्रमाणपत्र लिएर आउने गरेको उनले सुनाइन्। ‘सुरुदेखि हामीले जाँचेका हुन्छौं। जाँचका क्रममा बिरामीका आफन्त को–को हुन्, सबै जानकारी भइसक्छ’, उनले भनिन्, ‘बिरामीका सबै नातेदार चिनिसक्दा पनि उनीहरू अर्कै व्यक्तिलाई नाता प्रमाणित गराएर प्रत्यारोपण गर्न आउने गरेका छन्।’ अन्नपूर्ण दैनिकमा समाचार छ

पेट्रोलियम पदार्थको अापूर्ति बढ्यो, भण्डारण गर्न ठाउँ छैन

काठमाडौं । पेट्रोलियम पदार्थको माग दिन प्रतिदिन बढिरहे पनि भण्डारण अभावमा आयल निगमले आपूर्तिमा चुनौती व्यहोर्नुपरेको छ। अहिले नेपालमा मासिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भइरहेको छ।

तर, पेट्रोलियम पदार्थको भण्डारण निर्माणको कामले गति लिन सकेको छैन। एक वर्ष अघिदेखि नै सातै प्रदेशमा भण्डारणका लागि जग्गा खरिद प्रक्रिया अघि बढाएको निगमले प्रदेश १ को झापा, २ को सर्लाही र बारा, ३ को चितवन र ५ को भैरहवामा जग्गा खरिद गरिसकेको छ । अन्य प्रदेशमामा जग्गाको टुंगो लागेको छैन।

भण्डारणको डिजाइनको लागि टेण्डर गरेको निगमले तीन महिना बितिसक्दा पनि अहिलेसम्म परामर्शदाता छनोट गरेका छैन। 'अापूर्ति बढिरहेकाले भण्डारण क्षमता बढाउन अत्यन्तै जरुरी छ', निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने दैनिक रूपमा सहज अापूर्ति चुनौतीपूर्ण बन्दै गएको छ।' नयाँ संरचनाअनुसार काम गर्नुपर्ने भएकाले पनि अन्योलजसतो देखिएको तर काम भने नरोकिएको उनले बताए। गोरखापत्र दैनिकमा समाचार छ

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web